
अबेरसम्म रमाएका हामीले सुत्न बिर्सिएछौं । तीनै जनाका अपुङ्गी बेड छन् । बीचको बिस्तरा मन्दिरा दिदी रोज्नु हुन्छ । राधिका दिदीको र मेरो ओछ्यान भित्तामा टाँसिएको छ । केहीबेर हामी तीनै जना एकै ठाउँमा, राधिका दिदीको ओछ्यानमा मुखामुख गरेर बात गर्छौं, हाँस्छौँ, रमाउँछौँ भाँती भाँतीका संवादमा । सामाजिक सञ्जालमा खुशी साझा गर्छौं पालैपालो । दिनभरको वस्त्र फेरेर पुनः बाल्कोनीमा रमाइलो हेर्न जाने भनेका थियौं । माथि आएर सामाजिक सञ्जालमा पसेपछि अघिका कुरा भुसुक्कै भुलेछौं । मान्छेलाई वशमा राख्ने कति ठूलो शक्ति छ मोबाइलमा ! सामाजिक सञ्जालमा !
अहिले रातको एघार भइसकेको छ । म डायरी लेख्दै छु । लेख्नु पर्ने कुरा अझ बाँकी छ ।
मनमा केही कुरा छैन । केही कुरा सोचेको छैन । सुत्नु अघि शून्य स्थितिमा, विचार रहित हुने प्रयास गर्छु । तथापि निद्रा किन आउँदैन ? हिजो अस्ति नौ बजे निद्राले छोपिसकेको हुन्थ्यो । तर अहिले छोपेन । सुत्ने समय विलम्ब भएर हुनसक्छ । खुशीले निद्रा पलायन भइदिन्छ । चित्त प्रसन्न हुँदा मन उड्न खोज्छ । शायद मन उड्न खोज्दै छ अहिले पनि ।
कतिखेर निदाएँ चाल पाउँदिनँ । निद्रा गहिरो हुन सकेन । ओछ्यान फेरिँदा यस्तो हुनेगर्छ । अबेलासम्म मोबाइलमा भुलेर पनि हुनसक्छ । अचेल म सकभर मोबाइलबाट टाढिन खोज्छु । बेलुकाको खाना खाएपछि मोबाइल हेर्दिनँ । तर हिजो साँझ त्यसो हुन सकेन । बिस्तरा आरामदायी छ परन्तु निद्राले त्यसको मर्यादा गरेन ।
ब्यूँझिँदा वातावरण शान्त छ । मानिलिऊँ हामी निर्जन गाउँमा छौँ शहरमा होइन । म उठ्दा मन्दिरा दिदी नुहाइ धुवाइ सकेर स्क्रिनमा घोप्टिएको देख्छु । राधिका दिदी सुतिरहनु भएको छ । तथापि उहाँ निद्रामा हुनुहुन्छ लाग्दैन । काठमाडौंमा बिहानै चिसो पानीले नुहाउन सहज छैन अझ पनि । नारायणगढमा चिसो पानी मनतातो हुन थालिसकेछ । म नुहाइसकेकी छु अब राधिका दिदीको पालो ।
हिजो साँझको योजना अनुसार हामी तयार भइसकेका छौँ । बालकृष्ण थपलिया सरले सात बजे—मौलाकालीको गेटमा पुग्ने समय निश्चित गर्नु भएको छ । समय अगावै हामी निस्किन्छौं मर्निङ वाक गर्ने भनेर । तर बाहिर निस्किने बाटो पाउँदैनौं । प्रवेशद्वार बन्द छ । सोफामा भुइँटेबल जोडेर एक जना भाइ सुतिरहेका छन् । फोल्ड गर्न मिल्ने बक्सावाला झुलभित्र पातलो बर्को ओडेका भाइ गहिरो निद्रामा छन् । मुख समेत छोपेका उनलाई ब्यूँझाउन सक्दैनौँ । राति कतिबेला सुतेका थिए कुन्नि ?
बाटो नपाएका हामी थुनिएजस्ता हुन्छौँ । तब त समय व्यतीत गर्न दृष्टिहरू सल्बलाउन थाल्छन् । हिजो यताउति हेर्न फुर्सद नपाएको ठाउँ नियाल्न थाल्छौं । ठूलो थामको आडैमा—तामाको चम्किलो वर्तन जसमा घाँटी घाँटी पानी छ । त्यसमाथि जात जातका पुष्प त्यहीँ फुलेजस्ता देखिन्छन् । बीचमा कमल फूल फक्रिएको छ । प्रभातको शीत र कलिलो सूर्य प्रकाशमा भर्खरै फक्रिएको देखिने साजी लाग्छ ।
आरी आकारका केही ससाना गमला पनि छन् । बिरुवा हुर्किंदै छन् । गमलाको घाँटी ससाना बाटुला, लाम्चिला, चिल्ला ढुङ्गाले ढाकिएको छ । मान्छे जति भौतिकताको उत्कर्षमा पुग्छ त्यति नै प्रकृतिप्रेमी हुने रहेछ । भौतिकताको चहकमहकमा अझ बढी ऊ प्रकृतिको सुन्दरता चाहँदो रहेछ । प्रकृतिको निकट हुन मन पराउँदो रहेछ । आखिर ऊ प्रकृतिदेखि टाढा हुन कहाँ सक्छ ? ऊ पनि प्रकृतिकै सिर्जना होइन र ?
भित्तामा पनि प्रकृतिकै स्केचहरू छन् । बाटो खोज्दै बाल्कोनीतिर जान्छौं, तैपनि बाहिर निस्किन सम्भव छ कि ? अहँ कहीँ छैन । अलमलिएका हामी फोटो खिच्न थाल्छौं । बारमा टाँसिएको एउटा ठूलो रङ्गीबिरङ्गी पुतली छ । हिजो साँझ कति सुन्दर देखिएको थियो बिजुली जडित पुतली । अहिले त्यस्तो छैन । तर पनि ठीकैको सुन्दर छ । बरण्डाबाट देखिएको हिजो साँझको रङ्गीन दृश्य खै ?
