‘गौरा’ भन्ने बित्तिकै मनमा उत्साहका तरङ्गहरू तरङ्गित हुन्छन् । फरक प्रकारको सान र अभिमान भेट्टाउँछु आफैँसित । गमराका खेलहरू खेल्न र हेर्न  वर्ष दिनदेखि प्रतीक्षा गरिरहेका धैर्यताका मनोकांक्षाहरू सीमा नाघ्ने गरी नै प्रस्फुटित हुन खोज्छन्, म समाह्लन सक्दिनँ आफ्नै रहरलाई । चैत, धमारी, भोलाउलो, ढुष्को, होरी, डेउडाका साथसाथै लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीजस्ता तमामौं खेलहरूमा स्वर मिलाउना कि हउस, पैतल मिलाउनाकी हाउस, अह ! अन्धेर छ यस मनको पनि ।

गौरा सुदूर पश्चिमका खलामा मात्र लाग्दैन, हाम्रो कला बोकेका गलामा लाग्दछ । पानी भर्ने नाउलामा लाग्दछ । बाहुली जोडी जोडी शरीर मच्याउनेका बाहुलामा लाग्दछ । बिरुडा भिजाउने प्रत्येक तामाका ताउला ताउलामा लाग्दछ । गौरा परम्परा र संस्कृतिसँगै हाम्रो पहिचान जोडिएको छ ।

कैयौं पुस्तादेखि चलिआएको गौरवगाथा बोकेको गौरा पर्व एक सभ्य संस्कारको इतिहास हो, आधुनिक कला, साहित्य र भाषाको माऊ हो र वर्तमान एवम् भविष्यको मार्गदर्शन हो । जहाँ अथाह ज्ञानका दिग्दर्शनहरू छन्, रहरका उन्मुक्त भावनाहरू छन्, अर्तीउपदेशका सुक्ति र उक्तिहरू छन् । थालमा भात पस्किए जस्तै पस्किरहेका छन्, सिंगो आदर्श जीवनका स्वागतयोग्य एवम् ग्रहणयोग्य दर्शनहरू ।

तीर्थराज भट्ट

भदौको महिना आँगनको डिलहरूमा हल्किदै लागेका सयपत्री, टोक्करी, हजारी, मखमलीजस्ता फूलहरू, आँगनको तलतिर ठाङराभरि झुलिरहेका काँक्राका झुलहरू, घरगडाकै किनारमा उभिएको दाडिमको रूख, पसेरोमा नाचिरहेका पिँडालुका गाबाहरू, हरियो खुर्सानीका बोटभरि लटरम्म झुण्डिएका खुर्सानीका कोसाहरू, बारीमा रङ्गीन चौंवरीसँगै परिपक्क हुँदै गएका पोलिखाने घोगाहरू, खेतमा पोक्काउन लागेका धान, डाँडामा लागेको कुहिरो जोरजोरले उडिरहेको परिवेश जसरी पृथक पृथक छ, त्यसरी नै गमरा खेलमा पनि रस र स्वाद फरक फरक छ । जब फर्सीका बेलाहरू झुल्लिए झैं झुल्लिन्छन् खेलकारीहरू तब शिवपार्वतीको जीवनलीला मात्रै चल्दैन, पुराना इतिहासका प्रसङ्गहरू मात्रै कोट्याइँदैनन्, अर्तीउपदेश र आध्यात्मिक वर्णनमा मात्र सीमित हुँदैनन् गीतका भाकाहरू । त्यहाँ त दूधेघोगाजस्तै मीठो स्वाद पाइन्छ, काँक्रोको जास्तै शान्त रस पाइन्छ, दाडिमका दान उफ्रिएजस्तै दाँत देखाएर पेट मिचिमिची हाँस्न मिल्दछ, फूलको सौन्दर्यले निम्त्याएको सुगन्धको जस्तै सुवास फैलिन्छ युगौंयुग रहनेगरी ।

धानका बाला पोक्काए जस्तै मनका रहरहरू पोक्किन्छन् र पोखिन्छन् पनि । पोखिएका रहरहरूमार्फत् मनले शान्ति र आन्दानूभुति बटुल्दछ । यति मात्रै होइन, काँचो पिँडालुको जस्तै कोकेइ लाग्दछ, खुर्सानीको जस्तै च्वास्स पिरो लाग्छ । कतै ‘लो’ लागेको काँक्रोको जस्तै तीतो अनुभूति पनि हुन्छ । आफूले गरेका, गर्दै आएका तथा अन्जानवश हुन गएका कमजोरीहरूलाई, गल्तीहरूलाई तथा असावधानीहरूलाई खिज्याइदिन्छन्, गमराका गीतहरूले । कहिलै कोकेइ लाएर, पीरो लगाएर त कतै तीतो अनुभूति गराएर । तब सुरू हुन्छन् आत्मग्लानीका भावहरू र तिनैसँग उब्जिन्छन् सचेतनाका दरिला आत्मविश्वासहरू । अनि उड्दछ मनको अज्ञानता भदौमा डाँडाको कुहिरो आकाशतिर उडे जस्तै ।

