प्रिय साथी,
आज एक्कासि तिमीलाई सम्झिदैछु धेरै वर्षपछि। सायद तिमीले त मलाई बिर्सी पनि सक्यौ होला तर मलाई भने अझै नि ताजा छ तिमीसँगका यादहरु। जीवनको यो पलमा यसरी अचानक तिमीलाई सम्वोधन गर्दा आश्चर्य त पर्यौ नै होला। तिमीलाई त थाहै छ नि, मेरो उही पुरानॊ बानी। मेरो जीवन डायरीहरुको बारेमा। अहिले त गन्न नि छोडिसकेँ। तिमीले दिएका उपहाररुपी डायरीहरु त सृजनाले भरिसकेको उहिले थियो। अहिले त किराले धुजाधुजा परिसके होलान्। तर त्यो भित्रका ती कलिला बालापनका यादहरु अझै उस्तै जीवन्त छन्।
तिमीलाई थाहा छ? आजकल पनि उही बानी लागु छ, डायरी लेख्ने बानी। तिमीले दिएका नि छन् अझै मसँग। के तिमीसँग नि छ, मैले कोरेका ती शब्दहरु ? तिमीप्रति मलाई विश्वास छ, तिमीले कति मायाले सम्हालेर राख्छौ भन्ने कुरा । यति धेरै विश्वास तिमीप्रति लाग्नु नै तिमीप्रति मेरो आत्मियताको प्रमाण होइन र ? तिमीलाई त्यस्तो लाग्दैन ? कि यो मेरो भ्रम मात्र हो ?
यतिका वर्ष, आँखा बन्द गरेर खोल्न पनि नपाउँदै बितेजस्तो लाग्दैछ । कहिलेकाहीँ त यस्तो लाग्छ कि, समय पनि भ्रम रहेछ । आँखा झमक्क गर्न पाकॊछैन जस्तो लाग्छ । सोच्दैछु, के यतिका वर्ष घडीका सुई मात्र त चलेको होला, समय बरफझैँ जमेको होला ! हुन त, यसबीच कयौँ झरीले धर्ती भिजाए, हिउँदमा हजारौँ पात झरे, शिरीषका फूलहरु कति फुले कति । तिमीलाई कसरि भेटेँ, सायद मलाई त्यति याद छैन । जीवनको चौबाटोमा भेटेको जस्तो ! जीवनको नौलो अनि कलिलो यात्रामा भेटेका हामी कतिखेर समयले नेटो काटेर आज संसारको कुन धर्तीमा छौँ भन्ने ज्ञात छैन । तिमी त जसरी हावाको झोँक्कासरी आयौ, मिठो सुबास छर्यौ अनि फेरि चालै नपाइकन फेरि कुन संसारमा विलीन हुन पुग्यौ ।
तिमीले एक्कासि त्यसरी चट्टै माया मारेर गयौ, जसरी कोही पराई गयो । के हामी बीचमा त्यति पनि आफ़्नॊपन थिएन ? ती तीन वर्ष तिम्रो लागि केवल तीन पलजस्तै थियो र त्यसरी बिर्सिएर गयौ तिमीले ? तर मेरो मनको आकासमा त्यही तीन वर्षले नयाँ किरण ल्याएको थियो । मानौँ, तिमीलाई भेटेपछि सुषुप्त म फेरि जीवित भएँ। भर्खरै पाइलाहरु टेकेकी मैले तिमी सँगसँगै हिँड्न सिकेँ, रमाउन सिकेँ, हाँस्न सिकेँ । मेरालागि तिमी एक साथी मात्र नभई एक मार्ग निर्देशन गर्ने भरपर्दो आफन्तजस्तै थियौ । तिमीले बोलेका हरेक शब्द मेरो लागि जीवनकै महावाणी जस्तै थियो । बिएस्सीको पढाई सुरु मात्र गरेकी थिएँ मैले, तिमीसँग भेट हुँदा । मनभरि नौ मुरी सपना थिए, रहरहरु अनगिन्ती थिए, भर्खरै जीवनका कलिला पंखहरु पलाउँदै थिए । तिमी आयौ अनि त्यही पंखले झन् उड्ने मौका पायो । तिमीलाई थाहा छैन सायद, कति उत्साहित थियो मन, कति फुरुङ्ग थियो तन। लाग्थ्यो, जीवन कति सुन्दर रहेछ, अझै कति सुन्दर पलहरु बाँकी छन् होला ।
