
शीतल हावाको झोँका ! अनि हिउँ भन्दा ओसिलो वायु मेरा हरेक इन्द्रियहरूमा प्रविष्ट गरिरहेकै थियो। नौलो अनुभूतिको प्रिय भाव ! ओठभरि मन्द मुस्कान ! अझ केटाकेटीपनको अनुपम चञ्चलता सुमसुम्याउन तल्लीन थियो मेरो अन्त:करण। परन्तु, अनायासै एउटा विनाशकारी प्रतिध्वनि चारैतिर गुञ्जायमान भयो। सुषुप्त रूपमै बसिरहेको चट्याङ्ग र मेघ गर्जन अकस्मात् विस्फोट भयो। समस्त समुदाय नै एकदमसँग विचलित र चलायमान हुन पुग्यो। मानौँ, माहुरीको घारमा कसैले धुवाँ सल्काइदिएको छ। जताततै हलचल र खैलाबैला मच्चियो। बिजुलीको खम्बामा ओत लागेका भँगेरा चिर्बिराउँदै झ्वाम्म भुईँमा खसे। मानिसहरूको सातो पुत्लो उड्यो। गड्याङगुडुङ र अतिवृष्टि एकैसाथ ठोक्किँदै, पछारिँदै पृथ्वीको समस्त मट्टीलाई छिन्नभिन्न गराइदियो।
गर्ल्याम्म ढुङ्गा मुढासँगै भयङ्कर पहिरो नारायणगढ-मुग्लिन सडक खण्डको वक्षस्थलमै बजारियो। धन्न मेरा पाइला ३-४ सेकेन्ड छिटो चल्न भ्याएछन् र मेरो ज्यान जोगियो। नभए एकै छिनमा रामराम भन्नेहरूको भिड जम्मा भइसकेको हुने। भलै मेरो भाग्य र ग्रह बलिया निस्किए यसपालि। अनि मैले पुनः शाश्वत जिन्दगी उपहार पाएँ।
२०८० साल असार १४ गतेको दिन। दाङको मुटु ‘घोराही’ शहरदेखि यात्रा प्रारम्भ गर्यौँ। हामी चितवनको नारायणगढ छिचोल्दै काठमाडौँ तर्फ हुइँकिँदै थियौँ। दासढुङ्गा तिरै ट्राफिक प्रहरीद्वारा ठुला गाडीहरू लामबद्ध रोकिएका थिए। साना गाडीहरूलाई भने पास हुन दिइएको थियो। सुनियो, अगाडि पहिरो खसेको छ। केही समयमा बाटो खुल्छ भन्ने गाइँगुइँ हल्ला थियो। भाइ र म दुई जना मोटरसाइकलको यात्रा गर्दै ‘जलवीरे’ क्रस गरेर ‘मुग्लिन’ पुग्नै आँटेका थि
नभन्दै बिचमा गाडीहरूको एकतर्फी लामो जाम देखियो। जाम लाई उछिन्दै हामी अग्रिम भागमा आइपुग्यौँ। ठ्याक्कै भन्नुपर्दा, जलवीरे र मुग्लिनको बिचतिर पर्ने ‘तीन किलो’ नेर ‘तीन नम्बर पुल’को छेवैमा बिहानैदेखि ढुङ्गा मुढा सहितको सानोतिनो पहिरो निरन्तर खसिरहेको नै रहेछ। एकतिरको सडक पहिरोले छोपिएको र अर्कोतर्फ साना गाडी क्रस गर्न मिल्ने खालको थोरबहुत साँघुरो बाटो बचेको देखिन्थ्यो।
दिउँसोको लगभग ३ बज्न लागेको थियो। दुबैतिर गाडीहरूको लावालस्कर हूल, सबै जना बिचल्लीमा देखिन्थे। मानिसहरू आआफ्ना गाडी रोकी ओरी यो लगातारको बज्रपात रोकिने र गन्तव्यतर्फ लागिने आसामा प्रतीक्षा गर्दै बसिरहेका देखिन्थे। एक खालको भिडभाडको अवस्था सिर्जित थियो त्यहाँ। पहिरो खसिरहेको छ कि छैन भनी वारिपारिबाट होहल्ला सहित हातले इशारा गर्दै सबै जना साना गाडी र बाइक-स्कुटर एक-एक गरी वारपार गराउन तल्लीन देखिन्थे।
यिनै भिडमा हामी दुई पनि मिसियौँ। यसैबिच, कसरी यो पहिरो उछिनेर पारिपट्टि पुग्न सकिन्छ भनेर हामीले पनि जुक्ती लगाउन थाल्यौँ। म चाहिँ आँखा नझिम्क्याई माथितिर नियाल्दै सडकको डिलबाट दौडेर पारी जाने, अनि पहिरो खसे-नखसेको मैले उतादेखि इशारा गरिदिने र भाइले बाइक कटाउने निधोमा हामी पुग्यौँ। जुन जुक्ती हाम्रो निम्ति हर्ष न बिस्मातको चङ्गुल हुन पुग्यो।
