म यो अनुसन्धानमा छु

मेरो जन्मको मूल जड् के हो ?

 

अनौठो लाग्ला

यस्तो प्रसङ्ग सुनेर

यो विचित्रता पछि

लुकेको कहानीप्रति

 

म यो सोच्दै छु

म अभिभावकको

प्रेममा पोखिएको

एक बुँद वीर्यको

परिणाम हुँ

 

उनीहरूको

कामुकताको

उपज हुँ म

 

रहरको मन्दिरमा

प्राप्त भएको

वरदान पनि हुँ म

 

नचाहेर पनि

चाहनाको शीर्षक

मिलेको कविता हुँ म

 

कारण जे होस्

मलाई पण्डित बोलाएर

नाम दर्ता गरिदिए

थर र गोत्रमा बाँधिदिए

जन्मजात लिङ्गको आधारले मात्र

मेरो बालापनमा सपनाको पानी थपिदिए

 

अजै पनि कसैले सोधेनन्

म मेरो जन्मप्रति

खुशी छु कि छैन

सन्तुष्टि छु कि छैन

 

सोध्यो भने पागल सम्झन्छन्

तर नसोधिनेलाई किन

डरपोक भनिँदैन

त्यसैले होला

आफैलाई सोध्ने हिम्मत पनि

अहँ कहिल्यै गरिनँ

 

संस्कारको अदालतमा

उभाएर कर्तव्यको मुद्दा लगाइदिँदा

धर्म र रीतिरिवाज

प्रमाणको रूपमा बसाइदिँदा

बोल्ने ओठ र खोज्ने होस्

दुवै हराइदिन्छन्

 

तर आज सबैले बधाई दिन्छन्

जन्मदिनको शुभकामना

तीन दशक बिताएको

हरेक पलमा

जन्मनुको रहस्य

रहस्यमै बसिरह्यो

अनन्त कालसम्म रहनेछ

 

कसैले त सोध

आफैलाई एकपटक

यो अनौठो प्रश्नले

लुकाएको उत्तरमा

कतै जिन्दगी पो लुकेको छ कि

आफै हराएको आफ्नो पन

भेटिने पो हो कि

गोप्य रहेका मनोकाङ्क्षाहरू

सल्केर पो आउने हो कि

 

सोधिहेर र

जब मन लोभ्याउने उत्तर मिल्छ

तब मात्र

आफैलाई भन्नुस्

हेप्पीबड्डे स्वयंलाई

अरूको शुभकामनाले

पुग्दैन बाँच्नलाई

आफैलाई शुभकामना दिऊँ

‘हेप्पिबड्डे !’