तिम्रो हरेक बोलीले मनमा स्थान पाउँथ्यो । तिमी त मेरालागि जिउँदॊजाग्दॊ सजीव किताब थियौ र म त्यही किताब पढ्दै अघि बढ्दै थिएँ । सुरुसुरुका पढाइ त्यति सोचेजस्तो सजिलो थिएन र पनि तिमीसँग कुरा गरेपछि मनमा एक प्रकारको जाँगर चल्थ्यो, अनि त असम्भव भन्ने कुरै छैन जस्तो लाग्थ्यो । हरेक दिन अस्पतालमा सिकेका कुरा अनि मेरा सबै क्रियाकलाप सोध्न तिमी कति आतुर हुन्थ्यौ ! थाहा छ तिमीलाई, त्यो वीरेन्द्र सैनिक अस्पतालबाट भक्तपुरसम्म आउन करिब तीन घण्टा लाग्थ्यो मलाई तर तिम्रो फोन अनि कुराले कतिचोटी मलाई साथ दिएको थियो ! तिम्रो त्यो कुराले मलाई कति साहस प्रदान गर्थ्यो !
समुद्रका ती छालका लहरजस्तै भए सम्झनाहरु, सायद फेरि फेरि पनि फर्केर आउने थिए । फेरि फेरि अनि एकचोटी दोहोरिने थिए मिठो विगत तर छालजस्तै नहुने रैछ कुनैकुनै याद । छालजस्तै फर्केर आए नि कताकता बिझाउने रैछ । तिनै छालले बगाएका ती चपल अनि शलजस्तै कुनैकुनै सम्झनाहरु नि बगाए त कति जाती हुन्थ्यो होला । आफू मात्र किन उथुलपुथुल भै बस्छ होला त्यो समुन्द्र ! किनारामै तैरिरहेका कुनैकुनै याद नि बगाएर परपरसम्म लगे त कति जाती हुन्थ्यो, फेरि छुन नपाउने गरी । तर कति सम्झना, न त परसम्म बगेर नै जान्छन् त नदेख्ने गरी नै डुब्छन्, ती त सधैँ किनारामै तैरिएर नै बस्छन् मनमा गाँठो पर्नेगरी ।
सायद जीवन भनेको जस्तो सोच्यो, जस्तो कल्पना गर्यो, त्यो भन्दा धेरै फरक हुँदै जाने रैछ । जीवन समयसँगै भोग्दै जाने रैछ । जीवन यात्रामा विविध तीतामीठा अनुभवहरु सँगाल्दै जाने नि रैछ । कति त्यस्ता नि पल हुन्छन्, जसलाई हामीले सपनामा नि कल्पना गरेका हुँदैनौं । अनि त के गर्नु ? नगरूजस्तो हुने ! कति अँधेरी नि छाउँछ, निस्पट अधेरी ! जुन बेला केही हुन्न दिमागमा, बस शून्य हुन्छ सबै अनि जीवनका सबै ढोकाहरु नि बन्द भएको आभास हुन्छ । एकछिन त त्यही निस्सासिएर नाजुक हुँदो रैछ । सास फेर्न सकिनँ, मुटु रोकिएला जस्तै भान, एक्कासि छातीमा तातो छुरा रोपेझैँ भयो। शब्दमा कति ताकत हुन्छ, जसले मुटु छियाछिया पार्न सक्छ भनी त्यही दिन महसुस गरेँ। आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, त्यो भोग्नेलाई थाहा हुन्छ। त्यतिबेला नै तिम्रो एक पाइलाले कति आड मिल्दो रैछ । बन्द आँखाहरु पुलुक्क उघारेर हेर्छु अनि केही झ्यालहरु अझै खुलै छन् भन्ने लाग्यो । हिँड्दाहिँड्दै कति लर्बराएँ, लडेँ, फेरि उठेँ, अनि फेरि लडेँ । कति चोटी त अब उठ्न सक्दिन्नजस्तो पनि भयो । त्यहाँ नि तिम्रा शब्दहरु गुञ्जे, अनि त्यही भरोसामा सकी नसकी फेरि उठेँ । यस्तै त थियो नि जिन्दगी !
