यादव देवकोटा सक्रिय टेलिभिजनकर्मी हुनुहुन्छ । उहाँ अनेसासका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघमा सदस्य हनुहुन्छ । टेलिभिजनमा समसामयिक बिषयमा विभिन्न कार्यक्रम चलाउँदै आउनु भएका देवकोटा पछिल्लो समय ‘नेपाल टक्स’ कार्यक्रम मार्फतदर्जन भन्दा बढी अन्तर्वार्तामूलक कार्यक्रम युरोपबाट प्रसारण गरिसक्नु भएको छ । उहाँ अहिले सामाजिक विषयवस्तुसँग परदेशमा रहेका युवाहरूका विषयलाई लिएर नयाँ किताब प्रकाशनको तयारीमा हुनुहुन्छ ।
प्रस्तुत छ, जल्दाबल्दा पत्रकार तथा लेखक यादव देवकोटासँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमासाहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः
अनेसासको केन्द्रमा हुनुहुन्छ र अनेसासलाई भरपुर सहयोग पनि गर्नुभएको छ । तपाईं व्यस्त हुँदाहुँदै अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कतिको मन जान्छ ?
– म अध्ययनमा रुचि राख्ने व्यक्ति भएकाले समय मिलेसँगै पुस्तक पढ्ने मात्र नभई लेख्ने पनि गरेको छु । नयाँ किताबको तयारीमा पनि छु । के आउँछ, कस्तो आउँछ भनेर चाहिँ नसोध्नुस् । भर्खर सुरु गरेको हुँ । सामाजिक विषय वस्तुसँगै परदेशमा रहेका युवाहरुका विषयलाई लिएर नयाँ किताब लेखिरहेको छु ।
साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?
– जीवन भनेको क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्रै फोकस हुनुपर्छ । जीवनका सकारात्मक सोच विचार, दया, माया, क्षमा, करुणा, ज्ञान, बुद्धि र विवेकमा खुलेको हुन्छ । साहित्यले जीवनका रहस्यलाई बुझ्न सहयोग गर्छ । यस्तै साहित्यले सामाजिक सौन्दर्यका मूल मुद्दालाई जीवन र प्रकृतिसँग समन्वय गराउँछ । पूरातन सोच र चिन्तनबाट नवीनता र सिर्जनशीलतातर्फ अगाडि बढ्नेप्रेरणा प्रदान गर्दछ । यसरी प्रकृतिसँग भावना साट्न सक्नेले नै साहित्यरूपी सुन्दर उपहारको मूल्यवोध गराउँछ ।
तपाईंलाई जाँगरिलो व्यक्तित्व एवम् कार्यक्रम संचालक भनिन्छ नि ? अहिले तपाईंको लेख र रचना निकै चर्चामा हुन्छ, कसरी र किन ?
– एक दशक जति मैले टेलिभिजनमा बोलेरै बिताएँ । मलाई भन्दा पनि क्यामेरा मेरो जस्तो लाग्छ । बोलेर दर्शकहरूको मन जितिरहेको जस्तो लाग्थ्यो ।
अब लेखेर पनि दर्शकहरूको मन जित्न सकिन्छ भन्ने लागिरहेछ । जब म लेख्न थाल्छु तब उत्साहित हुन्छु । लेखिरहँदा मनमस्तिष्क कतै नगई शान्त र आनन्दको अनुभव गर्छु । जब लेख्न थाल्छु जीवनका तनावहरू भुल्न पुग्छु ।
साहित्य, लेखन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कतिको विश्वास गर्नुहुन्छ ?
– एकदमै । अध्ययन चेतनाको मूल स्रोत हो । त्यसलाई चिन्तन-मननले मलजल दिन्छ र लेखनले समाजमा उजागर गर्छ । जब हामी कुनै कुरा लेख्न सुरु गर्छौं, त्यो भन्दा पनि बढी हामीले त्यस विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । कुनै पनि विषयमा चिन्तन, मनन र ध्यान गरेकोअवस्थामा मात्र हामी लेख्न सक्षम हुन्छौं । यदि हाम्रो जीवन खालि खाना खाने, सुत्नेमा मात्र केन्द्रित भइरह्यो भने हामीले कुनै नयाँ उपलब्धि हात पार्न सक्दैनौं । हामी अध्ययनशील हुँदै नयाँ नयाँ विषयमा केन्द्रित हुँदै अघि बढ्नुपर्छ, जसले हामीलाई सफलताको शिखरमा अवश्य पुर्याउनेछ ।
तपाईंका कविता बेजोडका छन्, कविता राम्रो लेख्न के गर्नुपर्छ ? नयाँ लेखकलाई के भन्न चाहनु हुन्छ ?
– मलाई कविता मनपर्छ । सकेसमम्म म पढ्छु, सुन्छु । अध्ययन नै लेखनको मूल स्रोत हो । जब म एकान्तमा बस्छु मेरा औंलाहरू आफै लेख्न अग्रसर भएझैं लाग्छ । त्यसैले, म भन्न चाहन्छु – लेखन भनेको विशुद्ध साधना हो जसका लागि धेरैभन्दा धेरै पढ्नुपर्छ । लेखिसके पछि तपाईंको पहिलो पाठक तपाईं आफै हो । तपाईंले लेखेको कुरा तपाईं आफैँलाई चित्त बुझेको छ वा छैन भन्ने कुरा सर्वप्रथम तपाईं आफैँले बुझ्नुपर्छ । प्रकाशन गर्न चाहिँ हतार नगर्नुस् ।
तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईं किन लेख्नुहुन्छ ?
– मेरो लेखनको प्रेरणा श्रोत उहाँ नै हो भन्ने छैन । एक मिडियाकर्मीका रूपमा काम गरेकाले धेरै ठाँउमा घुम्ने अवसर पाएँ । त्यही समयमा देखिएका अनेकौं समस्याहरू उजागर गर्दा गर्दै कसरी लेख्न थालेँ आफैले थाहा पाउन सकिनँ । खासमा भन्नु पर्दा म आफू खुशी हुनु कुनै पनि विषयमा लेख्छु जुन पाठकले मन पराइदिनुभएको छ ।
खाली समय कसरी बिताउनु हुन्छ ? अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनु हुन्छ ?
– समय मिलेसँगै म अध्ययन गर्दै रमाउँछु । जानेको कुरा सिकाउँछु, नजानेका कुरा सिक्ने प्रयत्नमा हुन्छु । परदेशमा भएकाले गाउँघरमा बिताएका पलहरू सम्झँदै रमाउँछु पनि ।
अनेसासले प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा, रीतिरिवाजको जगेर्ना गरोस् भन्ने चाहन्छु । यसले साहित्यको विकास, विस्तार रविश्वव्यापीकरणमा समेत सहयोग गर्दै अघि बढेको देख्न चाहन्छु । साथै नयाँ पुस्तामा नेपालीपन भुल्न नदेओस् ।
तपाईंलाई कविता, कथा, निबन्ध र उपन्यास कुन मनपर्छ ? राम्रो लेख्न के गर्नुपर्ला ?
– मलाई साहित्यका सबै विधा उत्तिकै प्यारो लाग्छ । समय मिलेसम्म र पाएसम्म सबै पढ्छु । माया प्रेमका साथै सामाजिक विषयसँग जोडिएका विषय वस्तुले मन छुन्छ । मलाई लागेअनुसार राम्रो लेख्न समाज र जीवनमा देखिएका विषयलाई सरल र सहज रूपमा उतार्न सके पुग्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।