के.जी. नर्सरी कहिल्यै नगए पनि
मनभरि बचपन भरिएको
बुद्धि कम भए पनि विवेक भएको
गोबरकै भए पनि
चिटिक्कको
म गोबरगणेश

न अग्लो न होचो
तिमीले जत्रो बनाउन चाहन्छौ त्यत्रै
ऊर्जाले भरिएको हरदम
सधैँ खुसी छचल्किँदो
गिलो भए पनि सुकेको भए पनि
चिटिक्कको
म गोबरगणेश

मन्दिरमा राख या मनमन्दिरमा
छातीमा राख या परेलीमा
नबिझाउने नचहऱ्याउने
अलि भुँडी ठुलो भएको
अलि खान बढी रुचाउने
भुड्को जत्रै भए पनि
आफूलाई सानो नठान्ने
चिटिक्कको
म गोबरगणेश

फूल चढाऊ या लड्डु
प्रेम गर या पूजा
म त मात्र तिमीलाई
तिम्रो बचपन फिर्ता दिन आएको
नमागे पनि दिन सक्ने
केही नभए पनि सबै भएजस्तो
सधैँ सन्तुष्ट
चिटिक्कको
म गोबरगणेश

बुद्धि कम भए पनि विवेक भएको
गोबरकै भए पनि
चिटिक्कको
म गोबरगणेश