पूर्वको चुम्लुङ टेम्के चखियाको आक्कल झुक्कल पोष्ट हेरेर मन अपहरण भएको थियो । त्यो जादुयी प्राकृतिक सौन्दर्यले एकपटक घुम्न जाने रहरलाई भकभक उमालेको थियो । मुन्धुम ट्रेलको महिमा प्राकृतिक सौन्दर्यात्मक वातावरणीय माहौलले हुरुक्क बनाएको थियो नै । त्यसमा पहिचान पुरस्कार समारोह काठमाडौमा वितरण गरिएको विषय पेचिलो भइरहेको थियो । पहिचान आफैमा स्थानिक्तासित जोडिएको विषय हो नै ।

केन्द्रिय मानक भत्काउने भन्ने तर केन्द्रलाई नै पक्षपोषण गर्ने कार्य सुहाउँदिलो भएको थिएन । नरेश काङमाङले वालमा हठात २०७७ को पहिचान पुरस्कर चखिया भोजपुरमा वितरण गर्ने घोषणा गरेपछि यो फरक प्रकारले जिज्ञासापूर्ण बन्यो र नगई नसक्ने आँधी मनमा जन्मियो । जाने साथीहरूले च्याट ग्रुपमा आफ्नो नाम टिपाउन आफै मन्जुरी दिन सक्थे । अन्त्यमा पूर्वबाट हाम्रो टोलिमा कृष्ण बराल बिराट किराँती साङ्सेन पङ्धाक सेलिङ केसि भवानी आङ्देम्बे मुनाराज शेर्मा रुमानी कुलुङ स्कोर्पियोमा र कुमार भट्टराई निजी बाइकमा एकल तीन दिने यात्रा सप्पन्न गर्ने निधोका साथ बाटो लाग्यौँ । यो नितान्त निजि खर्चमा स्वस्फूर्त यात्रा थियो ।

बाटोको रमाइलो अविष्मरणीय रह्यौ नै । कति सिरियस जिन्दगी बाँच्नु । जीवनलाई झमेला भन्दा पर लानु र एकछिन शून्यमा अड्याउनु पनि जिन्दगीभरि कुर्नुपर्छ । साथीहरु भनेको यो जुनीको घाम, जून हुन् ।

जसले जीवनको अँध्यारोमा अलिकति उज्यालो खसेको सम्झनाको नदी बगाउँछन् । सम्झन सक्ने सम्झनाहरु दिन्छन् । व्यवहारले गलेको ओठमा हाँसोको बर्सात गराउँछन् ।

यात्रामा ननभेज ठट्टा शालिनभन्दा शक्तिशाली हुन्छ । बाटो काट्नु सजिलो हुन्न नि ठट्टा नगरी । संसार हास्यरसले अझ जिउन सजिलो छ । दमालेको यात्रा अरुभन्दा छुट्टै मजाको हुन्छ । हामीले कुनै कसर बाँकी राखेनौँ । यद्यपि साहित्यकारहरुको समुहमा श्रृङ्गारिक ठट्टाको कुनै बन्देज हुँदैन नै । विशेष नेपाली साहित्यमा पूर्वेली योगदान लेखन बारे पनि गहन छलफल भयो नै । समीक्षाले सम्वाद निकै ततायो ।

अचानक भेटिएकी बदाम बेच्ने सोल्टिनीले भोजपुर पुग्न आँट्दा मन बिछट्ट बनायो । बाटोमा मास्कमा बदाम बेच्न आएकी कन्यालाई सोल्टिनीले विभूषित गरेर कविहरुले मास्क खोलेमा बदाम किन्ने सर्त राखेपछि बाध्य भएर एकछिन मास्क खोलेर मुस्कानको बादल छोडेको दृश्य अदभूत थियो । मास्क लाउनु र खोल्नु सामान्य हुन् । तर जब त्यो बाजीमा परिणत हुन्छ विशेष बनी मन छुने हुँदो रैछ । हामी अचम्ममा पर्यौं । उनले बदाम बेच्न मास्क खोलिन् मुस्किलले र सौन्दर्य फुकाइन् । थोरै घुर्की पनि मिश्रित थियो । अचानक भेटिएको क्रेतासित घुर्की छोड्नु उसको मस्तिष्कको निउरोनले प्रेमिल लगाव छोड्नु मानवीय प्रतिक्रिया आश्चर्यजनक थियो ।

