गए राती यतातिर गज्जब भएछ
शहरभरि बाक्लैसित हिउँ फुलेछ

शिशिरको सम्मोहनले हावा झुलेछ
मान्छेको जिजीविषा ह्वात्तै बढेछ

उज्यालिएछ सिंगो आकाश बिहानी नझर्दै
घामको पहिलो झुल्का धर्तीमा नखस्दै

जनजनको आँखाबाट निद्रा नटुट्दै
बाँच्नुको अर्थ खोज्ने मन नजाग्दै

हिउँले शान्त धरालाई गम्लङ्ग छोपिछन्
प्रेमिल मनका ओठहरू सुस्तरी रसाइछन्

मान्छे झसंग हुने थुप्रै प्रश्न सोधिछन्
विषमतासँग जुध्ने योजना बुन्नु भनिछन्

मनमा मेरो उम्रेका छन् तिखा तिखा प्रश्नहरू
पत्रपत्रमा उम्लेका छन् अनेकानेक भावनाहरू

मान्छेको मनलाई स्वच्छ हिउँले धुन पाए हुन्थ्यो
गाजालाई शान्तिको बर्कोले छोप्न पाए हुन्थ्यो

युक्रेनमा मानवता जोगाउन पाए हुन्थ्यो
शत्रुताको दावाग्नि निभाउन पाए हुन्थ्यो

अस्पतालमा खस्ने बम रोक्न सके हुन्थ्यो
स्कूलका बालबच्चा जोगाउन सके हुन्थ्यो

मानव मनलाई हिंसामुक्त राख्न सके हुन्थ्यो
विश्व राजनीतिमा बुध्दत्व जगाउन पाए हुन्थ्यो ।

मिन्नियापलिस, युएसए