प्रवासमा बसेर निरन्तर साहित्य साधना र लेखनमा समर्पित स्रष्टा सुनिल सङ्गम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान केन्द्रीय उपाध्यक्ष  हुनुहुन्छ ।  उहाँ मिठा र मन छुने गीतहरू सिर्जना गर्ने गीतकारका रूपमा परिचित हुनुहुन्छ । उहाँको २ वटा गीति एल्बमहरू  “याद” (२०५६) र “इच्छा” (२०५७) प्रकाशित छन् । पुस्तकको रूपमा “थोपाथोपा” गीतसङ्ग्रह र संयुक्त सङ्ग्रह “लाभेन्दरका परागहरू” प्रकाशित छन् । उहाँ विभिन्न पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ । 

प्रस्तुत छ,  सर्जक गीतकार सुनिल सङ्गमसँग भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

सर्वप्रथम भर्खरै सार्वजनिक भएको राष्ट्रिय भावले ओतप्रोत नयाँ गीतको लागि हार्दिक बधाई छ !

– धन्यवाद वाग्ले जी यहाँलाई पनि !

सुनिल सङ्गम

सुनिल सङ्गम

अहिले कहाँ के गर्दै हुनुहुन्छ ? साहित्य सिर्जनालाई कसरी अगाडी बढाउँदै हुनु हुन्छ ?

– अहिले म बेलायतमा छु र यहाँ अरू नेपालीहरू जस्तै म पनि सङ्घर्ष गर्दै छु । अलिकति नयाँ पनि छु, घुलमिल हुन केही समय त लाग्छ नै । तर म जहाँ रहे पनि सिर्जनाकै क्रममा छु । केही नयाँ गीतहरू आइरहेको छ । लेखनको अलावा सङ्गीत र म्युजिक भिडियो निर्देशन तिर पनि लागिरहेको छु । आउँदा दिनहरूमा सङ्गठित भएर विभिन्न योजनाहरू सहित विभिन्न कार्यक्रमहरू गर्दै नेपाली भाषा र साहित्यको लागि अगाडी बढ्ने छु !

बेलायतको साहित्यिक माहौल कस्तो छ ? बेलायतवासी नेपालीहरूमा साहित्यप्रतिको अभिरुचि कस्तो पाउनु भयो ? 

– बेलायतको साहित्यिक माहौल अलि फरक रूपमा पाएको छु । अनगिन्ती संघ संस्थाहरू खोलिएका छन् केही सक्रिय छन् केही नाम मात्रका आफ्नै झुण्डहरूमा रमाइरहेका छन् । तर साहित्यमा एकदमै रुचि भएका र लागिपर्ने साथीहरू पनि हुनुहुन्छ । उहाँहरू सक्रिय पनि हुनुहुन्छ भने कोही पदलुप्त, साहित्यभित्र पनि राजनीति गर्ने, आफ्नो औकात बिर्सिने, असहयोग गर्ने र मुखले एउटा काम र मनले अर्को । यस्ता प्रवृत्तिका पनि छन् भने  कोही काम व्यवसायको व्यस्तताले पनि साहित्यबाट टाढा हुन पुगेका छन् !

अनेसाससँगको यहाँको आबद्धता र  अनुभव कस्तो रह्यो ?

– अनेसासमा मेरो आबद्धताको कुरा गर्दा अनेसास इजरायलको स्थापनालाई कहिले भुल्न सक्दिन । त्यही स्थापनाले केन्द्रीय प्रकाशन अन्तर्दृष्टिको सम्पादक र अन्तर्राष्ट्रिय साहित्यिक माहौलमा घुलमिल हुने मौका पाएँ । त्यसपछि पोर्चुगल च्याप्टरको अध्यक्ष भएर ३ कार्यकाल काम गर्ने मौका जुर्यो सुरुका दिनहरू त्यहाँ पनि निकै सङ्घर्ष गर्नु पर्यो भने पछिल्लो समय  नियमित रचना वाचनको शृङ्खलाहरू, बेला बखतको पुस्तक प्रकाशन, विश्वव्यापी प्रतियोगिताहरूको आयोजना, गोष्ठी, भेटघाट र जमघटहरूले साहित्यिक माहौल जुरुक्क उचालेको थियो ती क्षणहरूमा मेरा सिर्जनाहरूले पनि अझ फक्रिने मौका पायो भने संस्थागत रूपमा मलाई अझै अनुभवी र परिपक्व बनायो । यसैको उपज २ कार्यकाल अनेसासको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने मौका  मिल्यो ।

यहाँको गीतिसङ्ग्रह ‘थोपाथोपा’ पनि प्रकाशित भएको थियो । यसमा कस्ता खाले गीतहरू समेटिएका छन् र कस्ता गीतहरू लेख्न मन पराउनु हुन्छ ?

