
अविनाश भट्टराई
कसरी तिमी
भिडैभिडको बीचबाट
थोरै किनारा लाग्यौ
जसरी म लागेँ
कसरी तिम्रो आँखामा
एक जोर ताराहरु फुल्न सके
जसरी मेरोमा
म जीवित पहाडजस्तै उभिएको थिएँ
तिमी थुनिइरहेको नदीजस्तै
फकिर म जिन्दगीको
घनघोर उकालो चढ्दै जाँदा
एउटा चौतारो भेटेझैं
प्यासी म मरूभूमिमा
एउटा मूल पाएझैं
देखें तिम्रो ओठमा फक्रेका पारिजातहरु
कसरी उघ्रिएको थियो इन्द्रेणी यो हृदयभित्र
कसरी नापेका थिए एकजोडी चरीले
आकाशको एउटै गहिराई
कसरी चलेको थियो चकचके बतास
एकै रङको एकजोर सन्देश लिएर
हो, त्यही बेला हो-
तिमीले खल्तीबाट सुटुक्क निकालेकी – एउटा पिस्तोल,
ताकेकी मेरो देब्रे छातिमा,
दबाएकी ट्रिगर आँखा चिम्लेर
र छोडेकी बुलेट – गुलाबको
अब त्यही घाउ बचाएर
बाँचिरहनेछु जिन्दगी ।
बन्दीपुर, सिरहा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
