साहित्यमा उहाँको नाम नसुन्ने सायदै होलान् । उहाँ र साहित्य बीच लगन गाँठो बाँधिएको छ । नेपाली साहित्यले विश्वको आकाश चुमोस् भन्ने गहन विचार प्रकट गर्नुहुन्छ । अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँको नाम हो – सर्वज्ञ वाग्ले ।
आज मेरो हातमा सर्वज्ञ वाग्लेको कवितासंग्रह “नेता बन छोरा नेता बन” परेको छ । संग्रहभित्र ३० कविता संग्रहित छन् ।
वाग्लेको यस संग्रहभित्र रहेका कतिपय कविताहरू देश प्रेमको भावनाले ओतप्रोत भएको पाइन्छ । उदाहरण हो– पहिलो कविता ‘दसैँ’ । दसैँ नेपालीहरूको संस्कृति बोकेको अत्यन्त रमाइलो चाड हो । सबैको निधारमा रातो टिका पहेँलो जमराले सजिएको देखिन्छ । रातो टिका र जमरा हाम्रो सांस्कृतिक परिदृश्यको ज्वलन्त उदाहरण हो । दसैँ कविताले हरेकको अनुहारमा निख्खरता ल्याइदिन्छ । यस्तै कविलाई आफ्नै देशको माटोप्रति माया छ । सानोलाई आशीर्वाद दिनु, ठूलोबाट आशीर्वाद पाउनु यसको मर्म यसैभित्र रहेको छ । दसैँ के धनी के गरिब सबको आँगनमा उल्लास र उमङ्ग लिएर घरको सम्पूर्ण वातावरणलाई नै खुसी पारिदिन्छ । दसैंमा मिठो खाना खाइन्छ र राम्रो तर नयाँ लुगाहरू लगाइन्छ ।
अमेरिका जाने इच्छा कोसँग हुँदैन र ? अमेरिका आउने हरेकको मनमा आफ्नै देशको माया हुन्छ नै । झ्याउरे छन्दमा आधारित यो कविताको मर्म र भाव बेग्लै छ । लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको खण्ड काव्य मुनामदन जस्तो लोकलय छन्दमा आधारित छ । अमेरिका सिस्टममा चल्ने देश हो । यहाँ आइसके पछि स्वतः यहाँ कै कानून र सिस्टम पद्धतिमा अनिवार्य छिरिन्छ । यो मुलुकलाई मानिसहरू सपनाको देश भन्न मन पराउँछन् । यहाँको पद्धतिले मुलुकको बृहत्तर विकास चाहन्छ । जहाँ गएर जे काम गर्दा लामो लाइनमा बस्नै पर्दैन । कविको मन निश्चल छ निष्कपट छ र पारदर्शी छ । कवितामा अमेरिका बोल्छ ।
कवि अमेरिका भए पनि नेपालमा रहेका आफ्ना बाबा आमाको न्यानो काखको कविता मार्फत ताजा सम्झना गराउँछ । यस कुराको अड्कल बाजी निष्कर्षबाट यो पत्तो लाग्छ कि कवि अमेरिकामा रोजगारीको सिलसिलामा बस्दै गरे पनि देशको माया अपरम्पार नै रहेको देखिन्छ ।
भावात्मक भाव प्रकट भएको देखिन्छ हरेक कवितामा । सुललित पराले अगाडी बढेको देखिन्छ । व्यङ्ग्य विधामा कलम चलाउन खप्पिस कविको वेला मौकामा व्यङ्ग्यले भरिएका सामग्रीहरूलाई मनग्यसँग पढ्नुका साथ साथै लेखियो पनि । जब दिमागले सोचेर लेख्न बस्छ तब भवनाहरू फुरेर लेख्न मन लाग्छ । उहाँले जस्तो अवस्थामा पनि कविता लेख्न सक्नु हुन्छ । शीर्षक छनोट भयो भने उहाँको कलम कविता लेख्न यसरी अगाडी बढ्छ ।
तिमी हिजो जस्तै खुसी बोकेर आउनु र रमाउनु
आसुरी शक्तिमाथि विजय प्राप्त गर्नु
जगतको कल्याण गर्नु
शारदीय शोभाले शोभायमान भएर
सजाउनु प्रत्येक मान्छेको मन र मस्तिष्क ।
उहाँका कविताहरू धारा प्रवाहित रूपसँग अगाडी बढ्छन् यस संग्रहभित्र समसामयिक कविताहरू पनि सशक्तसँग लेखिएका छन् । विसङ्गति, बेथिति र गरिबीका बारेमा पनि कविताहरू यसरी मुखारित बनेर अगाडि बढेको देखिन्छ । कविहरू शान्त वातावरण चाहन्छन् । यही शान्त वातावरण नखलबलियोस् भन्ने चाहाना हरेक कविमा हुन्छ नै । कवितामा मिठास हुनु पर्छ । कवितामा शब्द चयनको भूमिकाले निकै ठूलो प्रभाव जमाएको हुन्छ । कवि कविता हो कविता नै कवि हो भन्ने कुरालाई यसरी बुझ्न सकियो भने बेफाइदा हुनु भन्दा पनि चारै तिरबाट फाइदा नै हुन जाने छ ।
