डिल्ली अम्माई सक्रिय सञ्चारकर्मी हुनुहुन्छ । उहाँ अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष, केन्द्रीय उपाध्यक्षका प्रत्यासी तथा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका उपाध्यक्ष हुनुहुन्छ । उहाँले विद्यार्थी कालमा नै ‘विस्फोटन’ नामक लेखसङ्ग्रह प्रकाशित गर्नु भएको छ । उहाँ अहिले कथासङ्ग्रह प्रकाशनको तयारीमा हुनुहुन्छ ।

प्रस्तुत छ, जल्दाबल्दा विषयमा खरो उत्रिने अम्माईसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

अनेसास बेल्जियम च्याप्टरको निवर्तमान अध्यक्ष र केन्द्रीय उपाध्यक्षको प्रत्यासी हुनुहुन्छ ! चुनाव प्रचार पनि गरिरहेको देखिन्छ । हारजितको कुरो पनि आउला ! यसमा तपाईंको विचार के छ ? यसबाहेक अरू केमा व्यस्त हुनुहुन्छ ?

– हो, म साहित्यिक पाठशालामा छु । धेरै कुरा अग्रजहरूबाट सिक्दै र संगठनमा पनि क्रियाशील हुँदै छु । चुनावमा उम्मेदवारी दिएपछि सामान्य रूपले प्रचार त गर्नु पर्‍यो नि ! व्यस्त हुनु र व्यस्त हुन जान्नु पनि कला हो । साहित्यिक संस्थामा हारे पनि जिते पनि अवसरबाट वञ्चित हुनु पर्दैन । जिते त्यही प्लेटफर्म समुदायको हितको लागि प्रयोग गर्न पाइयो, हारे झन् अर्को अवसरको द्वार खुल्छ । यसरी म संगठन विस्तार र लेखनबारे सोचिरहन्छु । अहिले म, लेखेर थन्किरहेका उपन्यास, निबन्ध, कथा, कविताहरूलाई क्रमशः प्रकाशन गर्ने तयारीमा छु ।

साहित्य, दर्शन र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– साहित्य कुनै सूत्रमा लेखिने तथ्यपरक विवरण नभएर मनोचैतन्य रुझान सहितको भावना हो । तर यसमा सामाजिक परिवेश, वस्तुस्थिति, चेतनाको स्तर र सांस्कृतिक आरोह अवरोहहरूको अद्वितीय छाप हुन्छ ।

अर्को शब्दमा भन्दा, देख्दा, सुन्दा र भोग्दा जुन तरङ्ग मनमा उठ्छ त्यो पनि साहित्य हो । बहाव चाहे त्यो जीवन जगतको होस् वा प्रकृति जगतको, त्यसले कलासँग मिलेर भाव सहित श्रम सौन्दर्यको सृष्टि गर्दछ । सौन्दर्य र कलाले भाषाको तरलताबाट उत्कृष्ट सृजनाको निर्माण हुन्छ ।

जीवन मानसिक कर्म, भाव र भौतिक शरीर बीचको द्वन्द्व हो । त्यही द्वन्द्व एउटा निश्चित बिन्दुमा पुगेपछि रूपान्तरण हुँदै अगाडि बढ्छ । जीवनलाई भोगाइ मात्र भनेर बुझ्नु हुँदैन, गतिमा बुझ्नु पर्छ । जीवन क्रिया प्रतिक्रिया भएर निरन्तर हिंडिरहन्छ ।

मेरो विचारमा दर्शन भनेको चिन्तन प्रणालीबाट जन्मने तस्बिर हो । जसलाई मानिसले देखे-भोगेका कुराहरूले निर्देशित गर्दछ । भोको मानिसका लागि बाँच्नको लागि गर्ने संघर्षको सार दर्शन भए झैँ अघाएकाहरूको लागि सञ्चय र वर्चस्वको लागि गर्ने संघर्षको सार दर्शन हुन सक्छ । प्राकृतिक बुझाइमा पनि दर्शन दुई प्रकारकै हुन्छ । जस्तो कल्पना गर्‍यो त्यो दर्शन काल्पनिक हुन्छ भने देखे भोगेका कुराको प्रयोगात्मक दर्शन तथ्यगत हुन्छ । यी दुई भिन्न आयाममा आ-आफ्नै सार बोकेका दर्शनहरू विकसित भएका हुन् ।

तपाईंको लेख र रचन निकै चर्चामा हुन्छ, यो कसरी र किन ?

