कथा यात्राको साप्ताहिक पाण्डुलिपि बहसमा हो कथाकार पवित्रा अधिकारीसँग साक्षात्कार भएको । पहिलो भेट माया ठकुरीको निवासमा जाँदै गर्दा बाटामा भएको थियो । र पढेको पहिलो कथा ‘घाम भइन्’ । झम्सीखेल स्थित ‘चिया माया हो’ मा पाएको हो मैले ‘देह उत्सव’ । उनको व्यक्तित्व उनका कथाजस्तै शालीन र शान्त संवेगले भरिएको छ । यात्री अनुसन्धान केन्द्रले प्रकाशन गरेको यो कथासंग्रहमा २३ थान कथा संग्रहित छन् ।
प्रा. डा. कुमारप्रसाद कोइरालाले गहन भूमिका लेख्नुभएको छ, ‘देह उत्सव कथासंग्रहमा प्रयुक्त शिल्पसौन्दर्य’ शीर्षकमा । कथा साहित्यमा रुचि राख्ने सबैलाई उपयोगी यो भूमिकाको साथमा अशेष मल्लको शुभेच्छा र कथाकारको आफ्ना कुरा सङ्ग्रहको अग्र भागमा छन् ।
पहिलो कथा ‘घाम भइन्’ मा ‘पापादिदी’ यस्ती जीवन्त पात्र छिन्- पाठकलाई कथाकार नै पापादिदी हुन् झैँ प्रतीत हुनेछ । आध्यात्मिक विचार भएकी चरित्रवान् पापादिदीलाई समाजले हेर्ने शङ्कालु दृष्टिकोण र तीर्थाटन गएर उतै विलुप्त भएको दृश्य निर्माण छ । सुन्दर शिल्पले सजिएको छ यो कथा ।
दोस्रो कथा ‘विद्रोह’ निसन्तान दम्पतीको कथा हो । सन्तान प्राप्तिको लागि एक नारीले गरेको विद्रोहले कथालाई सशक्त बनाएको छ । शीर्षक अनुसार यो संग्रहको प्रगतिशील र विद्रोही कथा हो । अर्को कथा ‘सिमेन्टको घर’ मा सानी छोरीले सिमेन्टको घरमा बस्ने रहर पूरा नभई संसार त्यागेकी छिन् । गरीब र असहायहरूलाई विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने पाखण्डीहरूले सानी बच्चीको रहर पूरा नगरेको, गरीबहरूलाई आशा मात्रै देखाएको मार्मिक कथा छ ।
‘दुधवाली’ मा बालापनको स्मृति, धन सम्पत्तिको आडम्बरमा मान्छेले गर्ने अमानवीय क्रियाकलाप, मानवीय संवेदना र सम्बन्धहरूको मिहिन केस्रा केलाइएको छ । ‘नचिनेको पुरुष’ कथामा एक वृद्धा जसले असङ्ख्य यौनपिपासुको प्यास मेटाएकी छिन् र सबैबाट परित्यक्ता छिन् । उनको जिन्दगीमा आउनेजाने पुरुषको कुनै हिसाब किताब नै छैन ।
‘अन्त्यपछि’ शीर्षकको कथा हिन्दी सिनेमा ‘बागवान’ को झल्को दिने खालको वियोगान्त कथा हो । जिन्दगीका अनेक आयाम केलाइएको यो कथा उमेरमा रामरौस गरी हाँसीखुशी बसेका आफ्ना बाआमालाई सन्तानले छुट्टिएर बस्न बाध्य बनाएका छन् । छोराबुहारीबाट मुक्त भएर बस्न खोज्दाखोज्दै इहलीला समाप्त भएकी पत्नीको वियोगमा विक्षिप्त भएका पतिको कारुणिक कहानी छ यो कथामा । ‘बदलिएको कर्मभाव’ मा गिट्टी कुटेर जेनतेन गुजारा गरिरहेकी गरीब महिला बिस्तारै भगवान् भक्तिमा डुब्न थालेकी छिन् । राम नाम जप्दाजप्दै उनको देहावसान भएको छ ।
‘ओझेल’ मा बाको कठोर व्यवहारबाट श्रीमती छोडेर भागेको लोग्ने साधु भेषमा घर फर्कन्छ । उसले त्यहाँ परिवार/ आफन्तजन कोही भेट्दैन र पुनः वैरागी बनेर फर्केको देखाइएको छ । ‘पातालप्यास’ बालमनोविज्ञानमा आधारित कथा हो । ‘निम्तो’ मा तिरस्कृत चेली आफैले हुर्काएको भदोको बिहे हुन लागेको मुखौटो निम्तोको भरमा माइत जान लागेको मार्मिक कहानी छ । ‘दुलही’ फरक क्षमताको छोराको शारीरिक आवश्यकता पूरा गर्न आमाले देहव्यापारमा संलग्न महिलाको पुर्याउने ल्याउने गरेको अनौठो कथा हो ।
मानिस धरतीको यस्तो प्राणी हो जसमा लोभको कुनै सीमा छैन । फूपुजस्ती वाचाल र धुम्मेजस्तो सहयोगी,निरीह, सरल, अकिञ्चन पात्रको कारण जीवन्त बनेको छ ‘मनुवा तेरो लोभ’ । नारीलाई लाचार तथा भोग्य पात्रको रूपमा प्रस्तुत गरिएको कथा हो ‘जुठो लाग्दैन’ । यसमा यस्ती लाचार पात्र छिन्, जहाँ यौनपिपासु पति क्रूर छ, हिंस्रक छ । ऊ अर्को विवाह गर्दैछ, पत्नी मरणासन्न छे, मर्छे । पत्नी जस्तोसुकै अत्याचार सहन्छे तर विद्रोह गर्दिन ।
