१. मदनदेव भट्टराई- व्यक्ति र कृति
नेपाली साहित्यमा मदनदेव भट्टराईको नाम पनि आदरका साथ लिइन्छ । उनले धेरै वर्षसम्म रत्नश्री पत्रिका र पुरस्कार सञ्चालन गरेका थिए । उनी एक साहित्यिक पत्रकार-सम्पादक कवि, नाटककार, निबन्धकार र कथाकार हुन् । उनको जन्म २२ गते कार्तिक, १९८५ मा भएको हो । उनले राजनैतिक विज्ञान र आधुनिक इतिहास विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका थिए ।
उनका प्रकाशित पुस्तकहरूमा मदनदेव भट्टराईका केही कथाहरू (कथासङ्ग्रह), मदन बाटिका (गीतसङ्ग्रह), जीवनस्मृति (महाकाव्य), मदनदेव भट्टराईका संस्मरणहरू, कायाकल्प (महानाटक), समयको प्रतिविम्ब (कवितासङ्ग्रह), दृश्य र द्रष्टा (हास्य व्यङ्ग्य), रत्नपार्क (उपन्यास) आदि हुन् ।
नेपाली साहित्यमा किसिम किसिमका विषयवस्तु भएका उपन्यासिकाहरू प्रकाशित भएका देखिन्छन् । प्रेमका विभिन्न रूपलाई अधिकांश उपन्यासिकाका विषयवस्तु बनाइएको पाइन्छ । विभिन्न विषयवस्तुका सामाजिक उपन्यासिका, ऐतिहासिक, पौराणिक, मनोवैज्ञानिक उपन्यासिकाहरू प्रकाशित हुँदैआइरहेका छन् । बाल मनोविज्ञान, युवा मनोविज्ञान, यौन मनोविज्ञान, नारी मनोविज्ञान हुँदै वृद्ध मनोविज्ञानमा समेत उपन्यास देखिन आएका छन् । यस्तै बुढ्यौली संवेदनालाई मूल विषयवस्तु बनाएर लेखिएको उपन्यासिका भने मदनदेव भट्टराईको रत्नपार्क हो । उनले आफ्नो जीवन नै साहित्यलाई नै समर्पित गरेको बुझिन्छ ।
० ० ० ०
२. जीवनको पछिल्लो भाग बुढेसकाल
मानव जीवनको पछिल्लो अवस्था वृद्धावस्था अत्यन्तै दयनीय कारुणिक र रोगग्रस्त हुने बेला हो । यस अवस्थामा मान्छे रोगले सताइएको, स्याहारबाट वञ्चित भएको आदि अवस्था देख्न पाइन्छ । यस कालमा जीवन धेरै कष्टकर हुन्छ । विभिन्न रोगले चापेका हुन्छन् । आर्थिक समस्यामा जुधिरहेका हुन्छन् । परिवारका सदस्यहरूमा असहयोग, बिस्याहार, अवहेलना, मानसिक अन्तराल, बेवास्ता, एकलपन आदिले ग्रस्त बनेको हुन्छ ।
बुढ्यौली अवस्थामा शारीरिक मानसिक, आर्थिक, सहारा र सहयोग चाहिन्छ । यस्तो बेलामा आफूले जन्माइ, हुर्काइ, बढाइ र सक्षम बनाइको आफ्ना सन्तानबाट नै आशा गरिन्छ । यद्यपि नोकरीका निम्ति आफ्ना छोराछोरी उपस्थित हुँदैनन् । उपस्थित भए पनि छेउ नपर्ने, उल्टा धनको माग गर्ने स्थिति देखा पर्दछ । हाम्रो पूर्वीय देशहरूमा आफ्नो बुढा-बुढी भएका आमा बाबुलाई वृद्धाश्रममा लगेर राख्ने संस्कार छैन । यद्यपि भित्र भित्र भने वृद्धावस्था पुगेपछि मानिस लाचारको स्थिति छ ।
अहिलेको समयमा त झन् नेपालमा युवापुस्ता जति विदेशतिर पलायन हुने स्थिति छ । घरघरका युवाहरू काम दाम मामको खोजीमा विदेश पलायन हुने गर्दछन् । यसो हुँदा नेपालका घरघरै वृद्धाश्रम जस्ता बनेका छन् ।
घरमा रहेका बाबु-आमाको दयनीय अवस्था देखिन्छ । स्वार्थी सन्तान र आफन्तहरू सम्पत्ति र बल तागत छउन्जेल मात्र छेउछाउ रहन्छन् । सम्पत्ति र बल तागत सकिएपछि सबै परपर हुनेछन् । यसैलाई रत्नपार्क उपन्यासिकामा झल्काइएको छ ।
० ० ० ०
३. रत्नपार्क उपन्यासिका कि उपन्यासिका ?