बाटोमा भेटिएको तीन तले झरनाको प्राकृतिक दृश्यले मोहित बनायो  ।

पानी कम थियो तर तला तलाबाट ओर्लिएको पानीको आवेगले कविहरुको मनको तलालाई उछाल दियो । म र साङ्सेन कवि दोस्रो तलासम्म कठिन साथ उक्लियौँ । फोटो सुट गर्यौं । भवानी आङ्देम्बेले राम्रो भिडियो खिच्न मेहेनत गरे । अरु कविहरुले फेदैबाट तस्बिर लिएर चित्त बुझाए । यो झरना मधेसदेखि एक घन्टासम्मको ड्राइभमा पुगिने भए त्यो क्षेत्रको कायपलट हुन्थ्यो ।

अर्को घटना गुराँसको बोटको मृत्यु छलेर बाँचियो । तिनतले झरना छेउमा बाटोमुनि राताम्मे गुराँस फुलेको सौन्दर्यले हामीलाई हुरुक्कै बनायो । ओर्लेर नजिकै गएर फोटो लिन तँछाडमछाड गर्दा मैले पक्रेको बिरुवा लुलो परेकोले म बत्तिएर भिरतिर जान लाग्दा कवि सेलिङ केसीले एक्कासि पक्डेर मेरो अस्वाभाविक दुर्घटनालाई बचाए । झरेको भए अकल्पनीय घटना हुन सक्थ्यो । कहिलेकाहीँ नसोचेको घटना घट्न सक्छ । मेरो ज्यानै सिरिङ्ग भयो । निकै बेरसम्म बिसन्चो भयो ।

घर पुगेर पनि यो घटना गुपचुप नै राखियो । बित्थामा किन परिवारको मन अमिलो बनाउनु हगि । तेस्तै घटना कवि विमलसित इटहरी जाँदा हामी चडेको स्कुटीलाई लरी ट्रकले छोएर अलिकतिले दुर्घटनाबाट बचेको हो हामी । बल्ल बल्ल स्कुटी नियन्त्रण भएर बाँचियो । कवि बिमलले भेट्ने बित्तिकै झन्डै मारिएको ज्यानको सधैँ सम्झाउँछन् । यो पनि हामीले घरमा नभन्ने वाचा खाएको हो । सेलिङ् केसीले त्यत्तिखेर ज्यान फिर्ता दिएको हो मलाई ।

लामो यात्रामा निस्केको पानीहाँसको बथान साँझमा विश्राम गर्न ओर्लेझैँ पूर्वेली हृदय बोकेर साँझपख चखिवा पुगियो । कवि मुकारुङहरुको घर कता होला भन्ने निक्कै सोधखोज समेत गरियो बाटोमा । हामी पुग्दा मेसमा साथीहरू झ्याप्प बसेका थिए । डाँडाको फेदमा कर्याङ्कुरुङकाे बथान बास बसेजस्तो । हामीले चखियाको साँझको लोभ गर्यौं र डाँडामा उक्लियौँ । थरीथरीको तस्बिर लियौँ । लोभलाग्दो साँझलाई भरपुर उपयोग गर्यौं । भोजपुरको टक्सार डाँडामाथि झुलिरहेको जुनलाई हत्केलामा राख्ने बहुत कष्ट गरियो र विभिन्न पोजको तस्बिर खिचियो । बुकी फूलको सानो टुसा विचारजस्तो टुसाउँदै थियो नाङ्गो चखिया डाँडामाथि बाक्लै । फर्किँदा मेस ढिलो भएछ । उब्रेको लियौँ र कोठा छिर्यौं । टिङ जमेन । काठमाडौँको साथीहरूसित भेटियो ।

