सप्तरी जिल्लाको रूपनगरमा जन्मिनुभएको खेमराज पोखरेल कुशल साहित्यकार हुनुहुन्छ । कविता, कथा, लघुकथा, समालोचना, संस्मरण जस्ता अनेक विधामा कलम चलाउनुभएका पोखरेका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । ३३ वर्ष जति त्रिविमा इतिहास विषय प्राध्यापन गर्नुभएका पोखरेल हाल अमेरिकाको टेक्सस राज्यको सान मार्कोसमा  हुनुहुन्छ । पोखरेलले हालसालै साहित्य संवर्द्धन केन्द्र नेपालका तर्फबाट नन्द—टुल्की—आनन्द सम्मान पाउनुभएको छ । हाल उहाँ सातौं लघुकथासंग्रह ‘एकालाप’ विमोचनको तयारीमा हुनुहुन्छ ।

प्रस्तुत छ, बहुप्रतिभाशाली खेमराज पोखरेलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

तपाईंले अमेरिका जस्तो व्यस्त ठाउँमा बसेर पनि अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनु भएको छ ?

– अमेरिकामा म सन्तानसँग बुढेसकाल बिताउन आएको हुँ । त्यसैले अमेरिका व्यस्त भए पनि म आय आर्जनका हिसाबले व्यस्त छुइनँ । परिवारलाई दिएर उब्रेको समय साहित्यलाई सुम्पेको छु । समय अपुग छैन । समय अपुग भन्नु पनि बहाना हो । आफ्नो सुत्ने समयबाट दैनिक २ घण्टा चोर्दा मात्र पनि केही न केही त

खेमराज पोखरेल

खेमराज पोखरेल

साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईँले कसरी हेर्नुभएको छ ?

– यो प्रश्न साँच्चिकै गहन छ सर्वज्ञजी । म वैचारिक रूपले भौतिकवादी हुँ । आस्तिक र नास्तिकको घनचक्करमा पर्दिनँ । साहित्य, जीवन, दर्शन, आत्मा, परमात्मा तथा प्रकृतिलाई पनि त्यसै अनुरूपले हेर्छु । साहित्य रञ्जना हो । जन्म र मृत्युको चेपुवामा रहेको जीवन भोग्ने कुरा हो । दर्शन ज्ञानको गहिराई हो । आत्मा वा परमात्मा अनुभूत गरेँ भनेर स्वः आह्लादित हुने मनोवैज्ञानिक कुरा हो । प्रकृति शाश्वत हो । साहित्यको सूत्र हो ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– हा हा हा सर्वज्ञजी ! पक्कापक्की कुरा म जाँगरिलो लेखक होइन । अल्छीपन, सुताइ, निष्क्रियता, अलालसा, अलमस्तता तथा हरफनमौला मेरा प्रिय विशेषता हुन् । ती सबै कुराले अनुमति नदिई म लेख्नै सक्दिनँ ।

संस्कृत साहित्य, नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा के फरक पाउनु हुन्छ ?

– संस्कृत साहित्य तथा अङ्ग्रेजी साहित्यका गूढताका बारेमा मेरो वृहत् र फर्स्ट ह्यान्ड नलेज पर्याप्त छैन । जति छ, त्यो द्वितीय माध्यम हो । नेपाली साहित्य धेरथोर पढेको अनुभव छ । यसैका आधारमा ममा धारणा चाहिँ छ । संस्कृत साहित्य विशाल र अभेद्य छ । जसले पढे उनीहरूले पनि कर्मकाण्डी तालमा पढे । गूढ रहस्यसम्म पुगेनन् । मैले माने पनि नमाने पनि अङ्ग्रेजी साहित्य संसारभरि छरिएको छ । यिनमा विषयको व्यापकता तथा विश्वजनिन दृष्टिकोणमा फरक पाउँछु । प्रायः नेपाली साहित्यकारहरू चिन्तनका हिसाबमा सामाजिक मनोविज्ञानका कारणले कन्जरभेटिभ पाउँछु ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– मैले उचाइको कल्पना गरेको छैन । मेरा विचारमा अध्ययन, चिन्तन र मननले याने साहित्यसाधनाले सिर्जनामा गुणवत्ता थप्छ । साहित्य साधना यस्तो यात्रा हो, जो कहिल्यै तुरिँदैन र कहीँ पुगिँदैन । न आरम्भ छ, न अन्त्य छ । नतुरिने र नपुगिने यात्राको के उचाइ, के गहिराइ ?

तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्छन् नि, किन ?

– म बहुप्रतिभाशाली हुँदै होइन, प्रतिभाशाली पनि होइन । म साधनाले सिर्जना गर्ने व्यक्ति हुँ । जागिरे जीवनको अन्तिम प्रहरतिर जस्केलाबाट साहित्यलाई हेर्दै, रमाउँदै लेख्दै जाँदा लघुकथा, कथा, समीक्षा, नियात्रा जन्मेका मात्र हुन् । वर्तमानमा म कवितासाधनामा छुइनँ । खासमा मैले लेख्ने भनेको पाठक्यौली हो । पाठकले समीक्षा भनिदिनुहुन्छ, म अब्डेरो हुन्न । तर यहाँले भनेझैँ निकै पनि होइन । निकै हुने कुरा पनि हुन्न ।

तपाईं कामबाट पनि अवकाश भइसक्नु भएको मान्छे ! पवन, नदी, सूर्य र समय जस्तै साहित्य जीवनको यात्रामा निरन्तर दगुरिरहनु भएको छ ! के थकाइ लाग्दैन तपाईंलाई ?

–  म त्रिविको पेन्सन वृत्तिमा भएको मान्छे हुँ । म आय आर्जनका हिसाबले बेकारी छु । यहाँले भनेझैँ म पवन, नदी, सूर्य र समय जस्तै साहित्य जीवनको यात्रामा निरन्तर दगुरिरहेको भने होइन । नदगुरेपछि थकाइ पनि किन लाग्नु र ! किनकि साहित्यमा मेरो यात्राको कुनै गन्तव्य छैन । कुनै लक्ष छैन । कुनै आस छैन । कुनै निराशा छैन । तर बाँचिनु भनेको बोध हो । र, म यही बाँचेको बोधका लागि साहित्यसाधनामा छु । फेरि थकाइ लाग्नु भनेको त सकिनु पनि हो नि । सकिन मन छैन ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– अलि रउसे खालको छु । डुल्न÷घुम्न मन पराउँछु । यसो गर्दा जीवनका सङ्गति-विसङ्गति बोध गर्न पाइन्छ । मेरो समय कम्प्युटरका की बोर्डले स्वात्तै खाइदिन्छन् । मजा छ । टन्टै खलास ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ?

– श्रोताका हिसाबमा मलाई गीत असाध्य मन पर्छ । तर गीतका अन्तरा भने पटक्कै आउँदैन ।  गीत-सङ्गीत मेरो प्रिय हो साधनाका लागि अभेद्य हो । लघुकथा, कथा, नियात्रा र उपन्यास सरोबरी मन पर्छ । त्यसैले ती विधाहरूको पाठकका रूपमा, सर्जकका रूपमा, पाठक्यौली लेखकका रूपमा उभिँदा आनन्द लाग्छ ।

लघुकथामा धेरै समय खर्चिनु भएको छ । पाठकले बुझ्ने भाषामा लघुकथाको बारेमा बताइदिनुहोस् न ?

– हो, साँच्ची नै लघुकथामा अलि समय दिन्छु । पाठकले बुझ्ने भाषामा भन्नु पर्दा लघुकथा भनेको कथाको खुम्चिएको रूप होइन । आख्यानको अलग्गै र स्वतन्त्र प्रविधा हो । यसको बुनौट सन्दर्भ कथाको भन्दा नितान्त फरक छ । कौतुहलता, आकस्मिकता, प्रतिध्वन्यात्मकता, लघुत्व, संक्षिप्तता, तीव्रता, साङ्केतिकता जस्ता अनेकन् विशेषता लघुकथाका हुन् ।

गत साल यौनकथाको सङ्ग्रह प्रकाशित गर्नु भयो । यौनकथा किन भन्नु पर्‍यो र ? ती सामाजिक कथा होइनन् र ?

