सामाजिक सञ्जालमा बाक्लै सुनेँ, देखेँ, पढेँ नियात्राकार भवानी खतिवडालाई । तर लेखनीलगायत वैयक्तिक कुराको छेउटुप्पो पत्ता लाउन सकेको होइन मैले । २०७९ को वर्षा छेक म नेपाल पुगेका बखत थियो । नियात्राकार भवानीसँग भेट भयो । प्रज्ञाप्रतिष्ठानको क्यान्टिनमा चियाको सुर्कीसहित गफिन अल्पअनुकूल पर्यो । धौ फुकाएर बात मार्ने रहर मेरो आफ्नै सुस्तता र नियात्राकारको व्यस्त रहने स्वभाव तथा परिवेशले गर्दा तत्कालका लागि रहरमै सीमित भयो । तथापि हात लागिहाल्यो उनको सर्वपरिचित तथा नाम कमाइसकेको नियात्रासङ्ग्रह ‘घामभन्दा पहिले’ । घामलाई सुइँकोसम्म नदिई कुम्लोमा बाँधेर ‘घामभन्दा पहिले’ लाई अमेरिका छिराएको पनि केही महिना नै बितिसकेको छ । र, यो बेला फुकाएको छु । मैले कृतिलाई फुकाउने बेलासम्म यो कृतिले चर्चापरिचर्चा बटुलेर गगनभेदी स्यावासी पाइसकेको छ । सफलताको जँघार तरिसकेको छ । पुरस्कार ग्रहण गरिसकेको छ । नियात्राकारकै अर्को काव्यात्रा प्रकाशन भइसकेको छ । त्यसैले मेरो फुकाइ लहडीय तथा कर्मकाण्डीय भएको छ ।
२०३० सालमा उदयपुर जिल्लाको नेपालटारमा नियात्राकार भवानी जन्मँदा सप्तरीमा जन्मिएको म सत्र वर्षे लाठे थिएँ । नियात्राकारको कर्मघर र मेरो पहिचानघर खोटाङ जिल्ला नै हो । नियात्राकारले निजामती कर्मचारी भएर देशविदेश हाँकिरहँदा म विश्वविद्यालयको पूर्व जागिरे भएको छु । दुवैले परोक्ष, अपरोक्ष नेपाल सरकारको मानोचामल खाएका छौँ । यो मानेमा हामी बेलैदेखि भेटघाट चिनाजाना नभएको भए पनि सामिप्यमा छौँ । आफन्ती हौँ ।
कविता तथा नियात्रामा सरोबरी कलम कुदाउने स्रष्टा हुन् भवानी खतिवडा । उनको कृति नियात्रासङ्ग्रह ‘घामभन्दा पहिले’ साहित्यपोस्टले प्रदान गर्ने उत्तम कृति पुरस्कार २०७८ ले सुशोभित भइसकेको छ । थाइल्याण्ड, बाङ्लादेश, भियतनाम, भारत, श्रीलङ्काको भ्रमण गरिसकेकी स्रष्टाले विविध सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन् । यसरी व्यक्तिका रूपमा होस् वा कृतिका रूपमा सम्मानित भइसकेकी स्रष्टा भवानी खतिवडाको नियात्राकृति गुह्यभित्र एक झमट फेरो लगाउने जमर्को गरेको छु ।
रारातालको नीलो पानीका आडैमा श्वेतहिमाल चित्राङ्कित आवरण छ कृतिको । पश्च भागमा नियात्राकारको तस्बिर र त्यसमुनि शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ नियात्राकार तारानाथ शर्माको हस्ताक्षरसहितका लघुकथनहरू छन् । लगत्तै भुवनहरि सिग्देल र निर्मोही व्यासको पनि कृतिसित सम्बन्धित छोटा मतहरू छन् । शिखा बुक्सले २०७८ सालमा प्रकाशन गरेको यो पुस्तकलाई कृतिकारको मातापिताप्रति समर्पित गरिएको छ ।
