मायाका असीमित गहिराईहरूमा
सधैं तिमीलाई नै खोजिरहेँ
कहिल्यै यता खोजेँ त
कहिले उता खोजेँ तिमीलाई
तर, विडम्बना तिमीलाई कतै पाउन सकिनँ मैले ।
तिमीसँगै बाँड्नु थियो
मलाई प्रेमका राता थोपाहरू
जसरी तिर्खाएको बेलामा
प्यासीले खोज्छ पानी
तिम्रै लागि कोर्नु थियो मलाई
प्रेमका रङ्गिन चित्रहरू
जसले मेरो हृदयको क्यानभासमा बास गरोस् ।
हिजोआज म तिम्रै फेसबुकमा
फ्याँकिएको तस्बिरहरू हेरेर
मनलाई चित्तबुझ्दो बनाउँदैछु
किन-किन मायाको गहिराईमा
तिमी कहिल्यै पुग्न सकिनौ
गल्ती मेरो थियो या तिम्रो
हामी दुवैले कहिल्यै पनि
गल्ती पहिल्याउन सकेनौँ
तिमी तादी पारिको माया
म तादी वारिको माया
हामी दुईको बीचमा
बगिरहेको प्रेमका सपनाहरू
सबै सबै बगिमात्र रहे
न त कहिल्यै तिमीले
ती बगिरहेको सपनाहरूलाई
रोक्ने आँट गर्यौ
न त मैले नै रोक्ने आँट गरेँ
हाम्रो माया सधैं सधैं बगिमात्र रह्यो ।।
काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

