पीपी कोइराला

जब म ऐना हेर्ने

रहरमा पुग्थेँ

मैले मुहारमा

मुस्कान र कान्ति देख्थेँ

आँखा रसिलो

मन हँसिलो देखेरै

म दङ्ग पर्थेँ ।

 

समय बित्दै गयो

ऐना फुस्रिँदै गयो

अनुहार प्रस्ट देखिन छोड्यो

रुमालले पुछेर पनि भएन

जताततै कोरियो  त्यो ऐना

आफ्नै नङ्ग्राले त होला नि

आफ्नो अनुहार प्रस्ट नदेख्दा

मुक्कीले हान्न मन लाग्थ्यो

तर झस्किन्थेँ र सोच्थें

त्यो निर्जीवको के दोष ?

 

माया पनि उसकै लाग्थ्यो

दया अति जागेर आउँथ्यो

तर मेरो प्रस्ट उपस्थिति नदेख्दा

मेरा रिस र अहङ्कारहरू

मलाई नै खपि नसकन्नु भएपछि

एकदिन अचानक मेरो ऐना

मेरै हातले ठेलिएर फ्याट्ट झरेछ

झर्नेबित्तिकै फुटेन बरु चर्केछ

 

त्यसै त फुस्रिएको ऐना

चर्केपछि झन् डरलाग्दो भयो

अनुहार जताततै चिरियो

बेरूपको अनुहार देखाउने

त्यस ऐनालाई जोड्न खोजेँ

अनेक उपाय गरेँ तर जोडिएन

अन्तमा रिसले फाल्न खोजेँ

तर मलाई फेरि माया लाग्यो

अनि उसलाई बाकसमा राखेँ

मायाको चिनो हृदयमा राखेझैँ ।।