– जुन कुरा जसका लागि लेखिन्छ त्यो कुराले सिर्जनाको सारलाई मनन गर्ने हो । चर्चा परिचर्चा भन्ने कुरा सिर्जनाको रूपमा भन्दा सारमा अन्तर्निहित हुन्छ । त्यसैले समाजको गति र त्यसका अन्तर तन्तुहरूलाई बुझेर लेख्ने सिर्जना नै वास्तवमा अधिकतम मानिसले मन पराउँछन् । मैले पनि लेख्छु तर चर्चा परिचर्चाका कुरा पाठकहरूका बिच हुने भएकाले लेखकलाई भन्दा पाठक, समालोचक वा श्रोताहरूलाई यो सवालको सही जवाफ थाहा हुन सक्छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– त्यसैले नै भनिन्छ नि चिन्तन-मनन्ले मानिसलाई जिज्ञासु बनाउँछ । वास्तवमा जिज्ञासा खोजको प्रस्थान बिन्दु हो । खोजको कुरा सङ्ग्रह गर्दै जाँदा सन्दर्भ सामाग्रीहरू अध्ययन गर्ने बानीको विकास हुन्छ ।  त्यो सँगै सङ्ग्रहको नियमित अभ्यासमा ज्ञान वा सिर्जनाले जन्म लिन पुग्छ । सकारात्मक अभ्यासमा समय व्यथित गर्दा मानिसको अनुभव माथि उठ्दै जान्छ । त्यो नै ज्ञान आर्जन गर्ने तरिका हो । त्यसले चेतनामा प्रत्यक्ष प्रभाव पर्छ र मानिस रूपान्तरित हुँदै जान्छ । त्यसैलाई चेतनाको विकासक्रम र रूपान्तरण भनिन्छ । चेतनाको पहाड चढ्नु मुस्किलको कुरा भए पनि टाकुरामा पुगेपछि सबैले देख्छन् । चेतनाको सङ्ग्रह र प्रयोगको क्रमले नै मानिस उचाइमा पुग्ने हो ।

राम्रा कविता लेख्नु हुन्छ डिल्लीजी ! कविता राम्रो लेख्न के गर्नु पर्छ ? नयाँ लेखकहरूलाई के भन्न चाहनु हुन्छ ?

– मलाई अलिक बढी फुर्क्याएर प्रश्न सोध्नुभयो पत्रकारज्यू । कविता लेखनमा म सिकारु हुँ । लेखनमा अभ्यास ठुलो कुरा हो । हुटहुटीले मात्र मानिस कवि वा लेखक बन्दैन । लेख्नुअघि अध्ययन र अभ्यास जरुरी हुन्छ । अध्ययन, अभ्यास र मनोदशाको तालमेल मिलाएर लेख्न सकियो भने कविता मात्रै नभएर आख्यान पनि स्तरीय बन्दछ भन्ने लाग्छ । नयाँ लेखकहरूले पनि माथिका तीन कुरालाई ध्यान दिएर लेख्दा राम्रै हुन्छ । आफैँ सिकारु भएकोले साहित्यकारहरूलाई यो भन्दा बढी मैले के पो भन्न सकुँला र ?

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईं किन लेख्नु हुन्छ ?