रत्नपार्क उपन्यासिकामा थोरै पृष्ठहरू र घटनावली भएकाले यसलाई उपन्यासिका नै मान्न सकिन्छ । पचास पृष्ठ रहेको यस उपन्यासमा जम्मा नौ वटा ससाना परिच्छेदहरू र प्रत्येक परिच्छेद पाँच छ वटा जति पृष्ठ रहेका छन् । यसमा प्रयुक्त फन्ट र सेटिङ मिलाएर राख्ने हो भने यसका पृष्ठहरू अझ घट्ने छन् । यसको आयाम छोटो छ, यसमा कथावस्तु छोटो छ, पात्रहरू थोरै छन्, परिवेश र अन्य संघटक तत्त्वहरू पनि थोरै छन् । यसमा जीवनको पछिल्लो भाग वृद्धावस्थामा मान्छेको वास्तविक अवस्थाको मार्मिक वर्णन छ । अतः यसलाई उपन्यासिका भन्न मिल्छ । यसमा कथावस्तु छोटो छ । उपन्यासिका एक बसाइमा पढिसकिन्छ । आख्यानको कालावधि लगभग दुई चार महिना जतिको मात्रै छ । यसलाई उपन्यासिका नै मान्न सकिन्छ ।
० ० ० ०
४. औपन्यासिक तत्त्व-
रत्नपार्कमा रहेका औपन्यासिक तत्त्वहरूका आधारमा समीक्षा गर्न सकिन्छ । यसका औपन्यासिक तत्त्वहरू जस्तै कथावस्तु र वस्तुयोजना, पात्रविधान, परिप्रेक्ष्य, परिवेशविधान, भाषा र शैली जस्ता तत्त्वहरूका आधारमा यसको अध्ययन गर्न सकिन्छ । घटनाप्रधान भएकोले यसमा कथावस्तु रैखिक ढाँचामा रहेका छन् भने घटनाहरू चाँडो चाँडो घटेका छन् ।
यसका मुख्य गरी पात्रहरू चार जना वृद्ध पुरुषहरू रहेका छन् । यसमा पात्रहरूले आ-आफ्ना वृद्धावस्थाबारे विचार व्यक्त गरेका छन् जसद्वारा उनीहरूको पीडा अघि सारेका छन् । यसमा परोक्ष र प्रत्यक्ष रूपमा चरित्र चित्रण गरिएको छ । यसमा बाह्य र आन्तरिक दुवै प्रकारले परिवेशको सङ्केत गरिएको छ । यसमा रहेका केही औपन्यासिक तत्त्वहरूको संक्षिप्तमा चर्चा गरिने छ ।
४.१. कथावस्तु योजना- यसको कथावस्तु छोटो भए पनि सघन छ । यसमा चार जना बुढाहरूको बुढेसकालका शारीरिक, मानसिक आर्थिक कठिनाइ, पीडालाई उपन्यासिकाको मूल विषयवस्तु बनाइएको छ । यस उपन्यासिकाको मूल भाव नै कारुणिक छ । बुढेसकालमा मानिसको दयनीय अवस्थालाई नै यसको केन्द्रीय विषय बनाइएको छ ।
यसमा पात्रहरूको जीवनको बुढेसकालका कारुणिक अवस्थाको चित्रण पाइन्छ । प्रधान बाबुले जीवनमा जति धन कमाए पनि बुढेसकालमा आफ्नो छोराछोरी कोही विदेशमा र कोही घरमै भए पनि अयोग्य र हेरचाह नगर्ने खालका छन् । छोरीहरू पनि उस्तै स्वार्थी निस्के । बुढेसकालमा छोरीको सेवा सुश्रुषाको अभावले नोकरको भर पर्नुपर्ने देखिएको छ । अर्को पात्र गोबिन्द केसी पनि स्याहार नपाएर कारुणिक अवस्थामा पुगेको छ । न्यायाधीश पनि छोरीछोरीको स्याहारदेखि वञ्चित भएको अवस्था छ । आफ्नो शरीरमा बल-ताकत छउन्जेल मात्र आफ्नो स्याहार पुग्ने नत्र असक्त हुँदाको कारुणिक अवस्था भएको देखाइएको छ ।