कृतिलाई मूलतः मुक्तिनाथ, हलेसी र राराताल भ्रमणसन्दर्भको सौन्दर्यले सजाइएको छ । मुक्तिनाथ नियात्रा निबन्धभित्र ‘आमाको रहर’ ‘मुक्तिनाथको सेरोफेरो’ तथा कृतिको शीर्षकसमेत रहेको ‘घामभन्दा पहिले’ भन्ने उपशीर्षक राखेर एक नियात्राको निर्माण गरिएको छ । अर्कोतिर हलेसीयात्राका विषयमा लेखिएको यात्रानिबन्धमा ‘तीन तालमा हलेसी’ शीर्षकमा नै अटाइएको छ । उपशीर्षकहरू छैनन् । रारायात्रा मूल शीर्षक रहेको नियात्रामा भने ‘बुल्बुला हराएको बुल्बुले’, ‘काँक्रेविहारको काखमा’, ‘दैलेख ! म तिमीलाई माया गर्छु’, ‘हितैषीले जुराएको रारा यात्रा’, ‘दही नबग्ने दही खोला’, ‘पिलीको पीर खालीको खुशी’, ‘रारासँग मनका कुरा’, ‘छत्तीससँगको भेट र खलङ्गाको रात’, ‘नर्क कुण्डको ढोकैबाट’ जस्ता उपशीर्षकहरूबाट यात्रानिबन्ध तयार पारिएको छ ।
जब म यात्रासँग सम्बन्धित आलेख पढिरहन्छु, ममा एक प्रकारको रोमाञ्चकता प्रवाहित हुन्छ । र, प्राविधिक कुरा दिमागमा आइरहन्छ । त्यसैले घोत्लिरहेको छु । घोत्लिनु माने रनभुल्लमा परिरहेको छु । नियात्रा भनेको कस्तो लेखनी हो ? मैले भुइँफुट्टा तरिकाले आफैँले बुझ्ने गरेको नियात्रा भनेको यात्राको कैरन लेखिएको निबन्ध साहित्य हो । यात्राको टिपोट, यात्राको खर्चको नालीबेली, यात्राको संस्मरण, यात्राको रमाइलो,नरमाइलो प्रभाव आदिलाई अक्षरमा लेखिने कुरा यात्रा साहित्य हो । पद्यमा लेखिए त्यस्तो यात्रा साहित्य काव्य बन्छ, नाटकमा लेखे नाटक बन्छ भने निबन्धमा लेखिएको खास सीमाभित्र बसेको आलेख नियात्रा हो । नियात्रा भनिन गद्यमा लेखिनु पर्यो । प्रमुख रूपमा यात्राको कैरन, गन्तव्यको महत्ता तथा सर्जकको निजात्मकता नियात्राका तीन पाङ्ग्रे रथ हुन् । कुनै निबन्धात्मक यात्रासाहित्य नियात्रा भयो कि भएन भनेर जाँच्ने कसी पनि यही रथको तीन पाङ्ग्रा हुन् । नियात्रालाई स्वादिलो, बेस्वादिला पनि तिनैले बनाउने हुन् ।
‘घामभन्दा पहिले’ नियात्राकार भवानीको पहिलो नियात्राकृति हो । सोही पहिलो कृति नै साहित्य पोष्टबाट पुरस्कृत भएकाले जाहिर छ कि यसमा अनेकन विशेषताहरू समाविष्ट छन् । नियात्रा सिद्धान्तलाई अनुसरण गरी दह्रो प्रतिभाअभ्यासका साथ आएको छ यो कृति । सायद प्रकाशनपूर्व स्वः तथा विज्ञका सिपको आरन तय गरेको हुनु पर्छ यो कृतिले । जे होस् म कृतिभित्र मात्र एक झमट खाँदिएर बग्रेल्ती विशेषताको विशिष्टता पहिचान गर्दै छु ।
नियात्रा वा यात्रा साहित्यको सबैभन्दा नभई नहुने तत्त्व भनेकै यात्रा हो । यात्राको कैरन हो । यात्राको कैरन भन्नासाथ गन्तव्य क्षेत्र पहुँचको साधन, नियात्राकार आकर्षित हुने कारण, त्यस क्षेत्रमा रहेका प्राकृतिक तथा मानवनिर्मित रञ्जक परिवेश तथा सो क्षेत्रमा पाइने बस्ने, खाने सुविधा यति कुराको त वर्णन हुनै पर्यो । तब न अर्को यात्रुले यो कृति पढेर आफ्नो यात्राको योजना बनाउँछ ।