गौरा एक पर्वले अनेक रहरलाई समेट्न सक्नु यसको सबैको प्रिय हुन सक्नुको विशेषता हो । दृष्टिशक्ति र श्रवणशक्ति कमजोर भइसकेका हाम्रा मान्यजन वृद्धवृद्धाहरू पनि आँगनको एक छेउमा बसेर गौराका गीतहरू सुनी अन्तरआत्मादेखि नै मुस्कुराइरहेका हुन्छन् । उहाँहरूले गीतका पूरा अंश सुन्नै पर्दैन, एक टुक्का सुन्नेबित्तिकै मनभित्र दौडी हाल्छन् खेलका रङ्गढङ्ग र छाँटकाँट । खेलकारूका त के कुरा गर्नु उनीहरूमा गाँसबासभन्दा पनि खेलकै अतास । जतिबेला डेउडा दोहरीमा पिरतीका प्रसङ्गहरू चल्दछन् त्यतिबेला लभमा फँसेका तरुण तरुणीहरू आफ्नै कथा सम्झिन्छन् सायद । जेहोस्, रतिरगाका रागात्मक प्रेमिल सुललित भावनाले सबैलाई प्रफुल्लित तुल्याउँछ त कहिले प्रेमको उदाङ्गो प्रस्तुतिले उत्तेजना थप्दछ पनि । साना बालबालिकाहरू गमरा खेलको घेराबन्दीभित्र पसेर संगठित आकर्षण देखेर छक्क पर्छन् र बिर्सन्छन् बलगम पट्काउन र बेलुन उडाउन । धन्य छ ! गौरा तमरो कला र भुल्याउने तरिका ।

गौराका अवसरमा पुराना इतिहास बोकेका राजरजौटा, देवीदेवता र भद्रभलाद्मी व्यक्तिका जीवनगाथा समेटिएका बोलहरू पनि खेलिन्छन् ढोलको तालसँगै ।

आँगनमा लागेका खेलहरूसँगै गौरा घरमा व्रतालु नारी पूजामा व्यस्त रहन्छन् । साउँ, धान, अपामार्ग, तील, दूवाे, कुश जस्ता झारका जरा उखेलेर बनाएको पार्वतीको प्रतीकमा घुम्टो ओडाएर पूजा आराधनासहित जल चढाउँछन् र व्रतको सार सम्झदै आनन्द निम्त्याउँछन्, व्रतालु नारीहरू । एक आचमन जलले जरा उखेलिएका बोटहरू त जाग्दैनन्, तर त्योभन्दा बढी उपयोगी कहिलै नउजड्डे बोटहरू उम्रिन्छन् मनमा र कोही शीतल दिन्छन्, कोही हावा दिन्छन् कोही फल दिन्छन् र मान्छेलाई मानव बन्न प्रेरित गरिरहन्छन्, सायद ।

गौराका अवसरमा पुराना इतिहास बोकेका राजरजौटा, देवीदेवता र भद्रभलाद्मी व्यक्तिका जीवनगाथा समेटिएका बोलहरू पनि खेलिन्छन् ढोलको तालसँगै । हाम्रा गौरवका पुराना कला, देवस्थान, वास्तुकला र माणौंको चिनारी दिने ज्ञानको पोथडो गीतमार्फत् बाँडिन्छ सबै सबैलाई । राम शाहीको ढुष्को, जुमलीको ढुष्को, पाण्डवको ढुष्को, रामचन्द्रको चैत, गन्याप देवताको चैत, घण्टेश्वर देवताको चैत, मालिकाको चैत बाला गोविन्दकी चाँचरी, कृष्ण भगवानकी होरी, छैंटीमाइको भोलाउलो, कति हुन् कति, दश बाह्र दिनसम्म खेलिने गीतका लम्मार । यिनै गीतभित्र ज्ञानको लम्मार छ, मान्छेभित्रका अमानवीय भावलाई बिथोल्ले तडी छ र अचेल स्कुलमा पढाइने विद्याभन्दा दोब्बरकी अनौठी लेखापडी छ ।