माथिबाट ढुङ्गा नखसेको यकिन गरी एकोहोरो उँभोतिर हेर्दै म कुलेलम ठोकेँ र लगभग एक चौथाइ मिनेटमा त्यो खतराको फन्दा पार गर्न सफल भएँ। मेरा पाइला ठ्याक्क उतापट्टि के पुगेका थिए, जमिन थर्किने गरी गर्ल्याम्म ठुलै आवाज रन्केको सुइँको पाएँ। डरले मेरो शरीरका जम्मै रौँ ठाडो भए। एक छिन त मेरो होस-हवास उड्यो। लौ के भयो भनी फर्केर हेर्छु त सिङ्गै पहाड मेरो पछाडि खस्न भ्याइसकेछ। मानौँ, मेरो आँखै अगाडि बडेमानको उल्कापिण्ड झरेको छ। धन्य प्रभु ! जय होस् प्रकृति ! मलाई बचाएकोमा आभारी छु। आज ठुलै ग्रहदशा कटाइयो।
होस खुलेपछि पत्तो पाएँ, पहिरोले सडक त पूर्ण रूपमा बन्द भएछ। एकदम ठप्प। लौ खत्तम, अब के गर्ने ? मेरो मनमा चस्का पस्यो। सँगसँगै मस्तिष्कमा एक हजार भोल्टको झट्का लाग्यो। लौ बरबाद भयो ! भाइ उत्तापट्टि छुट्यो, म यतापट्टि पछारिएँ। बिचमा अजम्बरको थुप्रो छ। अझ योभन्दा ठुलो पिर मनमा खट्कियो। न मेरो हातमा मोबाइल छ, न त पैसा नै छ। म त एकदम रित्तो ! नितान्त एक्लो ! लाग्यो म हातखुट्टा नभएको घिस्रिने प्राणी हुँ यस दुनियाँको। यही बेला हो मलाई महसुस भएको, पैसा र सञ्चारको साधनले कति महत्त्व राख्दो रहेछ हाम्रो जीवनमा। यी नहुँदा हुन् त कति निरर्थक हुँदो हो हाम्रो जिन्दगीको यात्रा, मनुष्यरूपी बुद्धि र विवेक नभरिएको चारखुट्टे पशु जस्तै। अझ मेरो छटपटी उल्कै थियो, पानी बिनाको तलाउमा माछा छटपटाए जस्तो। मैले यो फेहरिस्त टट्कारो अनुभव गर्ने मौका पाएँ।
दुर्भाग्य भनौँ या परिबन्ध ? भाइसँगै सबै सामान पनि उतै छुट्यो। बाटोभरि सिमसिम पानी परिरहेकोले मोबाइल, घडी र पैसा सबै प्लास्टिकमा पोको पारी झोलाभित्र राखेका थियौँ। हामीसँग भरपर्दो रेनकोट नभएकोले आधाउधी रुझ्दै हिँड्नुपर्ने अवस्था थियो। दौडिन सजिलो होस् भनेर झोला उतैपट्टि भाइलाई नै बोक्न छोडेको थिएँ। यसरी हामी वारिपारिका दुई किनार त भयौँ भयौँ, त्योसँगै सम्पर्कविहीन पनि भयौँ। अब यताउता हिँड्न मिल्ने स्थितिसम्म थिएन। झन् यतापट्टि हामी बसेको ठाउँ माथिको डाँडोबाट समेत अलिअलि ससाना ढुङ्गा खस्न थाले।
पहिरोको जोखिम अझ बढ्दै गएकोले प्रहरीले दुवैतिरको भिडलाई पर पर सम्म धपाए। यो भीमकाय प्रलयले घरी हल्का आकार लिन्थ्यो त घरी बिघ्न रूप धारण गर्थ्यो। यो सिलसिला दिनभरि र रातभरि क्रमबद्ध रूपमा चलिरह्यो। दुई छेउमा पहिरो हटाउन दाउ कुरेर बसेका एक्स्काभेटर चल्न सक्ने स्थिति कत्ती पनि थिएन। झन् त्यसमाथि झमझम पानीको झरी बेतोडसँग दर्किन थाल्यो। त्योसँगै बलौटे माटो र ढुङ्गाका ठुलठुला जुर जोर जोरसँग खस्न थाले।
हाय रे तीन किलो ! हाय रे तुहिन खोला !
