मेरा शत्रुहरूबाट
बडो सकसले लुकाइराखेका
आँशुका धारा
प्रदर्शनीमा राखेको छु
तिमी मेरो आफ्नै हौ भने
त्यसमा तिम्रो नैतिकताको कुची चोबेर
आफ्ना ओठमा
मुस्कानका धर्साहरू कोर
तिमीलाई चौपट्टै सुहाउँछ
कुनै दुष्ट – कपटी, अवसरवादीले
कुनै अवसरै नपाउने गरी
मविरुद्ध
कुनै कपोलकल्पित
सुन्दै निकृष्ट सुनिने
पूरक कथा
सबैका कानमा तिमी नै भर
उचाई छुने, अग्लाई हेर्ने
लालसाले कुत्कुत्याइरहँदा
तिम्रा पौरखले
पहरा खोस्रेर टेको बनाउन नसक्दा
निरास नहोऊ
मेरो ढाडमा टेक र आकाश उक्ल
र, पुरिदेऊ मलाई खाडलमा त्यहीँ
आखिर पहिचान त वर्षौं पुरानो हो
र पनि, हरेक पटक तिमीसँगका
विस्मृतिमा जान्छन् बिझाउने स्मृतिहरू
यी कोमल हृदयबाट
तिमी आऊ
फेरि, फेरि आऊ
सामीप्यको प्राचीन मुस्कानले मलाई पगाल
र विश्वासको चाबी निकालेर
खोल मेरो निजत्वको ताला
र बुझाइदेऊ लगेर मेरा सम्पूर्ण खजाना
मेरा दुस्मनहरूलाई
म केवल मेरै आफ्नाहरूबाट लुटिएर
सकिन पाउने वरदानबाट अभिषापित छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।