तिम्रो एक पाइलाले कति उत्साह मिलेको छ ! त्यो त मलाई मात्र थाहा छ । सबैतिरबाट तितरबितर भएर दोबाटोमै अल्झेर बसेको कुहिराको कागजस्तै थिएँ । कुनै निश्चित गन्तव्यको दिशातिर मोड्दा पनि सफलता नपाउनु कति पीडादायी छ। अचानक तिम्रो एक झल्कोले सारा परिवर्तन गरिदिएको छ । कति विश्वास बोकेर आयौ तिमी ! त्यो त शब्दमा लेख्न सकिरहेकी छैन यतिखेर मैले। एकपल त लागेको थियो, अब जे जति बाँकी छ, रात असफलता मात्र बाँकी छ। तर म गलत थिएँ। त्यो पल त बस्, एकछिन थियो जुन मलाई युगजस्तो लाग्न थालेको थियो । तिमी आयौ जीवनमा यसरी उत्साहको सारा लहर नै ल्याएर । म भित्रको म सायद अब बिस्तारै जागृत हुँदैछ अनि सुषुप्त रहेका ती सारा रहरहरु नि पंख खोज्दैछन् ।
हो, अब म जीवनमा उडान भर्न चाहन्छु अनि यायावर गर्न चाहन्छु धेरै-धेरै टाढा अनि माथि, त्यो नीलॊ गगनको बादलजस्तै शान्त भएर । तिम्रो एक स्पर्शले पुनर्जीवित भएजस्तो ! वास्तवमा जीवन कति सुन्दर छ, सारै रंगीचंगी । म तिनै रंगहरुमा रंगीन चाहन्छु । जीवनका अनगिन्ती खुशीहरु महसुस गर्न चाहन्छु । मभित्र यतिखेर धेरै आत्मबल दिनानुदिन बढ्दै जानु अनि यति धेरै साहस हुनु सायद तिम्रै उत्प्रेरनाले हुनुपर्छ।
दागी चन्द्रमाले धर्तीलाई दिएको जस्तो साथ अनि सूर्यले रातलाई गरेको जस्तो लुकामारी गर्दै गरेको जस्तै थियो सायद हाम्रो भावना र त कहिले तिमी अनि कहिले म झुल्किने । एकअर्काको परिपूरक, एकअर्काको पर्याय ।
याद छ तिमीलाई त्यो गीत अझै जुन तिमीले सधैँ सुन्ने गर्छौ नि ? तिम्रा आखाँहरु म नियाल्न सक्छु ती अनगिन्ती पीडाहरु । एक शब्दबिना पनि लाखौँ कुराको बुझ्न सक्छु सायद । अनि मनमा मुटुमा हुने त्यो तिक्तता पनि हेर्न सक्छु म। तिम्रो हरेक श्वासको झोक्काको अर्थ महसुस गर्न सक्छु । अनि त्यसैत्यसै अथाह, अपार, अद्वितीय माया लाग्छ । अझै पनि यो गीत जब गुन्जिन्छ, तब लाग्छ तिम्रा ती एक जोर नयनमा आँसुको ताल बनाउने म नै हुँ । अनि बेस्सरी याद बल्झाई दिने पनि म नै हुँ । यही गीत नै हो मेरो मन, आत्मालाई एक प्रकारको तरंग ल्याई आमा प्रतिको गहिरो माया झन् गहिरो बनाइदिने अनि तिमीप्रति असीम माया र श्रद्धा पलाउने । तर समयको खेला अनि संसारको रीतको अघि कसको के नै लाग्दॊ रहेछ र ! त्यही आमा प्रतिको माया र सम्झनाले नै त यति धेरै यात्रा अनि यहाँसम्म तय गर्न सकेका छौँ । पशुपतिको त्यो परिसर कति पीडादायक थियो। तिमीलाई थाहा छ ? तिमीलाई पहिलोपल्ट