त्यो मनोहारिता फेरिएर अर्कै सुन्दरता प्रस्तुत भएछ । म हिजोकै रङ्गीन तरङ्गिणी चाहन्छु । कति अस्थिर कति मायावी छ जगत् । एउटी सुन्दर युवती अझ भनौं नवबधू हेर्दाहेर्दै रङ्गहीन भएको आभास हुन्छ । बेलुकाकी रूपवती नारायणी बिहान उठ्दा मलिन भइछिन् । किन्तु उनको गमिलो सुन्दरता भने उस्तै थियो ।
बाल्कोनीमा गएर मैले भूल गरेछु । म रात्रिको रङ्गीन नारायणीलाई आँखामा साँच्न चाहन्थें । मनभित्रको त्यस नारायणीलाई बचाउन चाहन्थेँ । थाहै नपाई मभित्रको नवबधू (नारायणी) मृत अवस्थामा फेला पर्छिन् । बाल्कोनी गएर मैले उनलाई फेरि नहेर्नु पर्ने थियो । त्यसो हुँदो हो मभित्रकी उनी जीवितै रहने थिइन् । पुनः दृष्टि दिएर मैले उनलाई मारिदिएँ । मेरो दृष्टिले उनी मर्नेछिन् थाहा हुँदो हो पुनः उनलाई हेर्ने इच्छा राख्ने थिइनँ ।
फेरि पनि सुतिरहेका भाइलाई उठाउन विफल हुन्छौं । राधिका दिदी अनलाइन खबर सुन्दै हुनुहुन्छ । समाचार सुन्न किन हो कुन्नि मलाई एकदम वितृष्णा हुन्छ । म उदास हुनेगर्छु समाचारले । निराश हुनेगर्छु समाचारले । त्यसरी निराश हुनबाट जोगिन खबर नसुन्ने गर्छु ।
हाम्रोमा प्रत्येक दिनका समाचार उस्तै हुने गर्छन् । उही कुरा पुनरावृत्तिदेखि अर्को सन्देश आउँदैन । समाचारमा कुनै दिन नवीनताको सन्देश प्रसारित हुँदैन । खुशीको, उत्साहको, उन्नतिको, सकारात्मकताको खबर खै कहाँ छ ? नित्य निराशाका कुरा कति सुन्नु ? सदा असुरक्षा, हत्या, हिंसा, भ्रष्टाचार, बालात्कार तथा केवल अवनतिका सन्देश छन् यस मुलुकमा । शायद खबर बेच्नेहरू पनि यस्तै कुराको खोजीमा हुन्छन् ।
ल … हेर्नु त ब्रह्ममुहूर्तमै कस्तो ननिको खबर ओसार्छ कागजपत्रिकाले, अनलाइन खबरले, रेडियो नेपाल तथा एफएमले, टेलिभिजनले । सप्पै सप्पै यस्तै हतासका, विरक्तिका, मृत्युका, शोकका खबर अभिव्यक्त गर्न विवश छन् मिडियाहरू । तीस वर्षकी सर्जन डाक्टरको आत्महत्या समाचारमा हामीले एउटै प्रश्न गर्यौं—अकस्मात् मानिसले किन यसरी मृत्यु रोज्छ ? किन जीवनको अवज्ञा गर्छ ? उपेक्षा गर्छ ? मृत्यु अवश्यमभावी छ । स्वाभाविक छ । त्यसो हो भने समय अगावै त्यसलाई स्वीकार्न किन आतुरिन्छ मान्छे ? धादिङ अस्पतालबाट बिदामा काठमाडौं आएकी उनले किन त्यस्तो निर्णय लिइन् ? परिवारबीच किन उनले मृत्यु चुमिन् ? मृत्यु नै के जीवनमा आउने चुनौतीको समाधान हो ?
समाचारमा बताए अनुसार सानैदेखि तीक्ष्ण बुद्धिकी उनी पढाइ अनि आफ्नो कार्य दक्षतामा बडो अब्बल थिइन् । के कमी थियो उनमा ? किन जीवनसँग हारिन् ? त्यसो त केही थोकको कमी हुँदैमा हार स्वीकार्नु कति निरीह कुरा छ ।
पूर्णता र तृप्ति मानिसले चाहे अनुरूप कदाचित् नहुने रहेछ । त्यही अपूर्णता, त्यही अतृप्ति त हो आखिर जीवन । त्यही अप्राप्तिलाई भेट्ने, पहिल्याउने चेष्टा त हो आखिर जीवन । नत्र बाँच्नुको तात्पर्य नै कहाँ ? तृप्ति खोज्ने प्रयास नै त हो जिजीविषा । विज्ञान–प्रविधि, सक्षमता, आत्मनिर्भरता अनि अस्तित्व चेतले निर्देशित उत्तरआधुनिक युगको मानिस किन काफर भइरहेछ ? अझ सबल, अझ दृढ हुनु पर्ने होइन ?
