प्रेम भावना हो अंकुरण हुन्छ मनमा
प्रेम दृष्टि हो फैलन्छ फूल्छ मनमा
प्रेम सागर हो आदि अन्त्य छैन
अजर अमर छ प्रेम हुर्कन्छ मनमा ।
(१)

प्रकृतिको सुन्दरतम सृजना हो मानव जीवन
संघर्षको रापबाट परिस्कृत हुन्छ मानव जीवन
विचारको श्रेष्ठताले परिवर्तनको बहार ल्याउनु पर्छ
सुवासयुक्त श्रीखण्डझैँ बन्नुपर्छ मानव जीवन ।
(२)

‘संघे शक्ति कलियुगे’ मन्त्र भुल्नु हुन्न
‘भाइ फुटे गवार लुटे’ बुझ्न चुक्नु हुन्न
वैमनस्य धमिरा हो भित्रभित्रै खान्छ
मेलमिलापको ध्वज तल कहिल्यै खस्नु हुन्न ।
(३)

हजारौँ माइलको यात्रा सुरु हुन्छ एकै पाइलाबाट
दौडमा हारजीतको फैसला हुन्छ एकै पाइलाबाट
कठिनाइ त आउँछन् नै विचलित हुनुहुन्न
गर्विलो इतिहास बन्छ दृढताका पाइलाबाट ।
(४)

अचम्म छ विकासले यहाँ कुनाकाप्चाका गाउँ देख्दैन
अभाव र असुविधामा पिल्सिएका जनको जीवन देख्दैन
शहरमै पुलपुलिएको छ सुकिला मुकिलासँग लुटपुटिएको छ
गाउँतिर फर्किहाले पनि बिर्सिएकाहरूको जीवन देख्दैन ।
(५)

दिमागमाथि दिलको शासन चल्नु पर्दछ
शैतानमाथि विवेकको लगाम रहनु पर्दछ
सभ्यताको जगेर्नाका निम्ति सबैको साथ नभै हुन्न
जन जनमा प्रेम धारा अटुट बहनु पर्दछ ।
(६)