
हिमालको चिसो केवल हिउँको कथा होइन, यो सम्पूर्ण पर्यावरणको समष्टि हो । जब चार हजार मिटरको उचाइमा चिसो हराउँछ, त्यहाँको जीवनशैली मात्र होइन, सम्पूर्ण जैविक प्रणालीमा असर पर्छ ।
…
हिमाल अर्थात् हिउँको साम्राज्य । हिउँले भरिएका हिमालहरू चिसोमा पनि सधैं मृदु मुस्कानका न्यानोपन बाँडिरहेका हुन्छन् । अथाह सुन्दर छटामा प्रस्तुत भएर उन्नतिको उचाइ शिखरमा अथक पाइला हिँडाइरहेका हुन्छन् ।
अहिले हिउँदको शिशिर ऋतुमा जाडोको मात्र कति छ, चिसोले कतिसम्म कठङ्ग्र्याउँछ भन्न सकिन्न । हिमाली क्षेत्रमै बसोबास गर्ने मानिस र पशुपक्षीहरूसमेत न्यानो ठाउँ खोज्दै लेकबाट बेंसीतिर केही महीना झर्छन् । तर यस्तो चिसो यामको पनि कुनै मतलब नगरी विदेशी पर्यटकहरूको लर्को लागिरहेकै हुन्छ ।
वास्तवमा उनीहरूले हेर्न खोजेको हिउँ हिमालमै छ । उनीहरूले देख्न चाहेको हिमपातको दृश्य यही याममा देख्न पाइन्छ । यसरी हिमाल हेर्न आएका पाहुनाहरूले हिमाल देख्न नपाउँदा, पाहुनासँगै हिमालको रोदन पनि कम संवेदनशील हुँदैन । यस कुरालाई हामीले मनन महसूस गर्नै पर्छ ।
हामीले हिमालको अस्तित्व र त्यससँग जोडिएको चिसोपनको रक्षा गर्न अहिले नै गम्भीर प्रयास थाल्नुपर्छ । हिमालमा हिउँ रहन्छ भने मात्र हाम्रो प्राकृतिक सम्पदा बच्ने छ । किनभने कैयौँ देशका पदयात्रीहरू यही हिमाल हेर्नको लागि नेपाल आउँछन् । यहाँ आउँदा हिमालको सौन्दर्य हेरेर उनीहरूले लिने आनन्द अपूर्व, अवर्णननीय र अविस्मरणीय नै हुन्छ । र, उनीहरूलाई हाम्रा हिमालका सौन्दर्यले लोभ्याएर पटक–पटक यहाँ आइरहन पे्ररित गरिहन्छ ।
परन्तु विगत केही वर्षदेखि हिमालमा हिउँहरूको सट्टा काला चट्टानहरू देखिन थालेको छ । हिमालय पर्वतको रोदनको क्रम यहीँबाट प्रारम्भ हुन्छ । यसले हिमाली भेगका पशुपंक्षी, बोट, वनस्पतिमा समेत गम्भीर असर पुर्याएको छ ।
हिमालय ! यो नामले मात्र पनि एक किसिमको गौरव र शीतलता अनुभूति गराउँछ । संसारको छतजस्तै यो शृंखला सधैं आफ्नो अटल अस्तित्वको प्रतीक बनेर उभिएको छ । यसको शिखरले आकाश चुम्ने प्रयास गर्दा, यसका हिउँहरूले पृथ्वीलाई चिसोपनको स्पर्श दिन्छन् । आज यो हिमालयको मुहार बदलिँदैछ । यसको पहिचान अब हिउँ विनाको हिमालमा बद्लिँदै असन्तुलित स्वरूप देखापर्दैछ ।
केही दशकअघिको कुरा गरौं । हिमालयको काखमा बसेका गाउँहरूले चिसो हावा, हिमपात र स्वच्छ जलमार्फत प्रकृतिको अनन्त सौन्दर्य अनुभव गर्थे । हिमालका टाकुरा सधैं सेताम्य, चिसो र पवित्र देखिन्थे । तर, आज तिनै टाकुराहरूमा सेतो हिउँको सट्टा काला चट्टान देखिन थालेका छन् । जलवायु परिवर्तनको क्रूर आक्रमणले यो पृथ्वीको मुकुटमाथि आँशु भरिएको छ । उनीहरूले नै अनभुव गरेको कुरा मैले पदयात्राका क्रममा स्थानीय जनप्रनिधि र सर्वसाधरणका मुखबाट सुनेको हुँ ।
फलतः हिमाली सौन्दर्यका स्वप्निल साम्राज्यहरूमा आफूलाई हराउन आउने पर्यटकहरू निराश हुन थालिरहेका छन् ।