लाग्यो अब भाइ उठ्दैनन् । उनलाई ब्युँझाउन सकिन्छ लागेन । त्यही सोचिरहेका बेला उनी जुरुक्क उठे । मुक्तिको अनुभवसँगै हामीले दीर्घ सुस्केरा लियौं । लामो उच्छवास छोड्यौं । फेरि थुनिन सक्छौंको मनस्थितिमा हुर्दुराएर बाहिरियौं । पूर्वी आकाश डढेर लालिमामय छ । क्षितिजबाट फुत्किएर घाम माथि आएको छ । हामी नारायणी पुलमा छौं । प्राकृतिक र भौतिक सुन्दरताको मिश्रित रूप हिजो जस्तो थियो, त्यो नदेख्दा खल्लो भएको मन फेरि बौरिन्छ । प्रकृति वास्तवमै मायावी छ । रूप फेरिरहन्छ, झुक्याइरहन्छ दृष्टिलाई । नारायणी अहिले अर्कै सुन्दर देखिएको छ ।
अग्ला अग्ला संरचनाका चेपबाट छिरेर सूर्य प्रकाश पोखिएको छ पानीमा । घामको ज्योति ससाना तरङ्गमा सुन बनेर बगेको छ । पानीमा मिसिएको स्वर्ण प्रकाश अद्भुत सुन्दर छ । त्यो स्वर्ण जल बिस्तारै फैलिएर ठूलो रूप लिँदै छ । नारायणीको गति हेर्दाहेर्दै म आत्मविस्मृतिको स्थितिमा पुग्छु । ठाडो खोलासँग मितेरी लाएर हुर्किएको म—त्यो शान्त, शालीन, सौम्य प्रवाहिनीको गति सुस्त लाग्छ । खहरे खोलाको उही द्रुतता म खोज्दै रहेछु ।
मौलाकाली जाने बाटोले फेरि त्यही अतीत सम्झाउँछ । त्यतिखेर धुलो उडाउँदै यही मार्ग भएर जानुका, मालती र म हिँडेका थियौं । कालपत्रे नभएको बाटो साँघुरो गल्लीजस्तो देखिन्थ्यो । आज कति समयपछि वीरेन्द्र कलेजका साथीहरू सम्झिएँ । उनीहरूलाई मेरो सम्झना आउँछ कि आउँदैन कुन्नि ? सामाजिक सञ्जालमा उनीहरूलाई कहीँ भेट्दिनँ । चितवनमा हुर्किएकी जानुका हामीलाई कता–कता घुमाउन लैजान्थी । देवघाट पनि उसैले घुम्ने योजना बनाएर गएका थियौं । ऊ मलाई धेरै माया गर्थी । आफू परिपक्व भएझैं मलाई कच्चा सम्झिन्थी । उसले त्यसरी हेरेको मलाई मन पथ्र्यो ।
त्यतिखेर अहिलेजस्तो लहरै फूलप्रसाद बेच्नेहरू थिएनन् । जेहोस् मौलाकालीले केही मानिसलाई थोरै भए पनि आर्जन गर्ने अवस्था सिर्जना गर्दै रहेछ । उः परदेखि सडकका दुवै किनार फूलप्रसादका व्यापरीले भरिभराउ छन् । ती ग्राहकको प्रतीक्षामा छन् । प्रत्येकले फूलप्रसाद किन्न अनुरोध गरेका छन् । यति धेरै बिक्रेताबीच कोही ग्राहक आउनु चिट्ठा पर्नु जतिकै त हो—म सोच्छु ।
मन्दिर जाने मार्गमा धेरै रमझम बढेछ । पहिले यस्तो थिएन । अब त नहिँडिकनै मन्दिरको थाप्लामा पुगिन्छ रे ! सवारी–सुविधा बेच्न अटोहरू पङ्क्तिबद्ध छन् । ती प्रतीक्षारत दृष्टिमा छन् । केबुलकारले अझ आकर्षणको केन्द्र बनाएको रहेछ मौलाकालीलाई । मलाई एकचोटि हिँडेरै मन्दिर पुग्ने इच्छा छ । उकालै उकालो सिँढीको बाटोमा कतै अतीत भेटिन्छ कि ! त्यस दिनको स्मृतिसँग पुनः साक्षात्कार गर्ने मसँग उत्कट वाञ्छा छ ।
केबुलकार चढ्ने गेटमा पुग्न अब थोरै समय लाग्ने छ । हाम्रो अर्को ग्रुप बाइकमा पुगिसकेको छ— बालकृष्ण थपलिया, लेखाराम सापकोटा, युवा कवि सुदेश सत्याल र एक अपरिचित युवक । अग्लो–ठूलो कदका, श्वेत वर्णका, झुस्स दारी पालेका ती युवकलाई हिजै देखेकी थिएँ । कोठाको लक नखुलेर हामी ढोका बाहिर उभिएका थियौं । चाबी नखुल्दा शान्त वातावरण केही खलबलिएको थियो । परिस्थिति बुझ्न त्यस बखत छेउको ढोका उघ्रियो । त्यतिखेर देखिएका युवा उनै थिए । अघि होटलमा बाटो नपाएर अस्थिर भएको बखत मैले उनलाई फेरि भर्याङमा देखेँ । तिनै युवक मौलाकाली जाने हाम्रो टीममा देख्दा मैले दिदीहरूलाई सोधेँ, ‘अघि भ¥याङ्मा भेटिएका युवा यिनै होइनन् ?’
मेरो कुराले दिदीहरूलाई अघिको घटना सम्झना भयो । उहाँहरूलाई हेक्का रहेनछ—अहिले देखिएका र होटलमा भेटिएका युवक उही हुन् भनेर । भरतपुर प्रज्ञा–प्रतिष्ठानको राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम हुने कथाकार उनै रहेछन्—अनन्त लम्साल । हिजै काठमाडौंबाट आएका पुरस्कृत हुन् । सुदेश उनैको साथी बनेर आएका रहेछन् ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण सरको निर्देशनमा— हामी मौलाकाली दर्शन गर्दै छौं, स्रष्टा अतिथिका रूपमा । हिँडेर मन्दिर पुग्ने बाटो हेर्छु सुनसान छ । विरानो देख्छु । केही मानिस उकालो लाग्ने मुखमा सल्याङबल्याङ देखिन्छन् । यातायातले सहज बनाएको छ दर्शनार्थीलाई । सवारी सुविधा नहुँदाको एउटा अतीत सुनाउनु भयो लेखारामजीले, ‘जीवा लामिछानेकी आमा मन्दिर पुग्न नसकेर बीचैबाट फर्किनु भएको थियो त्यतिखेर । बोकिएर गन्तव्य पुग्न उहाँले चाहनु भएन । जहाँ पुगियो त्यहीँ मन्दिर मानेर दर्शन गरी फर्किनु भयो ।’