तेरो यो कस्तो चर्तिकला हो ?
तेरो यो भोगविलास कुन लहडको तरङ्ग हो ?
हाय रे पहाडी भूभाग ! हाय रे मौसमी बेमौसम !
तेरो लीला पनि बुझिई नसक्नु छ
नदीको उच्छृङ्खल बहावसँगै
ताछिँदै, खिइँदै हामी दुई किनारा पुगिसक्यौँ
तँ भने कहिले आकाशमाथि बाट खस्छस्
त कहिले जमिनमुनि तिर भासिन्छस्।
मान्छे मान्छेहरूको रस्साकस्सी चलिरहेकै थियो। हाटबजारमा लागेको मेला भन्दा कम्ती थिएन यो माहौल। सवारी साधनको बथान उस्तै छ। कोही रमितेहरू फोटो, भिडियो खिच्नमै तल्लीन रहेका। कोही भिडियो कल र लाइभमा बसी चिच्याउँदै थिए ‘हेर्नुहोस् ल्यान्डस्लाईडको प्रत्यक्ष लाइभ’। मसँग भने एक कल फोन गर्नसम्म साधन थिएन।
भूस्खलन जति नजिक नजिक सर्छ, उति भाग दौड र ठेलमठेल हुन्थ्यो। ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई ढुङ्गा मुढाको वर्षा देखि सचेत गराउन र भिड नियन्त्रण गर्न हम्मे हम्मे पर्यो। त्यत्तिकैमा सडक किनारै किनार जोडिएको बिजुलीको तार अनि खम्बाहरूमा समेत ढुङ्गा बजारिन थाले। आगोको मुस्लो दन्कियो र तारहरू एक एक गरी चुँडिन थाले। झन् भागाभाग मच्चियो। मच्चिएँ म पनि, चितुवाले आफ्नो सिकार झम्टिन मच्चिए जसरी। अब भने त्यो रमाइलो दृश्य लोप भई डरको सीमा नाघ्न थाल्यो र म सरासर मुग्लिनतिर दौडिएँ। मलाई लगभग २० मिनेट लाग्यो त्यहाँसम्म पुग्न।
यतिन्जेल कसरी भाइको नम्बर याद गर्ने होला भनी मनमनै सोच्दै बसिरहेको थिएँ। कसैको नम्बर याद गर्न सक्ने खुबी र आदत कहाँ छ र मेरो ? झल्याँस्स सम्झिएँ, मेरो फोन पनि त उसैसँग छ। थुइक्क मेरो मन्द बुद्धि ! अब बल्ल ऊसँग कुरा हुने पक्कापक्की भयो। चियाको चुस्किसँगै एउटा होटेलको ल्यान्ड लाइनबाट मेरै मोबाइल नम्बरमा घण्टी बजाएँ। उता भाइले फोन उठायो अनि के कसरी बसोबासको बन्दोबस्त गर्ने भनेर निर्क्योल गर्यौँ। भाइ उता जलवीरे तिर र म यता मुग्लिनमा बास बस्ने र आवागमन नखुलेसम्म बाटो हेर्ने निश्चय भयो। उतापट्टि खासै होटेल – लज नभएकोले बास बस्न अलि समस्या हुने भए पनि उसले कुनै न कुनै उपाय लगाउने बतायो। । ओ गड ! जे होस् यो कुराको चाहिँ टुङ्गो लाग्यो। मैले लामो सुस्केरा फेरेँ। अब पैसाको लागि के गर्ने ? काठमान्डुमा कान्छो भाइलाई फोन गरेर ई सेवा मार्फत पैसा पठाउन लगाएँ र यताको पसलबाट निकालेँ।
सबै मान्छे अवाक् भैसकेका थिए। बाटोको नामनिसान मेटिने गरी सिङ्गै डाँडो लडेर लमतन्न पसारिएको जो थियो। एक दुई दिन बाटो खुल्ने कुनै छनक थिएन। कोही गाडीमै रात कटाउने सोचमा थिए त कोही मुग्लिनका होटेलमा बास बस्न कोठा खोज्दै भौँतारिँदै थिए। म पनि यतै कतै कोठाको बन्दोबस्त गर्न लहडिएँ। मुस्किलले एउटा होटेलमा सानो कुचुक्क परेको कोठा फेला पारेँ र खाना खाई ओरी म खाटमा पल्टिएँ। तर निदाउन भने सकिनँ।
