सुकेको वरको मुढो बौरिन्छ, म ठान्दिनँ,
म्याद गुज्रिएको ओखतीको महिमा म देख्दिनँ।
मक्किएका खाँबाहरू पक्कै ढल्छन् छिट्टै,
परिवर्तनकारी सङ्कल्पको विकल्प म देख्दिनँ। (१)

समयको चाल नबुझ्नेहरू आफ्नै जालमा फस्छन्,
आत्मरतिमा रम्नेहरू सान्दर्भिकता गुमाउँछन्।
परिवर्तन प्रकृतिको विधान हो, नमान्ने छुट छैन,
‘बलवान् दुर्योधनहरूले’ अस्तित्व आफैँ गुमाउँछन्। (२)

अति भए खति हुन्छ, बुझिदिएको राम्रो,
‘सब थोक मेरै लागि’ हठ नगरेको राम्रो।
समय–प्रवाह विरुद्ध को टिक्न सक्छ र?
बचेखुचेको थोरै साख जोगाउन सकेकै राम्रो। (३)

पात पुरानो झर्नै पर्छ, नयाँ मुना पलाउन,
रात पनि ढल्नै पर्छ, नयाँ बिहानी उदाउन।
सम्मान पाउँदा–पाउँदै ‘एक्जिट’ लिनु राम्रो,
अवसर चाहिन्छ सबलाई क्षमता देखाउन। (४)