चखियाको मेसमा आयोजक नरेस काङमाङको मिलिट्री अनुशासन हावी थियो । यो सहभागीको धारणा हो । स्वयम् नरेश काङमाङले बिचबिचमा कमाण्ड गर्दा यो लाइन उद्घोष गर्ने गरेका हुन् । त्यो बिकट चखियामा दुई चार घरबाहेक थिएन । त्यस्तो अनकन्टार क्षेत्रमा यत्तिको अनुशासन नहुँदा टिक्न टिकाउन मुस्किल हुने नै भो । त्यसकारण पनि यो जरुरत थियो । उनको यो अनुशासनले नै पहिचान पुरस्कार स्थापना भयो र यो उचाइ प्राप्त गर्यो । स्वयम् टेम्के मैयुङ गाउँपालिकाको अध्यक्ष ध्रुव राई भान्सामा खटेका थिए । दोस्रो पल्ट चाहिँ उनी पराजित भएछन्, दुख लाग्यो । मेयर यसरी खटेको र साहित्यको माया गरेको जीवनमा बिरलै देखिएला ।

ढुङ्गामा पोलेको सुँगुरको सेकुवा कोदोको लोकल सिजँवा कवि नरेस र लोकल साथीहरूले आफैँ पस्किन्थे । कोदोको सिजँवाको सौर्न्दर्य र मिठास अहिले पनि जिब्रोमा हाजिर छ । त्यहाँको त्यो लेबलको मिठास यता तीन पानेमा मात्रै पाइन्छ । तीन पानेको ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय निकासी गर्ने भन्ने अभियान चुनावी नारा बाहेक माथि उठेन ।

मेसमा भेटिएको आयोजकमध्ये पाविहाङ धेरैको मामा बाजे पर्ने साइनोले जेठो रहेछन् । अगुवा युवा गुराँस जोगाउन टिप्नेलाई हायल कायल पार्ने उनको अभियान रहेछ । प्रकाश दिप्सालीसित हामीले गुराँस टिप्दा यो कुरा उठेको थियो । धेरैसँग आवेगमा तर्क गर्ने स्ल्याङ शब्दले जोरजुलुम आक्रमणमा उत्रिने उनको सामान्य स्वभाव रहेछ । अघि कुनै एक समयमा सिडियोलाई कार्यलयमै स्ल्याङ हानी पठाएका थिए रे ! थोरै लफडा समेत भएर सम्झौता भएछ । वामपन्थी नेता अजम्बर काङमाङसँग घमसान वाकयुद्ध पर्यो ।

कुरा सामान्य नै थियो । बिस्तारै कुरा बढाउँदा पनि त्यो सकिने कुरा उच्च सम्वेग र स्वरले माहोल उत्तेजक लाग्थ्यो । तर नरम कुरा हो । तीन दिन बस्दा एक दिन पाविहाङ कुन कामले गयल भएको नि ! यताको कवि विराट किराँतीले पाविहाङ खोइ भने । छैन भनेपछि आजको पाविहाङ विराट किराँती हो भनेर उप्परखुट्टी लाए । सब चकित । हाँसोले चखिया गुन्जिएको थियो । फर्किंदा यो किस्सा निक्कै हिट भयो । वर्षदिन हिट “बाइट अफ द इयर” भयो ।

आधा रातको हाइकिङ टेम्केको मिसनमा थियो । टेम्के शिखरमा तेप्लायुको विमोचन गर्नु थियो । चखियादेखि टेम्केको उकालो चार घन्टाको यात्रा रहेछ । कृष्ण दाइ र म अघि लाग्यौँ आधा रातमै । पछिपछि अरु आए । हामी गाडीको बाटो अघि लाग्यौँ । हामी सुनसान रातमा गुराँस र कटुसको जङ्गलको बिचमा हिँडिरहेका थियौँ ।