आफूलाई ठूलो मानी घमण्ड देखाउनेले ‘भागेश्वर र नागी मल्लको चैत’ खेल्नु अनिवार्य छ । म कहिलै मर्ने होइन, मैले मात्र खान लाउन पाए पुग्यो भनी सोच्ने स्वार्थी मान्छेलाई ‘ऋतु खेल’ (मानिसैको दियोखायो सार छै ऋतु मानिस अम्मर काँ छ ?) खेल्दा मानिसको अनित्य चोलाको याद आउला र ऊ सुध्रेला । आँखिर सत्यकै जीत हुन्छ त्यसैले सत्यकै बाटो हिँन्नुपर्दछ भन्ने सन्देश पाण्डवको ढुष्कोबाट प्रवाहित हुन्छ । आफ्नै निकटका व्यक्तिबाट पनि धोका मिल्नसक्छ है भन्ने सुइँको ‘भीमदत्त पन्तको चैत’बाट थाहा हुन आउँछ । नैतिकहीन हुनलागेका, आफ्नो इज्जत र बेइज्जतको ख्याल नगर्ने वर्तमान समयको समाज र व्यक्तिलाई गौरामा खेलिने प्रत्येक गीतले प्रत्येक ठाउँ ठाउँमा गिज्याएको छ । अब यो गिज्याएको सहने वा नसहने कुरा व्यक्तिमा भर पर्दछ ।

गौरामा खेलिने सबै गीत मुटु छुने छन् । मुटु थर्काउने छन् । अज्ञानतालाई भड्काइ भड्काइ फर्काउने छन् । भावनात्मक छन् , कारुणिक छन् र उच्च मानवीय मूल्य बोकेका छन् ।

गौरा सेलाउनुभन्दा अगाडिको रातमा खेलिने रतेडीको आनन्दमा मग्न हुनुको मजा बेग्लै छ । तुलछाका गीतसँगै कटाइएका रात साँच्चीकै यादगार र सार्थक लाग्छन् मलाई । रैखिय ढाँचामा वर्णित कौतुहलपूर्ण कथात्मक तुलछाका गीतमा वर्णित पात्रसँगै सहयात्रा गर्न मन लागिरहन्छ । बलिभद्रले गरेको कोसिस, उनले हिँडेको बाटो र घटुली तद्दे तारमा आफू पनि सँगै भएको आभास हुन्छ । यस गीतमा तुलक्षीको महत्त्वलाई यसरी व्याख्या गरिएको छ कि जुन अहिलेका वैज्ञानिकले अनेक परीक्षण र अध्ययन गरी निकालेको निचोडभन्दा गहन छ । तुलछाका गीतमा मात्र होइन गौराका हरेक गीतमा व्यवहारिक एवम् जीवनोपयोगी ज्ञानको थुप्रो छ । त्यही ज्ञानलाई ग्रहण गर्न सक्ने हो भने पनि जीवनले जीवनको महत्त्व बुझ्नेछ ।

यी गौरा होइनन् मेरी दिदी हुन्, बहिनी हुन् या चेली नै हुन् ।

गौरा सेलाउने दिनका दृष्यहरू पनि कम कारुणिक लाग्दैनन् मलाई । पार्वतीको प्रतीकको रुपमा रहेकी गौरालाई मानविकीकरण गर्दै गरिएका व्यवहारहरूले हृदयमा एक प्रकारको भावोत्पन्न गराउँछ र मलाई लाग्छ, यी गौरा होइनन् मेरी दिदी हुन्, बहिनी हुन् या चेली नै हुन् । चेलीबेटीलाई विवाहको दिन कन्यादान गरी घर पठाउँदा जस्तो आभास हुन्छ आमाबुवालाई, त्यही भावना छाउँछ, हृदयमा । र त सबैमा कारुण्य भावले अधिपत्य जमाउँछ । जसरी विवाहको दिन चेलीबेटीलाई आफन्तको अङ्गालोबाट छुटाउन मुस्किल पर्छ त्यसरी नै गौरा खेल पनि छोड्न मुस्किल पर्दछ । खेलकारूहरू खेलमै आग्रह गर्दछन्, खेल छोड्न र गौरालाई आफ्नो घर जान तर गौरा सितिमिति मान्दैनन्ः

आँगनीको खेलमाल छाड गमरादेवी लोक झुकाइ जनमार
जब मेरा बाबज्यू भरपुर दाइजो दिन्ना तब छाडु आँगनी खेल ।

गौराको विधिवत बिदाइमा दिनुपर्ने भरपुर सामग्रीहरू दिइन्छ तब पनि गौरा जान मान्दैनन् । त्यसमा भुल्याइ, फकाइ पठाएको परिवेश साँच्चीकै कारूणिक बन्दछः

एकली नैजानो इजु मायो एकली नैजानो
वावैनैको बेटो लैजा साथ गमरादेवी अघिअघि वेद सुनालो ।

गौरामा गुञ्जिने सुमधुर लय, ढोलको तालमा मिलेका पैतला परिपक्व आवाजमा प्रस्फुटित काव्यिक मिठासको सुगन्ध अनुपम लाग्छ मलाई । त्यसैेले त लोभ्याइरहन्छ, पर्खाइरहन्छ र आफूतिर तानिरहन्छ गौरा पर्वले ।

जय गौरा !!