पर्वत र पारू धेरै वर्षहरूका लमाइमा अचानक भेट भए । पर्वतले पारूलाई हे-यो, पारूले पर्वतलाई हेरी । हेराहेरमा प्रश्न थियो, विष्मय थियो र थियो बितेका पलहरू ।

समय पछि सर्दै गयो दुवैका स्मृतिमा । तीस वर्ष अगाडिका ती दिनहरू जहाँ पर्वत क्यामुनाका पातहरू टिपेर बजाउँथ्यो । पारू एक्ले पात त्यसरी वनै रन्कने गरी बजेकामा आश्चर्यले पुलकित बन्थी । पर्वत सुसेली हाल्थ्यो पारू उसका सुसेलीसँगै वनैभरि लहराउँथी । पर्वत ठाडा भाकाका गीतहरू ठाडा उकालीका छहारीमा सुस्ताउँदै गुन्गुनाउँथ्यो । पारू गीतका भाकाले सम्मोहित बन्थी ।

समय बग्यो, पारू बगी र बग्यो पर्वत पनि । वेगवान् समयको तारुण्य नदी को पो अडिरहन सक्छ र यसको प्रवाहमा ।

आज पर्वतले पारूलाई नियालेर ‘कति खोजें’को भावमा भन्यो — “कहाँ थियौ ?”

पर्वतले ऐनामा आफ्नो अनुहार नहेरी भन्यो पनि – ” तिमी त बुढी भइसकिछौ ।”

गम्भीर मुद्रामा पारू बोली — “पर्वत हुँदै बग्न थालेकी पवित्र नदी म — सहरको मुटुभित्रै अपवित्र गङ्गा बनें, सबैकी साझा ।”

पर्वत छाँगा हुँदै खस्यो ।

पारू बिस्तारै बोली — वेगवान् तारुण्य नदी को पो अडिरहन सक्थ्यो र यसको प्रवाहमा तर कोही तैरिन्छन् र कोही डुब्छन् मजस्तै ।