एकजना महिला आधारातमा ओरालो झरिरहेको देखेर हामी छक्कै पर्यौं । डर पनि लाग्यो । पहिले त भूत होला वा कुनै जनावर हो कि लाग्यो । पछि अरुसित बुझ्दा दिमागी हालत अस्वाभाविक भएर वर्षौंदेखि यसरी घुम्दि रहिछन् ती दिदि । सत्य कुरा बुझेपछि म निकै भावुक भएँ । मेरो आमाको पनि ठिक यस्तै हालत थियो दशकौँ अघि । मन दुखिरह्यो एकतमास । जिन्दगीको कुनै खास टुङ्गो छैन । सोचेको जस्तो नि भैरहँदैन जिन्दगीमा । तथापि बाँच्नु छ जसरी पनि । धर्ती गन्तव्यविहीनहरुले पनि जसोतसो बिताउनुछ । सम्झदा कहाली लाग्छ जिन्दगीदेखि ।

टेम्के शिखर आरोहण यात्रा मुन्धुम ट्रेलबाट जाने रहेछ । मुन्धुम ट्रेल ढुङ्गा बिछ्याइएको उकालो बाटो हो । जो सिधा छ । ट्रेलबाट मात्र जाने भनेर पछाडिबाट ठूलो स्वरमा उर्दी भएपछि हामीले जङ्गलको बिचमा बाटो मोड्यौँ ।

त्यतिखेर खगेन्द्र सङ्ग्रौलालगायत काठमाडौँको टोली हाम्रो अगाडि लागे । खगेन्द्र दाइको खुट्टाले उकालो चढ्दा एउटा ढुङ्गा धसारेर खसाए अध्याँरोमा । त्यो ढुङ्गा कृष्ण दाइको खुट्टामा बजारियो । उनी घाइते भए । म पछि थिएँ । दाइ हिँड्न सकेनन् । बोरोको निरङ्कुश खुट्टाको प्रहारले आकस्मिक निर्मित चोटले बराल घाइते भए भन्ने किस्सा कार्यक्रमभरि गसिप बन्यो । हामी अध्याँरोमा बाटो खोज्न भौतारियौँ । सास बढेर ज्यान सिद्धिएला जस्तो भयो । लुगा धेर भएर फ्याँक्नु जस्तो भयो । ट्रेलबाट हिँड्नेहरु माथि जङ्गलमा यता यता भन्दै कराइरहेका थिए । हामी तल दुई जना अलमलमा थियौँ । दाइ धेरै आत्तिएका थिए ।

अरुले हामीलाई छोडेका थिए । मैले दाइलाई ढुक्क हुनु दाइ म तपाईंलाई छोडेर जान्न भनेँ । एक पल्ट दाइले गर्दा मैले पनि चढ्न नपाउने भएँ भन्ने लागेको थियो मनमा । तर साथभन्दा ठूलो कुरा अरु होइन मैले दृढताका साथ सोचेँ । यदि यस्तो बेला मैले दाइलाई छोडेर बिचल्ली भए भने मैले भाउज्यूलाई के उत्तर दिने होला ? खुब सचेत भएर सोचेँ । उनले मेरो बारेमा के सोचेका थिए होला भनेनन् । हामी ट्रेलमा पुग्यौँ । आराम गर्यौं । दाइको मोबाइल खसेछ । अरु कोही पछाडि अझै आइरहेका थिए उनीहरु कसैले ल्याएर दिए । हामी सबैभन्दा पछि उकालो लाग्यौँ ।