‘घामभन्दा पहिले’ निबन्धात्मक नियात्रामा नियात्राकारबाट गरिएका मुक्तिनाथ, हलेसी र रारा यात्राका कैरनहरू सुललित भएर आएका छन् । कृतिको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यात्राको सुललित कैरन हो । किनभने यात्रा कहिले ? (मिति), कहाँ ? (गन्तव्य), को ? (यात्री), कसरी ? (साधन) के ? (आकर्षण के हो ?) भन्ने सूचनाहरू हुनु यात्राको कैरन हो । यात्राकैरनका लागि निकै सुन्दर तरिकाले विनिर्माण गरिएको छ यो कृति । मुक्तिनाथ, हलेसी तथा रारायात्राको चित्रण सुन्दर हुनु यो कृतिको विशेषता हो ।
गन्तव्यको पहिचानका आधारहरू याने तत्तत् स्थानको महत्ता अथवा ती ठाउँले नियात्राकारलाई किन आकर्षण गर्यो ? भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक, ऐतिहासिक आदि आकर्षणका कारणहरूलाई उजागर गर्न सक्नु कृतिको अर्को विशेषता हो । ती भ्रमण गरिएका स्थानमध्ये राराको भ्रमणको प्रधान अभिध्येय विशुद्ध प्रकृतिदर्शन रहेको छ । अन्य दुई गन्तव्य मुक्तिनाथ तथा हलेसीको प्रधान आकर्षण भनेको धार्मिक अन्तर्य नै हो । गौण आकर्षणमा त्यहाँको प्रकृति, भूगोल, संस्कृति आदि त आइहाल्छन् । नियात्राकारले गन्तव्य स्थानका आकर्षणका बारेमा मजाले पर्गेलेको देखिन्छ । हलेसीको गुफाको धार्मिक तथा प्राकृतिक सौन्दर्य, इतिहास, समाज, सामाजिक अन्धविश्वास आदिको चित्र गजबसँग कोरिएको छ । त्यस्तै रारा तालको अवर्णनीय प्राकृतिक सौन्दर्य, वर्णनीय समाज, रुढिबुढी, अन्धविश्वास, राजनीति, इतिहास पनि ज्यादै सुन्दर तरिकाले प्रक्षेपण गरिएको छ ।
नियात्राकृतिभित्र नभई नहुने कुरा भनेको नियात्राकारको निजत्व हो । नियात्राभित्र गन्तव्यक्षेत्रको सूचना अपरिहार्य छ । तर त्यो सूचनाको अपरिहार्यता पनि खासमा गौण हो । सूचना त अन्य माध्यमबाट पनि पाउन सकिन्छ । त्यसैले ती स्थानको सूचनाका साथमा नियात्राकारको आफ्नो निजी अनुभूति, निजी कैरन तथा निजीपन जसले पाठकका मनमा अलग आनन्द दिन्छ, नै नियात्राका सुन्दर बीज हुन् । त्यसैले एउटै गन्तव्यमा पुगेका अलगअलग यात्रीका सूचना त एउटै हुनसक्छ तर निजात्मकतामा भने आनका तानको फरक हुन्छ ।
यही निजात्मकताको कसीमा राखेर हेर्दा कृति ‘घामभन्दा पहिले’ मा नियात्राकार भवानी खतिवडा अब्बल निजात्मकता भएकी पृथक नियात्राकार हुन् भन्ने लागेको छ । हलेसी, रारा तथा मुक्तिनाथयात्रामा नियात्राकारको निजात्मक खुसी, पीडा, मनोद्वन्द्व, बाध्यता, सुस्केरा, दिग्दारी, रोमाञ्चकता, प्रफुल्लता जस्ता निजात्मकता निकै सुन्दर तरिकाले खिपिएका छन् । यसो हुनु कृतिको सुन्दर विशेषता हो । ‘घामभन्दा पहिले’ शीर्षकको नियात्रामा ‘यहाँ बसको झ्याल खोलेपछि फोहोरको डङ्गुर होइन, सौन्दर्यको थुप्रो देखिन्थ्यो’ भन्ने वाक्य प्रयोग भएको छ । यसले पहाडी बाटोको यथार्थ चित्रण मात्र बताउँदैन; यात्रामा देखिएका कटानले अभिषप्त लम्पसार भएका रुख, नेपालीले गन्तव्यका बाटामा फालेको चाउचाउका प्लास्टिकको दृश्य पनि देखाउँछ ।
