देशका युवा आज बेरोजगारको राहदानीमा
जहीँको होस् भिसा लगाइमाग्न आतुर छ
अस्थायी होस् वा स्थायी जुनसुकै विकल्पमा
जसरी पनि विदेश हानिन कटिबध्द छ
देखिन्छ मन कुँडिने दृश्य दिनहुँ एरपोर्टमा
हुन्छ युवाको लस्कर, अनि भिसा हातहातमा
विदेश झर्छन् जोखिम मोलेर भाग्य जोख्नलाई
व्याकुल छन् उनीहरू भविष्य आफ्नो खोज्नलाई
वियोगका आँशु पुछिएका छैनन् खादाका पत्रले
रोएका मन ढाकिएका छैनन् मालाका खातले
दुःख पढ्न सकिन्छ उदास तिनका आँखाहरूमा
मुटु दनदनी जलेको बिम्ब देखिन्छ मुहारमा
त्यसैले हो मलिन मुखमण्डलमा हाँसो भरिन नसकेको
गरुङ्गो मन थचक्क बिसाएर मौनता तोड्न नसकेको
परिवार सँगसँगै बस्ने इच्छा कसलाई हुँदैन होला र !
अनिश्चयको विदेश पलायन कसलाई रहर होला र !
गाउँघरमा खेतबारी धमाधम बाँझो पल्टदै छन्
सुन्दर रमणीय बस्तीहरू सन्नाटामा छोपिदै छन्
युवाविहीन छ समाज, छैन कत्ति ऊर्जा र कान्ति
विकासका उपभोक्ता छैनन्, छैन जीवनको गति
सडक, पुल आदि भौतिक पूर्वाधार बनेका छन्
स्कूल छन्, विद्यार्थी छैनन् तर शिक्षक छन्
शिक्षकलाई हाई सञ्चो छ, पढाउनु पर्दैन, फुर्सद छ
राजनीति गर्ने गज्जबको मौका भाग्यले पा’को छ
स्थानीय उत्पादन शून्य छ, छ निर्भरता बजारको
हराइहाल्यो उद्यमशिलता उपभोग औधी छ बढेको
जसरी अस्वस्थ राजनीतिको ग्राफ छ उँभो चढेको
विवश बनेर देशले, यी सबै क्रियाकर्म छ भोगेको
कथित ‘भाग्य विधाताहरू’ विप्रेषण बढेकोमा दंग छन्
गफै गफ हाँकेर ‘समृध्दि’ ल्याउने प्रतिस्पर्धामा छन्
स्वदेशमा रोजगारी सिर्जना गर्न कत्ति छैन चासो
सत्ताको छिनाझम्टीले राष्ट्रिय स्वार्थलाई बिर्सायो ।
नवसृजना मार्ग, नयाँ बानेश्वर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।