राजेन्द्रप्रसाद अर्याल

गोरखा बजारमा जन्मनु भएका राजेन्द्रप्रसाद अर्याल काठमाडौँ हुँदै विगत बाह्र वर्षदेखि अमेरिकाको म्याडिसन सहरमा सपरिवार बस्दै आउनु भएको छ। यो परदेशको व्यस्तताभित्र पनि उहाँ मात्र हैन उहाँकी श्रीमती सीता अर्यालसमेत नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील हुनुहुन्छ। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायतका संस्थाहरूमा आबद्ध साहित्यकार राजेन्द्रले जनप्रशासन विषयमा स्नातकोत्तर गर्नु भएको छ र ३२ वर्ष त्रिभुवन विश्वविद्यालयमा सेवा गरेको अनुभव छ अर्यालसँग ।

प्रस्तुत छ, साहित्यकार राजेन्द्रप्रसाद अर्यालसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

तपाईंले अमेरिका जस्तो व्यस्त ठाउँमा बसेर पनि अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाई रहनु भएको छ ?

– अमेरिकामा नै रहे पनि सबै मानिस व्यस्त कहाँ हुन्छन् र ? हामी त्यस्तो व्यस्त छैनौँ। आठ घण्टा काम गर्छौं। बाँकी सोह्र घण्टा पुरै फुर्सदमा हो। तर पुरै फुर्सदलाई साहित्य सिर्जनामा उपयोग गर्न भने सकेको छैन।

साहित्य, जीवन दर्शन, आत्मा र प्रकृतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

– यी सबै विषयवस्तुहरूका आआफ्नो स्थान र महत्त्व छन्। म ज्ञान प्राप्त गर्ने सवालमा हरेक विषयहरूप्रति सकारात्मक छु र कसैलाई र कुनैलाई पनि उचनिचको रूपमा कहिल्यै हेर्दिन । समय मिलेसम्म यी र यस्तै कुराहरूलाई सम्मानका साथ जान्ने, बुझ्ने र सिक्ने प्रयत्नमा रहन्छु। ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ? 

– हुँदैन। म जाँगरिलो लेखक हुँदो हुँ त यति थोरै सिर्जनामा मात्र सीमित हुनु पर्ने थिएन नि।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन आदिको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– सत्य त्यही हो। पूर्ण रूपमा विश्वास गर्छु।

 तपाईं कथा, कविता र नियात्रामा निकै कलम चलाउनु भएको छ।  तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्न मिल्छ ?

– आजसम्म कथा, कविता र  नियात्रा विधाहरूमा मात्र मेरा पुस्तकहरू प्रकाशित छन् साथै अन्य केही थप विधाहरूमा पनि प्रशस्तै कलम चलाएको पनि छु अपितु बहुप्रतिभाशाली जस्तो अत्यन्तै ओजिलो शब्दको ट्याग मलाई लगाइयो भने त्यो शब्दप्रति नै अन्याय हुन जान्छ कि जस्तो लाग्छ मलाई।

तपाईंले लेखन प्रेरणा कोबाट पाउनु भयो ?

– पारिवारिक पृष्ठभूमि, साथीभाइ र मूल रूपमा आफ्नै श्रीमती सीता अर्याल जो साहित्यकार छन्।

फुर्सदको समय कसरी बिताउनु हुन्छ ?

– मूलतः साहित्यिक क्रियाकलाप, सङ्घसंस्था, अध्ययन र घर व्यवहारमा बितेको छ समय। अब लेखनतर्फ अझ बढी केन्द्रित हुन कोसिस गर्नेछु ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन विधा मन पर्छ ? राम्रो लेख्न के गर्नु पर्छ ?