विस्तारै हाम्रै कारणले प्रकृतिको प्राकृतिक संरचना बिथोल्दै जाँदा जलवायु परिवर्तनले आफ्नो प्रभाव देखाउन थाल्यो । हिमालय यसको पहिलो शिकार बन्यो । जलवायु परिवर्तनका कारण हिउँ पग्लिँदै जान थाले । ती सेताम्य चुचुराहरूमा अहिले हिउँको पत्र पातलिँदै गएको छ । यो केवल प्राकृतिक परिवर्तन मात्र होइन, मानव स्वार्थ र लापरवाहीको परिणाम हो ।
मानिसहरूले आधुनिकताको नाममा कार्बन उत्सर्जन बढाए । हिमाली क्षेत्रमा आउने पर्यटकहरूले प्लास्टिक र फोहोरको थुप्रो छोडे । यिनीहरूलाई नियन्त्रण गर्ने कोही भएन । हिउँ पग्लिएपछि हिमनदीको प्रवाह असन्तुलित हुन थाल्यो । एकातिर खडेरी बढ्दै छ, अर्कोतिर बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।
हिमालयको यो अवस्था देखेर लाग्छ, यो पृथ्वीलाई रक्षाकवच दिएर उभिएको यो संरचना आज आफैं रक्षा खोज्दैछ । यसको हिउँ पग्लिँदै गर्दा, यसको मुनि बस्ने लाखौं वन्यजन्तु र वनस्पतिहरू आफ्नो अस्तित्व गुमाउँदैछन् । चिसोमा रमाउने बोटबिरुवा, पक्षी र जनावरहरू विलुप्त हुने संघारमा छन् ।
म आफैंले अनुभव गरेको कुरा हो, आज चार हजार मिटरमाथि जाँदा पनि चिसोको अनुभूति नहुने अवस्था आएको छ । चिसोपन हराउँदा मात्र हिमालय रोएको होइन, मानिसहरू आफैं आफ्ना कर्मले आफ्नो भविष्य गुमाइरहेका छन् । यो परिवर्तनले केवल हिमालयको सौन्दर्य गुमाइरहेको छैन, समग्र वातावरणीय चक्रलाई नै असन्तुलित बनाइरहेको छ ।
हिमालयको रोदनलाई हामी सुन्न तयार छौं ? हामी अझै समयमै सचेत हुन सक्छौं ? यसको उत्तर सकारात्मक हुनुपर्छ। यदि आजै हामीले आफ्नो कार्यशैली परिवर्तन गर्न सक्छौं भने, यो आँशुलाई रोक्न सकिन्छ । हिमालय बचाउनका लागि हामीले यसको संरक्षणमा ध्यान दिनुपर्छ । कार्बन उत्सर्जन कम गर्नु, दिगो पर्यटनको अभ्यास गर्नु र फोहोर व्यवस्थापनमा सुधार ल्याउनु पहिलो कदम हुन सक्छ ।
हिमालय रोइरहेको छ । यसको आँशु हाम्रा नदी र बाढीका रूपमा पृथ्वीभर फैलिएको छ । यो रोदनले चेतावनी दिइरहेको छ– ‘यदि अहिले नै केही गरिएन भने मेरो अस्तित्व समाप्त हुने छ । र, तिमीहरूले आफ्नो सभ्यता पनि गुमाउने छांै ।’
तसर्थ, हिमालयको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो । यसको सौन्दर्य, चिसोपन र अस्तित्व बचाउन, हामीले आजै गम्भीर प्रयास थालनी गर्नुपर्ने समय नजिक आइसकेको छ ।
हिमालय बाँच्यो भने मात्र प्रकृतिको सन्तुलन कायम रहन्छ, र हामीले हाम्रो भावी सन्ततिलाई स्वच्छ, सुन्दर र सन्तुलित संसार दिन सक्छौं । हिमालयको रोदन रोक्न हामी सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
हिमाल ! तिमी नीलो आकाशलाई अँगालो हालेर उभिएको, शान्त र गौरवपूर्ण प्रतीक । तिमी सधैं स्वच्छ हिउँको शिरमा किरणहरूको मुकुट पहिरिएर आफ्नो सौन्दर्य फैलाउँथ्यौ । तिम्रा चुचुराहरूले जति सूर्यको घमाइलो झेले, त्यति नै चिसो पत्रहरूले तिमीलाई ढाकेका थिए । तर, आज तिम्रा यी चट्टानी हृदयहरूले हाम्रो जिउँदो समयको बेथिती र स्वार्थीपनको बोझ बोक्नुपरेको छ । तिम्रा सेताम्य हिउँका उचाइहरू पग्लिँदै जाँदा, केवल कालो चट्टान मात्र देखिनुमा कसको दोष छ ?