त्यसरी आमाको बिछोडमा आफूलाई नै रित्याएर तिमीले बिलौना गर्दा मेरो मुटु कति छियाछिया भएको थियो ! अनि कति अदृश्य पीडा थियो ! आवाज निकाल्न सकिनँ मैले, मात्र अश्रुधारा निरन्तर बहिरहेको थियो । सायद त्यति धेरै म छरपस्ट जीवनमा कहिलै नि भएकी थिइनँ । त्यति धेरै काँपेकी थिइनँ । र, पनि तिमीलाई ढाडस दिन अनि टुट्न नदिन कति भगिरथ प्रयास गरेकी थिएँ। सायद तिमीले पनि थोरै भए नि साथको अनुभव गर्यौ ।
जब तिम्रो अनुहार नियालेँ, त्यतिबेला मैले महसुस गरेँ कि तिमीलाई कति धेरै साहस अनि धैर्य आवश्यक थियो । तिमी भित्रभित्रै कति टुटिसकेका थियौ र त्यतिबेला नै म मुटुलाई ढुंगा बनाएर मौन बसेकी थिएँ ,न त बोली फुट्न सके, न त रुन सकें।
तिमीलाई थाहा छ, त्यतिबेला रातको १० बजे घर आएर नि रुन सकेकी थिइनँ अनि जब घर पुगेपछि जब मेरी आमालाई देखेँ, त्यसपछि म रातभरि रोइरहेँ । सायद त्यो पल धेरै नाजुक पल थियो र त मेरी आमा नि रुनु भयो र त्यस समयदेखि आजसम्म पनि त्यही पल सम्झेर म रुन सकेकी छैन । मेरी आमाको आँखामा कहिलै नि आँशु आउन नदिने प्रण थियो मेरो सायद अनि तिमीलाई पनि आत्मविश्वास दिलाउने कोसिस । जब यही गीत सुन्छु म, मन मुटु छेडेर आत्मा कम्पन हुन्छ । सायद जिन्दगी भनेकै यही त हो ! सुखदुःख अनि पीडा हाँसोको यात्रा ! र, पनि निरन्तर यात्रा जारी राख्नु नै संसारको रीत ! आज नि मलाई ती दिनहरु भर्खरका झैँ लाग्छ। समय मात्र न हो, बितेको तर सम्झनाहरु त छन् नि अझै उस्तै।
आज हेर त, तिमी कहाँ म कहाँ ! कसलाई पो फुर्सद छ र ती यादहरु खोतल्न? म गएँ आफ्नै बाटो तिमी आफ्नै लक्ष्यतिर। तर मलाई अपार खुसी त्यतिबेला लाग्यो जब तिमीले तिहारमा लक्ष्मीपूजा गर्दा सँगै मेरो डायरीलाई नि पुज्यौ । तिमीले नाप्न सक्दैनौ मेरो आत्मसन्तु्ष्टि त्यतिबेला। साँची, मन आभार भयो। सात समुद्र जाँदा नि तिमीले मेरो डायरी सँगै लान भुलेनौ। यसले नै पुष्टि गर्छ नि तिम्रो मित्रता म प्रतिको। आज फेरि एकचोटी मैले डायरी पल्टाएँ नि, र त केही पानाहरु यसरी तिमीलाई बिसाउँदैछु । साँची अब कहिले हुन्छ होला है हाम्रो भेट ? सायद हुँदैन, भए नि शब्दमा मात्र । त्यही भएर त केही शब्दहरु तिमीलाई सापटी दिँदैछु। आशा छ, तिमीले गरेका काम सबै सफल होस्। अनि फेरि एकदिन त्यही कमलविनायकको कमलपोखरीमा बसेर चना चटपटे खाँदै अर्को डायरी लेखौँला है !
उही तिम्री भक्तपुरे साथी
रश्मि
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।