मेरो देश खोज्दा
बाका पट्पट् फुटेका हात
प्वाल परेको टोपीभित्र
देखिएको टुप्पी
निधारबाट
अविरल बगेका
इन्द्रावतीजस्ता
तर नुनिला पसिना
तोप
बारुद
र गोलीको धम्कीले बन्द गरेको
बुर्जुवा शिक्षाको सर्टिपिकेट
आमाको
च्यात्तिएको
पटुकीबाट निस्केको
पुरानो नोट
आधा पेट खाएर
कमजोरीले
लग्लग काँपेका हातखुट्टा
र शरीर
बलियो बनाएको बोर्डरको
चियापसलमा बाँडेर बाँचेको
तैपनि धाउँदा धाउँदै पाएको
एक थान
पुरानो नागरिकता
र विदेशमा
कर्म बेच्न जान चाहिएको
एक थान
राहदानीका लागि त हो
माथ्ला घरे काका
पोहोर साल
रुखबाट लडेर मर्नु
तल्ला घरे काकी
सर्पले टोकेर मर्नु
अन्तरे पढ्न
टाढा हुँदाहुँदै पनि
स्कुल बीचैमा छोड्नु
के यो देश
देशको नै अस्तित्वमा छ र?
देशमा पसिना चुहाएर
मोती फलाउने
युवा गाउँघर
टोल
जिल्ला
अञ्चल हुँदै
राष्ट्रै खाली गरेर
कमिलाको ताँतीझैँ
विदेश लाग्दाको अवस्था
कस्तो होला ?
देशको भविष्य
के हुँदैछ ?
त्यसैले सोच्नु पर्ने
कुरा त देशबासीले
देश छोड्दा
देश कता खोज्ने ?