– विसं २०७९ साल र २०८० सालमा कथाकार विश्वराज अधिकारीसँग संयुक्त रूपमा ‘सदृश्य पर्दा’ र ‘रनाहा’ शीर्षकका यौनकथासंग्रह प्रकाशित भएको कुरा सत्य हो । व्यापक अर्थमा हेर्ने हो भने यौन कथा पनि सामाजिक कथा नै हुन् । तर पनि दिमाग, हृदय तथा पेटसँग सम्बन्धित कथा लेख्न सजिलो छ । समाजले सजिलै पचाउँछ । र, सामाजिक भनिदिन्छ । तर पेटमुनिको याने यौनको कथा लेख्दा नेपाली कन्जरभेटिभ समाज अनुकूल हुन्न । असामाजिक भनिदिन्छ ।

यौनकथामा मूलतः यौन मनोविश्लेषण, यौन अपराध र यौन दर्शनलाई बुझ्नुपर्ने हुन्छ । हामीले दर्शनका आधार भूमिमा यौनकथा लेखेका हौँ । दर्शनका आधारमा लेखिएका कथामा शारीरिक सम्बन्धलाई आवश्यक र सकारात्मक तरिकाले हेरिन्छ । हामीले त्यो प्रयत्न गरेका छौँ ।

राम्रो लेख्न के गर्नु पर्छ ?

– राम्रो लेख्नु भनेको पनि आनुपातिक कुरा हो । के लेख्दा राम्रो ? के लेख्दा नराम्रो ? फेरि पनि पाठकदीर्घाले राम्रो र नराम्रो छुट्याइहाल्छन् । मेरा विचारमा राम्रो लेख्नका लागि आफ्नै हृदयलाई ढाँट्नु हुन्न । कसैका खुसीका लागि लेखिनु हुन्न । निजात्मक सत्य बोल्नु पर्छ । दोस्रो कुरा ज्ञानचक्षुको दायरा बढाउनु पर्छ । त्यसका लागि वृहत् पठन, अध्ययन, चिन्तन, मनन र हृदयाङ्गम गर्नु सूत्र हो ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– नेपालको पत्रकारिता त्यसमाथि पनि साहित्यिक पत्रकारिताका बारेमा म भित्री तहसम्म पुगेको छैन । सतहमा देखिएको, बुझिएको तथा सुनिएको आधारमा जोखिम छ । समूहगत छ । अप्राप्य छ । र, पर्याप्त छैन ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– पढ्न त जस्तो आइलाग्छ, त्यही पढ्ने हो । तर समाज केन्द्रित, अग्रगम्यता केन्द्रित, चिन्तन तथा मननको मात्रा भएको, विषयलाई अलग धारबाट व्याख्या गरेको अर्थात् थियोरी अफ डाउट का क्रिटिकल एनालिसिसका आधारमा विश्लेषण गरिएको कृति मलाई मन पर्छ ।

साहित्यकारले लेखेर बाँच्ने कुराका दुई अर्थ छन् । प्रथमतः लेखकको लेखाइ बाँच्ने हो । लेखाइ बाँच्नका लागि लेखौटमा नै प्रभावजन्यता हुन जरुरी हुन्छ । दोस्रो कुरा यदि बाँच्ने कुराको अर्थ अर्थोपार्जन हो भने बजारमुखी हुन जरुरी हुन्छ । प्रकाशक, प्रचारक, समालोचकको घनचक्करको यात्रा तय गर्नु पर्छ । पत्रिकाको रोयल्टीका लागि लेख्ने लेखक बजारमा बाँचेका हुन्छन् तर कृतिमा भने नामोनिसान हुन्न । दुवै भयो भने सुनमा सुगन्ध ।

साहित्यको मापदण्ड के हो ?