धेरैपछि कवि साङसेनको समूह बाँकी रहेछ । ढुङ्गा मिलाएर बिच्छ्याएको कपरिङ कपरिङ उकालो बाटो ठाउँ ठाउँमा ढुङ्गाकै चौतारी बिसाउँदै सास फाल्दै हेपेक हेपेक हुँदै हामीले अरुलाई पच्छ्यायौँ । दुई-दुई वटा लौरो टेकेका थियौँ । उँभो हेर्दा स्वर्गको लिस्नोजस्तो कलात्मक ढुङ्गे बाटो जो जहिल्यै नसिद्धिने अनन्त मुन्धुमीद्वार जस्तो आकास उक्लिरह्यौँ । उँधो हेर्दा सुनसान गुराँसे वन । कतै सिरिङ्ग हुने अप्ठ्याराे साँघुरो उकालो र गोडा काप्ने भिर । हेमान- हेमानको गुराँसको बोटको जङ्गल । सायदै अन्यत्र पाइएला यति ठूलो गुराँसको बोट ।

चालिसको दशकमा पाथिभरा मुकुमलुङ जाँदा यस्तै अग्लो गुराँसको रुख र लौठ सल्लाको रुखको घना पट्टेर जङ्गल थियो । अहिले विकासको नाममा सबै फाँडेछन् । दुख लाग्यो । कवि नरेसले अब हामी टुप्पामा पुगेर सुर्योदय हेर्न सक्दैनौँ अबेर भयो भनेपछि हामी थोरै निरास भएका थियौँ । ६:१० बिहान हामी आधी बाटोमा उकालो बोकेर उक्लिरहेका थियौँ । आफैँलाई घिसारिरहेका थियौँ । म कृष्ण दाइसँगै थिएँ । त्यसकारण खुसी नै थिएँ ।

कृष्ण दाइको रोकिएको सासले आधा बाटोपछि स्वस्फूर्त पुनर्जीवन प्राप्त गर्यो । उम्मिद शिखर देखेर गुराँसजस्तो हलक्क हुर्कियो र शक्तिमान बन्यो । हामी शिखर पुग्यौँ । टेम्केको शिखर चढेको आख्यान मैले प्रगती राईको तेस्रो उपन्यास थाङग्राको पाण्डुलिपीमा पढेको हो । आज आफैँ चढेँ ।

प्रसिद्ध गीतकार श्रवण मुकारुङको माथिमाथि सैलुङगेमा चौरी चराउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई गीत सम्झेर हुरुक्क हुँदै टेम्के चढियो । हेमान गुराँसको बोटले ढाकेको जङ्गल हेर्दै डाँडा उक्लियौँ । सैलुङ थोरै होचो टेम्केबाट दक्षिण पर्दो रैछ । कविहरुले आफ्नो जीवन र जगतको अनवरत अस्तित्वलाई यसरी मायाको अक्षरले उनेर गुराँसजस्तो अजम्बरी भोगाई धर्तिलाई समर्पण गर्छन् ।

टेम्के प्राकृतिक अवस्थामा रहनु पर्छ भन्नेहरुले मुन्धुम ट्रेल बनाए । हिँडेरै शिखर टेक्नुपर्छ भने । हिँड्नु हाइकिङको मजा अरु थोक हुन्न भने । प्राकृतिक अवस्थामा छोड्नु थोरै आवश्यकीय विनासले विकास आउँछ भने तेसो गरौँ भन्नु वातावरण संस्कृति विकाससँगै लिएर जानु उनीहरुको धारणा देखियो । त्यति नै खेर होइन मोटर बाटो लग्यो भने विकास छिटो हुन्छ । पर्यटन चाँडो फस्टाउँछ भन्ने समूहले सडक भिउटावर बनाउनु पर्छ भनेर डाँडामा ठूलो खाडल पनि खनेछन् । डाँडाको त्यो भौडी देखेर मन कटक्क खान्छ । टेम्के आफैँ भ्यूटावरभन्दा अग्लो छ । फराकिलो छ । मनमोहक छ । सुरम्य छ । किन बुद्धि बिगारे साथीहरूले खाल्डा खनेर । नरमाइलो लाग्छ । यो द्वन्द्व जताततै छ ।