हामी युवाहरूलाई हिँडेर जान केही आपत्ति थिएन तर हिँडेनौं । अक्करिलो ठाउँमा पनि सूर्य फैलिसकेको छ । चितवनको घाम अब तातिँदैछ, रन्किँदैछ । अहिले म आफैंप्रति कृतकृत्य छु । कुन प्रारब्धले साहित्यप्रति मेरो रुचि बस्यो होला ? साहित्यले जुराएको संयोग कुनै पनि मूल्यमा खरिद्न सकिँदैन अनुभव गर्दै छु ।
प्रवेशद्वार प्रविष्ट भएसँगै माऊ गैँडा अनि आडैमा बच्चा गैँडाले हामीलाई स्वागत गर्छन् । म तिनको मुख सुम्सुम्याउँछु । माया गर्छु । तिनीहरू के भनिरहेछन् भाषा बुझ्न खोज्छु । त्यसै बेला चेत खुल्छ यी त शालिक पो रहेछन् । स्वच्छन्द काव्यिक छ परिवेश । एक महिला सफाइ गर्न लागेकी छन् । ट्वाइलेटमा पाइतालाको छाप बस्ने हो कि ? मन सङ्कुचित हुन्छ । अप्ठ्यारो मान्छु ।
केबुलकार खाली खाली छन्, घुइँचो छैन । प्रतीक्षा गर्नु पर्दैन । अतिथिको ट्याग लगाएर हामी एउटा डिब्बा रोज्छौं । प्रभातको स्वर्णिम प्रकाश ओडेको भरतपुर घुर्मैलो छ । नवलपरासी, नारायणीको तीर उस्तै छ । तुवाँलोले धमिल्याएको उता पर–परको दृश्य विलीन हुन खोज्छ । बादलपारिको धर्ती अस्पष्ट छ । क्षितिज छेउका किनारहरू मौनतामा केके भन्दै छन् आभास हुन्छ ।
गति ठिक्कको छ । जङ्गलको बीचैबीच डब्बा कुनै हतार नगरी धैर्यले उकालो लाग्छ । सालघारी पहेँलिएको छ । हरित वाग सिर्जिन वसन्त पूर्ण यौवनिलो भइसकेको छैन । कोइली चरी त्यही प्रहरको प्रतीक्षामा छे । ‘केबुलकारबाट कहिलेकाहीं मृग, मृग शावकहरू देखिन्छन्’ बालकृष्ण सरको अभिव्यक्तिमा मलाई अहिल्यै मृग शावक देखूँ हुन्छ । म कति रमाउने थिएँ मृग हाम्रो दृष्टिमा आउने हो भने ।
गोर्खा मनकामना जाने कुरिनघाट हुँदै म कति ओहोरदोहोर गरेकी छु । तर केबुलकार चढ्ने संयोग मिलेको थिएन । प्रथम पटक मैले केबुलकार चढेँ । प्रथम अनुभूति लिएँ । यो जीवनकै सम्झिन लायक स्मृति हुनेछ मेरो लागि । यसरी चितवन आउँदा अविस्मरणीय क्षण बनोस् भनेर शायद यस अघि संयोग नमिलेको होला ।
छोटो अवधिमै हामी आत्मीय हुन्छौं । घुमाइ रमाइलो हुन्छ । मलाई मेरा दृष्टिहरू एकदमै अपरिपक्व लाग्छन् । कहिल्यै परिष्कृत हुँदैनन् यी दृष्टिहरू । जहिल्यै अधुरो दृश्य टिप्छन् । आँखा अगाडि जे देखिन्छ त्यस अतिरिक्त परपर के छ भनेर उत्सुक हुन किन जान्दिनँ म ? त्यतिखेर मौलाकाली आउँदा उकालै उकालो हिँडेको सिँढी र मन्दिर बाहेक अरू केही ख्याल गरेको रहेनछु । जङ्गलबीच रहेको यस थुम्कोबाट कति धेरै दृश्य देखिँदा रहेछन् अहिले आएर चाल पाउँछु ।
शक्तिपीठको दर्शन गरेर हामी छिट्टै पुनरागमन हुन्छौं, अलमलिँदैनौं । सिँढीको बाटो थोरै ओरालो लागेर एकछिन सुस्ताउँछौं । खाजा खान्छौं—पकौडा, आलु चप, सेलरोटी, तरकारी । खाने बेला म अत्यन्तै अप्ठ्यारो छु । मन्दिरा दिदी मेरो स्वभाव इङ्गित गरेर भन्नुहुन्छ, ‘जीवन भर्खर शुरु भएको छ । बाँच्नु कति छ । जस्तो पाइन्छ त्यस्तो खाएर आनन्द लिनु पर्छ ।’ थाहै नपाई अनियोजित तरिकाले म अभिव्यक्त हुन्छु, ‘दिदी ! तपाईं खाएर लाइफ भेट्नु हुन्छ । म नखाए लाइफ भेट्छु, लाइफ देख्छु ।’ वास्तवमा यो कुरा बोल्छु भनेर बोलेको होइन । अचानक मैले किन यसो बोलेँ ? मेरो कण्ठमा यस्तो वाणी आएर बसेको रहेछ ।
तर कुरा ठीकै थियो । शायद उहाँले मेरो भनाइ बुझ्नु भएन । जब आफूले चाहेको, मुखको स्वादमा रमाउन थालेँ भने मेरो आयु छिट्टै सकिन सक्छ । आयु लम्ब्याउनकै लागि म नखाने गर्छु ।