गुरुङ बाबु रत्नपार्कमा एक्कासि लड्दा अरूले रमिता मात्र हेरेका थिए, कोही अघि सरेर अस्पताल पुर्याउने आँट र र झमेला गरेका थिएनन् । त्यहीँ छेउमा बसिरहेका तीनजना बुढाहरूले भने उसलाई गाडीमा हालेर हत्तपत्त अस्पताल पुर्याइ प्राथमिक उपचार गर्न सहयोग गरेका थिए । यहीँबाट कथा शुरू भएर प्रधानबाबूलाई मर्ने बेला नभई जिउँदैमा आर्यघाट ल्याएर मृत्यु कुरेर बसेका थिए ।
चार जना बुढाहरूमध्ये प्राध्यापक गोविन्द केसी, न्यायाधीश पुडासैनी आदिको मुटुको आघात भएर नै मृत्यु भएको उल्लेख पाइन्छ । प्रधान बाबु नमरी तर अधमरो अवस्थामा ब्रह्मानलमा राखिएको छ । उसको नाडी चल्दै गर्दा, सचेत भएका प्रधानबाबुलाई त्यसरी लामो समयदेखि राख्दै आउनु पनि सन्तानको मानसिकता झल्काउँछ । त्यसबारे एउटा मान्छेको टिप्पणी छ- “मर्ने बेला नै नभई घाटमा ल्याए जस्तो छ- आफन्तहरूले । शायद, सम्पत्ति चाँडै हात पार्ने हडबडले होला” ।
देशमा आमा बाबुको पाल्ने संस्कृति अब बिस्तारै च्युत हुन लागेको स्थिति बन्दो छ । उपन्यास लेखनकाल रहेको त्यस्तो स्थिति अहिले पच्चीस वर्षपछि झन् बिग्रँदो छ । देशका युवा घरका बुढा बाबु आमा छोडेर परिवार लिएर बिदेसिँदै जाँदो क्रम झन् बढेको छ ।
देशका युवा पुस्ता विदेश जाने क्रम बढेको हुँदा घरका आमा बाबु घरमा कारुणिक स्थितिमा रहेका हुन्छन् । ती असहाय वृद्धहरूको मानसिक अवस्थालाई जनाउनु नै उपन्यासिकाको मूल कथावस्तु रहेको छ । बुढेसकालमा श्रीमतीहरू बितेपछि बुढो लोग्नेमान्छेको बिजोक हुन्छ । तीनैजनामा दुई बुढाहरूका श्रीमतीहरू बितिसकेका हुनाले छन् भने प्रधान बाबूकी श्रीमती बाथको बिमारले लाचार अवस्थाकी छ । यसर्थ तीनजना कारुणिक अवस्थामा पुगेका छन् ।
४.२. पात्र योजना–
यस उपन्यासिकामा मुख्य गरी तीन पात्र र केही सहायक पात्र र गौण पात्र रहेका छन् । तीनजना वृद्ध पात्रहरू दैनिक रूपमा रत्नपार्कमा बसेर आफ्ना आफ्ना मनका पीडा पोख्ने गर्दछन् । सधैँझैँ बेलुकीपख बुढाहरू बसेर गफ गरेका बेला एउटा मानिस लडेको आवाज सुनिहेर्दा अर्का एउटा वृद्ध मानिस देख्दछन् । तीन वृद्धले तीन मुर्छित वृद्धलाई हत्तपत्त वीर अस्पताल लगेर भर्ती गरिदिन्छन् । मङ्गलदास प्रधान, टंक पुडासैनी, गोबिन्द के सी र गरी तीनजना मुख्य पात्रहरू रहेका छन् ।