वास्तवमा भ्यूटावर बनाउनु पर्नेमा मात्र बनाउने हो । त्यो पनि अहिले विवादित छ । मेरो गाउँको धारागोलामा भ्यूटावरको प्रस्ताव गर्ने मेरो मिसनप्रति म पश्चत्ताप गरिरहेको छु, अहिले साठी लाख ज्यादा खर्च भइसक्दा पनि निर्माण सकिएको छैन । स्थानीय सरकारको दुई कार्यकाल भैसक्दा पनि नियमन गरेको छैन । राजनैतिक इस्यू ज्यादा हुने रहेछ ।

नयाँ सरकारले वा वडाध्यक्षले पुरानोको कामलाई मान्यता नदिने मनोविज्ञान नेपाली विकासको असफलताको मूल कारण रहेछ । आफ्नो मात्र ठिक ठान्ने परिपाटी नेपाली समाजको मनोवैज्ञानिक अधोगति हो । यो हाम्रो समाजको विडम्बनाको सूचक । कवि साङसेन वरकले भ्युटावर बनाउनु कति उचित अनुचित भन्ने बहस पनि चलाए शिखरमा । जत्तिखेर राज्यको भ्यूटावर मिसनको धुँवादार विरोध चलिरहेको थियो । कसैले पनि भ्यूटावर निर्माण सहि भनेनन् । त्यो लगानी उत्पादक क्षेत्र शिक्षा रोजगार तथा स्वास्थ्य आदिमा लगानी गर्न सुझाएका थिए ।

शिखरको अनुपम दृश्य पान गरेर हामी मुग्ध भयौँ । चार घन्टाको हैरानी कुहिरो हटे जस्तो छ्याङ्ग भयो । पक्की सिमेन्टेड भवन पनि बनेको रहेछ । त्यो सबैले नबनाएको भए हुन्थ्यो भने । नजिकै ढुङ्गाको सानो मन्दिर रहेछ जो स्थानीय कला सीप झल्काउने थियो र नजिकै टिनको छानाको हावा घर यी दुई संरचनाको भने सबैले मुग्ध प्रशंसा गरे । ओहो ! यस्तो भूस्वर्ग मन उडेर रुवा जस्तो भयो । यति विशाल फाँट डाँडामा हाम्रो मन मृगको बच्चाजस्तो बुरुक बुरुक उफ्रियो । पुतलीझैँ फिर्फिर नाच्यो । जता हेरे नि छ्याङ्ग । मनलाई दृश्यसँगै पर पर, तल तल अवतरण गर्यौं ।

चारैतिर मन खुसी लिएर प्याराग्लाइड गर्यो । बन्जीजम्प गर्यो । फाटमा उभिएर हेईईई गरेर करायौँ । स्वरहरु पारी पारी पुगेर प्रतिध्वनित हुँदै फर्केर आयो । हिमाललाई एकछिन चुमेर आयो ओठहरु । परको थुम्का थुम्की अङ्गालो हालेर फर्कियो इच्छाहरु । तल चिन्डोको भुइँ चित्र रहेछ । जमिन कला । माटो पेन्टिङ त्यो देखेर गदगद भयो हृदय । किराँत राईहरुको अधिसांस्कृतिक समयको मुन्दुमीक भौतिक सामग्री हो । जो जीवन सभ्यता र संस्कृतिसित बेजोड सम्बन्ध राख्छ । चिन्डोले जीवन बाँच्न आदिवासीहरुमा सभ्यताको उठानदेखि खोला तर्न सामग्री सञ्चय गर्न बिउबिजन जोगाड गर्न पानी भर्न सिँजवा दुग्ध पदार्थ भण्डारण गर्न सहयोग गरेको हो । जो काष्ठ कलाको विकास अघिको सभ्यता हो ।

हामी झर्ने सोचमै थिएनौँ । अघाउन्जेल रसपान गरेर मुग्ध हुन चाहन्थ्यौँ तथापि पुरस्कार वितरण आदि कार्यक्रमको व्यस्त तालिकाले घिसारेर झार्यो ।