आकाश झर्यो। पहाड झर्यो। पहिरो सँगसँगै हामी सबैका सपना झरे। हाम्रो खुसी झर्यो। जीवनको एउटा आशा झर्यो। हजारौँ मानिसका उद्देश्य र गन्तव्य पनि झरे। झरेन त केवल दिक्दारी, त्रास अनि बिस्मात झरेन। झर्नुपर्ने चिज कत्ती पनि झरेनन्। खस्नु पर्ने कुरा खस्दै खसेनन्। तर नखस्नुपर्ने कुरा जम्मै खसे।
यति धेरै थोक गुम्दा पनि मान्छेले रमाउन त जानेकै रहेछन्। बेलुकीपख एकछिन पानी पर्न रोकिएको मौका छोपी कोही नाचगानमा तल्लीन देखिन्थे त कोही तासको बिटो फिट्दै रमाइरहेका देखिए। होटेल होटेलमा कोही बियर र ह्विस्कीको चुस्कीमा रमाइरहेका भेटिए। कसैलाई फगत एउटा समय कटाउनु थियो। कसैलाई भने एक एक मिनेट मूल्यवान् थियो। र त ज्यानको जोखिम मोल्दै कति जना ठाडो भिर चढेर पहिरो खसिरहेको डाँडो उछिन्दै पारीपट्टि पुगेका थिए। कसरी हुन्छ उनीहरूलाई आज गन्तव्यमा पुग्नु नै थियो। कसैको लागि त आखिर ज्यान भन्दा पनि समय नै बढ्ता श्रेष्ठ कहलियो।
रातिको १० बजे भाइले फोन गरेको रहेछ। “तपाईंको मान्छे अर्को बाटो भएर आउँदै हुनुन्छ रे” भन्दै होटेलकी साहुनी आइपुगिन्। ‘ल काइदा भैगो नि’ म केही फुरुङ्ग भएँ। उसले वैकल्पिक बाटो हुँदै निस्किने अरू मान्छे भेटेछ। त्रिशूलीको झोलुङ्गे पुल तरेर कष्टकर अफ रोडको बाटो लगभग ४ घण्टाको फन्को लगाउँदै भाइ तनहुँको ‘दमौली’ पुगी पृथ्वी राजमार्ग पकडेर रातको १२ बजे मुग्लिन आइपुग्यो। मैले बल्ल ढुक्कको सास फेरेँ।
अगाडिको बाटो तताउने कि आज यतै आराम गर्ने दुई विकल्पका बिच हामीले पहिलो विकल्प रोज्यौँ। भोलिसम्म झनै जाम बढ्ने अनुमान लगाई राती राती मुग्लिनबाट अघि बढ्यौँ। जसोतसो जाम कटाउँदै रातभरि हिँडी नै रह्यौँ। मुसलधारे पानीले निथ्रुक्क पारिसकेको थियो। अब चिसोले जिउ काम्न लागेछ। थकित मुद्रामा हामी बिहान करिब ४ बजे बाटो छेउमा भेटिएको टिनको छानोमुनि ओत लाग्यौँ, लुगा फेर्यौँ र लगभग १ घण्टा आराम गर्यौँ।
झिसमिसे उज्यालो सँगै पानी पर्न छोड्यो र फेरि हाम्रो यात्रालाई निरन्तरता दियौँ। धन्न यता त्यति सारो गाडीको जाम रहेनछ। बिहान झन्डै ७ बजेतिर हामी काठमाडौँमा पाइला टेक्यौँ। हाम्रो बेचैनी अब शान्त भयो। यो उदेकलाग्दो बाटो अब कहिले हिँड्न नपरोस् भनी मनमनै कामना गरेँ। हरेक वर्ष यसरी प्राकृतिक प्रकोपको बलमिचाइँ सहनुभन्दा यो सडकको वैकल्पिक मार्गहरूलाई तुरुन्तै स्तर उन्नति गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।
भोलिपल्ट बेलुका खबर सुनियो। बल्लतल्ल घन्टौँ लगाएर पहिरो व्यवस्थापन गरेर सवारीसाधन पास गराइँदै छ। तर ढुङ्गा खस्न चाहिँ रोकिएन अरे। ढुङ्गाको जोरले कति ओटा मोटर बाइक रन्थनिएर पछारिए रे, एउटा ट्रक त उत्तानो पल्टियो रे। बाइकमा सवार कति जनाले धन्न भागेर ज्यान जोगाउन सफल भएछन्, ट्रक ड्राइभर चाहिँ घाइते। पर्सिपल्ट बिहान पत्रपत्रिकाले अर्को खबर निकाले, “तीन किलोमा फेरि खस्यो पहिरो, नरायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध…”।
###
[डा. एन.सी ओली
Dr. NC Oli]
मुसिकोट-१, रुकुम (पश्चिम)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

