
चर्चित हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेल नेपाल प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा प्रथम भइसकेका कवि पनि हुन् । हास्यव्यङ्ग्यअन्तर्गत निबन्ध विधामा स्थापित बनेका पौडेल कथा, समालोचना तथा नियात्रा विधामा समेत कलम चलाउछन् । उनका छरिएका टुक्राहरु (कवितासङ्ग्रह), सप्त पल्लव (समालोचनासङ्ग्रह), घरभित्रको गाईजात्रा (हास्यव्यङ्ग्य सङ्ग्रह), बिहेको निम्ता (हास्यव्यङ्ग्य सङ्ग्रह) लगायत कृतिहरू प्रकाशित छन् ।
प्रस्तुत छ, उनै नगेन्द्रराज पाैडेलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः
तपाईंले अध्ययन लेखन र प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?
– मैले मिलाइरहनु पर्दैन, समय आफैं मिल्दै जान्छ । जति बेर, जे मन लाग्छ त्यही गरेपछि समय आफैं मिलिहाल्छ नि । करै लाग्छ मिल्न त्यसलाई । कुन मुडमा कहिले अध्ययन गर्छु, कुन मुडमा कतिबेर लेख्न बस्छु ठेगान हुँदैन । मेरो आफ्नै मर्जी । त्यही पनि म निरन्तर लेखिरहने देवकोटा, बाल्जाक, टैगोर पनि त होइन ? त्यसैले सुन्नु छैन मलाई कसैको अर्जी । प्रकाशनको कुरा चाहिँ अलि फरक छ । गतिलो प्रकाशन फेला परे र दुवैथरिको कुरा मिले किताब छाप्न दिई पनि हाल्छु नत्र पाण्डूलिपी त्यत्तिकै रहन्छ अनि मौका परेपछि त्यसलाई पनि अन्माएर पठाइदिने हो । चलनै यस्तै छ मेरो ।
साहित्य,जीवनदर्शन र प्रकृतिलाई कसरी हेर्नु भएको छ ?
– जुन जे जस्तो छ त्यसलाई त्यसरी नै हेर्छु । ममात्र हैन अरु लेखकले गर्ने पनि त्यही होला । साहित्य भन्ने चीजलाई मनोरञ्जन, आत्मरति, विरक्ति, आत्मसन्तुष्टि र आत्मप्रकाशन जे जेको माध्यम भने पनि हुन्छ । अहिले त झन् आत्मप्रचारको पर्चा बढी बनेको छ । वेद, धर्मशास्त्र पुराणआदिको कुरा गर्दा “धर्मार्थकाममोक्षाय” पनि भनिन्छ साहित्य या वाङ्मयलाई । पुराना साहित्यशास्त्रीहरूले साहित्यलाई “हितेन सहितम् ” पनि भनेका छन् । त्यस्तै जीवन दर्शन पनि आआफ्नै हुन्छ । कुण्ड कुण्ड पानी मुण्डमुण्ड बुद्धि । सबैले आफ्नो जीवनदर्शन खोजी गर्ने पनि हैन । जो जसरी बाँचिरहेको छ त्यही उसको जीवनदर्शन बन्छ र यसलाई जसले जताबाट पनि हेर्न सकिन्छ ।
तपाईं नेपाल प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा प्रथम भएको मान्छे, किन कविता छोडेर अरु विधामा आकर्षित हुनुभयो ?
– कविता महोत्सवमा एक पटक प्रथम हुँदैमा सधैँ कविता लेखिरहनु पर्छ भन्ने छैन । मनले पनि मान्दैन, नयाँ नयाँ हरिया चउर खोजेर खेल्न दौडिन रहर गर्छ । अरु लेखक पनि एउटै विधामा खुम्चिएर बस्ने थोरै मात्र होलान् । मैले आफ्नो लेखनयात्राको शुरुदेखि नै निबन्ध कविता सँगसँगै लेख्तै आएको थिएँ । पछि कथा र हास्यव्यङ्ग्यप्रति भवानी भिक्षु ,तारणीप्रसाद कोइराला, वासुदेव लुइँटेल, भैरव अर्याल र केशवराज पिँडालीको प्रेरणाले बढी आकर्षित भएको हुँ । अझ पुरस्कार, सम्मान त कविताभन्दा निबन्धमा बढी पाएको छु मैले अनि कविता लेख्न छोडेको पनि त छैन । दुइटा किताव प्रकाशित छन् कविताका । कतै बढी आकर्षण विकर्षण भन्ने पनि छैन मेरोलागि, गद्य पद्य बराबर । जता जता जाऊँ भन्छ मन मथिङ्गलले त्यतै त्यतै दौडिदिन्छु म, ठुटो कलम लतार्दै । नाटक पढ्न पढियो, लेख्नतिर अहिलेसम्म लागिएन ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मननको सन्तुलनले नै मानिसलाई उचाइमा लग्छ, यस भनाइमा कत्तिको विश्वास गर्नु हुन्छ ?
