केही थान जर्ज अर्वेलका ‘नेपोलियन’हरू
बर्बादी मच्चाई रहेछन् देशमा
करोडौं स्वजनलाई ‘भुलभुलैया’मा थुनेर
मस्त छन् तान्डव नृत्यमा

‘स्नोबल’को भूत बेला कुबेला जगाएर
लोक तर्साउँछन्, दुनो आफ्नै सोझ्याउन
स्वाधिनता र सम्वृध्दिको आलाप गाएर
लामबध्द छन् तिनकै विरुध्द ल्याप्चे लगाउन

प्रपञ्च जारी छ नागरिकलाई अझै रैती बनाउन
उद्यत छन् दिनरात निरंकुशता बिउँझाउन
जरा नसा काटिँदै छन् राष्ट्रिय स्वाभिमानको
अस्तित्व माथि प्रहार, नित्य बढ्दो छ पराईको

‘बादशाहका नयाँ लुगा’का पात्रहरू जसरी
‘भल्गर’ अभिनय गर्छन् श्रेष्ठता जताउन
हानाथाप छ लौ हेर अयोग्यता दर्शाउन
निर्वस्त्र बेशर्मीहरू बाँचेका छन् डुबेर अहंकारमा

महासामन्तको मानसिकता छ गणतन्त्रको खोलमा
सामन्ती सोचका खात झल्किन्छ यावत् व्यवहारमा
दुविधा लिनु पर्दैन किञ्चित, देश यिनबाट बन्दैन
‘फायर’ गर्न ढिलो भो, अब थप बर्बादी चाहिँदैन |

मिनियापलिस, युएसए