– मलाई प्राय: यी सबै विषय मन पर्छन्। मन पर्नु र लेखन शिल्प अनि क्षमता हुनु फरक कुराहरू रहेछन्। राम्रो लेख्न चाहनेले अध्ययनमा केन्द्रित हुनै पर्छ। मलाई लाग्छ- “जति धेरै अध्ययन उति गहन लेखन”।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– हृदय छुने प्रकृतिका पुस्तकहरू जसबाट केही सिक्न पाइयोस्। गतिला र स्वादिला शब्द र शैली मनको खुत्रुकेमा जम्मा गर्न पाइयोस् भन्ने किसिमका पुस्तकहरू मन पर्छन्।

लेखेर बाँच्न सक्ने आधार खडा हुन एउटा अमुक साहित्यकारको सिर्जना मात्रले  हुँदैन देशको र जनताको नै स्थितिमा सुधार हुन जरुरी हुन्छ। अर्थात् लेखेर बाँच्न विविध अवयवहरू जस्तै शैक्षिक, आर्थिक र राजनैतिक आदी पक्षहरू सबल भएको हुनु पर्छ।

साहित्यको मापदण्ड के हो ?

– यो वा त्योको साँघुरो घेराभित्र मात्र  छैन साहित्य । तर पनि साहित्य हुन हृदयसँग साइनो हुनै पर्छ। हृदयसँग नाता नै नगाँसिएको लेख वा पुस्तक साहित्यिक हुनै सक्दैनन्। विविध विषयमा पुस्तक र लेख लेखेर वा माल या अदालतमा तमसुक लेखेर पनि लेखक बन्न सकिन्छ तर स्रष्टा वा साहित्यकार  हुनको लागि हृदय कम्पन गर्ने र हृदयको कोमलतालाई छुन सक्ने  सिर्जना गर्न सक्नु पर्छ। स्रष्टाले आफ्नो  सिर्जनाको तागतले हँसाउँछ, रुवाउँछ, उद्वेलित र रोमाञ्चित आदि पार्छ। अर्को कुरा साहित्य आकाशजस्तै सीमाहीन हुनु पर्छ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– यो राजनैतिक व्यवस्थाप्रति मेरो गुनासो छैन। तर मुख्य समस्या नेताहरू अविश्वसनीय मात्र हैनन् लोभी र क्षमताहीन पनि देखिन पुगे। यी नेताहरूको अनुहारमा भोलिको उन्नत राष्ट्रको प्रतिबिम्ब देख्दिन म।अर्कोतिर कार्यकर्ताहरू बेलाइनबाट स्वार्थको टपरी थाप्न व्यस्त छन् र नेताहरूको रछ्यानमा रमाउन मात्र उद्यत देखिन्छन् ।

मेरो यो सोचसँग नेताहरू असहमत हुँदै भन्न सक्छन्- हामी सगरमाथा माथि उड्ने क्षमता राख्छौँ। तर मलाई लाग्छ – “गिद्धहरू जतिसुकै माथि उडे पनि त्यसले के अर्थ राख्छ र ? जब दृष्टि सिनुमा केन्द्रित हुन्छ भने ! “

पुरस्कार र सम्मानको अवस्था कस्तो छ साहित्यको क्षेत्रमा ?

– जनतामा चेतनाको मात्र हैन शैक्षिक र आर्थिक पाटो क्रमशः विकास हुँदै आए अनुसार विभिन्न पुरस्कारहरू थपिँदै र स्थापना हुँदै आएका छन्।यो स्वागतयोग्य कुरा हो । पुरस्कार र सम्मानहरूले सर्जक तथा साहित्यकारहरूको मनोबल र जाँगर अभिवृद्धि गर्न र थप उत्तरदायी अनि जिम्मेवार बनाउन सकारात्मक भूमिका खेलेका छन् भन्ने लाग्छ मलाई। तर यहाँ पनि केही खराबीहरू छन्। नातावाद र कृपावादले बेलाबेलामा फँडा उचाल्छ। चुरोटको पातलो धुवा सरह फास्सफुस्स भई गर्भमा नै बिलाएका स्तरहीन पुस्तकहरूले पनि पाउनै नपर्ने पुरस्कार पाएको देख्दा दया लागेर आउँछ।

अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– अहिलेसम्म मेरा ४ पुस्तकहरू प्रकाशित भएका छन्  र एक संस्मरणात्मक निबन्ध प्रकाशनको सङ्घारमा छ। अन्य केही पुस्तकका सामाग्रीहरू आधाआधी भएर रहेका छन्। क्रमशः पूर्ण हुँदै जालान् पनि।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– नेपाली डायस्पोरिक साहित्यले नेपाली भाषा, साहित्यको विकास मात्र हैन नेपाल देशलाई नै चिनाउने काम गरेको छ। अनेसास लगायतका अन्य संघसंस्थाको माध्यमबाट डायस्पोरिक साहित्य विश्वभरि फैलँदै गएको छ। अब क्रमशः यसको गुणस्तरमा पनि ध्यान पुर्याउनु पर्ने देख्छु म।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई तपाईंले कसरी हेर्नु भएको छ ? तपाईं अनेसासको वर्तमान प्राज्ञ परिषदमा पनि हुनुहुन्छ !

– अनेसासले नेपाली भाषा, साहित्यको क्षेत्रलाई विश्वभरि फैलाउने काम गरेको छ। नेपाली साहित्यको उन्नति र विकासमा यो संस्था दत्तचित्त छ। यो अत्यन्त सुखद पक्ष हो। यो संस्थाको नेतृत्वदायी पदहरूमा साहित्यप्रेमी र साहित्यसेवी मात्र हैन स्वयं साहित्यकारहरू नै विशेष क्रियाशील हुनुहुन्छ। त्यसैले योप्रति सबैको भरोसा बढेको छ।

हो, साथीहरूले मलाई त्यस संस्थामा आबद्ध गराउनु भएकोमा धन्यवाद दिन्छु।

तपाईं आख्यानकार हुनुहुन्छ ! तपाईंको लेखनमा अन्य नियात्राकार भन्दा के फरक पाउनु हुन्छ ? 

– म अन्यभन्दा के फरक छु भन्ने कुरा मैले बोल्ने विषय होइन। त्यो त अन्य सर्जक र पाठकहरूको मूल्याङ्कनको विषय हो। मलाई मन नपर्ने कोही पनि हुनुहुन्न। म सबैप्रति अनुगृहीत छु। केही यस्ता नामहरू मेरो हृदयमा खोपिएर रहेका छन् जसको लेखनीमा मैले विशेष दम भेटेको छु। उदाहरणको लागि ध च गोतामे, ताना शर्मा, खगेन्द्र संग्रौला, राजेश्वर देवकोटा आदि। शारदा शर्मा र नयाँ पुस्ताकी सन्ध्या रेग्मी शिवाकोटीलाई पनि सम्झन चाहन्छु।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

– म अनेसासमा मात्र हैन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको संस्कृति तथा भाषा, साहित्य समितिमा पनि संलग्न छु। यो मेरो दोस्रो कार्यकाल हो। आफू जहाँ काम गरिन्छ त्यहाँ केही नयाँ र उदाहरणीय काम गरौँ भन्ने हुटहुटी मलाई भइरहन्छ। अर्कोतिर त्यस समितिमा रहनु भएका साथीहरू पनि बडो आत्मीय र क्रियाशील हुनाले यसको नियमित कार्यक्रम बाहेक नै एउटा “साहित्य-सौरभ”नामक साहित्यिक पत्रिका प्रकाशनको प्रक्रियामा छौँ। यो समितिको इतिहासमा नै यो पहिलो घटना हो। प्रधान सम्पादकको नाताले अहिले म त्यसैमा व्यस्त छु। जुलाईको पहिलो हप्तातिर विमोचन गर्ने सोचमा पनि छौँ।

अर्कोतर्फ यही वर्षमा एउटा संस्मरणात्मक निबन्ध प्रकाशनको तयारीमा पनि जुटेको छु।

तपाईंको श्रीमती सीता अर्याल पनि साहित्यकार हुनुहुन्छ।  श्रीमान् र श्रीमती दुवै नै साहित्यकार हुँदाको अवस्थालाई कसरी लिनु भएको छ ?

– यो एउटा परिस्थितिले जुटाएको सुखद संयोग नै हो भन्ने ठानेका छौँ। एउटै क्षेत्रमा हुनाले हाम्रो चाहना, भावना र मान्यताहरू मिल्न गएका छन्। जसले गर्दा साहित्य सिर्जनाको लागि मात्र हैन हाम्रो दाम्पत्य जीवनको रथ हाँक्न समेत सजिलो र सुगम अनुभव भएको छ।

विगत १९ वर्ष पहिलेदेखि  नै आफ्नो पिताजीको नाममा “दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र” नामक संस्था सञ्चालनमा ल्याउनु भएको छ।  यसले के गर्छ र यसको आवश्यकता किन पर्यो ?

– यो संस्थाले केही सामाजिक काम गर्ने लक्ष लिएको छ। साथै पिता र माताको संयुक्त नाममा “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” वार्षिक रूपमा वितरण गर्छ। देशका १६/१७ जना विविध विषयका विद्वान् विदुषीहरू यो पुरस्कारबाट पुरस्कृत भई सक्नु भएको छ। प्रत्येक वर्ष नै ”ज्ञानबिन्दु” नामक खोजमूलक लेखहरूको सँगालो संस्थाको मुखपत्रको रूपमा प्रकाशन हुन्छ ।

जहाँसम्म किन खोल्न पर्यो भन्ने प्रश्न छ – एक त यो आफ्नो पितामाताप्रतिको सम्मान र कर्तव्य निर्वाहको परिणति हो। साथै  जन्मदिने बाबुआमा र वृद्ध पुस्ता सम्माननीय, आदरणीय अनि पूजनीय छन् भन्ने सन्देश समाजमा स्थापित गर्न चाहन्छौँ हामी।

पितामाताका हामी सन्तानहरूले केही कोषको व्यवस्था गर्यौ र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सक्रिय सहभागिता र क्रियाशीलतामा यो संस्था निरन्तर चलिरहेको छ।

साहित्य क्षेत्रमा  नमिठो पाटो के देख्नु हुन्छ ?

– साहित्य भन्दैमा दूधले नुहाएको मात्र सम्झन हुँदैन। हेर्नुस्, राम्रो भएको ठाउँमा नराम्रो स्वतः गाँसिएर नै आउँदा रहेछन्। यहाँ पनि नराम्रा र नमिठा पक्ष पनि छन् नै।

मेरो बुझाइ गलत पनि हुन सक्छ। साहित्य जगतमा  यथार्थपरक आलोचना, टिप्पणी आदि  सुन्न सक्ने क्षमताको ह्रास हुँदै गएको पाउँछु म। अर्कोतर्फ समीक्षा र समालोचना पनि भारा पर्म तिरे जस्तो देखिन्छ। आआफ्नो भजन मण्डली खडा गरी धुनी जगाएर बसेका छन् भन्न पनि नमिल्ने होइन।केही घटनाहरू गधा र ऊँटले आपसमा स्वरको प्रशंसा गरेजस्तो नदेखिने पनि होइन। कतिपय कुरा यसरी बढाई चढाई हुन्छ कि – आगोको कोइला सम्झेर पढ्दै गयो, बरफ समान चिसो अनुभव हुँदै जान्छ। मलाई लाग्छ- कालो हुँदैमा काग र कोइली समान हुन सक्दैनन्। कोइलीको स्वरको परख हुनै पर्छ।

परदेशै भए पनि अमेरिकाजस्तो शक्ति सम्पन्न देशमा हुनुहुन्छ। कस्तो महसुस भएको छ ?

– हेर्नुस्, परदेश भनेको परदेश नै हो । “परदेश” शब्दले बुझाउने नमिठो र नरमाइलो भावलाई शक्ति र सम्पन्नताले मेट्न सक्दैन। पुरै जीवन स्वदेश र जन्मभूमिमा बिताउन पाए, बन्धुवान्धव र इष्टमित्रहरूसँग कहिले हाँस्दै त कहिले रुँदै- जिउँदाको जन्ती र मर्दाको मलामी हुन पाए अनि नमरुन्जेल आफ्नै प्यारो भाषा र गौरवपूर्ण संस्कृतिमा रमाउन पाए जस्तो लागिरहन्छ। सबैले बुझ्न आवश्यक छ- जीवनको आनन्दरूपी तिर्खा मेटाउने सबैभन्दा उत्तम पँधेरो आफ्नै जन्मभूमि हो, आफ्नै देश हो।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– नेपाली भाषा, साहित्य र समग्र नेपाली वाङ्मयलाई माया गरौँ भन्न चाहन्छु। धन्यवाद।