मन्दिरबाट फेदी झरेपछि हाम्रो टीम फुट्छ । गन्तव्य बेग्लिन्छ । बालकृष्ण सर, लेखारामजीहरू हिँडिसक्नु भयो । अबको हाम्रो यात्रा हिजै निर्दिष्ट छ । मङ्गलपुर अर्थात् कवि डाँडा हामी जाँदैछौं—जहाँ साहित्यकार एल.बी. क्षेत्री हुनुहुन्छ । अरू धेरै स्रष्टाहरू हुनुहुन्छ—खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, अर्जुन अस्तफल, युवराज भुसाल, सङ्गीत आयाम, सृजन अविरल, गणेश श्रमण, सामना पहाड, हरिहर पौडेल, गायत्री पौडेल, सीताराम कोइराला, रमेश प्रभात, नवराज ढङ्गना, उदय अधिकारीलगायत थुप्रै कवि, आख्यानकार, समालोचक अनि अध्येता हुनुहुन्छ । उहाँहरूको जागरुकताले कवि डाँडा विस्तारित हुँदैछ, फैलिँदैछ, ज्योति चहकिँदैछ । कवि डाँडाको पर्याय एउटा सुन्दर साहित्यिक समाज—जहाँ संवेदनामा, भावनामा, विचारमा चल्ने कवि कलाकारको बस्ती छ ।
कवि डाँडाको नाम सुन्दा लाग्थ्यो भौगोलिक उचाइमा रहेको हुँदा त्यसो भनिएको होला । तर होइन, भौगोलिक हिसाबले त्यति उचाइको ठाउँ लागेन । तथापि केही उचाइ भने निश्चय उठेको होला । साहित्यिक बस्ती भएको—स्रष्टा कलाकारको संवेदना पुञ्जलाई कवि डाँडाको प्रतीक मानिएको हुनुपर्छ, मैले यही सोचेँ । भविष्यमा कवि डाँडाको शिखर अग्लिँदै अग्लिँदै अझ उचाइमा पुगोस् । उदाहरणीय, मैत्रीपूर्ण साहित्यिक समाज बनोस् यही कामना छ हामी आगन्तुकको ।
चितवनको समथर बाटो । अटोले हामीलाई फिलिली कुदायो । भर्खर केबुलकारबाट ओर्लिएको सोच्दै थिएँ—हामी त ह्वाइट कर्नर पुगिसकेछौं । गेटमै हुनुहुन्छ एल.बी. सर । बाटो बिराएर हामीलाई दुःख हुन्छ कि भनी उहाँ अधैर्य मुडमा हुनु भएको देख्छौं । प्रत्यक्षतः उहाँलाई म प्रथम पटक भेट्दैछु । उमेरले मानिसलाई बूढो बनाउने होइन रहेछ, उहाँलाई देख्दा गरेको अनुभूत हो यो । कत्रो उत्साह, कत्रो क्रियाशीलता । खुशी हुन जान्नु, प्रसन्न हुनु, जस्तो उमेरसँग पनि निकट हुन सक्नु, ठूलो सानोको विभेद नगरी महत्व दिन जान्नु वास्तवमा जीवनको कला हो । एल.बी. सरमा त्यो कला मैले देखेँ । त्यही कलाले होला उहाँ युवा जस्तै जोसिलो देखिनु हुन्छ ।
अलिकति अगाडि देख्छु शान्त, अविचलित, धैर्यशील मुडमा—मीना मेडम मुस्काइरहनु भएको छ । देख्दैमा सरल, स्वाभाविक, अभिमान रहित देखिने उहाँले हामीलाई पालैपालो अङ्गाल्नु भयो, माया गर्नु भयो ।
एउटा उद्यानमा छु अनुभव हुने निवास । फूलपुष्पादिको महक सुवासित छ । कुन जातका फलफूल हुन् कुन्नि ? मुजुराएका छन्, फूल कोपिला लाग्दैछन् ।
मञ्जरीको समय बोध हुन्छ ह्वाइट कर्नरनमा । दुइटा टेबल नारिएका छन्, भरिभराउ छन् छन्—केरा, स्याउ, अङ्गुर, काँक्रो, अण्डा, पाउरोटी, जाम । अर्को टी टेबल पुस्तकले भारी देखिन्छ । उहाँहरूको हार्दिक आतिथ्यमा यस्तो अनुभव हुन्छ—हामी कोही विशेष हौं । परन्तु हामी विवेश भने होइनौं ।
जीवनको एउटा स्मरणीय क्षण म सम्हाल्दै छु । साहित्य कलाको चर्चा छ । एल.बी. सरका संवादमा उहाँ निर्भीक, हक्की, स्पष्टवादी लाग्छ । आफ्नो मान्यतामा दृढ आत्मविश्वासी पनि । विश्व साहित्यको अध्ययन गर्नु भएका स्रष्टा, अङ्ग्रेजी साहित्यका अध्यापक ।
ठूलो एरियामा अवस्थित गुरु आश्रम र आश्रमको चारैतिर घेरिएको जग्गा एउटै व्यक्तिको स्वामित्वमा हुँदा ह्वाइट कर्नर निर्जन लाग्छ अर्थात् छिमेकी निवास परपर देखिन्छन्, नजिक देखिँदैनन् । बाक्लो बस्ती नभएको एकान्त लाग्ने मौन परिवेश । एउटा ठूलो घर त्यसका नजिक अरू ससाना घर यी सप्पै एल.बी. सरका संरचना । आफ्नो अध्ययन कक्ष, पुस्तकालय— उहाँले भिजिट गराउनु भयो । हामी एउटा पुरानो म्युजियम हेर्दैछौं लाग्यो, पुरानो यस कारण कि त्यो महत्त्वपूर्ण छ । नेपाली वाङ्मय उत्थानमा एउटा साहित्यिक संस्थाले गर्ने जस्तै प्रयास उहाँले गर्दै आउनु भएको छ ।
तृप्तिकर बसाइबाट अब बिदा लिनु पर्छ । मानिससँग झ्याम्मिने, साखिल्लो हुने एउटा केटा बिरालो नजिकै छ । मैले उसलाई चलाएँ केही गरेन । पुस्तक राखिएको टेबलमा बसेको उसलाई देखाउँदै भनेँ ‘सर ! हजुरको सङ्गतले बिरालो पनि काव्यिक हुँदैछ, होइन त ?’
छुटिने बेला ‘अनायोजित’ उपन्यास सरलाई उपहार गरेँ अनि उपहार लिएँ ‘इन्द्रमायाको देशमा’ त्यस्तै सरको अर्को कृति ‘व्रतभङ्ग’ कथा सङ्ग्रह । दुई दिनपछि अस्ट्रेलिया जान लाग्नु भएको मेमलाई यात्राको शुभकामना दियौं । सर चाहिँ अलिक पछि जानुहुन्छ रे !
