राधा:-…..हे नाथ ! हजुर मलाई पनि प्रेम गर्नुहुन्न ?
कृष्ण:- हजुर देवी ! म हजुरलाई पनि प्रेम गर्दिनँ ।
(राधा निराश  र मौन भएको देखेर)

कवीन्द्र लम्साल

कृष्ण:- हे देवी ! हजुरलाई अवगत नै छ; प्रेम गर्न दुई आत्मा चाहिन्छ । जब हजुर र म अक्षुण्ण छौँ भने मैले कसलाई प्रेम गरूँ? हजुरले कसलाई प्रेम गर्नुहुन्छ? हजुर र म त सदियौँदेखि अक्षुण्ण छौँ । एक छौँ । हामी आपसमा कहिल्यै छुट्टिएका छैनौँ । छुट्टिँदैनौँ । जब कृष्ण भन्नु नै राधा हुन् र राधा भन्नु नै कृष्ण हुन् भने हामीबीच प्रेमको प्रसङ्ग कसरी प्रादुर्भाव हुन्छ देवी ?

(राधा झन् मलिन अनुहार तेर्स्याउँदै)
राधा:- हे नाथ ! हजुर मलाई शाब्दिक जालमा फसाउन खोज्दै हुनुहुन्छ । हजुरको दार्शनिक कुरामा विश्वास कसरी गरूँ म जब कि मेरो हृदयमा हजुरप्रतिको प्रेम अथाह छ, जुन म व्यक्त गर्नै सक्तिनँ ।
जब हजुरबाट म टाढा हुन्छु, तब मिलनको व्यग्रताले प्रत्येक क्षण तड्पाउँछ । हृदयमा प्रेमको ज्वाला भड्किरहन्छ । हजुरको सामीप्य पाउने अभिलाषाले म प्रत्येक पल मरेर बाँचिरहेकी हुन्छु ।
हे नाथ ! जब म हजुरको समीपमा हुन्छु, तब पनि विछोडको हुरीले मनमा पीडा नै पीडाको भूमरी थुपारिदिन्छ ।  हजुरबाट छुट्टिनुपर्छ भन्ने भयले निकै कोपर्छ मलाई । चिमोठ्छ ।
हे नाथ ! हजुर किन बुझ्नुहुन्न राधाको हजुरप्रतिको पवित्र  प्रेम ? अझै पनि भन्नुहुन्छ हामी दुई एक हौँ भनेर?
(श्रीकृष्ण मुस्कुराउँदै)
कृष्ण:- राधे ! हजुर मायाको वशीभूतमा परेर आफ्नो वास्तविक स्वरूप बिर्सँदै हुनुहुन्छ । त्यसैले कतै मप्रतिको प्रेम बारम्बार प्रकट गर्न खोज्नुहुन्छ त कतै गोपिनीहरूको मप्रतिको प्रेम देखेर ईर्ष्याले जल्नुहुन्छ ।
हे देवी ! हजुरलाई म जुन आध्यात्मिक तथ्य बुझाउन खोजिरहेको छु, त्यो हजुर किन बुझ्नुहुन्न?
हे देवी ! कृष्णविना राधा निर्जीव हुन्छिन् । राधाविना कृष्ण अदृश्य हुन्छन् ।
जसरी सूर्यबाट ताप, राप र प्रकाश अलग छैन; जसरी अग्निको जलाउने गुण अग्निबाट अलग छैन; जसरी चन्द्रमाको शीतलता चन्द्रमाबाट अलग छैन; जसरी नदीबाट नदीको छाल अलग छैन; त्यसैगरी राधाबाट कृष्ण र कृष्णबाट राधा कहिल्यै अलग छैनन् र हुँदैनन् देवी ।
(राधाको अनुहारमा सन्नटा छाउँछ ।)
कृष्ण: हे देवी ! यो विश्व-ब्रह्माण्डमा रहेका अनन्त ब्रह्माण्डहरू, अनेकौँ ताराहरू, अनेकौँ नक्षत्रहरू तथा सम्पूर्ण आकाशीय पिण्डहरू मेरै सङ्कल्पमा सञ्चालित छन् । म स्वयं पनि मेरै लीलाको आनन्द लिइरहन्छु ।
राधे ! संसारमा हरेक वस्तुको एक आधार हुन्छ । जस्तो फूलको आधार डाली; काण्डको आधार जरा-जमिन; घरको आधार जग भएजस्तै यो सारा विश्व-ब्रह्माण्ड म नै हुंँ देवी र मेरो आधार हजुर हुनुहुन्छ ।
अत: यस अनन्त ब्रह्माण्डमा राधा र कृष्णबाहेक अरू केही र कोही छैन देवी ।
(एकैछिनपछि)
राधा:- अर्को एक चीज छ नाथ !
(आश्चर्य मान्दै)
कृष्ण:- अर्को कुन चीज छ देवी ?
राधा:- प्रेम; राधा र कृष्णबीचको प्रेम ।