– मलाई जहाँ जहिले जसरी जुन विषयले प्रभाव पार्यो, त्यही विषय वस्तुहरूमाथि शब्दहरू उतारेँ । मैले मेरा गीतहरूमा धेरै थरीका जीवनहरू लेखेको छु । मान्छेको जीवनलाई प्रेमले गहिरो प्रभाव पार्दो रहेछ मैले त्यही प्रेमका गीतहरू लेखेँ । त्यस्तै प्रेममा प्रेमीहरू पागल पनि बन्दा रहेछन् मैले तिनै प्रेमीहरू लेखेँ । त्यागी, दयालु र मायालुहरू पनि लेखेँ भने जालिझेलीहरू र निष्ठुरीहर पनि । कतै छाया कतै माया,  कतै माटो कतै बाटो लेखेँ । देश पनि भेष पनि र सुन्दर प्रकृति पनि लेखेँ । हो यिनै गीतहरू ‘थोपाथोपा’भित्र समेटिएका छन् र यस्तै गीतहरू लेख्न मन लाग्छ ।

सङ्ग्रहको शीर्षक “थोपाथोपा” चाहिँ   किन राख्नु भयो ? कुनै विशेष कारण ?

थोपाथोपा रगतमा तिम्रै माया सलबलाउँछ 

 तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ 

आमाप्रति समर्पित अति नै मार्मिक ममतामयी यो गीत नै आफ्नो जन्मदिने स्वर्गीय आमा प्रति समर्पण गरेको छु | वास्तवमा यो गीत निकै कर्णप्रिय पनि बनेको छ ।

यहाँका धेरै गीतहरू रेकर्ड भएका छन् साहित्य लेखनको मुख्य विधाको रूपमा गीतलाई नै रोज्नुको कारण के हो ? 

–  सानैदेखि गीत सङ्गीत सुन्ने र सङ्गीतको केही ज्ञान भएको कारण पनि हुन सक्छ गीतमा जति सन्तुष्टि मलाई अरू विधामा हुँदैन तसर्थ कहिलेकहीं सङ्गीत भर्छु र गाउँछु ।  साथै केही गीतहरूको भिडियो पनि निर्देशन गर्छु ।

विशेषतः यहाँ गीतकार भनेर नै परिचित हुनुहुन्छ, यद्यपि मैले चाहिँ सुरुकाे  बहुचर्चित कथा “मेरो स्वास्नी र  त्यो जुँगे”बाट तपाईंलाई चिनेको हुँ । आफूचाहिँ तपाईं के भन्न रुचाउनु हुन्छ ? गीत बाहेक अन्य विधामा यहाँको लेखन कस्तो हुँदै छ ?

-लेख्न त म साहित्यको अन्य विधा नि लेख्छु इजरायल रहँदा थुप्रै कथाहरू र अन्य लेखहरू पनि प्रकाशित भयो । तर गीतबाट अर्थात् गीतकार भनेरै श्रोताहरू तथा पाठकहरूले चिन्ने गरेकाले र मेरो सफलता गीतमा नै भएको कारण म आफूलाई गीतकार नै भन्न रुचाउँछु । तर पनि गजलसङ्ग्रह “गल्ली चोक”, कथा सङ्ग्रह “मारिलो” र मुक्तकसङ्ग्रह “समयको तिर” प्रकाशनको तयारीमा छु ।

प्रवासमा नेपाली साहित्यको स्थिति कस्तो पाउनु भएको छ ?

– प्रवासमा नेपाली साहित्यको स्थिति एकदमै राम्रो छ एकातिर घर-परिवार र देशबाट टाढा रहँदाका सिर्जनाहरू गतिला हुन्छन् भने प्रकाशन गर्ने पैसाको पनि प्रवासको कमाइले गर्दा सजिलो पर्ने अनि प्रवासको थोरै फुर्सदमा पनि आफ्नो भाषा साहित्यको लागि धेरै जोस-जाँगर सिर्जना हुने साथै इलोक्ट्रोनिक माध्यम र प्रविधिले  संसार नै सानो र छिटो छरितोको स्थितिले नेपाली साहित्यको अवस्था दिनप्रतिदिन राम्रो बन्दै गएको छ ।

फुर्सदमा के गर्न रुचाउनु हुन्छ ? 