माथि उल्लिखित विशेषतालाई सैद्धान्तिक पनि मान्न सकिन्छ । सैद्धान्तिक विशेषता अब्बल हुनु र सरदर हुनु भनेको अर्को कुरा हो । तर यो कृतिभित्र नियात्राको तिन पाङ्ग्रे सिद्धान्तलाई भने जब्बर तरिकाले अपनाइएको छ । त्यसैले यात्राको कैरन, यात्राको आकर्षणको कारण तथा नियात्राकारको निजात्मकता अति सुन्दर तरिकाले चित्रित छ । तर यसबाहेक पनि कृतिभित्र अनेकन सुन्दर विशेषताहरू छन् ।
नियात्राकारको भाषामा पकड देखिन्छ । किनभने भाषा नै समग्र कुराको प्रस्तुतिको आधार हो । यही आधारबाट हेर्दा नियात्राकारले कृतिभित्र प्रस्तुत गरेको भाषा सुन्दर, सुललित, बोधीय र रञ्जक छ । सुन्दर भाषाका माध्यमबाट नियात्राको प्रस्तुति पनि ज्यादै सशक्त बनेको छ । नेपाली भाषामा मात्र होइन; यात्रामा वर्णित स्थानविशेषमा बोलिने भाषिकाका सम्वादहरू पनि प्रयुक्त गर्ने विशेषता देखिन्छ । भाषामा स्थानीयता (लुङ्दर र छोत्तर), सम्वादमा आञ्चलिकता (पोइतो—दाल), तथा मानक नेपालीमा सशक्तता कृतिभित्र पाइने विशेषताहरू हुन् ।
कृतिभित्र बेजोड छ प्राकृतिक चित्रण । हलेसीको गुफाको चित्र होस् वा यात्राका दौरान गुड्ने बाटोको होस्, नदीको होस् वा जङ्गलको सवैका सवै प्रकृतिको चित्रण मनमोहक तरिकाले प्रस्तुत भएको छ । खासमा एक अर्थमा भन्ने हो भने कृतिलाई प्राकृतिक चित्रणले निकै सुरम्य बनाएको छ । यस्तो प्रकृतिको चित्रणमा मुक्तिनाथको मन्दिर तथा १०८ धारा वा त्यो भेगको प्रकृतिको नक्सा उतारिएको छ । हिमाल होस् वा पहाड, समथर होस् वा खोँच सबैको प्राकृतिक चित्रण ज्यादै राम्रो छ । अझ रारा तालको प्राकृतिक चित्रण त झन् मनमोहक छ । राराको रङ्ग फेर्ने पानी, आडैको हरियो वन, त्यसमाथिको हिमाल र ती सबैले बनाउने एउटा सुरम्य प्राकृतिक चित्रले कृति सजिएको छ ।
कृतिको अर्को सुन्दर विशेषता भनेको सूचनाको प्रचुरता हो । नियात्रामा लेखिने-भनिने सूचनाको यथार्थताको जिम्मा नियात्राकारको हुन्छ । याने कृतिभित्र प्रस्तुत सूचनाको कैरन यथार्थ हुनु पर्छ । सूचनामा कल्पनाशीलता हालियो भने त्यो बाधक हो । यो कुरा बुझेर नै होला नियात्राकारले प्रदान गरेका सूचनाहरू यथार्थ देखिन्छन् । हलेसीबारेको सूचना, मुक्तिनाथबारेका सूचना तथा राराबारेको सूचना, त्यहाँका इतिहास, राजनीति, समाज तथा परम्पराका सूचनाबोध निकै राम्रो छ । उदाहरणका लागि मार्फाको स्याउ तथा खेतीप्रणाली, जोमसोम तथा कागबेनीको चित्र, मुक्तिनाथ तथा १०८ धाराको सुन्दर चित्रण, दैलेखको कीर्तिस्तम्भ, नाभीस्थानको ज्वाला, पिलीको भिरमा मारिएका ५८ जना सेना र २६ माओवादी, ताल्चा विमानस्थल र रु १ मा रहेको चङ्खेली हिमाल, रारा राष्टिय निकुञ्जको चित्रण आदिलाई लिन सकिन्छ ।
