म सानो छँदा
आमाका कुरा सुन्थेँ
बाले भनेका कथा सुन्थेँ ।
आमाले कहिल्यै पनि
अरूका कुरा नसुन भनिनन्
बाले कहिल्यै पनि
मेरा मात्र कुरा सुन् भनेनन् ।

ठूलो हुँदै गएँ
एक दिन माथ्लाघरे ठूलीदिदीले
मेरा कुरा सुन भन्नुभयो
ठूलीदिदीका कुरा सुन्दै गएँ ।
आफ्नो समय आएपछि
पल्लाघरे ठुल्दाजुले
अरूका हैन मेरा कुरा सुन् भन्नुभयो
ठूल्दाजुका कुरा सुन्दै गएँ ।

डा. कुसुमाकर शर्मा

डाँडाघरे ठूलाबाले हकार्नुभो
मेरा कुरा पो सुन्नुपर्छ
ठूलोबाका कुरा सुन्दै गएँ ।

पानी भर्ने पँधेरामा एकदिन
मुखिया सानाबाले पाखुरा समाते
कुरा नसुने पानी वञ्चित हुने भो
मुखियाबाका कुरा सुन्नैपर्‍यो ।

आफ्नै खुट्टामा उभिने भएँ
समाजका अगुवाले
मेरो पछि लाग् र कुरा सुन् भने
कुरा सुन्दै पछि-पछि लागेँ।

अरूका कुरा सुन्दै जाँदा
जीवनको दौडमा
कतै लुटिएछु
कतै अल्झिएछु
कतै ठोक्किएछु
कतै भास्सिएछु
कतै अल्मलिएछु
कतै लटपटिएछु
कतै घोप्टिएछु
कतै पोखिएछु
आफैँलाई छोडेर अन्तै पुगेछु ।

आँखा खोलेर हिँड्दा
लक्ष्य मृगतृष्णा भएछ
आँखा चिम्लेरै खोज्दा
अन्तर्मन पनि कुँजिएछ
साउने भेलमा हात छुटेपछि
मझधारमा एक्लै परिएछ
घामलाई अँगालेर हिँड्दा
आगाको मुस्लामा झन्डै जलिएछ
जूनको शीतल ओढी हिँडदा
मसानघाटको सिरेटामा कठ्याङ्ग्रिएछ
शीतलाई अँगालेर जाँदा
आफ्नै समाजबाट बिलाइएछ ।

धेरै भयो अब त
मलाई पनि
आफ्नै एक सास तान्न मन छ
आफ्नै सुर तालमा नाच्न मन छ
स्मृतिका पानाहरू
जलाउन मन छ
धरै नपाएपछि
राखेको छु
बा र आमाका कुरा मात्र स्मृतिमा
म विस्मृत अवस्थामा छु
र त! एकान्तवासमा छु।