तेप्लायु विमोचन टेम्केको शिखरमा खगेन्द्र दाइको हातबाट सम्पन्न गरियो । तेप्लायु राई भाषामा योनि हो । जीवन र जगतको सृष्टिलाई निर्माण र सम्वर्द्धन गर्न मातृ शक्ति र मातृत्वको निर्विकल्प भूमिका हुन्छ भन्ने महत्त्व दर्शाउन तेप्लायुको कविताको अहम् भूमिका हो । आदिवासीहरु हिजो प्रथम र दोस्रो युद्धमा देश छोडे आज अरब, मलेसिया, खाडी, कोरिया युरोपकोलागि देश छोडिरहेका छन् । गाउँ रित्तै छ । हिजो युद्धमा हराएकाहरुको शोकमा आँसुको पुल बनाएर बाँचेकाहरु अझै छन् ।

दोस्रो दिन दिउँसो पहिचान पुरस्कारको भव्य आयोजना भयो । सबै सहभागीलाई गुराँसको भव्य माला पहिराइएको थियो । २०७८ पहिचान पुरस्कारमा स्याम साहको “पथेर” कथासङ्ग्रह जो मधेसको उत्पीडन बोल्छ र अनन्त वाग्लेको `कदम´राउटेमाथिको रिसर्च कथालाई प्रदान गरिएको थियो । जो नेपाली समाजमा समाहित हुन बाँकी एक मात्र राउटे जातिको पात्र लिएर नेपाली समाजमा समाहित भएको कथा बोल्छ ।

दुबैले चार लाख दुई हजार पुरस्कारको आधा हिस्सा प्राप्त गरेका थिए । कृतिमाथि मेरो र गुरुङ सुसान्तको मन्तव्य थियो । त्यो बेला नै आयोजक संस्थापकको पक्षबाट नरेस काङमाङले अर्को वर्ष पुस्तकको सुचि प्रकाशित नगर्ने घोषणा गरे पनि यो वर्षसमेत अग्रिम रुपमा छ वटा पुस्तकको सुचि पुरस्कारको लागि घोषणा गरिएको थियो । ती मध्ये यो वर्ष २०७९ मा अर्जुन माबुहाङ र अमित थेबे मिहाङको सङ्कलित ´सिरिजङ्गा ,फाल्गुनन्द र इमानसिङ चेमजोङको लेखोट´ र कविता राईको `गुरु´ उपन्यासलाई प्रदान गर्ने कार्यक्रम छ ।

पुरस्कार जाति, भाषा, राष्ट्र, सभ्यता, मानवता, भाइचारा, अस्तित्व, संस्कृतिको जगेर्ना सम्मान र सम्वर्धनको लागि स्थापना र वितरण हुन्छन् । त्यो काम पहिचान पुरस्कारले पनि गरिरहेको छ । पुरस्कार सर्वसम्म त विवादरहित हुनु पर्छ तथापि यो हुन सक्दैन । पहिचान पुरस्कार पनि विवादरहित भएको छैन । नभए पनि यो बाँचिरहनु पर्छ । निजी क्षेत्रको यो यति महत्त्वपूर्ण पुरस्कार गर्वको विषय हो । सर्वसम्मत होस् भन्ने सबैको चाहना हो ।

चर्चित मुकारुङ निवास निस्किने हाम्रो अभिष्ट थियो । राजन मुकारुङबाट खानाको निम्तो समेत आएकोले हामी मुकारुङ हिम छिर्यौं । यो हाम्रो फिर्तिको दिन थियो । छिनोले कुँदेको ढुङ्गाको नाङ्गो पर्खालमाथिको काठे टाँढे दुई तले घुमाउने बरन्डा सहितको टिनको घर अगाडि ढुङ्गाको पानी धारा अगाडि उत्तर चौर म त त्यही सुतेछु । खानाभित्र खाऊँ भन्ने आग्रहलाई स्थानान्तर गरेर बाहिर चौरमा पलेटी मारेर लोकल कौडे भालेको रससित मजाले दन्काइयो । धौले कान्छा आएका थिए कुखुरा बनाउन । लेखकले चिनाए । बुहारीलाई तेत्रो जन्तिलाई झन्झट नमानी खाना खुवाएकोमा लाख धन्यवाद । लेखकहरु श्रवण राजन र प्रगति राई राष्ट्रलाई दिने त्यो घर माटोलाई नमन गर्यौं ।