– मैले स्कुले जीवनमा सबैभन्दा पहिला पढेको पुस्तक चिनिया उपन्यास ‘बाल सिपाही’ र त्यसपछि ‘गोर्कीको आमा’ हो । नेपाली साहित्यमा महाकविको ‘यात्री’ कविता, कवि शिरोमणि लेखनाथ पौडेलको ‘तरुण तपसी’ लगायत धेरै पुस्तक पढेँ । ब्यक्ति भन्दा पनि सिर्जनाको अध्ययनले मलाई लेखनमा उत्प्रेरित गरिरह्यो । लेख्ने कुरामा मेरो लागि मनोरञ्जनले भन्दा पनि जागरणले महत्त्व राख्दछ ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– खाली समय अनेसासको बिस्तार, सिर्जनाको चर्चा, साथीहरू सँगको संवाद र लेखन मै बित्दछ ।

अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनु हुन्छ ?

– अनेसास अहिले नदी बनिरहेको छ । यसलाई सौम्य, शान्त र वैश्विक परिधिलाई घेरिरहेको महासागर भएको देख्न चाहन्छु । सानातिना नेपाली संस्कृतिका झिल, भाषा साहित्यका खोला खोल्साहरू नदीमा मिलेर अनेसास सागर भएको दिनबाट विश्वमा हाम्रो अभियान समुदायको संस्कारमा बदलिसकेको हुनेछ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? किन ?

– भिन्न परिकार र स्वाद बोकेका साहित्यका सबै विधा मन पर्छ मलाई । तर मलाई सबैभन्दा मन पर्ने विधा कथा र उपन्यास हो । कथाले जीवनको उत्कर्षका परिघटना बोकेको हुन्छ । कथा पढ्दा मलाई बन्जी खेलमा हामफाल्ने बेलाको जस्तो अनुभूतिले आकर्षित गर्छ भने उपन्यासले मानिसको लोक जीवनका लगभग सबै आयामहरूलाई समेट्छ । त्यसैले निश्चित समयभित्रको लोकजीवन बुझ्न उपन्यास गहन खुराक हो ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ? तपाईं लगातार नेपाली भाषा साहित्य र पत्रकारितामा निकै लाग्नु भएको छ, हैन र ?

– साहित्यिक पत्रकारिता भन्ने शब्दले काल्पनिक भावना र पत्रकारितासँग सम्बन्धको सुझाव दिन्छ । तर साहित्यिक पत्रकारिता अरू कुनै पनि श्रेणीको लेखमा राम्रोसँग फिट हुँदैन । साहित्यिक पत्रकारितामा घटना वास्तविक हुन्छ तर त्यसमा मानिसका सामाजिक मूल्यहरूको खोजी गरिन्छ । बौद्धिक पहिचानका असरहरूको खोजी गरिन्छ । त्यहाँ व्याख्या, व्यक्तिगत दृष्टिकोण र कालक्रमको साथसाथै वास्तविक घटनाको भिन्न रूपले विश्लेषण हुन्छ । संस्थालाई जोड दिनुभन्दा साहित्यिक पत्रकारिताले ती संस्थाहरूबाट प्रभावित व्यक्तिहरूको जीवनबारे खोजी गर्दछ, उनीहरूका रुचिहरूको खोजी गर्छ र असरहरूबारे आफ्नो दृष्टिकोण राख्छ ।

जस्तै : अनेसास एक अन्तर्राष्ट्रिय साहित्यिक मञ्च हो भन्ने कुरा भन्दा बढी महत्त्वपूर्ण यसले समुदायमा कस्तो प्रभाव पारेको छ ? त्यो रिपोर्टलाई साहित्यिक पत्रकारिताभित्र लिन सकिन्छ । यस विषयमा नेपालमा काम नै नभएको भन्ने हैन । हरेक पत्रिका वा अनलाइन पत्रिकाहरूमा साहित्यिक बिट छुट्ट्याइएको छ, फिचर लेखनका लागि ठाउँ दिइएको छ र घटना विश्लेषणको लागि निबन्ध जस्ता लाग्ने लेखहरू प्रकाशित भैरहेका छन् ।

हाम्रा सिर्जनाका समालोचना, पाठक नजिक पहुँचको ग्यारेन्टी, पाठकका विचारको सम्प्रेषण, साहित्यको प्रचारप्रसार पनि साहित्यिक पत्रकारिता हो । अझ अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा साहित्यिक पत्रकारितालाई प्रोत्साहन गर्न धेरै काम भै रहेका छन् । नेपालका मूल धारका पत्रपत्रिका, रेडियो, टिभी च्यानल, पूर्ण साहित्यिक पत्रिका, प्रतिष्ठानका कार्यक्रम तथा थुप्रै अनलाइन मिडियाहरूले आफूलाई पूर्ण रूपमा साहित्यिक सूचना, लेखन, प्रकाशनमा समर्पित गरेका छन् ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ? 

