मेरो देशको युवा बेरोजगारको राहदानीमा
जहीँको होस् भिसा लगाइमाग्न आतुर छ
अस्थायी होस् वा स्थायी जुनसुकै विकल्पमा
जसरी पनि विदेश हानिन कटिबध्द छ

देखिन्छ मन कुँडिने दृश्य दिनहुँ एरपोर्टमा
लामबध्द युवाहरू भिसा सबैको हातहातमा
भाग्य जाँच्न विदेश झर्छन् जोखिम मोलेर
भविष्य कोर्न व्याकुल छन् एकलव्य बनेर

वियोगका आँशु पुछिएका छैनन् खादाका पत्रले
रोएका मन छोपिएका छैनन् मालाका खातले
दुख पढ्न सकिन्छ उदास ती आँखाहरूमा
मुटु दनदनी जलेको बिम्ब देखिन्छ मुहारमा

हो, त्यसले मलिन मुखमण्डलमा हाँसो छाउन नदेको
गहिरो दु:खको भारी बिसाएर मौनता तोड्न नदेको
परिवार सँगसँगै बस्ने इच्छा कसलाई हुँदैन होला र !
अनिश्चयको विदेश पलायन कसलाई रहर होला र !

धमाधम बाँझो पल्टदै छन् गाउँघरका खेतबारी
वृध्दाश्रममा रुपान्तरित भए बस्ती सबै वारिपारि
सन्नाटामय भयो समाज, छैन ऊर्जा कान्ति
विकासका उपभोक्ता खै ? कहाँ छ जीवन गति ?

छन् विकास पूर्वाधार सडक स्कुल कलेज आदि
छैनन् गाउँमा युवा, घट्दैछन् धमाधम विद्यार्थी
पढाउनु पर्दैन शिक्षकलाई अब पुरै फुर्सद छ
खेतालो खोज्नु पर्दैन राजनीतिको मेलो सर्दैछ

स्थानीय उत्पादन शून्य छ, निर्भरता भो बजारको
हरायो उद्यमशिलता, बढ्यो उपभोग आयातित बस्तुको
जसरी अस्वस्थ राजनीतिको ग्राफ छ उकालो चढेको
विवश बनेर देशले, यी सबै क्रियाकर्म छ भोगेको

‘मुखियाहरू’ विप्रेषण बढेकोमा छन् गर्वित औधी
गफको प्रतिस्पर्धा छ, यसरी आउँछ रे देशमा ‘समृध्दि’
चिन्तनको खडेरीले ल्यायो समाजमा निराशाको आँधी
त्यै आँधीमा लपेटिएका हुन् तमाम हाम्रा युवा युवती ।

नवसृजना मार्ग
नयाँ बानेश्वर