साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- प्रभु म बौलाएँ

खगेन्द्र भट्टराई

प्रभु,
म अलिक उल्टा उल्टा बुझ्न थालेँ
प्रभुको उद्देश्यमा
मेरो मगजले प्रश्न उठायो
प्रभु हाँस्दा
म सशङ्कित भएँ
प्रभु नाँच्दा
म कम्पित भएँ
मलाई किन यस्तो भो !
के मेरो मगज उल्टो भो ?
मैले त,
सुव्यवस्थामा पनि अव्यवस्था देखेँ
प्रभुका भाषणमा प्रतिशोध देखेँ

सम्बन्धित पोस्टहरु

कविता- भद्र मान्छे

छन्द कविता- …कहाँ छ र ?

यत्रो सुव्यवस्थामा अव्यवस्था देख्छु
सदाचारभित्र भ्रष्टाचार देख्छु
प्रभुको स्वरूप अनन्त देख्छु
जताततै प्रभुकै प्रतिरूप देख्छु
मगज उल्टा भो प्रभु !
निर्विकल्प प्रभुका विकल्प देख्छु
शुभ्रवस्त्र धारित प्रभुलाई
नाङ्गै पो देख्छु
यो द्रोही कीरा कताबाट पस्यो र
यो भक्तको भक्तिरस चुस्यो
वक्रविचार आउन थाल्यो
मगजले विश्वासको खम्बा ढाल्यो
प्रभु,
म बौलाएँ ।

दमक १, झापा

 

प्रतिक्रिया
Loading...