– मलाई कलात्मकता, कल्पनाशीलता, सिर्जनशीलता, इमान्दारिता, ग्रहणशीलता, विश्वजनीनता आदि साहित्यका मापदण्ड हुन् जस्तो लाग्छ ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– एउटा खाँटी साहित्यकार अन्तर्राष्ट्रवादी हुन्छ । त्यसैले संसारभरिका राष्ट्र र तिनका समाज, तिनका पद्धति, तिनका विचार साहित्यकारको चासो र चर्चाको विषय हो । तथापि साहित्यकारको आफ्नो एउटा देश हुन्छ । देशको महिमा हुन्छ । देश पहिचान पनि हो । देशका सङ्गति÷असङ्गतिले साहित्यकारलाई शीतलता तथा तप्तता दुवै दिन्छ । यो अर्थमा साहित्यकार अन्तर्राष्ट्रवादी हुँदाहुँदै देशीय पनि हो । राष्ट्रिय पनि हो ।

यो हिसाबले हेर्दा म भौतिक रूपले अमेरिकामा बसे पनि प्राविधिक तथा मानसिक रूपले नेपाली हुँ । यसकारण म नेपालका बारेमा पर्याप्त सोच्ने गर्छु । नेपालको राजनीतिक जगत्लाई व्यवस्थाका आधारमा गुणात्मक, प्रगतिका आधारमा ऋणात्मक, नेताका आधारमा लोलुप, जनताका हिसाबमा भेडो भएको पाउँछु ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु  हुन्छ ?

– साहित्यमा युगचेतना हुने नै गर्छ । जसरी जसरी युगका मान्यता परिवर्तन हुन्छन्, त्यसरी नै साहित्यमा युग चेतना पनि फेरिन्छ । धर्मका आधारमा लेखिएका साहित्यले तत् तत् कुराको अन्धविश्वासी चित्रण गरेका हुन्छन् । विज्ञानको पदार्पण भएपछि मान्छेले कज एन्ड इफेक्टका आधारमा युगचेतको व्याख्या गर्न थाल्यो । तर विज्ञानले पनि भावना, माया, दया, करुणा जस्ता कुराको अन्तर्य पत्ता लगाउन सकेन । फलस्वरूप विश्वचेत उत्तरआधुनिक कालमा पुग्यो, जहाँ अन्धविश्वास र कज एन्ड इफेक्टभन्दा माथि उठेर युगचेत बोल्न थाल्यो । वर्तमानमा त उत्तरआधुनिक चिन्तन पनि पुरानो भइसक्यो र अल्ट्रा मोडर्न चेत लिएर विश्व उभिएको छ । प्रविधिको सहयोगमा विश्व एक गाउँ, एक पुस्तक तथा एक अध्याय भएको छ । यसै रूपमा युग चेत छ भन्ने लाग्छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– सर्वज्ञजी ! पुरस्कार, सम्मान र समालोचनाका बारेमा एकदम वस्तुपरक भएर मैले अध्ययन गरेको छैन । बजारमा सुनिने-देखिने-अनुभूत हुने आत्मगत सूचनाका आधारमा वस्तुगत अवस्था केलाउन अन्याय हुन्छ । म पुरस्कार, सम्मान तथा समालोचनाको बाटोमा छुइनँ । पुरस्कार तथा सम्मान मेरो गन्तव्य होइन । लक्ष पनि होइन । समालोचना मेरो बुताको विषय पनि होइन । तथापि लगभग हरेक सानाठूला पुरस्कार तथा सम्मान विवादमा परेका देखिन्छन् । बार्टर ट्रेड हुन्छ भन्छन् पुरस्कार तथा सम्मानमा । जे होस्, त्यो नजाने गाउँको बाटो म किन पो नापूँ र ?

जहाँसम्म समालोचनाको प्रसङ्ग छ, हाकाहाकी भन्नुपर्दा योग्यतम् समालोचकहरू बजारमुखी भएका छन् । आर्थिक उपलब्धताको ओजका आधारमा समालोचना गर्ने परिपाटी देखिन्छ । यसले गर्दा कमसल कृतिको गुणग्राह्यताको अनावश्यक चढान र गुणवत्ता कृतिको अवसान हुने परिस्थिति भएको भने हो । एकप्रकारले भन्ने हो भने वर्तमान कालमा समालोचना त हुनै छाडे भन्दा पनि हुन्छ । जागिर प्रमोसनका लागि बाध्यकारी अवस्थामा बाहेक खोइ समालोचना भएको छ र ? समालोचनाको योग्यता नपुगेकाले लहड, रहर र समय कटनीका लागि गरिने गरेको समीक्षा त पाठक प्रतिक्रिया मात्र हुन् ।

अहिले संयुक्त विमोचन गर्दै कुन पुस्तक निकाल्ने तयारीमा हुनु हुन्छ ? किन ?