चखियाको नागी हेरेर अघाइँदैन । थुम्का थुम्की र दम्स्याइलो पाखाको नागीमा हामी निकै रमायौँ । सयौं रोपनीको खुल्ला डाँडामा हामी हुँदै घुमन्तेहरुको थुप्रै समूह आएर बबाल नाचगान वनभोज आयोजना गरे ।

त्यो सबै शिरको डाँडा पाखा काङमाङछा एवैछा माङपाङहरुको र मुनिको भाग मुकारुङहरुको थातथलो चरिचरन सिमेभुमे रहेछ । नरेस काङमाङको नयाँ हिममा बगैँचा र आधुनिक पुस्तकालय तयारी हुने क्रममा थियो । भित्ता खारेर मेहेनतका साथ बनिने क्रम थियो । सायद यो पाली कार्यक्रम त्यही हुने होला । हामीले दोस्रो दिन टेम्के डाँडा बिहान उक्लेर तेप्लायुको विमोचन गर्यौं । त्यहीँ दिउँसो पहिचान पुरस्कार वितरण गरेपछि नरेस काङमाङको नयाँ हिम हेर्न झरेका थियौँ । साँझमा कोदोको घरेलु सिँजवा र सुँगुरको सेकुवा छँदै थियो । दोस्रो दिनको साँझ खुब जमेको थियो । सिँजवा एकपछि अर्को जग रित्तियो ।

पाविहाङ्गको स्ल्याङ हाइभोल्टेज सम्वाद कृष्ण बरालले खगेन्द्र बोरोलाई पुस्तक नपढी दिएको सटारिकल कमेन्ट खुब चलेको थियो । मेसमा सेकुवा आपुर्ती गर्न पूरा सकस भयो । हजार घारको भिर माहुरी बराबरको गुनगुनाहट चखियाको अकासमा एक्कासि गुन्जयमान भयो । त्यो रात्रीकालिन माहौलले ठमेललाई पछि पार्थ्यो । सब सुरवीर एक्कासि भैनिक्ले चखियामा । यो जिन्दगीमा यादगार साँझ रहनेछ ।

हाम्रो अर्को योजना मुन्धुम ट्रेल भ्रमण गर्ने थियो । तर टेम्के चढाले कैडा लागेर ज्यान लखतरान भएकोले हामीले मुन्दुम ट्रेलको यात्रा हाप्यौं । खासमा मुन्धुम ट्रेलको यात्रा पूरा गर्न कम्तीमा हप्ता छुट्टाउनु पर्छ । तरै पनि यसो एक दिनसम्म घुम्ने योजना थियो हाम्रो । जुन आउने चैत्रमा पूरा हुनेछ । ढुङ्गे सडक ढुङ्गाको बिसौनी पहाडको अनुपम सौर्न्दर्य । हिमालको बिछ्ट्ट छटा, गुँरास चाँप कटुसको घना जङ्गल बिचको हिमाली चराहरुको सङ्गीत, पहाडी जनजीवनको सांस्कृतिक झलक ,देहाती कठिन प्राकृतिक जिन्दगी जिउने कला बादलको घुम्टोको लुकामारी मुन्धुमी गल्लिको दार्शनिक सांस्कृतिक भौतिक मानवीय प्राकृतिक वातावरणीय अध्यात्मिक अधिभौतिक चैतन्यको महसुस प्राप्ति खोज नै मुन्धुम ट्रेलको विशेषता हो । जो कोलाहल आधुनिकताभन्दा परको दूरको शान्ती हो जो हृदयले महसुस गर्छ । जो पैसाले अप्राप्य छ । यो अमूल्य निधिको संरक्षण गरिरहेका जो छ्न् लाख धन्यवाद ।