भेटुन्जेलको लागि मात्र हुँदा रहेछन् भेटहरू । छुटेपछि सबै पराइ, सबै बिराना, सबै अपरिचित हुँदा रहेछन् । टाढिएपछि सबै टाढिने रहेछ सम्बन्ध र सम्झनाहरू । मान्छे र मनहरू पनि दूरीसँगै दूर हुँदै जाँदा रहेछन् । सुदूर अतीतमा पुगेपछि बाँकी रहने भनेको केवल धूमिल स्मृतिहरू । खाटा बस्दै गएका यादका टाटाहरू । क्रमशः बिर्सिंदै गइरहेका मिलनका मुस्कानमय क्षणहरू ।
लिउन उक्किएर धुजा हुँदै गएका, धुलोमा परिणत भई गएका माकुराका जालोले जेलिएका भित्ताजस्तो हुन्छन् नभेटिँदाका भेटहरू । दिक्क लाग्दा दिनहरू हुन्छन् । आशा मरेका र निराशाले छाएका समय आउँछन् ।
भेटिएको भेट नै स्नेही र प्रेमपूर्ण हुने रहेछ । छुटेपछि सबै आ–आफ्नै काममा व्यस्त । कसले कसलाई सम्झिने, किन र कसरी सम्झिने ? बिर्सिने काम मात्रै हुने रहेछ छुटेपछि । यस्तो बिर्साइ कि फेरि भेटिँदा पनि चिनिँदैन कतिपयका अनुहार । बिरानिएर बिर्सिसकेको हुन्छ । भनौँ एक प्रकारले अहिले ‘बिर्सिने रोग’ सबैलाई लागिरहेछ ।
भेटुन्जेल भेटिन्छ कति भेटहरू । नभेटिएपछि कोही, कहिल्यै, कतै भेटिन्नन् ती भेटहरू । लाग्छ, भेटहरूलाई पनि चिन्न सक्नुपर्ने रहेछ । भेटहरूको उपलब्धि केही न केही हुनुपर्छ । भेटहरूले नवीन ऊर्जा दिन सक्नुपर्छ ।
भेटुन्जेलको भेटमा विचार–मन्थन गर्नुपर्छ । गन्थन र गुनासो मात्रै होइन भेटमा । सकारात्मक सोच, विचार र विवेकको आदान–प्रदान गर्नुपर्छ ।
परन्तु, थाहा छैन– जानेहरू किन चटक्कै बिर्सिन्छन् र अनायासै पराइ बन्छन् । आउनेहरू चाहिँ किन सम्झेर आउँछन्, आइरहन्छन् । भेटुन्जेलसम्म मात्रै किन मरिमेटी मायाको ‘नखरा’ गर्छन् । नभेटिएपछि किन सब थोक बिर्सिन्छन् । सम्झनेसम्म फुर्सद निकाल्दैनन् ।
जसले भेटुन्जेलको भेटलाई फलदायी बनाउन सकोस् । नभेटुन्जेलको अभावलाई परिपूर्ति गर्न सकोस् । हरेक भेटले ज्ञान दिलाओस् । शङ्का मेटाओस् । अर्को पटक यस्तै मिलन गराओस् ।
छुटेपछि छुटेका घाउ-चोटहरू बाँकी रहने रहेछ । बिछोडका यादहरूले सताउन थाल्ने रहेछ । बाँचुन्जेल कोही पनि मिलनकै मिठासमा रहिरहँदैन । तथापि कतिपय भने भेट्ने बहाना बनाएर भेटघाटमा रमाइरहन्छन् । कति चाहिँ भेट्ने आश्वासनमा नभेटिएको भेटकै रूप टाढिइरहन्छन् । यसरी कोही ‘आउँछु’ भनेर पनि आउँदैनन् । कोही ‘जान्छु’ भनेर पनि जाँदैनन् ।
लाग्छ, ‘आउँछु’ र ‘जान्छु’ को आशा र आश्वासन नै जीवन रहेछ ।
छुटेपछि को कहाँ पुग्छ ? के थाहा ! जीवनको ‘आखिरी भेट’ यही नै पनि हुन सक्छ । ‘फेरि भेटौँला’ भनेर छुटेको त्यही भेट नै अन्तिम पनि हुन के बेर ! भविष्यको कुरा कसैलाई थाहा हुँदैन ।
त्यसैले प्रत्येक भेट विशेष हुनुपर्छ । हरेक भेटले प्रेम जगाउनुपर्छ । जीवनको उत्सव मनाउनुपर्छ । आँखा तर्काएर, मन भड्काएर, तनाव निम्त्याएर कसैलाई फाइदा कहिल्यै हुँदैन ।
बल्लतल्ल भएको भेटमा सुखदुःख साटिनुपर्छ । मन मैलाउनु होइन, बरु आपसी हार्दिकपन बढाउनुपर्छ । मायाले बाँच्नुपर्छ । मुस्कानले बोल्नुपर्छ । मरिलानु के छ र ?! जीवन छउन्जेल पवित्र मित्रता कायम राख्नुपर्छ ।
अन्ततः भेट्नु र छुट्नु क्रमगत सिलसिला । जीवनको रित नै रहेछ । भेटेपछि छुटिनुपर्छ । छुटिएपछि भेटिनु त छँदै छ भनी सोच्नुपर्ने रहेछ । किनकि आशामा बाँचेको जीवन । विश्वासमा अडिएको जीवन ।