– साहित्यकार वा लेखक मात्रै भएर बाँच्न त विश्व बजारमा लेखकीय ब्रान्ड नबनी सम्भव नै छैन ।

साहित्यिक संघ संस्थाको मापदण्ड के हो ? 

– कवि केदारमान व्यथित भन्नुहुन्थ्यो, ‘राजनीति शौचालय हो र साहित्य खिर । मलाई शौचालयमा बस्नुभन्दा मन्दिरमा बसेर खिर खान मन लाग्यो ।’ यसमा ‘मन्दिर र खिर’ यस्तो बिम्ब बनेर आएको छ कि त्यसले नै अनेसास लगायत साहित्यिक संघसंस्थाको मापदण्डलाई निश्चित गरेको छ । अब यस भित्रको अनुशासन, त्याग, समर्पण, हुटहुटी र सङ्कल्पका सीमाहरूलाई जसले पनि सहजै अनुमान गर्न सक्छ ।

साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– साहित्यिक आँखाले हेर्दा नेपालको राजनैतिक अवस्था हामीले सोचे अनुरूप छैन । भ्रष्टाचारका अन्तर्राष्ट्रिय मापदण्डमा हामी कहाँनेर छौँ भन्ने कुरा बुझ्न अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक सर्वेक्षणका रिपोर्ट हेरे भै हाल्यो ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु  हुन्छ ?

– चेतना नै सबै विधिको निर्णायक तत्त्व हो । विश्व क्रमशः बहुध्रुवीय हुने क्रमले गति लिन थालेको छ । यसको प्रभाव हाम्रो देशमा पनि परिरहेको छ । यसको प्रभाव साहित्यमा पनि देखिन्छ । मौलिक मूल्यतर्फ फर्कने सोच संसारभरी व्याप्त हुँदै छ । नष्ट हुँदै गरेका सभ्यताका तन्तुहरू बाँच्नको लागि संघर्षरत छन् । पूर्वीय ज्ञान सभ्यताको युग नफर्केसम्म हाम्रो सभ्यता एक्लै बाँच्न सक्दैन । त्यसैले साहित्यका तथा विद्वानहरूले अब यी विषयमा बहस चलाउनु पर्छ, लेख्नुपर्छ र हाम्रो ज्ञान सम्पदाको व्यापक प्रचारमा जुट्नु पर्छ भन्ने लाग्छ ।

पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल र अनेसासमा ?    

– २०७५ वैशाख १ गते प्रकाशित अन्तर्वार्ताको क्रममा अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीले तत्कालीन अनलाइन खबरका तात्कालिक प्रस्तोता अश्विनी कोइरालालाई पुरस्कार र सम्मानबारे भन्नु भएको थियो, ‘तपाईंलाई गोप्य कुरा बताइदिन्छु । काठमाडौंभित्र मात्रै करिब दुई सय साहित्यिक संस्थाहरू छन् । देशभरि एक हजार जति होलान् । यीमध्ये अधिकांश साहित्यिक संस्थाहरू ऐंचोपैंचो सिस्टममा चल्छन् ।’

यसबाट हामीले के बुझ्ने ? अवस्था त्यही हो भने संघसंस्थाहरूमा सम्मान तथा पुरस्कारको अवस्था सन्तोषजनक छैन । अनेसासमा यस्तो भद्रगोल नहोला शायद ।

के अनेसासका साथीहरू मिलेर आफ्नै शेयरमा आफ्नै पब्लिकेशन, आफ्नै अनलाइन गरेर साहित्यको सबै काम आफैँले गर्न मिल्दैन र ?

– त्यो विषयमा मैले केही भन्न सक्दिनँ । हाम्रो आफ्नै कार्यालय होस् अनि यी सब कुरा हुँदै जालान् । यो सब कुराको लागि मानवशक्ति, बजेट, इच्छाशक्ति र समय चाहिन्छ । गर्न सके त राम्रै हो । त्यो अहिले सम्भव छ, छैन ? अनुमानमा बोल्नु भएन नि ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– जीवनको सङ्कटले आफ्नो संरक्षित क्षेत्रबाट भागेर सांस्कृतिक पहिचानको सम्पूर्णतामा पुस्तौँ पुस्ता प्रवासमा भड्किन पुगेको समूह नै डायस्पोरा हो । त्यो समूहले आफ्नो अनुभूतिको आधारमा सिर्जना गरेको साहित्य नै वास्तविक डायास्पोरिक साहित्य हो ।

त्यसैले नेपालबाट स्वेच्छाले विदेश छिरेको नेपालीको पहिलो पुस्ता डायस्पोरा हैन भन्ने तर्कसँग म सहमत छु । यसर्थ उनीहरूले लेखेको साहित्य पनि प्रवासी वा आप्रवासी साहित्य हो भन्न सकिन्छ । खयर यो विषय अलिक विवादित नै छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य र लेखनाथ पौडेल पछिको कविता लेखनलाई कसरी हेर्नु भएको छ ? 

– भनिन्छ, गोकर्णको भीरबाट हाम फालेर आत्महत्या गर्दासमेत भैरव अर्यालले जीवनको विसङ्गतिमाथि व्यङ्ग्य–कविता (सुसाइड नोट) लेखेका थिए । हास्यव्यङ्ग्य विधामा रहेर दर्जनौं निबन्ध, कविता, मुक्तक लेखेका अर्यालले ‘नेपाली साहित्यमा हास्यव्यङ्ग्य ‘एक नालीबेली’ शीर्षकको विवेचनात्मक लेख लेखेका छन् । त्यसैले अर्यालको काल हास्यव्यङ्ग्य साहित्यको स्वर्णकाल भन्दा कुनै अत्युक्ति नहोला ।

यसबारे चर्चा गर्नु पर्दा – २००४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकाटोले बनारसबाट प्रकाशित हुने युगवाणी पत्रिकामा ‘प्रभुजी भेडो बनाऊ’, ‘बाघले बच्चा किन खान्छ’, ‘दालभात डुकु’जस्ता हास्यव्यङ्ग्य कविता प्रकाशन गरेको कुरालाई पनि स्मरण गर्नु पर्ने हुन्छ ।

अर्यालपछि हास्यव्यङ्ग्यमा लेख्नेहरूमा विष्णु नवीन, मोहनराज शर्मा, विमल निभा, नरेन्द्रराज पौडेल, रुद्र खरेल, नरनाथ लुइँटेल, चट्याङमास्टर, लाटो साथी, मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, सुरेश किरण, अर्जुन राज पन्त आदि देखिन्छन् । व्यङ्ग्य काव्यका लेखक अर्जुन राज पन्त अहिले अमेरिकाको टेक्सासमा बसेर पनि हास्य विधामा खुलेर कलम चलाइरहेका छन् ।

लक्ष्मण गाम्नागेले २०७६ मा सम्पादन गरेको ‘नेपाली हास्यव्यङ्ग्य कविता’ भने यो विधाको ताजा पुस्तक हो । यसर्थ हास्य विधामा लेखन प्रयास जारी छ । तर पनि हास्य विधाको प्रवाह आफ्नो इतिहासभन्दा कमजोर देखिएको कुरा केही हदसम्म सत्य हो ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? संसारमा छरिएर रहनुभएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल कस्तो छ ? 