उपन्यासको कथावस्तुअनुसार केन्द्रीय पात्र भने मङ्गलदास प्रधान हुन् । गुरुङ बाबूको स्थिति झन् दयनीय थियो । गुरुङले जीवनकालमा कमाएको धन धुत्न नेताहरूले राजनैतिक लाभ दिने प्रलोभनले लुटेका, पैसा मासिदिएको कुरा आक्रोशका रूपमा व्यक्त गरिएको छ ।
यसमा सबैभन्दा बढी मङ्गलदास प्रधानमाथि बढी केन्द्रित रहेको छ । उसको मानसिकता, कारुणिक अवस्था, पारिवारिक स्थिति, बुढेसकालको अन्तिम चरणसम्म नै उपन्यास केन्द्रित रहेको छ । यसमा सरोज भन्ने पात्र पनि छ जो गोविन्द केसीको चेलो हो जसले आफ्नो गुरुलाई साँच्चै वास्तविक मान सम्मान र श्रद्धा गर्दछ । आफ्नो गुरुले लेखकेको लेखोटलाई पुस्तकका रूपमा प्रकाशित गरिदिएर आफ्नो गुरुदक्षिणा चढाउँछ । आफ्नो पुस्तक प्रकाशित भएर आफूले जीवनको अन्तिम समयम भए पनि खुशी र सन्तोक लिन पाउँछ ।
उपन्यासिकामा दुई खाले स्वभावका पात्रहरूको परिकल्पित गरिएको छ- सकारात्मक र नकारात्मक चरित्रका । यसमा मूल तीन जना मूलतः सकारात्मक चरित्रका देखिन्छन् । यी तीनबाहेक मास्टर गोबिन्द केसीको चेला सरोज, गुरुङ बाबु मुख्य गरी सकारात्मक छन् । सरोजले आफ्नो गुरु गोविन्द के सीले लेखेको तर प्रकाशित गर्ने आर्थिक ल्याकत नभएको हुँदा गुरुदक्षिणाका रूपमा प्रकाशित गरिदिएको छ । आफ्नो जीवनको अन्तिम कालमा भए पनि आफ्नो गुरुको पुस्तक प्रकाशित भएको देख्दा के सीले साँच्चै आत्मसन्तोष गर्न सकेको छ ।
गोविन्द केसी शिक्षक हुनाले धेरैजना विद्यार्थी कमाएको, घरमा पनि निःशुल्क रूपमा ट्युसन पनि पढाइदिने गरेको हुनाले उ धेरै विद्यार्थीबिच लोकप्रिय देखिन्छ । न्यायाधीश टङ्क पुडासैनीको विगत भने सकारात्मक थिएन । उसले थोरै पढे पनि विभिन्न युक्तिले न्यायाधीशसम्म भएको थियो । पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको थियो । तर बुढेसकालमा आएर उ पनि लाचार छ । उसलाई पनि स्याहार्ने, हेरचाह गर्ने कोही भएनन् । उसको पनि दुःखद मरण हुन्छ ।
तीन मुख्य पात्रबाहेक गुरुङ बाबु, उसको भानिज, अस्पतालमा डाक्टर र नर्स, पुडासैनीको नाति, मङ्गलदासको नोकर गोपाल, गोविन्द केसीको विद्यार्थी सरोज आदि मञ्चीय पात्र हुन् । प्रधान बबूका छोरा-बुहारीहरू, छोरी-ज्वाइँहरू, टङ्क पुडासैनीका परिवार, गोविन्द स केसीकी श्रीमती र छोराछोरी, अस्पतालका कर्मचारीहरू, गुरुङ बु लड्दा हेर्ने रमितेहरू, प्रधानबाबूलाई पशुपति ब्रह्मनलमा राख्दा हेर्न आउनेहरू, उसको अवस्थामा टिप्पणी गर्नेहरू यसका नेपथ्य र साङ्केतिक पात्र-पात्रा हुन् । उपन्यासिकाको आयाम अनुसार यी पात्र-पात्राहरूको सङ्ख्या धेरै नै मान्न सकिन्छ ।