अहिले त तिमी सुन्दर मात्र होइन, दुःखद बनिरहेका छौ । तिम्रो चिसोपन हराउँदै छ । चिसोको त्यो सुगन्ध, जुन बास्ना बनेर ट्रेकिङ गरिरहेका मानिसका स्मृतिमा अमर हुन्थ्यो, त्यो हराउँदै छ । हजारौं किलोमिटर टाढाबाट आएका पदयात्रीहरू, जो तिमीलाई हेरेर मोहित हुन्थे, अहिले तिम्रा खर्कहरूमा, तिम्रा घाटीहरूमा र तिम्रा खोल्सीहरूमा देखिने असन्तुलनको पीडा बोध गर्छन् । तिनीहरूले हिउँमा रमाउन खोज्छन्, तर तिम्रो हिउँ पग्लिएर बगिरहेको देख्दा कस्तो लाग्छ होला !
हिमालको चिसो केवल हिउँको कथा होइन, यो सम्पूर्ण पर्यावरणको समष्टि हो । जब चार हजार मिटरको उचाइमा चिसो हराउँछ, त्यहाँको जीवनशैली मात्र होइन, सम्पूर्ण जैविक प्रणालीमा असर पर्छ ।
हिमाली भेगका ती निर्दोष याकहरू, पंखा फिजाएर आकाश नाप्ने ती हिमाली चिलहरू र चिसोमा मात्रै फुल्ने ती बनस्पतिहरू– सबैलाई यो असन्तुलनले कहाली लाग्दो भविष्य देखाइरहेको छ ।
तिम्रो हिउँको अस्तित्व हराउँदै गर्दा तिमी आफैं सानो हुँदै गइरहेको जस्तो लाग्दैन ? तिम्रा चिसा खोला तातिँदै छन्, तिम्रा पग्लिएका हिमनदीले बाढीका रूप लिँदै छन् । तिम्रा खर्कहरूमा हरियाली बढ्दै छ । तर त्यो हरियालीमा जीवन छैन । तिम्रा कालो चट्टानहरूले सूर्यको किरणलाई निल्दै गर्दा तिमी अझै दुःखी देखिन्छौ ।
तिम्रा आँशुहरूको प्रतिध्वनिले मानिसहरूलाई किन सचेत गराउँदैन ? तिमीलाई बचाउनका लागि थोरै प्रयास पर्याप्त हुने थियो । थोरै उत्सर्जन कम गर्नु, फोहोर व्यवस्थापन गर्नु र तिम्रो चिसोपनको रक्षा गर्नु मानिसहरूको कर्तव्य हो । मानिसले आफ्नै सानो स्वार्थ हेर्छन् ।
हिमालय पर्वतमा सत्रैं हिउँका साम्राज्यले अधिकार जमाउन पाउनुपर्छ । यो उसको अधिकार हो । यसलाई कायम राख्न, हिमाललयमा हिउँले भरिभराउ पार्न हाम्रै बुद्धि, विवेक र प्रकृतिप्रेमको पर्यावरणीय चेतना आवश्यक । यदि अहिले नै सचेत नहुने हो भने, हिमालमा चट्टानका कालो आँशुहरू रहन सक्छन् । त्यो कालो दिन हाम्रो आत्मा भित्रभित्रै रोइरहने दिन हुने पक्का छ । एकदिन सेता हिमाल कालापत्थर बन्ने छन् ।
हिमालको चिसोपनको रक्षा गर्नु भनेको हिमालको मात्र नभएर हामी सबैको अस्तित्व जोगाउनु हो । तिमी अझै पनि हाम्रो प्रतीक्षा गरिरहेको छौ । मानवताबाट केही प्रत्याभूति खोज्दै । हिमाल, तिमी रोदन नगर्नू । हामी तिमीलाई बचाउने प्रयास अवश्य गर्ने छौं ।
हिमाल प्राकृतिक संरचना मात्र होइन । हाम्रो सांस्कृतिक, जैविक, र वातावरणीय अस्तित्वको आधारशीलासमेत हो । यसको संरक्षण गर्नु भनेको हिउँले भरिएका हिमालहरू बचाउनु मात्र होइन, सम्पूर्ण पृथ्वीको सन्तुलन कायम राख्नु पनि हो ।
अन्ततः अहिलेको असन्तुलनले हामीलाई भविष्यको अन्धकारतर्फ धकेलिरहेको छ । यसलाई रोक्न तत्काल प्रयास गर्न सकिन्छ । हिमालको चिसोपन र सौन्दर्य बचाउन जलवायु परिवर्तन रोक्ने काममा सबैको सक्रियता अपरिहार्य छ । यसो हुन सक्यो भने हिमालयको रोदन शून्य हुन्छ । हिमाल हाँस्न थाल्ने छ । हामी सबै हाँसेको हिमाल हेर्न चाहन्छौं ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