– पटक्कै त न भनौँ तर पूरै विश्वास गर्दिनँ । मैले चिनेका र पढेका विभिन्न विधाका पारखी देशी विदेशी साहित्यकारहरू राम्रो लेख्ने भए पनि बानी व्यहोरा नराम्रो भएका थुप्रै पाएको छु । उनीहरूका गतिविधि हेर्दा लेखन एउटा कुरा अनि आचरण र जीवन बाँच्ने कला पृथक् हो भन्ने लाग्छ । प्रसिद्ध कवि एज्रा पाउण्ड फाँसीवादी मुसोलिनीको सिपाही भएर दोस्रो विश्वयुद्ध लड्न गएथे । टल्स्टाय, बाल्जाक, बाइरन, हरिभक्त, मनु ब्राजाकी आदि धेरै लेखक आचरणको हिसाबले राम्रा मानिँदैनन् तर लेखनमा अब्बल र पाठकका प्रिय मानिन्छन् ।
तपाईंलाई यात्रा, लेखन र अध्ययन कुन विषय बढी मन पर्छ ?
– यात्रा मन परे पनि सधैँ हिँडिरहने या घुम्दै गर्न सम्भव हुँदैन । लेखन पनि सधैँ फुर्ने विषय होइन, मन लागे पनि कहिले लेख्नै सकिन्न, कहिले एकै दिनको बिहान बेलुकै अलग धारका अलग रचना एउटै मस्तिष्कमा अटसमटस भएर पोखिन खोज्छन् । अध्ययन सधैँ सम्भव विषय भए पनि नवीन सिर्जना गर्न त प्रतिभा, व्युत्पत्तिकै खाँचो पर्दछ । अध्ययन अभ्यास त त्यसपछिको विषय मात्र हो । त्यसैले कुन कुरा मन पर्ने नपर्ने भन्दा पनि जे,जे गर्न मन लाग्छ त्यही गर्ने हो ।
तपाईं हास्यव्यङ्ग्य लेखनमा चर्चित हुनुहुन्छ । अग्रज पुस्ताका हास्यव्यङ्ग्यकार र तपाईंमा फरक के पाउनुहुन्छ ? अबको भविष्य कस्तो हाेला ?
– चर्चित भन्ने कुरा अरुले बनाइदिने हो, आफैं बन्छु भनेर हुन्न । जहाँसम्म फरकको कुरा छ, यो पनि सापेक्षतामा आधारित विषय हो । अग्रज पुस्ताका हास्यव्यङ्ग्यकारहरू अग्रज भएकाले उनीहरूको लेखनमा पनि उति वेरकै समय बोलेको छ । शक्ति बल्लभको साँढ्याको कवित्त होस् वा भानुभक्तको बालाजु दर्शन अथवा पिँडालीको खै खै वा भैरवको काउकुती । उनीहरूको लेखनमा कतै काउकुती लगाएर कतै अट्टहासमा कुर्लिएर उनीहरूकै समय बोलेको छ । राम कुमार पाँडेको अलि मात्र कन्छो भाइ भएकाले म आफ्नै समयका होचा अल्का फोस्रा खँदिला र छिर्के दाउका कुरा कोट्याएर बात कहने लेखक हुँ । बस फरक यत्ति । वर्तमानमा लेखनतर्फ प्रोत्साहन र प्रेरणा दिँदै रहने मित्रहरूमा डा नरनाथ लुइँटेल, विजय चालिसे, युवराज मैनाली लक्ष्मण गामनागे प्रभृति हुन् । अबको भविष्य त नदेखेको कुरा कसरी भन्ने ? अन्दाजकै भरमा छेलो हान्ने प्रयास गर्दा फटाहा हुँइदैन र ?
