अँध्यारोको आगमनसँगै
खेतबाट
उकालो चढ्दै गरेका
मेरा बा
हातखुट्टामा हिलो
पिठ्युँमा घाँसको भारी
सकी नसकी
पाइला चालेका ती खुट्टाहरू
आँगनीको डिलबाट
हेर्दै गरेकी ती मेरी आमा
बाको आगमनले
खुसी भएका ती दिदीहरू
त्यो अवस्था देखेर
कल्पेका मेरा क्षणहरू
अँध्यारो सानो कोठा
गन्हाउँदै गरेका ओछ्यानहरू
दिदीहरूको चकचकेपन
अँध्यारो कोठामा
मिहिनेतले थाकेका बा
एउटा छोरो
जन्माउने आशामा बसेकी आमा
भाइ खेलाउने
रहर देख्ने दिदीहरू
त्यसैको सपना हुँ कि म ?
थाकेका बा
दिदीहरू
निदाएको मौका पारेर
निदाउन थालेकी आमालाई थुमथुमाउँदै
सिरकभित्र गुटमुटिएर
कानमा खासखुस गर्दै
निद्रामा झुम्मिएका ती नयनहरूलाई
बातिर
हेर्न बाध्य बनाउँदै गर्दाको
सपना हुँ कि म ?
थकान र डरको बीच
थाकेको बाघजस्तो
धूलोमाटोले पत्थर भएको
आमाको कपाल समाउँदै
चाउरी पर्न थालेका
ती ओठमा
झुस्स परेको दाह्रीले मुसार्दै
छोराको कल्पनामा वक्षस्थल समाउँदै
गर्दाको सपना हुँ कि म ?
दिनभरिको थकानबाट बचेको
अलिकति तागत लगाउँदै
च्यापिएको आमाको शरीरलाई
आफैँतिर तान्दै
अलिकति वीर्य चुहाउन
सङ्घर्ष गर्दागर्दैको
सपना हुँ कि म ?
आफ्ना सपना पूरा गर्न
विजारोपण गर्न बीउ छर्दै
बा र आमाको वीर्य मिश्रण भएर
बा
आमा
र दिदीहरुको सपना पूरा गर्न
आमाको पेटमा
उम्रिन सुरू गर्दै
पीडा र वेदना आमालाई दिएर
भविष्यमा
तिनीहरूको सुनौलो सपना कोर्न
बुढेसकालमा
जन्मिएको सबैको
सपना हुँ कि म ?
पाल्पा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।