हाम्रो भोजन भरतपुर महानगरको क्यान्टिनमा तयार छ । तथापि हामीसँग भोक किञ्चित छैन । बाह्र बजे कार्यक्रममा पुगिसक्नु पर्छ । पुलचोक पुग्न सवारीको व्यवस्था सरले गर्नु भएको छ । अटो हामीलाई पर्खिबसेको छ । बिदाइको नमस्कार गर्यौं । अटोबाट फेरि बिदाइको हात हल्लायौं ।
समय रोक्न मिल्थ्यो भने हामी एकछिन विश्राम लिने थियौं । शरीरभन्दा मन बढी थाक्दो रहेछ । बाह्र बजे होटल छोडिसक्नु पर्छ । साढे एघार बढी भइसकेको छ । आतुरी गरेर वस्त्र फेर्छौं । सामान मिलाउँछौं । चाबी बुझाउँछौं । होटलबाट चेक आउट हुन्छौं ।
यतिखेर हामी भरतपुर महानगरपालिकाको सभाहलमा छौं । निर्धारित समय भन्दा केही अबेर पुगेका छौँ । तर कार्यक्रम शुरु भएको छैन । चितवनसँग दिदीहरूको सम्पर्क राम्रो रहेछ । उपकुलपति इन्द्रप्रसाद रेग्मीज्यूसँग परिचय हुन्छ । पहिलो चिनजानमै सहजता अनुभूति हुन्छ । लमजुङकी चेली हुँदा थप हार्दिकता पाएको महसूस गर्छु । कतिले सोध्नु भएको छ ‘लमजुङको कुन ठाउँ पर्छ नानीको घर ?’ अघि रेग्मीज्यूले पनि सोध्नु भएको थियो । उहाँ गोर्खा महसिलको हुनुहुँदो रहेछ अर्थात् उहाँको पुख्र्याैली थलो त्यहाँ रहेछ ।
पूर्व परिचित कोही भेटिनु हुन्छ कि ? दृष्टि उत्सुक हुन्छन् । त्यसो त चितवनवासी मैले कति नै चिनेकी छु र ? धनराज (गिरी) बा आउनु भएको छ कि ? हेर्छु देख्दिनँ । आफ्नी छोरीसँग नाम मिलेको हुँदा उहाँ मलाई छोरी जतिकै गर्नु हुन्छ । हौसला, प्रेरणा दिइरहनु हुन्छ ।
एकदम भिन्न अनुभूति भइरहेको छ । हार्दिकतापूर्ण अनुभूति । यो साहित्यिक उत्सव हो तथापि पारिवारिक उत्सवजस्तो आत्मीय, सहृदयताको आभास हुँदै छ । प्रस्तुत सभाले शहरको अभिमान बोध हुन दिएको छैन । बरु गाउँको सरलता, उदारताको सम्झना गराएको छ । म यहाँका धेरै व्यक्तित्वलाई चिन्दिनँ । फेरि सप्पैसँग परिचिति छु लाग्छ । आफ्नो गाउँ ठाउँ जाँदाजस्तो आत्मीय छ परिवेश । वास्तवमा कोही व्यक्तिको पदले, प्रतिष्ठाले कसैलाई प्रभाव पार्ने होइन रहेनछ जति प्रभाव उसको विनयशीलता र सरलताले पार्ने गर्छ ।
धन्य हो भरतपुर आफूलाई जोगाउँदै रहेछ शहर नहुनबाट । शहरको यन्त्रिकता, आडम्बर र अहंबाट अझसम्म त जोगिएकै रहेछ । सुरक्षित रहेछ लाग्यो । गाउँमा खेले हुर्किएको भएर होला मलाई गाउँजस्तै परिवेश मन पर्छ, प्रिय लाग्छ । जहाँ सहजता, स्वाभाविकता हुन्छ । गाउँको प्रियता म अहिले अनुभूत गर्दैछु ।
साहित्यिक गतिविधिमा चितवनवासीको सक्रियता उस्तै नमनीय रहेछ, थाहा पाउँछौं । साहित्यलाई हेर्ने दृष्टि कति विस्फारित रहेछ, कति आदरणीय रहेछ । कत्रो सम्मानले हेरिँदो रहेछ वाङ्मयिक कर्मलाई । चिराग सल्काएको चितवन उज्यालोको अभियानमा छ बोध हुन्छ । अँध्यारो भगाउने धुनमा उज्यालो सल्काउँदै रहेछ चितवन ।
रेग्मीज्यूको अध्यक्षतामा कार्यक्रम आरम्भ भएको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध, कथा प्रतियोगितामा पुरस्कृत प्रतिभालाई सम्मान गर्दैछ । प्रथम चरणमा प्रज्ञाप्रतिष्ठानका कुलपति एवं नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाद्वारा स्रष्टा सम्मान गरिन्छ । प्रकाश थापा भरतपुर प्रज्ञा सम्मानले विभूषित हुनु भएको छ । त्यस्तै कृष्णबम मल्ल प्रज्ञा प्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । पुरस्कारतर्फ डी. आर. पोखरेलकृत ‘संस्कृतिको सोपानमा चितवन’ पुरस्कृत हुन्छ । त्यस्तै अर्की नारी स्रष्टा सिम्रन क्षेत्रीको ‘झुमर’ उपन्यास वागीश्वरी प्रज्ञाले पुरस्कृत भएको छ । काव्यतर्फ जगन्नाथ पण्डितकृत ‘घरबारीमा तोरी फुल्यो’ पुरस्कृत हुन्छ । आख्यानमा अष्टदेव खनालद्वारा रचित ‘अन्तश्चेतना’ सम्मानित भएको छ ।
कार्यक्रम उत्साहजनक छ । अब आयो कथाका कुरा । प्रतियोगितामा के कस्ता कथाहरू प्राप्त भए, युवा पुस्ता के लेख्दै छ ? कतातिर मोडिँदै छ ? कथा विधाप्रति युवा मनोविज्ञान कस्तो छ ? रुचि कस्तो छ ? यी यस्तै कुराको समीक्षात्मक टिप्पणीका लागि साहित्यकार भूपिन खड्कालाई बोल्ने दायित्व दिइएको छ । उहाँको सूत्रात्मक, स्पष्ट अभिव्यक्ति कति प्रभावपरक । विश्लेषणात्मक तथा समालोचकीय चेत कति प्रखर । भूपिन भन्नु हुन्छ, ‘जति कथाहरू प्राप्त भए त्यसमा खुशीको विषयवस्तु एउटै छैन । भनेपछि देश कति निराशामा छ । कथा यस्तै लेखिनु पर्छ सुखको, हर्षको भन्ने होइन । कुरा त के हो भने आशाको, खुशीको, उत्साहको स्थिति नभएर यस्ता कथा लेखिँदै छन् ।’