– हजुर ! २०८१ साल भदौ ३ गते काठमाडौँमा विभिन्न लेखकका विविध लघुकथासँग सम्बन्धी कृतिहरू (सिर्जना, सिद्धान्त, समालोचना आदि) मात्र सामूहिक रूपमा विमोचन गर्ने कार्यक्रम छ । यसअघि २०७६ साल भदौ ३ गते यसैगरी १८ ओटा लघुकथाका कृतिहरू एकैपल्ट विमोचन कार्यक्रम सञ्चालन गरेको थिएँ । भदौ ३ मेरो जन्म दिन भएकाले रहर, लहड तथा रञ्जनाका लागि यही दिन रोजेको हो । यो कार्यक्रममा मेरो सातौँ लघुकथासंग्रह‘एकालाप’ विमोचन हुनेछ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरिक साहित्यको आधारभूत रूपमा अर्थोन्नति भएको छ । विदेशमा बसेर दुई नम्बर नागरिक भएको, अल्पसङ्ख्यक भएको कारणले हुने भौतिक तथा मानसिक विभेदको चर्चा गर्नु डायस्पोरिक साहित्य हो । नेपाली साहित्यमा यसको ठूलो भाग छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? यहाँका अनेसासको आजीवन सदस्य पनि हुनु हुन्छ !

– हो, म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य हुँ । मैले अनेसासको कार्यको उच्च मूल्याङ्कन गरेको छु । किनभने भन्न सजिलो छ, काम गर्न गाह्रो छ । अनेसास क्रियाशील भएकोमा हर्ष लागेको छ । तर सुझावका लागि मात्र भनेको हुँ कि कोटरीबाट जति बाहिर निस्क्यो, उति फस्टाउने हो ।

तपाईं आख्यानकार पनि हुनु हुन्छ हो ? तपाईंको लेखनमा अन्य साहित्यकार भन्दा के फरक पाउनु हुन्छ ?

– म आफूलाई आख्यानकार भन्नुभन्दा पनि आख्यान रञ्जक भनिठान्छु । किनकि म काव्यमा भन्दा आख्यानमा रमेको छु । अन्य साहित्यकारका लेखन र मेरो लेखनको बिचको भिन्नता भन्न मलाई एकदम गाह्रो भएको छ । अन्य आख्यानकारलाई निःसन्देह महान् ठान्छु म । म आम हुँ ।

मन परेको पुस्तक कुन हो ? किन संक्षेपमा बताइदिनु हुन्छ कि ?

– धेरै पुस्तक मन परेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी पल्ट पढेको विदेशी कृति मक्सिम गोर्कीको आमा हो । रजनिसको सम्भोगसे समाधितक हो । स्वदेशी पुस्तकमा सबैभन्दा धेरै पल्ट लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पढियो होला ।

विदेशमा बसेर लेख्नु कत्तिको सजिलो छ ? विदेशमा बसेर लेख्ने र लेख्न चाहनेलाई के भन्न चाहनु हुन्छ ?

– विदेशमा बसेर लेख्न मेरा लागि त एकदम सजिलो छ । स्रोत, साधन, समय, इच्छा तथा जाँगर सबै थोक छ । आखिर डिजिटल समाज भएकाले नेपालमा बस्न नपाएकाले साहित्य सिर्जनामा कमी भयो भन्नु छैन ।

तर अमेरिकामा कामकाजी साहित्यकारले गोजेरोको स्रोत मिलाएर साहित्य साधना गर्नु भनेको फलामका चिउरा चपाउनु सरह हो । म उहाँहरूको सिर्जनाप्रति आभार व्यक्त गर्छु र उच्च मूल्याङ्कन गर्छु ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– के भनूँ ? पाठक महान् हो । सार्वभौम हो । साहित्यको शक्तिशाली सहयोद्धा हो ।

अन्त्यमा यो अवसरका लागि यहाँप्रति फेरि पनि धन्यवाद टक्र्याउँछु ।