विजयिता भण्डारी

पिठ्युँमा दाउराको भारी
छातीमा सन्तान च्यापेर
महाभारतमा युद्ध लडेजस्तै
दुःखसँग युद्ध गर्ने
आमा

खुम्चिएको निधार
खडेरीमा खेतका
गह्राहरूमा परेको चिराजस्तै
कुर्कुच्चामा परेको चिरासँगै
अभाबहरू घुर्लुम्म ओढेर
सन्तानको सपनाको रङ्गहरु भर्ने
आमा

म हजुरलाई हेर्छु नि
मलाई
सुगन्धित फूल सुन्दर फूलझैँ लाग्दैन
रसयुक्त फल फलझैँ लाग्दैन
आमा
कहिले नमुर्झाउने फूल हुन्
कहिले रस नसकिने फल हुन्

आमा आमा हुन्

आमासँग
आगो हारेझैँ लाग्छ
घाम थाकेझैँ लाग्छ
वृक्ष झुकेकोजस्तै लाग्छ

मैले आमालाई
दुःखमा
ठेस लाग्दा
तिरस्कारमा
वृद्धाश्रममा उस्तै उस्तै देखे

धर्तीझैँ सहनशील
आकाशझैँ विशाल
प्रकृतिझैँ निःस्वार्थ
मैले बुझेको आमाहरूले
पसिनाले रुखो बारीलाई भिजाएर
उपलब्धिको आशा नराखेजस्तै
भेटेँ निःस्वार्थ
भयानक हतियार लुकाएर सुरिलो गीत गाउँदै
बग्ने खोलाजस्तै बुझेँ
पवित्र

भोकलाई पटुकीले छेकेजस्तै
दुःखलाई छेकेर
च्यातेका कपडा सिएजस्तै
पीडा सिएर
पिँजडामा चरी थुनेझैँ
रहरलाई मनभित्र थुनेर
सन्तालाई बहुमूल्य खुसी किनिदिने
आमा

मैले
गुनासो कहिले सुनिनँ
जो आमा हुनुहुन्छ
अनि जसको आमा हुनुहुन्छ नि
एकै लाग्छन्
जसका लागि लेख्न लाग्दा
शब्द लज्जित बनेझैँ गर्छ

अमूल्य
अतुलनीय प्रेमजस्तै आमा
आमा आमा हुन् ।।।

मेचीनगर नगरपालिका 4 झापा