पौरखी नाम हो यो जेन-जी,
विदेशी भाषाको एउटा भङ्गालो।
म आफ्नै भाषाले सम्बोधन गर्छु,
एकाइसौँ शताब्दीका
तिमी नयाँ पुस्ता।
केही थोरै मिसिएका
अघिल्ला शताब्दीका।

परिणाम हेरेर म अन्योलमा छु।
तिमीले विरोध गर्‍यौ
भ्रष्टाचार र बेथितिको,
शङ्खघोष गर्‍यौ तिमीले
नवचेतना र जाग्रितिको।
म फैलाएर प्वाँख आकाँक्षाकाे,
उडेर तिम्रो सहयोग खातिर
रणमैदानको त्यो कुरुक्षेत्रमा पुग्दा
देख्छु तिमी अघिअघि
निष्कपट यात्रामा थियौ।
पछिपछि भयानक
एउटा कालो अभिष्ट आइरहेथ्यो।
कठै! तिमीले त्यो थाहै पाएनौ।

छातीमा अनि टाउकोमा
अचुक निशाना ब्याधाको
परेर ढल्यो मेरो काखे बालक।
मेरै आँखा अगाडि
सडकमा तिमीसितै खेलिरहेको।
कसले ताक्यो तारो
र ढल्यो बालक!
काख रित्तिएकी आमालाई सोध,
के त्यो ब्याधा नेपाली नै थियो!

म निर्मिमेष भावमा छटपटिएर
कराएँ,
मेरा बालक फिर्ता देउ मलाई!
दिनसक्छ जीवन फिर्ता कोही ?
ब्याधा उम्लियो प्यादा भएर,
हातमा मुस्लो ज्वाला लिएर,
दौडियो देशको अस्तित्व नष्ट गर्न।
म पुन: बेजोडले चिच्याएँ,
ए कुलङ्घार हो! देश बच्नुपर्छ,
देशको धरोहर नाश नगर!
त्यहाँ मलाई बुझ्ने र सुन्ने कोही थिएन।
मेरै आँखा अगाडि
निर्दोष यी सभ्यताहरू,
देशका धरोहरहरू,
स्वाभिमान नेपालीका
इतिहास र गौरव बोकेका,
अनिष्टकारीको हातबाट
भयङ्कर प्रताडना सहँदै जल्दै,
पिरो धुवाँसित
आँसु र अस्मिता मिसाउँदै,
नष्ट भएको देखिरहेँ।
केही गर्न नसकी मैले
मूर्छित भएर महसुस मात्र गरिरहेँ।

यो कस्तो क्रान्ति हो?
प्रश्न बनेर गिज्याइरहन्छ मलाई।
खै सुरक्षा देशको?
आमा जलेर रोइकराई गर्दा
हेरिरहने कस्तो कर्तव्य हो
जननीप्रति सन्ततिको?
मनले वचनले पुकार्दा
आफ्नै सन्तानलाई
खुलेन कान तिनको।
श्राप परेको यो देशका
कुपात्र वा कु-सन्ततिको
निरर्थक मात्र बन्यो
त्यो रोदन र क्रन्दन उनको।

खोई कहाँ हराए दानवीर कर्णहरू?
लुटिँदै गरेकी आमालाई
रक्षा कवचले
सुरक्षा दिन सक्नेहरू।
यहाँ त! हेरेर बसे सबै क्षेत्रका
सुरक्षा कवच पहिरिएका
उनका सन्तान कहलिएका
उनकै छातीको रस
चुसेर बलिष्ठ भएका,
आमाको यो दारुणपनलाई गिज्याउँदै,
लुटिएको आमाको अस्मिता हेर्दै,
विदेशी मिठो खान्गीमा रत्तिएर
मदहोस बनेर रमाउँदै,
जयजय गाइरहे तीनले
त्यो कालाग्नि महिषासुरको।
के त्यो पनि सन्तान नेपालकै हो?