‘तीन तालमा हलेसी’ नियात्रामा सामाजिक अन्धविश्वासलाई मजाले उजागर गरिएको छ । नियात्राकार पहिलोपल्ट महिनावारी भएकाले, दोस्रोपल्ट गर्भवती भएकाले हलेसी जान नपाएको कुरा उल्लेख छ । अन्धविश्वासको जब्बर नमूना हो यो । हलेसी यात्राका दौरान नेपाली प्रवृत्तिको जिपवालाले देखाएको ठग्ने प्रवृत्तिको चित्रण पनि गजबको छ । यस्ता कैयौँ सामाजिक, राजनीतिक, मनोवैज्ञानिक तथा अन्धविश्वासी समस्यामाथि नियात्राले मजाले नजर लगाएको देखिएको छ ।
नियात्राकारमा विषयलाई आख्यानीकरण गर्ने शिल्प सुन्दर देखिन्छ । यद्यपि नियात्रा भन्नु आख्यान होइन, तथापि नियात्रालाई चखिलो र सुन्दर बनाउन आख्यानीकरण अति सुन्दर मानिन्छ । नियात्रालाई सजावट गर्न आख्यानमा प्रयोग हुने कल्पनाशीलता, सिर्जनात्मकता जस्ता आधार प्रयोग गरेर प्रस्तुत कृतिलाई सुन्दर बनाइएको छ ।
नेपाली साहित्य परिवृत्तमा नियात्राको सर्वस्वीकार्य आकारीकरण भइसकेको छैन भन्छन् विज्ञ । विज्ञका आआफ्नै तर्क र आकारीकरण छन् । किनभने प्रशिद्ध नियात्राकार तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ (२०२६) को भूमिकामा विशिष्ट विद्वान बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्द जन्माएका हुन् । त्यस यता यात्रा साहित्य नियात्रा हुन बल गरिरहेको छ । यही बल गराइका क्रममा छ नियात्रा सिद्धान्त ।
पुस्तक पढी तुर्न थालेको छु । मन खोचे थाप्न खोज्दै छ । यद्यपि कुनै कुरा पनि जेनिथ सत्य हुन सक्दैन । सधैँ सुधारको गुन्जाइस भइ नै रहन्छ । यो कृति पढेर मेरा दिमागमा चटारो परेको छ । दुबिधा उत्पन्न भएको छ । केही प्राविधिक कुरा छन् । केही व्यावहारिक कुरा छन् ।
पुस्तकको शीर्षक ‘घामभन्दा पहिले’ ले कसरी कृतिलाई समग्रमा बोक्न सक्यो र ? भन्ने जिज्ञासा मलाई किन उत्पन्न भएको होला ? किनकि कृति शीर्षक सवै निबन्धलाई प्रतिनिधित्व गराउने खालको हुनु पर्छ भन्छन् विज्ञ । शीर्षक ऐना हो कृतिअभ्यन्तरको । कृतिभित्र ‘घामभन्दा पहिले’ उपशीर्षकको एउटा निबन्ध छ । तर यात्राकैरनमा त्यो उपशीर्षकीय निबन्ध त्यति दर्बिलो र प्रधान प्रयोजनीय पनि छैन । विषयसूचीमा मुस्ताङसितको भेट शीर्षक छ तर भित्र पाठमा त्यसबारे कुनै आलेख छैन । आमाको रहर भन्ने उपशीर्षक नियात्रा होइन, नियात्राको पृष्टभूमि मात्र हो । त्यसलाई किन अलग्गै शीर्षकमा राखिएको होला ? यसैगरी बुल्बुले ताल, काँक्रेबिहार, दैलेख तथा रारा यात्राका बारेमा स्वतन्त्र आलेख बन्नसक्थ्यो । दही नबग्ने खोलाको आलेखभित्र कुनै भूमिका छैन । केवल दही खोलालाई गाडीले काटेको मात्र हो । छत्तीससँगको भेट नियात्रामा छत्तीसको कुनै अर्थ छैन । शीर्षक नै राख्नुको कारण के होला ? नियात्राकारको रारा तालको यात्रा आकस्मिक हो, योजनाबद्ध होइन । सुर्खेत तथा दैलेखको यात्राकैरन कसरी राराताल शीर्षकमा अटाउन सक्छ ? जबकि नियात्राकारको सुर्खेत तथा दैलेख यात्रा योजनाबद्ध हो । रारा तालको यात्रा दौरान सुर्खेत तथा दैलेखको यात्रा गरिएको होइन । दुवै स्थानको यात्राहेतु अलगअलग छ ।
नियात्रा लेखनमा वर्तमान कालको प्रयोग गरिनु पर्छ भन्ने मान्यता छ । याने आँखाले देख्दै गरेको दृश्य लेखिनु पर्छ भन्ने छ र यसरी वर्तमानकालमा लेखिरहँदा कुनै पूर्वसंस्मरण आएमा मात्र त्यो भूतकालमा लेखिनु पर्छ भनिन्छ । तर यो नियात्रासङ्ग्रहमा नियात्राकारले यो कुरालाई त्यति हेक्का राखेको जस्तो अनुभूत हुँदैन ।
नियात्रामा नियात्राकारका व्यक्तिगत खाने,पिने, बस्ने जस्ता विषयमा धेरै बयान गरियो भने त्यो आम पाठकका लागि बोझिलो बन्छ भनिन्छ । कृतिभित्र त्यसरी पाठकलाई नै बोझिलो हुने गरी व्यक्तिगत कुराहरू त छैनन् तथापि कतिपय प्रसङ्गमा खाने,पिउने,बस्ने कुराको चर्चा गर्न अलि धेरै हौसिएको पो हो कि भन्ने भान पर्छ ।
अन्य नियात्राकृति पढिरहँदा जस्तै यो नियात्राकृति पढ्दा पनि दिमागभरि एउटा जिज्ञाशा भने आइरहेको छ । ‘घामभन्दा पहिले’ नियात्राकृति निबन्ध हो कि उपन्यास ? किनभने यात्राकैरन साहित्यका सवै विधामा लेख्न सकिन्छ । सवै उपविधामा लेख्न सकिन्छ । नियात्रालाई निबन्ध मानिँदै आएको छ । यदि निबन्ध हो भने एउटा शीर्षकमा लेखिएको यात्राकैरन पूर्ण हुनु पर्छ । अघिल्ला पाठहरूसँग जोडेर मात्र बुझिने हो भने त्यो निबन्ध हुन्न होला । त्यसैले आजकाल उपन्यासमा जस्तो क्रमिक रूपमा पाठहरू राखेर लेख्ने गरिएकाले त्यसलाई ‘नियात्रोपन्यास’ भन्न थालिएको छ । यो आधारबाट हेर्ने हो भने ‘घामभन्दा पहिले’ नियात्रासङ्ग्रहमा कतै नियात्रा देखिन्छ कतै नियात्रोपन्यास देखिन्छ ।
अब आलेखको पुछारमा आइपुगेको छु । जहाँसम्म मैले नियात्राकार भवानी खतिवडालाई व्यक्तिगत तथा कृतिगत रूपमा चिनेको छु, खाँटी नियात्राकार जस्तो लाग्छ । जन्मेकै यात्रा गर्न होला भनेजस्तो लाग्छ । वयले, आकारले, सोचले, व्यवहारले, जागिर र सुबिधाले नियात्राकार जस्तो लाग्छ । किनकि जता गयो उतै सरकारी अफिसका मान्छे भेटिन्छन् । चिनाजाना छ । सत्कार र सुबिधा छ । सहयोग छ । यद्यपि ती सबै सुबिधा पाउनेबित्तिकै यात्रु नियात्राकार भइहाल्छ भन्ने कुरा होइन । यात्रुभित्र प्रतिभाअभ्यास जब्बर नभई नियात्राकृति जन्मन सक्दैन । यसरी हेर्दा नियात्राकार भवानी खतिवडाभित्र सशक्त प्रतिभा छ । र, तिब्र अभ्यास पनि छ । परिवेशीय सुबिधा, प्रतिभा र अभ्यासको गहिरो त्रिवेणीबाट यस्तो सुन्दर कृति जन्मेको छ । यसका लागि बधाई ।
