देश टाट पल्टिएर के भो ?
देश चलाउनेहरू पल्टिँदैनन्
जनता भोक भोकै मरेर के भो?
शासकका पेट खाली रहँदैनन्
जनताका छोराछोरी बेरोजगार भएर के भो?
सरकारमा बस्नेहरू कहिल्यै बेरोजगार हुँदैनन्
गाउँशहरमा विकास नभएर के भो?
सरकार चलाउनेहरू कारबाट भुईँमा झर्दैनन्
देशमा हाहाकार रोग मच्चिएर के भो?
देशमा अस्पताल बन्दैनन्
अस्पताल नबनेर के भो?
सरकार चलाउनेहरू देशमा उपचार नै गर्दैनन्
देशमा राम्रा सरकारी विद्यालय नभएर के भो?
सरकार र शिक्षकका छोराछोरी जानै मान्दैनन्
जनताका छोराछोरीले पढेर के भो?
देशमा पढाइको प्रमाणपत्र चल्दैन
प्रमाणपत्र अल्मारीमा राखेर के भो?
प्रमाणपत्रले भोको पेट भर्दैन
विदेश जान पासपोर्ट बनाउन दिएर के भो?
सरकारमा रहनेका छोराछोरी काम गर्न विदेश जानै पर्दैन
घुसखोरी, भ्रष्टाचार नरोकेर के भो?
सरकार चलाउनेलाई कानुनले छुँदैन
जनताले प्रश्न तेर्साएर के भो?
अन्धो र बहिरो शासकले कहिल्यै सुन्दैन ।

तानसेन, पाल्पा