– समाचार पढ्न, गीत सुन्न, खाना पकाउन र परिवारसँग घुमघाम गर्न मन लाग्छ ।

आफ्नै गीत सुनेर कहिले रुनु भएको छ ? त्यस्तो धेरै भावुक बनाउने कुनै विशेष गीत छ कि ?

– ‘थोपाथोपा’ गीत सुन्दा आमा सम्झिन्छु भावुक हुन्छु कहिलेकाहीँ सम्हालिन गाह्रो हुन्छ ।

गीत कस्तो हुनु पर्छ ? लय वा भाव कुन बढी महत्त्वपूर्ण ठान्नु हुन्छ ?

– गीत सरल, भावमय, लयात्मक, चुटुक्क अनुप्रास मिलेको र मन छुने खालको हुनु पर्छ । गीतमा मात्र होइन हरेक विधामा भाव महत्त्वपूर्ण हुन्छ तर गीतमा भावसँगै लय पनि महत्त्वपूर्ण हुन्छ भने अनुप्रासलाई पनि महत्त्व दिन्छु म ।

कुन गीतकारबाट बढी प्रभावित हुनु हुन्छ ? मन पर्ने गीतकारको नाम लिनु पर्दा ? 

– हरिभक्त कटुवाल, रत्नशमशेर थापा, गोपाल योञ्जन र कालीप्रसाद रिजालका गीतहरू औधी मन पर्छ । मेरा अदृश्य गुरुहरू पनि उहाँहरू नै हुन् ।

प्रेमको विषयमा केन्द्रित भएर धेरै रचनाहरू गरिसक्नु भएको छ, तपाईंलाई चाहिँ के हो जस्तो लाग्छ प्रेम ?

– प्रेम त मान्छेले गर्ने आत्मिक अनुभूति हो ।

अनि जीवन चाहिँ के हो नि ?

– जीवन अनुभव हो जहाँ हरेक कुराको हुन्छ ।

फेसबुक कत्तिको चलाउनु हुन्छ ? फेसबुकमा फस्टाउँदै गएको साहित्य संस्कृतिलाई कसरी हेर्नु भएको छ ?

– दिनको २-४ पटक भ्याएसम्म हेर्छु र बस्छु । फेसबुकले हामी जस्ता लेख्नेहरूका लागि सहज रूपमा भावनाहरू आदान-प्रदान गर्ने थलो बनाइदिएको छ भने रचनाहरू चोरी हुने डर पनि उत्तिकै छ । यदि कसैलाई कसैको रचना मन पर्छ भने सकेसम्म अनुमति लिएर नाम सहित राखिदिँदा राम्रो हुने थियो ।

नेपाली साहित्य अहिले कता जाँदै छ जस्तो लाग्छ ? 

– नेपाली साहित्यको स्थिति अहिले एकदम राम्रो छ ।  नयाँनयाँ प्रयोग पनि भइरहेकै छ । मिडियाले विश्व नै सानो बनाइदिएको स्थितिमा झन् आधुनिक र सहज रूपमा नयाँ प्रविधि र नयाँ युगमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा लेखकहरूले पनि पाठकहरूको रुचिलाई ध्यानमा राखेर समय अनुसारको विषय बस्तु छनोट गरी सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान पुर्याउन जरुरी छ ।

देशको राजनीतिक अवस्था प्रति कत्तिको चासो राख्नु हुन्छ, कसरी हेर्नु हुन्छ नेपालको राजनैतिक स्थितिलाई ?

–  पक्कै पनि आफ्नो देशको राजनीतिप्रति चासो छ र चिन्ता लाग्छ नेताहरूले देश बिगारे, अहिलेको राजनीतिक स्थिति एकदमै जटिल र अन्योलको स्थिति छ कुनै साधारण नागरिकले केही भन्न सक्ने स्थिति छैन तर हामी आशा गरौं देशमा शान्ति, सुशासन र भ्रष्टाचार मुक्त कानुनी राज्यको स्थापना हुने छ ।

तपाईं NRN को नेतृत्वमा बसेर काम पनि गर्नु भयो अहिलेको संस्थाको अवस्था र हालै उपल्ब्ध भएको गैर-आवासीय नागरिकतालाई कसरी लिनु भएको छ ?

