विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा, तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो ।

शीत काव्य समाज नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका कोइरालाको उक्त कृति प्रमुख अतिथि तथा देवकोटा साहित्य परिषद पाल्पाका अध्यक्ष भागवत खनालले लोकार्पण गरेका हुन् । लघुकथाको लोकार्पण गर्दै प्रमुख अतिथि खनालले लघुकथा समय सान्दर्भिक रहेको बताए । कुनै पनि लेखकले प्रकाशित गरेका कृति पाठकले अध्ययन गर्नु शिष्टाचार रहेको बताउँदै उपस्थित सम्पूर्णलाई उक्त कृति पढ्न आग्रह गरे ।

कार्यक्रममा लेखक तथा कथाकार नारायण कोइरालाद्वारा लिखित लघुकथा संग्रह मरुभूमिमा विस्फोट’ माथि समीक्षा गर्दै समीक्षक डा. शंकरप्रसाद गैरेले कथामा मानवेत्तर वस्तुहरूलाई मानवीयकरण गरिएको, व्यङ्ग्य चेतना र समाजिकीकरण जागृत भएको, ससाना घटनाक्रमहरूलाई पनि सटीक रूपमा प्रस्तुत गरिएको बताए । कृतिभित्र ५६ वटा लघुकथाहरू संग्रहित छन् ।

शीत काव्य समाजका राष्ट्रिय अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले शीतको जन्म भएको करिब चार महिनाभित्रै चारवटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रकाशित लघुकथा संग्रह शोध, खोज, सोच र ओजपूर्ण रहेको भन्दै कृतिको थप सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

लेखक कोइरालाले परदेशमा भए पनि आफ्नो साहित्यिक यात्रालाई थप सशक्त बनाएर लैजाने बताए । शीत काव्य समाज नेपालको राष्ट्रिय समिति गठन भएसँगै विभिन्न प्रदेशका साथै पाल्पा जिल्लामा समेत शीत काव्य समाज गठन भएको छ । यसअघि तीनवटा शीत कृति लोकार्पण गरिसकेको समाजले यस पटक लघुकथा संग्रह प्रकाशन गरी लोकार्पण गरेको हो । समाजको अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गुणवती केसीको स्वागत र शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो।