‘हामीलाई अँध्यारोमा छाडेर अर्कै देशमा गएर निदायो सूर्य ।’

बाटोमा कुनै यात्रीले भनिरहेका यो कुरा यतिबेला सम्झनामा आयो । पाँच हजार मिटरमाथिको उचाइमा पनि सूर्यको तापले पोलिरहेको थियो । साँच्चै बेलुका हामीलाई अँध्यारोमा अलपत्र छोडेर सूर्य अर्कै देशमा निदाउन जान्छ । यतिबेला झलमल्ल टन्टलापुर घाममा हिउँ पगाल्दै त्यही सूर्य उज्यालोमा आफ्नो शक्ति प्रदर्शन गर्छ । त्यही सूर्यले हिमाललाई चम्काउँछ र रङ्गिन बनाउँछ ।

ज्यान खाने उकालो बाटो । त्यसमाथि बडेमाका ढुङ्गाले बाटै ढाकेका । कतिपय यात्रीले होश नपुर्याउँदा खुट्टा ढुङ्गाको कापमा परेर पछारिन्थे । तर चौरी र भरिया ज्यानको कस्तो होशियारी हो कतै ठेस लागेको देखिएन । कस्तो सावधानीपूर्वकको हिँडाइ हो कतै भड्खालोमा खुट्टा फसेको भेटिएन । तिनका खुट्टाले सहजै अप्ठ्यारो बाटो छिचोलिरहेका थिए । सायद तिनीहरू यी बाटाका परिचित यात्री हुन् । जसले बाटो चिनेका छन् । र, बाटोले पनि यिनलाई चिनेको छ । त्यसैले तिनलाई जस्तै कठिनको बाटो पनि सजिलो हुन्छ ।

अब केही बेरको हिँडाइपछि यहीँ पर आधार शिविर पुगिन्छ भनेको पनि निकै भयो । तर केही बेरको समयले घण्टाको रफ्तार गरिसक्दा पनि भनेको ठाउँ अझै टाढै थियो । परन्तु आइपुग्नै लाग्यो भन्ने आश्वासनले पनि पाइला लम्काउन मद्दत गर्ने रहेछ । थाकेको शरीर थपक्क बस्न आतुर थियो । तर ‘आइपुग्नै लाग्यो’ भन्ने आशाले थकाइ दूर हुन्थ्यो । हिँड्ने हिम्मत बढ्थ्यो ।

कति दिनदेखि दिनदिनैको लगातार हिँडाइ । बल्लतल्ल अब सगरमाथा आधार शिविर नजिक । देख्नुसम्म देखियो विश्व प्रसिद्ध पदयात्रा मार्गमा पदयात्रीको अचाक्ली घुइँचो ।

हेर्नुको सौन्दर्य छताछुल्ल दृश्य । देख्नुको स्वर्गीय आनन्द ! मनन, महसुस गर्नुको बेग्लै तृप्ति तनभरि । भावना सँगाल्न पाइयो भने जति । यहाँसम्म आइपुग्नु भनेको हिँड्नुको ठुलो उपलब्धि हुने रहेछ । साहसी पदयात्राको प्राप्ति भन्नु यही हुँदो रहेछ । सबै यात्री हिमालको काखैबाट हिँडिरहेका थिए । घाम लागे पनि चिसो हावाको झापटले मुटुसम्म स्पर्श गर्न आउँथ्यो । पाइला आगतमा टेकेर विगतलाई बिर्सिंदै भविष्यको मिठा यादहरू सँगाल्दै ।

यादगार यात्राका प्रत्येक डोबहरू । वास्तवमा यादहरू जीवनभरिकै यात्राका मिठा कोसेलीहरू हुन् । कहाँ बिर्सिन सकिन्छ र आफूले हिँडेका बाटाघाटाहरू । विगत सम्झनाहरूका मिठासमा घोलिएर ती प्रकट हुन्छन् । आँखाको डिलमा देखा परिरहन्छन् । बिसाइएका चौतारी, भञ्ज्याङ र देउरालीहरू । अनि त्यहाँबाट देखिएका दृश्यहरू आँखामा नाचिरहन्छन् ।

आहा ! खुसीले मन उथलपुथल हुन थाल्छ बिछट्ट प्रकृतिका विरासतहरूमा । लहराजस्तो लहराउँदै ।  नदीजस्तो बग्दै–बग्दै । बादलजस्तो उड्दै, फैलिँदै, बतासिँदै । बिसाएका बिसौनीहरूमा उमङ्ग फक्रिएजस्तो । ढकमक्क सयपत्री फुलेजस्तो । बनैभरि लालीगुराँस फुलेर मगमग वासना फैलिएजस्तो । रङको बेग्लै तमासा । रूपको बेग्लै धमाका । यौटा पृथक् भोगाइको सिलसिला । अलग्ग अर्कै धरातलको उचाइ थलो । संसारकै अग्लो स्थान पृथ्वीमा स्वर्गको एक टुक्रा ।

आफूले फड्को मारेर आएका कठिन पदमार्गहरू । यात्राका अविस्मरणीय घटनाहरू हुन् । घाउ होइनन् ती घाउका खाटा र टाटा पनि हुँदैनन् । बरु मलहमपट्टिका सुरक्षित र आरामदायी अवतरणका अवस्थिति हुन् ।

अन्ततः महँगो र कठिन यात्रा । तथापि यात्राको यादगार पाइला–पदचापहरू जीवनभरका लागि ! छिन–छिनमै अनेक देशका मानिससँग जम्काभेट भइरहने । भेटैपिछे ‘नमस्ते’ र ‘हाइहलो’ को आदानप्रदानले मित्रवत् चिनारीको चरित्र प्रदर्शित हुने ।

सागर उर्लिन्छ सगरमाथा छुन । तर कहाँ सक्नु र गहिराइबाट विश्वकै अग्लाइमा पदार्पण हुन । चाहना राख्दैमा पूरा हुँदैनन् मनकामना !

‘अबको १०÷१५ वर्षपछि शेर्पा गाइड र भरिया पाउन गारो छ । जीवन माया मारेर हिमाल चढ्ने शेर्पा कमै हुनेछ ।’ सुरुमा भारी बोकेर पछि गाइड गर्दै जीवन बिताएका गाइड पेम्बा शेर्पा भन्छन् । उनको अनुभवमा ‘आफूहरू पो अनपढ भएर भरिया जीवनमा लाग्नुपर्यो ।’

बोल्दै, सिक्दै आफूले भाषा जानेको बताउँदै दाबीका साथ उनी थप्छन्– ‘हामी पो पढ्नेलेख्ने अवसर नपाएर भरिया जीवनमा लाग्न बाध्य हुनुपर्यो । आजका पुस्ताले यही पेशा अपनाउने छैनन् ।’

‘गाइड गरेर कमाएको पैसाले आफ्ना बालबच्चा पढाउनमै खर्च हुन्छ । पढेका छोराछोरीले गाइडको काम गर्ने छैनन् ।’ उनको भनाइ छ । गाइड बन्न त्यति सजिलो नभएको अनुभव उनीसँग रहेछ । उनका अनुसार ‘गाइड भएपछि भाषामा राम्रो दक्खल हुनै पर्छ ।’

यद्यपि अरू भरियाको भने भविष्यको मिठो योजना छ । ‘अहिले भारी बोकेर पानीमा रुझेर, घाममा पसिनाले भिजेर हिँडेको दुःखको अनुभवले भविष्यमा गाइड र क्लाइम्बर बन्ने योजना छ । आफूले जानेको र सिकेको सीपको सदुपयोग गर्दै सुखको अनुभव गर्न पाइन्छ भन्ने मेरो योजना छ ।’ भरिया भाइले मेरो जिज्ञासालाई यसरी मेटाइदिए ।

‘विदेशी भाषा बोल्न जानिन्छ त ?’ मैले सोध्ना साथ तिनले तुरुन्तै यसरी जवाफ फर्काए, ‘मैले चिनेका गाइड दाइहरू कसैले पनि धेरै पढेका छैनन् । भारी बोक्दै सिकेका हुन् । त्यसैले त म ढुक्क छु कि केही वर्षपछि यो क्षेत्रमा विदेशी गेस्टहरूलाई घुमाउने काममा म लाग्ने छु ।’

उनको कुराले म चुपचाप भएँ ।

यस्तो टाढाको बस्ती जहाँ हिँड्ने यात्रीका लागि राम्रो खानपान र आरामदायी बासको ठुलो भूमिका हुन्छ । तर आधार शिविरको यात्रामा बाटैभरि यस्तो सुविधा पाउन सकिन्छ । एकजना होटेल व्यवसायीले भनेको यो भनाइ मननीय लाग्यो ।

उनी भन्छन्, ‘भरिया र हामी यौटै हौँ । उनीहरू बस्न नआए हाम्रो व्यवसाय चल्दैन । दुईचार पैसा फाइदाका लागि काम गर्छौ । किनेको सामान बोकाएर ल्याउँदा महँगो पर्ने नै भयो । सकेसम्म भरियालाई खाने सुविधा र आरामले सुत्ने सुविधा दिइएको छ ।’

उनी अगाडि थप्छन्, ‘महँगो धेरै छैन । सस्तो पनि होइन । आफूलाई अलिकति नाफा कटाएर मूल्य तोक्छौँ । हाम्रो होटेल सामान्य भएकोले यहाँ धेरै सुविधा पाइँदैन । विदेशीका लागि होइन यो होटेल । फोहोर हुँदैन । चिटिक्क पनि होइन ।’

मध्यदिन भइसक्दा घामको तापले हिमाल टिलिक्कै टल्किएका थिए । नाङ्गो आँखाले आँखै अघिल्तिरको जाज्वल्यमान हिमाललाई कहाँ हेर्न सक्नु ? तर घाम नभए हिमालको स्वरूप  सौन्दर्य नै खुल्दैन । रङ्गहीन हिमाल के हिमाल । हिमालमा घामको स्पर्श नपरेका हिमाल विधवाजस्तो । बसाइ गएको रित्तो घरजस्तो । बाढी पहिरोले बगाएर बाँकी रहेको बस्तीजस्तो । उजाड, उराठलाग्दो सुनसान भूमिजस्तो । जहाँ सौन्दर्य निख्रिएर खुसी सबै शून्यमा बिलाएको हुन्छ । त्यहाँ मन रमाउँदैन । त्यहाँ हाँसो पराइ भइसकेको हुन्छ । त्यहाँ एउटै रङ, एउटै रूपले घर बसाएको हुन्छ ।

यस्तोमा खुसी र सुख भित्रिन हम्मे नै हुन्छ । त्यसैले स्थानीय होटेलवालाका लागि पनि घाम लाग्नु र हिउँ पर्नु आवश्यक पर्छ । अन्यथा प्रकृतिको परम्परागत संरचना बिथोलिएर जैविक विविधता समाप्त हुन्छ ।

‘घाम नहुँदा हिमालको सुन्दरता खुल्दैन । एकनासको सेतो रङ सबैलाई मन पर्दैन ।’

साँच्चै हो रहेछ यो कुरा । घामको अनुपस्थितिमा हिमालको सौन्दर्य खुलेको देखिएन । हिमालको हिस्सी केही पनि अनुभव गर्न सकिएन । जब हिमालमा घाम पर्छ ओहो सौन्दर्यका चित्रहरू हेर्नलाई अनगन्ती । बिहान र बेलुकाको रङ त अद्वितीय नै भइगयो । सुन रङमा हिमाली चुचुराहरू शोभायमान । तर दिउँसोको घाममा पनि हिमालमाथि प्रकाशको प्रभाव अर्कै किसिमको मनमोहक रूप–सौन्दर्यले सजिने रहेछ ।

यसरी घामका किरणहरूले जब हिमाली पाटाहरूलाई चुम्न थाल्छ, त्यसपछि देखिन्छ प्रकृतिको तिलस्मी रूप । यही अलौकिक सौन्दर्य हेर्न संसारका मान्छे यहाँ आउँछन् ।

अनि त्यहाँ प्रकृति र प्रेम ! प्रेम र प्रकृति ! शहरी जीवनको व्यस्ततालाई बिर्सन । ग्रामीण परिवेशका प्रकृतिमा रमाउन । प्रकृतिप्रेमी मनहरू अचेल बढिरहेछन् ।

अन्ततः यिनैमा प्रेम, यिनमै जीवनको खुसी । अनि सन्तुष्टिको पल । अलिकति खुसी भेट्न मरिमेट्छौँ हामी । ज्यानै जोखिममा राखेर हिँड्छौँ ।

शब्दमा अर्थ खोज्दै हिँड्छौँ हामी । अर्थमा अभिप्रायको खोजी । शब्दले जीवनको खोजी गर्छ । खोजी अभियानले अर्थपूर्ण अभिप्रायको दैलो उघार्छ । जहाँबाट देखिन्छ सौन्दर्य–समष्टिको हृदयग्राही प्राकृतिक वैभव ।

मैले पनि शब्दमा जीवन खोज्दै हिँडेँ । जीवनमा प्रकृति घोल्दै गएँ । आखिर हिँडेपछि न पुगिने हो । पुगेपछि त देखिने हो हेर्न नपाएका रहस्यका संसार–समग्र । त्यही रहस्यमा थिए अनेकौँ सुन्दरताका भण्डार । तिनकै प्राप्तिमा, त्यही रहस्य भेट्न आतुर यात्रीहरू । विश्वभरका यात्रीहरू भेटिएका थिए आधार शिविरको रोमाञ्चक यात्रामा ।