– यो संस्था वास्तवमा प्रवासका साहित्यकारहरूलाई संगठित गर्ने सवालमा गठन भएको हो । अब यसको दायित्व स्थापनाकाल भन्दा धेरै बढेर भाषा संस्कृति र साहित्यको अन्तर सम्बन्धको गहनतामा पुगेको छ । यो खोला खोल्सीबाट नदी बनेको छ । माहौल पनि राम्रो छ । सबै अग्रजहरू मरिमेटेर यो अभियानमा लाग्नु भएको छ ।

नेपाली साहित्यको प्रकाशन, वितरण र प्रसारणलाई यहाँले कसरी हेर्नुभएको छ ? यसलाई राम्रो गर्न के गर्नु पर्ला ?

– खास गरेर नेपाली साहित्यको सिर्जनाले मात्र अब पुग्दैन । त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि जरुरी भै सकेको छ । हाम्रो प्रचार शैली, विशेष गरी भाषा-साहित्यको रुचि ह्रासोन्मुख छ । त्यसैले हाम्रा सिर्जना पढ्ने-पढाउने नयाँ अवधारणा विकास गर्नुपर्छ । कक्षागत रूपमा पनि त्यसको लागि सशक्त दबाब दिन जरुरी छ । लेखक पनि आफैँ क्रियाशील पाठक, बिक्रेता र समालोचक बन्न जरुरी छ । मूल्य रक्षाको लडाइलाई खाली आनन्द र मनोविनोदको साधन बनाइनु हुँदैन । हरेक प्रकाशन, मन्तव्य र कार्यक्रममा आफ्नो बौद्धिक मूल्यको अभियानलाई अग्रस्थानमा राखिनु पर्छ । कृति किन्ने-बेच्ने संस्कारलाई संगठनको एक कार्यभारको रूपमा लिंदा सर्जकहरूमा हौसला बढ्छ । हाम्रा आजीवन सदस्यहरूले पनि हाम्रा कृतिहरू किनेर पढ्ने संस्कारको विकास गर्नु पर्छ ।

भनिन्छ, साहित्यले मानिसलाई आनन्दित बनाउँछ, कसरी ?

– मानिस मात्र नभएर सम्पूर्ण जीव जगत् उसले चाहेको वातावरणमा रम्न पायो भने आनन्दित हुन्छ । सामाजिक प्राणीले समूहमा नै आनन्दको खोजी गर्छ । माहुरी आफ्नो आमा(रानी) मरेको दिनबाट अनुशासन विहीन, आदेश विहीन र छिन्नभिन्न हुन्छ । यसको मतलब कुशल, नेतृत्व र मौलिक संस्कृतिमा रम्न सक्ने विशेषता सबै जीव जगतमा हुन्छ । भाषा, साहित्य र संस्कृति मानव जातिका पहिचान हुन् । मानिसले ती कुरालाई छोडेर आनन्दित हुनै सक्दैन । साहित्य समाजको बिम्ब हो जुन भाषाको आधारमा उभिएको हुन्छ । त्यसैले साहित्यमा मानिसले आफ्नो दिनचर्या देख्छ । आफ्नो विगत, वर्तमान र भविष्यको सुन्दर प्रतिरूप देख्ने भएकोले उसको आत्मिक भाषामा लेखिएका साहित्य र कला प्रति स्वभावतः मानिसको लगाव रहने हुन्छ ।

पर्यावरण साहित्यलाई यहाँले कसरी हेर्नु हुन्छ ?

–  अब साहित्यमा पनि पत्रकारितामा जस्तै पर्यावरण विषय जोडिनु पर्छ । अहिले वैश्विक उष्णताले सीमा नाघ्न लागेको छ । प्रदूषण उस्तै छ । त्यसैले पर्यावरण विनाश विरुद्ध हरेक विधामा साहित्यकारहरूले कलम चलाउने बेला आइसक्यो ।

भनिन्छ, नेपाली भाषा बिस्तारै लोप हुँदैछ ! नेपाली भाषा-साहित्य पढ्ने संख्या बढाउन के गर्नु पर्ला ? 