प्रतियोगितामा उपलब्ध सम्पूर्ण कथाको आत्मालाई स्पर्श गरिएको अभिव्यक्ति— जसमा प्रत्येक स्रष्टालाई आफ्नो कथामाथि कवि भूपिन बोलिरहनु भएको छ जस्तो साझा अनुभूति गराउने समीक्षात्मक कला बडो प्रभावक छ । स्रष्टा भूपिनका श्रवणीय टिप्पणीमा उहाँको सिर्जना अध्ययन गर्दै छु हुन्छ । उहाँको साहित्यिक व्यक्तित्वसँग म सम्पूर्ण रूपले परिचित छु अनुभूत गर्छु । कसौँडीको एउटा सिता छामेपछि पाक्यो पाकेन भनेर अरू सिता छामिरहनु पर्दैन भन्छन्, त्यस्तै प्रभाव छोड्नु भयो उहाँले एकै बसाइमा ।
दोस्रो चरणको कार्यक्रममा कथा सम्मानित हुँदैछन् अर्थात् प्रतियोगी कथाकार पुरस्कृत हुँदैछन् । खुला राष्ट्रिय कथा प्रतियोगिता २०८० मा अनन्त लम्सालको ‘अन्तिम पथ’ सर्वोत्कृष्ट भएको छ । ‘मृत्युको अपिल’ मेरो कथाले उत्कृष्टता हासिल गरेको छ । ‘भाग्यको कुरो’ समीप खड्काको कथाले उत्तम स्थान पाएको छ । मन्दिरा मधुश्रीको ‘पहिचान’ र ‘अब लजाउँदैन लज्जावती’ राधिका कल्पितका कथाले प्रोत्साहन स्थान हासिल गरेका छन् ।
म गहकिलो गतिमा मञ्च पुग्छु । इन्द्रप्रसाद रेग्मी, नरेन्द्रकुमार राना, रेनु दाहाल, चित्रसेन अधिकारीज्यूले क्रमशः दोसल्ला, सयपत्री फूलको माला, अबिरको टीका लगाइदिएर प्रशंसापत्र र चेक हस्तान्तरण गर्नु भयो । हर्षित मुद्रामा उहाँहरू सप्पैले हौसलाको वचन बोल्नु भयो—राम्रो गर्दै जानू, चितवनमा यसरी प्रतियोगी हुन आउँदै रहनू । उहाँहरूको यस्तो वचनमा मैले फेरि गाउँ सम्झिएँ ।
सम्मानपत्र, तीस हजारको चेक, महानगर साहित्य दर्पणले हात भरिएको छ । मञ्चको देब्रे साइडतर्फ अगाडि कुर्सीमा केदार खनाल सरको आशीर्वादमा मैले शिर थापेँ । कृतकृत्य भएँ । अघिदेखि मेरो दृष्टि परेको थियो—एक शालीन व्यक्तित्व, ब्वाइज कट कपालमा उज्यालो मुहार, हाँसिरहेको देखिनु हुने गायत्री श्रेष्ठ । उहाँले पनि हार्दिक बधाई तथा शुभकामना दिनु भयो । भोलिका दिन अझ अगाडि बढ्ने आशीर्वाद पाएर—मेरो शिर श्रद्धाले झुक्यो । कहिल्यै बिर्सिन नसकिने कस्तो हार्दिकता । सुदेशले पनि मलाई बधाई दिए, म खुशी भएँ । हामीले हात मिलायौं ।
म जस्तो अनुभूत गर्दै छु यो मेरो वैयक्तिक अनुभूति होइन । दिदीहरूले पनि यही अनुभूति गर्नु भएको छ । अनन्त लम्साल र समीप खड्का—काठमाडौंदेखि आएका हामी सबैको साझा अनिभूतिमा चितवनको सद्भाव स्मरणीय रहेको छ ।
त्यसपछिको कार्यक्रम छ— ‘मेरो सपनाको भरतपुर’ शीर्षक जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा पुरस्कृत हुनु भएका स्रष्टाको सम्मान । हरिप्रसाद तिवारीको निबन्ध सर्वोत्कृष्ट भएको छ भने अनुस्का न्यौपाने र चिरञ्जीवी दाहालका निबन्धले क्रमशः उत्कृष्ट र उत्तम स्थान प्राप्त गरेका छन् । अन्त्यमा सन्तोष सुवेदी र स्वस्तिक शर्माले प्रोत्साहन पुरस्कार पाउनु भएको छ ।
कार्यक्रमको अन्तमा एक विद्वान् साहित्यकार—गैडाकोट नगर प्रतिष्ठानका उपकुलपति गोविन्द विनोदीज्यूसँग राधिका दिदीले चिनजान गराइदिनु भयो । उहाँको शुभकामना पाएर म प्रसन्न हुन्छु । आफ्नो अनायोजित कृति उहाँलाई उपहार गर्न पाउँदा मेरो खुशी फेरि थपिन्छ ।
हामी आज काठमाडौं फर्किनु पर्छ अर्थात् हाम्रो निर्णय छ । पुरस्कृत तथा सम्मानित हामी सबैलाई बालकृष्ण सर जम्मा गर्दै हुनुहुन्छ तल प्राङ्गणमा सामूहिक तस्बिर खिच्न । हामी सबैलाई एकैचोटि जम्मा गर्न मुस्किल पर्छ । हात हातको मोबाइलले गर्दा यो सब कठिनाइ भइरहेको थियो । प्रविधिले मानिसलाई यसरी व्यक्तिवादी बनाउँदै छ । सामूहिक बनाउन खोज्नु जटिल काम भएको छ ।
दिउसोको घाम केही टाढिँदै छ । अहिले दिवाकालीन चार बजिसकेको छ । खाजाका लागि क्यान्टिन जान्छौं । हिजो आएदेखि अहिलेसम्म खान बस्नको जिम्मेवारी प्रज्ञा–प्रतिष्ठानले लिएको छ । बालकृष्ण सर, जगन्नाथ पण्डित, गणेश श्रमण हामी सँगै छौं क्यान्टिनमा । भरतपुरबाट बिदा लिने अन्तिम प्रहर फेरि एक दुई तस्बिर लिन्छौं र छुटिन्छौं मनमा सम्झना साँचेर । काठमाडौंलाई कोशेली यही दिनुछ ।