सर्वज्ञ वाग्लेमा साहित्यिक ऊर्जा छ । साहित्यले नै हामीलाई महान् बनाउँछ भन्ने भनाइबाट उहाँ पछि हट्न चाहनु हुन्न । कविलाई कविता मन पर्छ । मन पर्ने मान्छेले आफूले सृजना गरेका कविताहरूलाई सङ्ग्रहको रुप दिएर बाहिर पाठक सामु प्रस्तुत गरिदिन्छ । मनबाट निस्कने विभिन्न खाले तर्कनाहरू मध्येको एउटा शक्तिशाली तर्कना हो कविता । एउटा कविले नौला नौला कविताहरू सृजना गर्न सक्छ । त्यसैले त भनिए होला “जहाँ प्रकाशको किरण पुग्न सक्दैन, त्यहाँ एउटा कविको नजर पुग्न सफल देखिएको हुन्छ” भनेर । कविको मुखबाट निस्कने दुई शब्द नै उसको लागि कविता हो । कवि भन्नु कविता हो भने कविता भन्नु कवि हो भन्ने कुराको अर्थलाई यसरी बुझ्नु पर्ने हुन्छ । कविहरू बढी भावनामा बग्छन् । कविको कविताले आकाश पाताललाई जोडेर सम्मैपारि दिन्छ । कवितामा देश लुक्छ, असामान्य परिस्थिति देखा पर्छ । कविले आफ्नो कविता मार्फत् विद्रोही कविताहरू सृजना गर्न सक्छ ।
कवि वाग्लेलाई तत्काल कुनै विषयले छोयो भने साहित्य सिर्जना गर्न सक्ने क्षमतावान् कवि हो । यो नै कविको पहिलो कवितासंग्रह हो । कविको सोचाई नै महान् छ । उहाँ कुनै पनि स्रष्टाको अहित चिताउनु हुन्न । साहित्यलाई माथि उठाउने हामीहरूको प्रयास अथक रहनेछ ।
“नेता बन छोरा नेता बन” भन्ने कविताको शीर्षक नै यो कविता सङ्ग्रहको नामकरण हो । यस सङ्ग्रह भित्र रहेको माथि उल्लेखित गरिएको कविता झ्याउरे लोकलय छन्दमा आधारित छ । अमेरिका जस्तो व्यस्त ठाउँमा रहेर पनि नेपाली साहित्यलाई समय दिनु भनेको महान् कुरा हो । यहाँ समावेश गरिएका कतिपय कविताहरूले सन्देश मूलक भावहरू प्रकट गरेका छन् । कविका हरेक कविताहरू त्यत्तिकै सशक्त र पारदर्शी पनि । कविताहरूले प्रजातन्त्रको पक्ष लिएका छन् ।
कविताहरूलाई सरसर्ती पढ्दा कवितामा डायस्पोरिक गन्धहरूको झझल्को पाउन सकिन्छ । कविताहरू सरस, सहज र सरल पाराले अगाडी बढेको देखिन्छन् । जीवन भोगाइका कुराहरू यहाँ जोडिएका छन् । मान्छेको समयसँग मान्छेका भावनाहरू एकै साथ कुँदिरहेका हुन्छन् । यी नै कुँदाइको यौटा सशक्त पाटो हो सर्वज्ञ वाग्लेको “नेता बन छोरा नेता बन” कविता सङ्ग्रहको परिवेश । उत्कृष्ट कविता पनि हो यो ।
वाग्लेका कविताहरूमा देश नै बोलेको छ । पुनर्वासमा बस्ने भएर होला कविलाई उता तिरको मान्छेले हेपेको मन पर्दैन । कविको कलम व्यङ्ग्यमा बढी चल्ने भएर होला अधिकांश कविताहरूमा व्यङ्ग्यको झझल्कोको प्रभाव परेको देखिन्छ । यहाँ गुराँस कविता पढ्दा पनि देश नै बोलेको छ । कविलाई जङ्गे पिलर आफ्नो भू–भाग तर्फ सरेको पटक्कै मन पर्दैन भनेर कवितामा यसरी भनिएको छ ।
मलाई जङ्गे मानिस मन पर्दैन
न्यायिक जङ्गबहादुर मन पर्छ
मलाई मूर्ख मुखिया होइन
निर्धक्क समाजवाद फुलेको मन पर्छ
गुराँस र समाजवाद उस्तै उस्तै लाग्छ मलाई
समाजवाद कोरा कागज होइन
मन व्यवहारमा फुल्ने फूल हो
आदर्शको पहाडमा अभाव होइन