तपाईं धेरै विधामा छरिनु भएको छ, कुन विधा बढी मन पर्छ र कुन विधामा आफूलाई सशक्त पाउनुहुन्छ ।
– छरिएको भन्न मिल्दैन, मैले धेरै विधामा हात चलाएको पक्कै हो । कतिबेर के मन पर्छ कुन विषयले दिमागमा प्रवेश गर्छ र लेख्न कुतकुत्याउँछ ,त्यही विषयमा कलम चलाउँछु । महाकवि देवकोटा मेरा आदर्श गुरु हुन् । गणितीय हिसाबले हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको सङ्ख्या आठ भए पनि छ वटा कथासङ्ग्रह र पाँचवटा यात्रासंस्मरण सङ्ग्रहले पनि उत्तिकै सिर्जनात्मक ऊर्जा खपत गरेका छन् मेरा । प्रकाशित कवितासङ्ग्रहको सङ्ख्या दुई मात्र भए पनि अरु दुई छन्दे र गद्य कविताकृतिहरू प्रकाशनको पर्खाइमा लाम लागेका छन् । दुवै कित्ता र शैलीमा अहिले पनि रचना गर्दैछु कविता । त्यसैले गद्यपद्य दुबैतिर सशक्त नै ठान्छु आफूलाई । अरुले गतिलो लेखक मानून् नमानून मतलब राख्दिनँ ।
“ए नाम के चिदिह न प्रथयन्त्यवज्ञां
जानन्ति ते किमपि नैष कृत प्रयत्नः
उत्पत्स्यतेस्ति मम कोपि समानधर्मा
कालो ह्ययं निरवधि र्विपुला च पृथ्वीः ”
महाकवि भवभूतिको आत्मविश्वासपूर्ण माथिको कवितापंक्ति याद आइरहन्छ मलाई ।
तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नुपर्छ ?
– सबै थोक मन पर्छ । आफै स्रष्टा पनि भएकाले ललितकलाका सबै विषय मन नपर्ने कुरै भएन । गीत सङ्गीत पनि त्यत्तिकै मन पर्ने विषय हुन् मेरा । राम्रो लेख्ने विषयमा यसो उसो भन्नु चै उपयुक्त ठान्दिनँ । किनभने सिर्जनाको पहिलो प्रहर या टुसाउने बेला प्रतिभा नै प्रमुख र प्रारम्भिक तत्त्व मानिन्छ । त्यसपछि व्युत्पत्तिको स्थान रहन्छ । हिमाली छाँगा खहरे बनेर प्रतिभाको वर्षे बाढी चलेको बेला ढुङ्गा गेँगर बालुवा र लेदो पन्छाएर सङ्लो सफा कवित्व प्रवाहको निर्माण गर्ने काम व्युत्पत्तिको हो । त्यसपछिको सिर्जनाको अर्को जहडी तत्त्व भनेकै अभ्यास हो । लेख्नु पढ्नु र प्रकाशन तथा छलफलमा निरन्तर लागिरहनु पनि सफल लेखक बन्न नितान्त आवश्यक कुरा हुन् ।
नेपाली साहित्यको गतिलाई कसरी हेर्नु भएको छ ?
– यसलाई गतिलो गति भन्न त मिल्दैन तर गति न पति भन्दा पनि आफ्नै पिँढीको लेखनकला दुर्गतिमा दरिने डरले सताउँछ । त्यसैले जसरी जेजस्तो भोगिएको छ त्यसरी नै त्यसै गरी हेरिरहेको छु । ऊर्ध्व अपेक्षा भने दिनरातको ध्याउन्न बनेको छ ।
कस्तो साहित्यिक पुस्तक मन पराउनुहुन्छ ?