यस कार्यक्रकका लागि हिजै काठमाडौंबाट आउनु भएका केदार सरले अघि भन्नु भएको थियो ‘तपाईंहरू जाने भए मेरो गाडीमा सीट छ ।’ हामीले निकै विलम्ब गर्यौं । प्रस्थानको बेला उहाँलाई खोज्यौं । उहाँले पनि खोज्दै हुनुहुँदो रहेछ हामी छुट्यौं । गणेशजीले पारस बसपार्क पु¥याइदिन भरतपुर महानगरको पुलिस भ्यानलाई अह्राउनु भएको छ । हामी त्यसैमा गयौं ।
पारस बसपार्कमा गाडी पाइएन । अटोमा आँपटारी हुइँकिन्छौं । बुटवलबाट आएको डिलक्स प्यासेन्जर खोज्दै छ । गाडी चल्दा समय धेर घर्किसकेको थियो । अन्तिम पटक फेरि चितवनलाई बाईबाई गर्यौं, सवारी बत्तियो । म राधिका दिदीको ‘बरफका कोइला’ कविता सङ्ग्रह पढ्दैछु । साँच्चै दिदीका कविता बरफका कोइला जस्तै विम्बात्मक छन् । सँगै उहाँको प्रकाशोन्मुख कथा संग्रहका लागि मैले अग्रिम शुभकामना दिएँ ।
पढ्दा पढ्दै म कतिखेर निदाएँ थाहा छैन । आठ बजे बुवाको फोनले ब्यूँझन्छु । अँध्यारोमा कहाँ आइपुग्यौं त्यो पनि थाहा छैन । रात्रिकालीन यात्रा—घरमा पीर छ । मनमा केके भय उठ्छ अनि आमा छिनछिनमा फोन गरिरहनु हुन्छ । निद्रामा फोनको कर्कश घण्टीले म रिसाउँछु । फेरि पनि आमाको फोन रहेछ । निद्राको नशा चढेको बेला बोल्न मन छैन । रुक्ष स्वरमा झोक्किन्छु, ‘कति फोन गर्नु भएको ?’ छोरीको क्रोधी स्वरमा पनि उतिकै मायालु भएर भन्नु हुन्छ ‘ल … ल … राम्ररी जानू ।’
फोन राखेपछि निद्रामै सोच्छु किन मेरो बोली रुखो भएको ? एक किसिमको पश्चात्तापजस्तो हुन्छ । म राधिका दिदीको आडमा छु । मन्दिरा दिदी पछिल्लो सीटमा हुनुहुन्छ । दिदीले उठाउनु भयो, ‘अनिता ! खानाको लागि गाडी थामिएको छ ।’ ए … धार्के आइपुगेछौं निद्रै निद्रामा ।
मलाई केही खान मन छैन, पेट हुँडलेको छ, अशान्त छ पेट । दुवै दिदीले दूध कफी लिनु भयो—एक कपको सय रूपैयाँ ।
गाडी जामले अनुकूल गति लिन सकेको थिएन । अहिले जाम खुलिसकेको छ । खाना खाएपछिको गाडी यसरी हुइँकिन्छ कि मानौं चालक नशामा छन् । गाडी गुड्दै होइन उड्दैछ । मृत्यु अहिल्यै निश्चित छ । भीरकन्दरामा हाम्फाल्न गाडी तयारी स्थितिमा छ । दुर्घटनाको तयारी गर्दै छ । असहज गुडाइमा राधिका दिदी आत्तिनु हुन्छ । तर म आत्तिएको छैन । मरिँदैछ भन्ने विचार चाहिँ मनमा उठ्छ । गुरुजीलाई दिदी सम्झाउनु हुन्छ तर उनी अझ नसम्झिएको मुडमा झन् बत्ताउँछन् । दिदीको मुटु काँपेको कुरा सुनेर मैले आफ्नो मुटु छामें । त्यस्तो असहज भएको चाल पाइनँ । तर म कस्तो नरमाइलो भावमा रहेछु ‘आमासँग अघि मीठो बोली गर्न सकिनँ । अब कदाचित् उहाँसँग मीठो बोल्न पाउने छैन । आमा छोरीको फोन चल्न अब सम्भव छैन । अघिको फोन त्यो नै अन्तिम हुनेछ … !’
उदास अनुभूति गर्दागर्दै फेरि म निदाउँछु । त्यसबीचमा गाडी कसरी गुड्यो, कुन गतिमा गुड्यो अनि अरू के भइरहेछ थाहा पाउँदिनँ । अचानक निद्रामा तन्द्रामा कताकता दिदी बोलेको सुन्छु ‘बाबु ! हामी कलङ्की आइपुग्यौं । गाडी लिएर आउनू ।’
तन्द्रा छुट्दा थाहा पाउँछु काठमाडौं निदाइसकेछ । रात्रिकालीन साधन केही गुड्दैछन् । आँखा आगाडिबाट ती फुत्त फुत्त चिप्लिन्छन् । वनस्थली आइपुगेका छौं । राधिका दिदी अनुरोध गर्नु हुन्छ उहाँको निवास जान । बालाजुको पुल हुँदै जाने बाटो खतरा छ उहाँ यस कुरामा जोड गर्नु हुन्छ । तर मेरो मनमा सजिलै डर पस्दैन । बरु मन्दिरा दिदीलाई प्रस्ताव गर्छु हामी दुवै जना नयाँबजार जाने भनेर । अनि राधिका दिदीलाई विश्वस्त गराउँछु ‘त्यस्तो केही डर छैन । दिदी बहिनी भएपछि पुगिहाल्छौं नि केको भय ?’
भारी मन लिएर दिदी वनस्थली ओर्लिनु भयो, हामी चाहिँ बालाजु । कोठामा आइपुग्दा मध्यरात हुन्छ । पाइला बिसाउँदै थियौं दिदीको फोन आउँछ—पुग्यौं डेरामा ?
रात ओडेर निदाएको काठमाडौंले थाहै पाएन हामी चितवनदेखि आइपुगेको कुरा । कहिलेकाहीँ त थाहा पाइदिए हुन्थ्यो नि लाग्दो रहेछ । आसन्न मृत्यु छलेर हामी कसरी आइपुग्यौं अहँ यस शहरलाई पत्तो छैन । मृत्यु नै हुन्थ्यो भने पनि यस शहरले थाहा पाउने थिएन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