कुनै नियात्रा निबन्ध सफल भयो कि भएन भनेर हेर्ने कसीमा विज्ञका कुरा त फरक होलान्, तर महत्त्वपूर्ण कसी भनेका पाठक हुन् । पाठकलाई ती गन्तव्यमा आफैँ पुगेजस्तो अनुभूति भयो कि भएन भन्ने कुरा हो । यो मापदण्डलाई शिरोपर गरेर एउटा पाठकका आँखाबाट हेर्दा नियात्राकार भवानी खरो उत्रेको अनुभूत भएको छ मलाई । जुम्लाको मार्सी धानको चर्चा, खेतका गह्राहरूको बयान, एउटा भर्खर जन्मेको पाठाको मूल्य २५०० तिरेको अनुभूतिले यात्राकैरनलाई चखिलो बनाएका छन् । जुनजुन ठाउँमा नियात्राकार पुगेकी हुन्, तत्तत् ठाउँमा पाठक पुगिहाल्छ । त्यसैले नियात्रासङ्ग्रह सफल भएको छ ।
‘घामभन्दा पहिले’ नियात्रासङ्ग्रहको विषयवस्तु प्रस्तुति हेर्दा विषयवस्तुको हेतु वरिष्ट नियात्राकार प्रतीक ढकालसँग प्रभावित देखिन्छ । आलेखभित्र प्रतीक ढकाललाई उद्धरण पनि गरिएको छ । प्रतीक ढकालको नियात्राकृति ‘उज्यालो कर्णाली’ मा कर्णालीलाई सुन्दर, सम्पन्न र साजसज्जायुक्त देखाइएको छ । ‘घामभन्दा पहिले’ नियात्राकृतिमा पनि कर्णालीको सम्पन्न र सुन्दर चित्र प्रवाह गरिएको छ । यद्यपि दुवै नियात्राकारले गरेको कर्णाली भ्रमण सुविधायुक्त छ । यस्तो सुविधायुक्त भ्रमणले व्यक्तिलाई कर्णालीकहरसम्म पुग्नै दिँदैन । कहरसम्म पुग्न नपाएपछि भोग्न नपर्ने तर आँखाले मात्र हेर्ने कर्णाली सुन्दर हुने नै भयो । वरिष्ट नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ मा लेखिएका नियात्राहरू शीर्षक र उपशीर्षक राख्दै नियात्रोपन्यास शैलीमा प्रस्तुत गरिएको छ । यो शैलीसँग नियात्राकार भवानी खतिवडाको लेखनशैली पनि मिल्दोजुल्दो छ । तथापि दुवै सशक्त नियात्राकारहरू (ढकाल र डङ्गोल) को गुणवत्तालाई कृतिमा समावेश गर्न सकेको हुनाले ‘घामभन्दा पहिले’ आलोकीय बनेको छ । यो कुरामा कुनै सन्देह छैन ।
अब अन्त्यमा, ‘घामभन्दा पहिले’ नियात्राकृतिले यात्राको कैरन मात्र बताउँदैन; नियात्राकारको निजात्मक जीवनको चर्चा गर्दै जनसम्पर्कमा सिपालु, मिलनसार, आत्मीय र सुखदुःखमा समभाव देखाउने परिश्रमी स्रष्टाका रूपमा पनि चित्रण गर्छ । केही निमेषको भेटाइमा पनि नियात्राकारको फरासिलो व्यवहारबाट म प्रभावित भएको छु । पाठकका तर्फबाट नियात्राकारको आगामी नियात्रा लेखनले अझ उचाइ प्राप्त गरोस् भन्ने अशेष सदीक्षाका साथ पाठक्यौलीलाई तुर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।