अन्ततः प्रत्येक पाइला–पाइलामा पुग्नुको काउकुतीले मुस्कुराउँदै । प्रत्येक स्पन्दनहरूमा बाटैभरि खुसी छचल्काउँदै । हिँडिरहेका पाइला अनायासै टक्क रोकिएपछि थाहा हुन्थ्यो– प्रकृतिले आँखालाई लट्ठै पार्यो । र, पाइला अडियो । दृश्यहरूमा मन रमाउन थाल्यो । वास्तवमा अनुहारमा खुसी छचल्किनु र मुस्कान देखिनु आनन्दको पल हो । यसकै प्राप्तिमा जीवनका हरेक क्षण खर्च भइरहेको छ सबैको आज ।

यात्रामा हेराइको रूपान्तरण आवश्यक हुने रहेछ । हिँडाइको रूपान्तरण पनि हुनुपर्ने रहेछ । भोगाइको रूपान्तरण गर्नुपर्ने पनि खाँचो हुने रहेछ । यही रूपान्तरणले नै प्रकारान्तरमा हिँडाइको सार्थक रूप अर्थ्याइने रहेछ । अर्थको खोजी गर्नेको यात्रा अर्थपूर्ण रह्यो । यात्राको रूपान्तरण नगर्नेको यात्रा अर्थहीन भयो । अन्यथा उहिलेदेखि अहिलेसम्म हिँड्नेहरू कैयौँ भए । प्रत्येकका फरक भोगाइ । प्रत्येकका फरक दृष्टिकोण हुने रहेछ । यात्राको रूपान्तरण खोज्नेले बेग्लै स्वाद र सन्तुष्टि पाउने रहेछ ।

उही यात्राको परिधि । उही गन्तव्यको सिमाना आधार शिविर । यात्राको उही उपल्लो स्थान सगरमाथा फेदी । एक दिव्य विराट प्रकृतिको मौलिक उचाइ । उचाइमा पाइला टेक्नु जति ठुलो गर्वको कुरा हो । त्यत्तिकै गर्वको कुरा त्यहाँबाट देख्ने दृश्यहरूलाई मनभित्रसम्म अनुभव गर्नुमा हुन्छ । जहाँ पुगेर पनि देख्नुपर्ने कुरा देख्न सकिएन भने । महसुस गर्ने कुरा भएन भने व्यर्थ हुन्छ । अर्थहीन बन्छ यात्रा ।

हामीले जे सुन्छौँ, तर सुन्नुपर्ने कुरा सुन्नबाट वञ्चित हुन्छौँ । त्यसैगरी जे देख्छौँ तर खास देख्नुपर्ने कुरा छुटाउँछौँ । अनि हामी जे बोल्छौँ तर बोल्नुपर्ने बोली बोल्न जान्दैनौँ । हिँड्छौँ तर पुग्नुपर्ने गन्तव्य पुग्न सक्दैनौं । यो यौटा पाटो सुन्नु, देख्नु र बोल्नुको । हृदयले आत्मसात् नगरी आँखाले देखेर मात्र नहुँदो रहेछ । मनले महसुस नगरेसम्म सुनेर मात्र पनि विश्वास नहुने रहेछ ।

परन्तु पदयात्रीहरूको भिडमा अरूहरूजस्तो मैले पनि देख्नुपर्ने कुरा देख्न पाएर भाग्यमानी भएको छु । सुन्नु र बोल्नुपर्ने कुरा अनकन्टारमै होला । तर आधार शिविरसम्म पुग्नु भनेको मेरा लागि ठुलो उपलब्धि हो । त्यसलाई अनुभूतिमा भेटेर शब्दको अभिव्यक्तिमा जीवन खोज्दा अर्को उचाइ–आरोहण गरेजस्तो हुने रहेछ ।

थोक्ला भञ्ज्याङपछि यही थियो– ढुङ्यान बाटोको अन्तिम अक्करे उकालो । चट्टानको थुप्रोमा यात्रीका पाइलाले पहिल्याउँदै बाटोको डोब बनेको । त्यही डोब पछ्याउँदै जाँदा आधार शिविर पुगिने रहेछ । यसलाई पैतालाले किचेर थाप्लो टेक्दा बल्ल देखियो सामुन्ने आधार शिविर । कालापत्थर र पुमोरीको चुलीले स्वागत गर्ने । तिनैले प्रथम दृश्यमै सौन्दर्यमय स्वागतका अँगालोमा बेरेर सबै यात्रीहरूलाई आरामदायी बास दिने रहेछ ।