‘देह उत्सव’ संग्रहको शीर्ष कथा हो । यसमा सानैदेखि रोगी भएको कारण एक युवती आफ्ना भाइबहिनीको बिहे भइसक्दा पनि आफूलाई कसैले चासो खोजी नगरेको कारण विक्षिप्त हुन्छे । मनभित्र गुम्सिएका चाह, इच्छा, आकाङ्क्षाको थाकले पीडित छे, निरीह छे । कल्पनाको संसारमा डुब्दाडुब्दै उसको दुखान्त भएको मार्मिक र कारुणिक दृश्य यस कथामा छ ।
‘ओथारो’ शीर्षकको कथामा निसन्तान दम्पतीले अर्कैको शिशु ल्याएर पालनपोषण गरेको, ऊ सक्षम भएपछि अलग्गै बसेको र एक्ली आमाले कुखुरा पालेर तिनका चल्ला र हाँसजस्ता मानवेतर पात्रमार्फत सन्ततिप्रति आमाको ममता दर्शाउन सफल कारुणिक कहानी छ ।
‘सेवक’ मा असहाय व्यक्ति र प्राणीहरूको निस्वार्थ सेवा गर्ने युवक जसमार्फत जिन्दगीको ऊहापोह प्रष्ट्याइएको छ । ‘सेता फूलहरू’ प्रेमकथा हो । यसमा एक विधवा र लाटो मालीबिचको अव्यक्त र हृदयको प्रेमको हृदयस्पर्शी वर्णन छ । ‘अनि त्यसपछि’ मा सम्बन्धविच्छेद गरेर साथै फर्केका निवर्तमान पतिपत्नी अभावमा बाँचेका गरीब दम्पतीको साँचो माया पिरती देखेर पछुताउन लागेको हो कि हो कि जस्तो सुन्दर कहानी छ । ‘छिमेकी बा’ शीर्षकको कथामा शहरमा अवस्थित मुण्डेघर, द्वन्द्वमा अभिभावक गुमाएकी टुहुरी कान्छी, अतृप्तिका साथ बाँचेका छिमेकी बा र एक साँझ घुम्दै आइपुगेको लाटोबिचको मर्मस्पर्शी दुखान्त कहानी छ ।
‘मेटिएको अङ्क’ फ्ल्याशब्याक शैलीमा लेखिएको सशक्त कथा हो । छोराबुहारीले हेलाहोचो गर्नाले दुखित भई आत्महत्या गर्न गएको गरीब पति आफ्नी पत्नीलाई सम्झेर फर्केको मार्मिक कथा छ । ‘ओछ्यान’ जवानीमा शरीर बेच्न विवश सुन्तली र कुनै बेलाको उसैको ग्राहक सन्ते कालक्रममा साधु बनेको र सन्तेको अन्त्येष्टि हेरेर फर्केकी सुन्तलीको मनोदशा वर्णित छ ।
अन्तिम कथा ‘अव्यक्त तारा’ मा प्रकृतिको मनोहर चित्रण छ । जातपातको कारण बिहे हुन नसकेका बूढी हजुरआमा र हजुरबाको पवित्र प्रेमकहानी बोकेको यो कथा जीवन्त छ ।
कथाका विषयवस्तुमा मनोविज्ञान, सामाजिक विकृति, विसङ्गति, लैङ्गिक विभेद, अध्यात्म, यौन र प्रेम आदिको बहुलता छ । सामाजिक परिवेश र घटनाबाट टिपिएका अधिकांश कथानक यथार्थपरक र विश्वसनीय देखिन्छन् । भाषाशैली रोमाञ्चक, रोचक र सरस छ । शहर, गाउँ र मधेश कताका कथा हुन् भनेर छुट्याउन त सकिन्छ तर स्थान विशेष पहिल्याउन सकिन्न ।
धेरै कथा वियोगान्त र दुखान्त छन् । आकारका दृष्टिले विद्रोह, सिमेन्टको डर, त्यो कुटी, पातालप्यास, दुलही र ओथारो छोटा कथा हुन् । विचारका हिसाबले अधिकांश कथाहरू यथास्थितिमै रुमलिएका जस्तो लाग्छ (अपवाद विद्रोह) ।
कथासंग्रह पढ्न शुरु गर्दा समाजलाई अग्र गति तर्फ लैजाने किसिमका प्रगतिशील कथाहरूको अपेक्षा जुन थियो त्यो पूरा भएन । यद्यपि कथामा प्रयुक्त मनमोहक भाषाशैली, जीवन्त संवाद, पाठकलाई निरन्तर डोर्याइरहने शक्ति, विषयमा नवीनता र अब होला के भन्ने उत्सुकताले वैचारिक अस्पष्टतालाई बिर्साइदिन्छन् ।
भाषामा पकड, शैलीमा मिठास, चरित्र चित्रण र दृश्य निर्माणमा अब्बल कथाकार पवित्रा अधिकारीका अधिकांश कथामा काव्यात्मकता र निबन्धको विशिष्ट स्वाद पाइन्छ । नेपाली कथा साहित्यमा आफ्नो फरक छाप छोड्न सफल ‘देह उत्सव’ र कथायात्री पवित्रा अधिकारीलाई सिर्जनात्मक जिन्दगीको शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