समाजवादी गुराँस फुलेको हेर्ने मन छ ।
यस्ता कविताहरू जो राष्ट्रप्रति भक्तिभाव प्रकट गरेको देख्न पाइन्छ । कविमा देश प्रेमको भावना आउनु भनेको धरती माताले एक होनहार सुयोग्य पुत्रको जन्म दिनु हो । आफ्नो देशप्रति राखिएको यस्तो स्नेहपूर्ण कार्यले सबैको मन पगालिदिएको छ ।
कविताहरू समसामयिक लेख्न सक्ने हुनाले नै कविको प्रशंसा गर्न मन लाग्छ । यस्तै कविको अर्को एउटा दमदारको कविताको शीर्षक रहेको छ नेपाली साहित्यका मूर्धन्य भानु जसको शीर्षक नै छ “भानु प्रति” भानु नेपाली साहित्यका धरोहर र पूजनीय कवि हुन् ।
हे ! कवि के नेपाल तिमीले लेखेर देखे जस्तो छ त ? भनेर स्वयम् स्रष्टा कवि सर्वज्ञ वाग्लेले भानुभक्त प्रति माथिको प्रश्न राख्न चाहानु हुन्छ । नेपाली भाषाको अवस्था नाजुक छ । भाषा प्रतिको मोह तर्फ कसैलाई पनि चिन्ता छैन । सबै आ–आफ्नो डफलि बजाउन मै व्यस्त छन् । भाषा भन्नु नै व्याकरणको समायोजन हो । हाम्रो समाजका युवाहरू खाडी मुलुकमा गएर आफ्नो श्रमलाई पसिना सँग साटिरहेछन् । जसको दृष्टान्तले तपाई हाम्रो मनलाई विचलित बनाई दिएको छ । भ्रष्ट आचरण हुनेहरू सलबलाई रहेका छन् । सत्य बोल्नेहरूको जग हल्लिएको छ ।
चतुर धुर्तहले जताततै ठाउँ ओगटिरहेका छन् । बोल्ने वालाको पिठो बिक्री भएको छ भने न बोल्नेहरूको चामल समेत बिक्री भएको छैन । नेताहरू बेइमानी र भ्रष्ट व्यक्तिको पछि पछि कुँदिरहेका छन् । नेताले जनताको पिरमर्का बुझ्दैनन् । जनताबाट आफ्नो स्वार्थ लिन्छन् । तत्पश्चात् नेताहरूको जनतासँग सुमधुर सम्बन्ध नै हुँदैन । उनीहरूले जनतालाई चिन्नै छाड्छन् । यहाँ साँचो कुरा र साँचो अर्ति कसैले सुन्न नै चाहेको छैन । हाम्रो संस्कृति माथि बाह्य शक्तिले बुट बजारी रहेको छ । राष्ट्र नराम्रोसँग थला परिसकेको छ । अब तिमीले देश उत्थानको कविता लेख्नु पर्छ । अन्य पथगामिनीहरूलाई साँचो सल्लाह दिएर आफ्नो संस्कृति जोगाउँदै वाह ! वाह ! को ताली खानु छ । यौटा कविको भावना सूर्यको किरणसँगै औंसीको रातसँग बयली खेल्न पुगिरहेको हुन्छ । कोही पनि नपुग्ने ठाउँमा त्यहाँ एउटा कविको भावना पुगेको हुन्छ ।
कविहरूको बाटो निश्चल र पारदर्शी हुन्छ । स्वाभिमानमा रमाउन खोज्नेहरू आफै सक्षम हुन्छन् । कविको छाती आकाश जस्तै विशाल हुन्छ । कवि भविष्य स्रष्टा द्रष्टा दुवै हुन् । कविको मन कोमल हुन्छ । कविता कवि हो कवि नै कविता हो भन्ने कुरालाई हामीले यसरी बुझ्न सकिन्छ । जस्तै सर्वज्ञ कवि हुनुहुन्छ र उहाँ नै कविता हुनुहुन्छ ।
यसभित्र जे जति कविताहरू छन् ती सम्पूर्ण कविताहरूलाई एकमुष्ट रूपमा भन्नु पर्दा समसामयिक भए तापनि व्यङ्ग्यको बाहुल्यता बढी भेटिन्छ । यहाँ खुसीको कुरा के देखिन्छ भने व्यङ्ग्य विधामा कलम चलाउनेको सङ्ख्यामा एउटा इँटा थपिएको छ ।
यस भित्र रहेको “बा” कविता हिमाली गुराँसको वर्ष २५ अङ्क ९९ असौज– कार्तिक २०७९ सालमा छापिएको हो भने अर्को कविता “ऊ मान्छे” पनि यहीँ पत्रिकाको वर्ष २६ अङ्क १०२ चैत्र २०७९ र वैशाख २०८०मा छापिएको हो । यो सङ्ग्रहको आवरणलाई ऋषभदेव घिमिरेले सजाइदिनु भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