४.३. परिप्रेक्ष्य–
रत्नपार्क उपन्यासिकामा मूलतः दुई किसिमले परिप्रेक्ष्य (दृष्टिविन्दु) को अङ्कन गरिएको छ । यसमा मूलतः तृतीय पुरुष दृष्टिविन्दुमा रचिएको छ । प्रधानबाबुको अधिक भूमिका हुनाले उसलाई दृष्टिकोण पात्र मान्न सकिन्छ । उसको मानसिक अवस्था, उदारता आदर्शतामाथि मूल रूपमा उपन्यासिका अघि बढेको छ । यसका दृष्टिविन्दु पात्र नै प्रधानबाबू हुन् । उसैमाथि उपन्यासकारको दृष्टि बढी रहेको छ । उनफन्यासको पछिल्लो भागमा प्रधान बाबुको रोग र बिस्याहारले जीर्ण अवस्थाको वर्णनमा केन्द्रित छ । उनको मनमा उब्जेका उत्कण्ठा, तृष्णा, विक्षोभ, स्मृति, निवृत्ति सबै देखेको छ । मनभित्र उब्जेका कुरा पनि लेखकले जानेको जस्तै गरी उतारिएका हुनाले यसमा सर्वज्ञ दृष्टिविन्दुको प्रयोग पाइन्छ ।
४.४. परिवेश विधान–
यस उपन्यासिकाको परिवेश भने काठमाडौँभित्र रहेको छ । त्यहाँको रत्नपार्कको मूल परिवेश देखाइको छ । बाह्य परिवेशमा काठमाडौँको रत्न पार्क, सिनामङ्गल, आदितिरको यसमा स्थल वर्णन गरिएको छ । आन्तरिक परिवेशमा काठमाडौँ शहरभित्रको खोक्रो मानसिक, आडम्बरी प्रवृत्ति, निर्ममता, मानवीय संवेदनशीलताको अभाव आदिलाई देखाइएको छ ।
घरमा वृद्ध बाबु-आमालाई बिजोक बनाउने, आफ्ना आमा-बाबुलाई स्याहार नगर्ने छोराछोरी, वृद्ध बाबु आमालाई घरमा राखेर विदेश जाने, विदेशबाट पैसा पठाएर स्याहार गरेको ठान्ने मानसिकता देखाइएको छ । यसमा बाह्य परिवेश र मानसिक परिवे दुवै देखाइएको छ । यस स्वार्थी संसारमा आफू सक्षम, बल तागत र धन भएका बेला मात्र परिवारका अन्य सदस्य, छोराछोरी, भाइ-भतिजा जस्ता आफन्त कोही काम लाग्दैनन् । बुढाहरूको संवेदना, पीडा, विक्षोभ, करुणा, सहयोगिता आदि यसको आन्तरिक परिवेश हुन् ।
४.५. भाषा र शैली-
यस उपन्यासिकाको भाषा र शैली सामान्य छ । सामान्य भाषामा घटनावर्णन गरिएको छ । त्यस्तो चमत्कारिक शैली र भाषाको प्रयोग पाइन्न । यस उपन्यासिकामा प्रयुक्त भाषालाई सरल, सुगम र सुबोध र सरस नै मान्न सकिन्छ । उपन्यासिकाको विषयवस्तुलाई बयान गर्ने भाषा र पात्रगत भाषामा खासै भिन्नता छैन । यो उपन्यासिका पढ्दा पाठकले सजिलोसँग बुझ्नु सक्छ । कथावस्तु सुमधुर र धाराप्रवाह अघि बढेको छ । उपन्यासिकामा भूमिका र विवरण पक्ष नराखेर सोझै कथारेखा धाराप्रवाह रूपमा अघि लगिएको छ । यसमा लेखकीय भाषा र पात्रगत भाषा अलगअलग नभएर एकै छन् । बीच बीचमा संवाद योजना पनि गरिएको छ ।