भेटुन्जेलको भेटले ऊर्जा दिन्छ । भेटुन्जेलको बोलीचालीले खुसी दिन्छ । भेटुन्जेलको भेटले बिछोडको पीडा बिर्साउनुपर्छ । मिलनको खुसीयालीमा जीवनको उत्सव आउनुपर्छ ।
छुटिएपछि फेरि कहिल्यै भेटै हुँदैन भन्ने कदापि सोच्नु हुन्न । यो अपसगुनको सोचाइ मनमा राख्नु हुँदैन । जीवनको यही नै अन्तिम भेट हो भन्ठान्नु हुँदैन । भेटपछि भेटहरू हुन्छन्, भइरहन्छन् भन्ने विश्वास साँच्नुपर्छ । यही विश्वासले नमरुन्जेल खुसीले बाँच्नुपर्छ । हाम्रो जन्म जीवनमा एकपटक मात्रै हुन्छ । अर्को जन्ममा हामी के भएर जन्मन्छौँ ? कसैलाई थाहा हुँदैन ।
मान्छेको रूपमा यही जन्म नै हाम्रो अन्तिम हो । पटक–पटक जन्म लिएर मनुष्य जीवनमा फेरि आउँदैनौँ हामी । संयोगको जन्म । संयोगको भेट र मिलन । वियोगको बिछोड । स्वाभाविक मान्नै पर्छ हामीले ।
‘भोलि भेट्न आउँछु नि है’ भनेर बिदाइको हात हल्लाएर जानेहरू । ‘भेट भइहाल्छ नि’ भनेर हतारमा हतारिएर हिँड्नेहरू । ‘फेरि भेट्न आइहाल्छु नि’ भनेर बाटो लाग्नेहरू । ‘आज मात्रै हो र सधैँ भेटिहालिन्छ नि’ भनेर फुत्त ओझेल पर्नेहरू । कति त सदाका लागि टाढिन्छन् । कति ओझेल परेर गएपछि अन्यत्रै ओझेलिएर बस्छन् । कति चाहिँ सदाका लागि यो संसारबाटै बिदा हुन्छन् । त्यही भेट नै अन्तिम हुन्छ ।
अतः ‘भेट्छु है’ भनेर भेटिने र ‘नभेट्ने अब’ भनेर नभेटिने हुँदैन । लेखौटको कुरा न हो । कतिपय वर्षाैंपछि पनि भेटिन्छन् । कति भने भेटको आशैआशमा परमधाम जान्छन् । त्यही भेट र त्यही बोली नै अन्तिम हुन्छ ।
मनलाई सम्झाउनु, बुझाउनु पनि ठुलो कुरा हो । मनलाई बुझाउन नसक्दा बिछोडको पीडाले सताउनुसम्म सताउँछ ।
सम्झेपछि बिर्सिएका क्षणहरू ।
जीवन भन्नू सास रहुन्जेलको लागि । सम्बन्ध पनि साथ रहुन्जेलको मात्र । साथ छुटेपछि सबै टुट्ने रहेछ । जुट्ने भनेको त साथसाथै रहँदा मात्र रहेछ ।
त्यसैले त भेटुन्जेलको भेट मात्रै हो सुखद पल । रमाइलो क्षण जति रोएर आँसु खसाए पनि । जति हाँसेर आँसु–आँसु भए तापनि । आखिर दुःख र सुखमा आउने भनेको यही आँसु न हो ।
अतः सम्झनेले बिर्सेको छैन भने टाढिएको भेटहरू झन् सुमधुर हुन्छन् । यादहरू झन् प्रिय बन्छन् । सम्पर्कविहीन सम्बन्धहरू झनै बलिया बन्छन् । ‘नजिकको तीर्थ हेला’ भने झैँ टाढाको माया चाहिँ झन् नजिक हुन्छ ।
भेट नहुँदा भेटका याद गर्दै ‘कठै कहाँ गए ती दिनहरू’ भन्छौँ । भेटिएपछि ‘आहा आज यस्तो दिन संयोगले जु¥यो’ भनी रमाउँछौँ । वास्तवमा भेटुन्जेलको भेट मात्रै चोखो र मिठो हुँदो रहेछ । भेट नभएपछि कहिले प्रशंसा पनि । कहिले कुरा काटिने पनि । भेटमै हो सबै कुरा खुलस्त खुल्ने ।
नभेटिएपछि कतिले त भुसुक्कै बिर्सिन्छन् । निकैपछि कतै जम्काभेट भए पहिलेको भेटका चेहरा र चिनारीसमेत भुल्छन् । बिरानो बनेर भेटिँदा पनि टाढिएकै व्यवहार हुन्छ ।
आफू रमाउनु मात्र होइन अरूलाई थोरै खुसी बाँड्दा पनि धेरै आनन्द मिल्ने रहेछ । धेरैपछिको भेटले धेरै पहिलेका यादहरू सम्झनामा ताजा गराउँछन् । हामी एकछिन तिनै यादहरूको दस्ताबेजमा दर्फरिँदै भए पनि सामेल हुन्छौँ ।
भेटुन्जेलको भेटपछि छुटिँदै हामी सोध्छौँ– ‘फेरि कहिले भेट होला ?’ सामान्य प्रश्न जस्तो पनि, असामान्य जवाफको खोजी गरिरहे जस्तो पनि .. कस्तो, कस्तो !