– विनाशको प्रमुख कारण आफै भित्र हुन्छ । यदि नेपाली भाषा समाप्त हुने अवस्था आयो भने त्यो हाम्रै कारणले आउने हो । हाम्रो भाषा मास्न, हाम्रो संस्कृति सक्न घोषित रूपमा कोही आउँदैन । शक्तिशाली राष्ट्रहरूले विभिन्न तरिकाले उनीहरूको संस्कार, भाषा र संस्कृति बिस्तार गर्ने अभियानमा हाम्रो सभ्यता मासिने हो । त्यसको बचाव हामीले युद्ध स्तरमा गर्दै गयौँ भने हाम्रो भाषा जोगिन्छ । हामी आफैँ प्रभावित हुँदै गयौँ र भाषाको पुस्ता हस्तान्तरण रोकियो भने हाम्रै घरबाट भाषा मासिन्छ । उदाहरणको लागि हिन्दी भाषा लगभग आधा विकृत भएको छ । हिन्दी भाषीहरूले आफ्नो मातृ भाषामा आधाआधी अङ्ग्रेजी नमिसाई बोल्नै सक्दैनन् । झन्डै त्यही दिशामा हामीहरू पनि छौँ । समाचार, कार्यक्रम, प्रवचनहरूमा अङ्ग्रेजीले हाम्रो भाषालाई ककटेल बनाउँदै लगेको छ । यो सब हामी आफैंले रोक्नुको अर्को विकल्प हामीसँग छैन ।

अहिले अनेसासको चुनाव नजिकिंदै छ । अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा भाषिक मूल्यको रक्षार्थ निर्माण गरिएको बौद्धिक संगठन हो । यसमा भाषा साहित्यको उत्थान मूल रूपले जोडिएर आउँछ । यसको नेतृत्व मूलतः सिर्जनात्मक ज्ञान भएको, विनयी, समभावी र सांगठनिक कुशलताले ओतप्रोत हुनु पर्दछ । सिर्जनात्मक क्षमताले मात्रै पनि संगठन चल्दैन । विनयी र समभावी भएर मात्र पनि संगठन चल्दैन । यो प्राज्ञिक अनुशासनले चल्ने संगठन भएकोले बृहत् रूपले सबै शाखालाई आफू मर्यादामा रहेर परिचालन गर्न सक्ने खुबी भएको नेतृत्व आउनु पर्छ । नेतृत्व अविवेकी र अकुशल भयो भने संगठन समाप्त हुन धेरै बेर लाग्दैन । त्यसको ज्वलन्त उदाहरण एनआरएनए हो ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

-सर्जकका लागि पाठक प्रेरणा, पथगामी र मूल्याङ्कनकर्ता हुन् । सचेत पाठकहरूले साहित्यकारलाई युग अनुकूल लेख्न प्रेरित गर्दछन् । त्यसैले पाठक लेखकका गुरु, समालोचक, प्रशंसक सबै हुन् ।

पाठकलाई भन्दा पनि प्रवासमा बसाइ सरेका नेपाली समुदायलाई मेरो विशेष अनुरोध के छ भने, ‘भाषा, साहित्य र कला जीवित रहे मात्र राष्ट्रियता तथा मानव सभ्यता जीवित रहन्छ । त्यसको लागि घर घरलाई नेपाली लिपि सिक्ने र बोल्ने पाठशाला बनाउनु जरुरी छ । भोलि प्रवासमा गृह युद्ध वा युद्ध नै भयो भने पनि हाम्रा सन्ततिहरू मुलुक फर्किन र सजिलै समायोजन हुन नेपाली भाषाले अहम् भूमिका खेल्नेछ । अनेसासको कार्य योजनामा हाम्रो नेपाली भाषालाई पहिलो नम्बरमा राखेर नीति निर्माण हुनुपर्छ । नेपाली भाषा अभियानमा आजै ध्यान नदिने हो भने प्रवासमा भोलिका नेपाली पुस्ताको अवस्था फिजीका नेपालीको अवस्था जस्तै हुनेछ । सबै प्रवासी नेपालीहरूले सोच्ने बेला आएको जस्तो लाग्छ ।’