– गद्य, पद्य जस्तोसुकै पनि तर स्तरीय र मिठासपूर्ण ।
“कालिदासकविता नवं वयः संभवन्तु मम जन्मजन्मनि ।”
”ओ मिस्ट्रेस् माइन ह्वेयर आर यू रोएमिङ्ग
ओ स्टे याण्ड हीयर योर ट्रू लभ इज कमिङ्ग
ट्पि नो फर्दर प्रेटी स्वीटिङ्ग
जर्नीज् एण्ड इन लभर्स मीटिङ ,” बाह्रौ रात , शेक्सपीयर ।
साहित्यको मापदण्ड के हो ?
– चलनचल्तीका तमसुक, छोडपूर्जी, विधान संविधान लेखा र कानूञ्ची कुराबाट माथि उठेको कलात्मक र सिर्जनामूलक गद्य पद्य चम्पू रचना साहित्यमा दरिन्छ, जसमा पशुपक्षीलाई उछिनेर मानव प्रतिभाको चमत्कार चम्किएको पाइन्छ ।
एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिलाई कसरी नियालिरहनु भएको छ ?
– लेखनाथ बाबाको तरुण तपसी किताब किनेर पढ्न थालेको छु । यस्तै देखिरहेछु राजनीति पनि ।
“मखाउँ मैलाउँ सुख शयल वा मोज म गरूँ
म बाँचूँ मै हाँसूँ अरु सब मरून् दुर्बलहरू
भनी दारा धस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी”
अहिलेको साहित्यमा विचार,युग चेतना, विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?
– संसार खुम्चिएर एउटै वृत्तमा बाँधिएको बेला पढ्ने विषयहरू अत्यधिक भए तर समयको गति त एकै छ । सबै देश महादेशका साहित्य, दर्शन पढिभ्याउन सम्भव छैन । जति पढिएका छन् तिनमा मानव सभ्यतालाई अगुवाइ गर्ने ऊर्जा भेटेको छु । चेतनाको स्तर निरन्तर बढेसँगै प्रविधिले त्यसलाई सहज पहूँचमा ल्याइदिएको छ । मानवीय सम्वेदना, सन्त्रास कोलाहलका साथै स्वतन्त्रता र विश्ववन्धुत्वको भावना पनि साहित्यका कित्तामा व्यापकरूपमा बढेको पाउँछु ।
पुरस्कार सम्मान अभिनन्दन निकटलाई दिइन्छ भनिन्छ । तपाईंले पनि अनेसास सर्वोत्कृष्ट पुरस्कार लगायत धेरै पुरस्कार र सम्मानसमेत पाउनु भएको छ, पुरस्कारको विश्वसनीयतामा तपाईंको भनाइ के छ ?
– मैले आजसम्म पाएका जुनकुनै पुरस्कार, ताम्रपत्र र अभिनन्दनमा पनि त्यो प्रदूषणको दुर्गन्ध आएको छैन । कविता महोत्सव , भैरव पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, गोपालराज मैनाली स्मृतिपुरस्कार , सुरभिआख्यान पुरस्कार, राष्ट्यि प्रतिभा पुरस्कार आदि जहातहिँ पनि आफूले पुरस्कार पाएपछि मात्र थाहा पाएको हुँ । त्यसैले विश्वसनीयताप्रति मलाई पटक्क शङ्का लाग्दैन । कतै केही मुलाहिजा विकृति भेटिए पनि नगण्य होला जस्तो लाग्छ ।
साहित्य लेखन र प्रशासकबीच कस्तो सम्बन्ध पाउनु भयो ?
– कुनै नरम सभ्य प्रशासक हुन्छन्, तिनीहरू लेखक कलाकारलाई देउताजस्तै मान्छन् । कुनै मुस्तण्ड भनिभुत्ते प्रशासक पनि हुन्छन् तिनीहरू सबै खाले वर्गलाई दमन मात्र गर्न जान्दछन् । मभन्दा अगाडिको कैलालीका सिडियोले त्यहाँका लेखकको टोली भेट्न जाँदा झण्डै गाला पड्काएका थिए रे । निहुँ चै तपाईं पनि कविता लेख्नु हुन्छ सर भनेर कविहरूले सोधेका रहेछन् अनि जवाफमा झण्डै भेटेछन् दनक विचरा वाणिपुत्रहरूले । तिनै सिडियो जनकपुर पुगेपछि जोगी कुटेर धुस्न बनाएछन् । संयोगवस केही समयपछि त्यहाँ पनि मै सिडियो बनेर पुगेको थिएँ । यस्तै हो “मुण्ड मुण्ड बुद्धि, कुण्ड कुण्ड पानी ।” खै के भन्ने अब । प्रशासकसँग लेखनको लागि पर्याप्त अनुभव रहन्छ तर त्यसलाई संवेदनात्मक अनुभूतिमा बदल्न सक्नु आआफ्नै क्षमता र रुचिको विषय पनि हो ।
अनेसास र डायस्पोरिक साहित्य बारेमा तपाईंको धारणा के छ ?