यौटा अनुत्तरित प्रश्नको घोचारोले घोचेर थला पारेको घायल । ‘कहिले भेट होला र अब !’ भन्ने मीठो तर झिनो आशामा । भोलिलाई काम बाँकी राख्ने नेपाली चलन जो छँदै छ । सायद त्यसकै अनुयायी म पनि !
भेट पहिलो मात्र हुँदैन । कहिलेको भेट नै जीवनकै अन्तिम पनि हुन्छ । हामीलाई पहिलो भेट र अन्तिम भेटको विशेष याद हुन्छ । भेटिएपछि छुटिने बेलामा भनिन्छ– ‘फेरि भेट कहिले होला ?’
उपन्यासकार युधिर थापाले लेखेको ‘फेरि कहिले भेट होला’ उपन्यासको याद आउँछ । प्रेम–प्रीतिको मार्मिक उपन्यास पठनको एक जमाना खूब बजार थियो । जुन बेला डायमन शमशेर राणा, प्रकाश कोविद, सुवास, रानु, प्रेम बाजपेयी, गुलशन नन्दा आदि उपन्यासकारका उपन्यास नपढ्ने कमै हुन्थे ।
‘फेरि कहिले भेट होला’ कै सन्दर्भमा ‘होला र, हुन्छ र !’ यही चिन्ता र हैरानीले कायल । भेटिरहँदा पनि किन भोलिको चिन्ता हो ? वर्तमानमै रमाउन सक्नुपर्ने तर किन भोलिको भरोसा खोजेको हो ? थाहा छैन यो आशा सनातनी संस्कारै होला ।
अहिलेकै भेटमा भलाकुसारी जति जे गर्नु छ गरे भयो । गफका पोकापन्तुरा, कुम्लाकुटुरा सबै खोलखाल पारे भयो । अनिश्चित भोलिलाई किन पर्खिनु, किन आशा बाँकी राख्नु । किन माया साँची राख्नु । भतभती आगोले पोले झैँ कति मनलाई तड्पाइराख्नु ! मुटु कति भड्काउनु, मन कति तर्साउनु, आँसु कति खसाल्नु, मनमा कुरा कति खेलाउनु ?
आजकै अहिलेकै यही भेट नै अन्तिम पनि हुन सक्छ । कसलाई के थाहा !? कोही पनि अजम्मरी छैन । अजर, अमर कोही हुँदैन ।
बितेका दिन फर्केलान् र ! अवश्य फर्किन्न बितेका दिनहरू । बोलेका कुराहरू, लेखेका शब्दहरू । जसरी बगेपछि पानी फेरि आफू आएकै बाट फर्किन सक्दैन । त्यसरी नै हिँडेपछि, पछाडि फर्किन सकिँदैन ।
प्रेमको प्रकम्पनजस्तो पनि । बिछोडको पीडाको सम्भावित चोटजस्तो पनि । कस्तो–कस्तो ! मनै खिन्न, छिन्नभिन्न पारेर रुवाबासीको रडाको मच्चाउँला जस्तो ।
प्रथम कुरा जसलाई पनि विशेष महत्वको लाग्छ, लाग्नु स्वाभाविक हो । प्रथम पहेली जो, जसलाई र जहिल्यै पनि प्यारो हुन्छ । यादगार रहन्छ प्रथम साक्षात्कारका कुराहरू !
त्यसैले भेटुन्जेलका भेटहरू नै भेटका साक्षी–स्वरूप हुन् ।
बिदाइको आँसु र भक्कानिएको मुटु । मिलनका हर्ष र फेरि कहिले भेट होला भन्ने प्रश्न र चिन्ता । किन मन खुसीमा रमाइरहन मन पराउँदैन ? किन फेरि दुःखकै दहमा डुबुल्किन चाहन्छ । किन होला भोलिको भरोसा …! सुख भए पनि दुःख भए पनि आजकै दिनमा रमाउन सक्नुपर्ने हो !
अनेकौँ कामका झमेलाका चाङ एकातिर । भेटघाटका बसिबियाँलो अर्कोतिर । समस्यालाई किनारा लगाएर भेटमै तल्लीन भइरहनु पनि उचित हुँदैन ।
न खुसी सधैँभरि साथै रहिरहन्छ । न त दुःख सधैँभरि उसरी नै दुःखी बनाएर बसिरहन्छ । पाहुना हुन् यी आउँछन्, फेरि जान्छन् । जान्छन्, फेरि फर्किएर आउँछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।