– बढो समय सान्दर्भिक प्रश्न राख्नु भयो संस्थाको अवस्था डामाडोल छ । जुन सोच र उद्देश्य लिएर संस्था स्थापना गरिएको थियो तर अहिलेको अवस्था पदीय लोभ र लुछाचुँडीले गर्दा ती सबै गौण भएको छ । सर्वसाधारणले संस्थाप्रति विश्वास गर्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय समन्वय परिषदमा मात्र होइन कि हरेक राष्ट्रिय समन्वय परिषदमा विवादै विवाद छ ।

यो अवस्थाको हल हुने अझै छाँटकाँट पनि देखिँदैन । अनलाइन भोटिङको व्यवस्था भैसकेको हालको अवस्थामा प्रत्येक पञ्जीकृत सदस्यले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था नभए सम्म यो विवाद रहिरहन्छ र अर्को कुरा NRN लाई पनि अबको अवस्थामा अस्थायी र स्थायी दुई रूपमा हेरिनु पर्छ अर्थात् यदि कोही कसैले अन्य कुनै देशको नागरिकता लिएको छ भने उनीहरूलाई स्थायी NRN भनिनु पर्छ भने अन्यलाई अस्थायी या NRN नै भनिनु हुँदैन ।

र हालै जारी गैर-आवासीय नागरिकताको कुरा छ यो पनि एउटा उपलब्धि नै हो तर वंशजको नागरिकताको निरन्तरता हुनु जरुरी छ । आफ्नो देशको नागरिक जहाँ जता जाओस् र जति बसोस् तर देश सम्झेर फर्किन चाहनेहरूले नागरिक कै हैसियतमा फर्किन पाउनु पर्छ ।

अन्य देशले योग्य सम्झेर उसको देशको नागरिकता दिएको नागरिकलाई आफ्नै देशले विभिन्न बहानामा किन नागरिकता छोड्न बाध्य बनाउने ?  जहाँ जसरी जुन देशको नागरिकता लिएर जति बसे पनि आफ्नो देश फर्किंदा नागरिक नै भएर फर्किन पाउनु पर्छ । अन्यथा राष्ट्रले आफ्नो योग्य नागरिक गुमाउनुको साथै ठूलो आर्थिक हिस्सा पनि गुमाउनु पर्ने छ । यो अर्थमा पनि यदि राष्ट्रको भलो चाहने र सोच्ने हो भने वंशजको नागरिकताको निरन्तरता अत्यन्त जरुरी छ ।

बेलायत,पोर्चुगल लगायत कयौँ विकसित मुलुकहरूले आफ्नो देशको नागरिकलाई अन्य देशमा जति बसोबास गरे पनि नागरिकता कहिले खोस्दैन तसर्थ देशको नियम कानुन बनाउने जिम्मा लिएर बसेकाहरूले राष्ट्रको हितको निम्ति यो कुरा गहन रूपमा बेलैमा सोच्न सक्नु पर्दछ साथै NRN का नेतृत्व र अभियन्ताहरूले पनि यो गहन विषयको बुलन्द आवाज उठाउन सक्नु पर्दछ ।

अन्त्यमा मैले सोध्न भुलेका र यहाँलाई भन्न मन परेका केही छन् भने साहित्य पोस्टका पाठकहरूलाई भन्न सक्नुहुन्छ ।

– मेरो गीत/सङ्गीत सुनिदिनु होला, हेरिदिनु होला ! तारिफ मात्र होइन कमी-कमजोरी पनि औँल्याइदिनु होला सल्लाह सुझावको लागि sangamtime@yahoo.com मा सम्पर्क गर्न सक्नु हुनेछ । मेरो लागि स्थान दिनु भएकोमा साहित्य पोस्ट लगायत विशेषतः सर्वज्ञ वाग्ले जी यहाँलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।

साथै देश-विदेशमा रहनु हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरू, साहित्यप्रेमीहर, मेरा मित्रहरू र शुभ-चिन्तकहरूमा निकट महान् चाड विजया दशमीको हार्दिक मङ्गलमय हार्दिक शुभकामना  छ ।