– वस्तुगत कुरामा धारणा बनाइरहनु पर्दैन । अनेसासले नेपाललगायत विश्वभरिका नेपाली भाषामा लेख्ने साहित्यकारहरूको विश्वव्यापी सङ्गठित महाजालो भन्ने जनाउँछ, डायस्पोरा नेपालबाहिर प्रवासमा बसेका नेपाली भाषाभाषीका लेखन र रचना विशेषलाई जनाउने शब्द हो । यस्तै लाग्छ मलाई ।
वर्तमान समालोचनाले साहित्यलाई कस्तो मूल्याङ्कन गरेको छ ?
– हुन त समालोचना साहित्यको पछिपछि लागेर गुण दोष, गति दुर्गतिको छ्यानब्यान गर्नु पर्ने विषय हो तर हाल नेपाली साहित्यमा त्यो खालको समालोचनाको पर्याप्तता प्राप्त हुन सकिरहेको छैन । साहित्य अघिअघि समालोचना कता हो कता कोशौं टाढा पछाडि देख्छु । भनिन्छ समालोचनाले साहित्यलाई डोर्याउने हो तर डा. खगेन्दप्रसाद लुइँटेल, निनु चापागाइँ, डा. लक्ष्मणप्रसाद गौतम, डा. कुमारप्रसाद कोइराला,डा. गीता त्रिपाठी, डा. ज्ञानु पाण्डे, डा. एकनारायण पौडेल, गोपी मैनाली, ज्ञानुअधिकारी, लीला लुइँटेल युवराज मैनालीलगायत थोरै मात्र गतिला समालोचक नेपाली साहित्यको यस फाँटमा सक्रिय छन् हिजोआज ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
– नेपाली साहित्यको विकास,विस्तार र संवर्धनमा दिलोज्यानले काम गरेको छ यो संस्थाले । नेपाली साहित्यका विभिन्न विधाहरूको लेखन प्रकाशन प्रतियोगिता, पुरस्कारआदि क्षेत्रमा यसको अतूलनीय योगदान रहेको छ तर सञ्चालकहरूवीच अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दी नभएको बेस ।
तपाईं चर्चित साहित्यकार हुनुहुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यको तुलनामा पुर्याउन के गर्नु पर्ला ?
– राम्रा किताब छानेर अङ्ग्रेजी भाषामा लैजाने अनुवादक कम भए , महेश पौड्याल, बलराम अधिकारी जस्ता दुईचारजनाले मात्र कति धान्नु अनुवादको भार । अरु भएका पनि कोही त खाग तस्करका भरौटे दलाल छन् अनि कतिपय चाहिँ भाषामा कमाण्ड नभएका टपर्टुइँया भेटिन्छन् । गतिलो अनुवादक नपाउँदा ब्याड हुर्काएर बाली लगाउन नसकेको गैरी खेतजस्तै अन्तर्राष्ट्रिय फाँटमा बाँझै रह्यो नेपाली साहित्य । दाँजिने र प्रतिस्पर्धा गर्ने हतियारै नभई कसरी विश्वसाहित्यसँग तुलना गर्नु र ?
आजभोलि कुन पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ ?
– अविश्रान्त पाइलाहरू । नियात्रासङ्ग्रह हो ।
अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
– भन्नु पर्ने खास केही बाँकी छैन । आँ गर्दा अलङ्कार बुझेजस्तै, यति वार्ता पढेपछि मेरो बारेमा पनि खातखुत्तै कुरा बुझिहाल्नुहुन्छ नि पाठक महोदयहरूले । जय होस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