४.६. औपन्यासिक संरचना–
रत्नपार्कलाई आयामको आधारमा उपन्यासिका मान्न सकिन्छ । यसमा साना साना गरी नौवटा परिच्छेद रहेका छन् । यो एक बसाइ नै पढिसिद्धिन्छ । यसो एक परिच्छेदमा तीनदेखि चार पृष्ठ रहेका छन् । थोरैमा धेरै भनिएको संश्लिष्ट कथावस्तु बनेको छ । प्रत्येक परिच्छेदका बीच घटना शृङ्खला जोडिएको छ । घटनाहरू द्रुत गतिमा अघि बढेर कथावस्तुलाई संश्लिष्ट र सघन बनाइएको छ । यद्यपि उपन्यासको बनोट र बुनोट भने कमजोर नै पाइन्छ । यसमा घटनाको कार्य र कारणको संयोजन उति मिलेको छैन । उपन्यासको कार्यकारण सम्बन्ध उति मिलेको छैन । मूल घटनाहरूको शृङ्खला भने चाँडो चाँडो अघि बढाइएको छ जबकि प्रधान बाबूको मानसिक अवस्थाको भने विस्तार गरिएको छ ।
० ० ० ०
५. उपन्यासिकाको उद्देश्य कथन-
यस उपन्यासिकामा लेखकले केही सन्देश अभिव्यक्त गर्ने उद्देश्य राखेका छन् । यसमा मान्छेले आफ्नो बल बैंश र समय हुँदा जस्तो बुढेसकालमा हुँदैन । यसकालमा भने जीवन कष्टकर हुन्छ । जीवनमा कमाएका धन वैभव, जन शक्ति आदि सबै बुढेसकालमा मलिन हुँदै हुन्छन् र लाचारीको अवस्था आइपुग्छ । यसकारण जवानी र बेलैमा जीवनभोग गर्नुपर्दछ । प्रधानबाबु भने आफू पसल र व्यापारले निकै सम्पन्न थिए तर जीवनको अन्तिम चरणमा भए सन्तान भएर पनि एक्लो, धन भएर पनि सन्तानको सेवाबाट विमुख हुनुपरेको कुरालाई सन्देशका रूपमा प्रस्तुत गरिएको छ ।
मानिसको जीवनको वृद्धावस्था अत्यन्तै कष्टदायक हुनाले त्यसका निम्ति मानसिक रूपमा आफैँ तयारी गरी बसेको हुनपर्छ । घरकी श्रीमती बितिसकेपछि परिवारका अन्य सदस्य पनि बाउँटिन थाल्छन् । जीवनलाई सुखमा मात्र नलिएर दुःख पनि सहजै ग्रहण गर्न तयारी बस्नुपर्छ, बलबुता छउन्जेल सत्कर्म गर्नुपर्दछ, उपकार सद्व्यवहार गर्नुपर्दछ भन्ने परोक्ष सन्देश पनि दिइएको छ । तीनजनाको बेग्लाबेग्लै पेशा भए पनि शिक्षणको पेशा अपनाउने के सीको अवस्था भने केही सन्तोषजनक रहेको छ ।
० ० ० ०
७. उपसंहार :
यसरी हेर्दा मदनदेव भट्टराईको रत्नपार्क उपन्यासिकामा मानिसको बुढ्यौली अवस्थाको कारुणिक अवस्थालाई विषय-वस्तु बनाइको छ । यसमा मुख्य गरी चारजना वृद्ध पात्रहरूको माध्यमबाट आम मानिसको वृद्धावस्थाको रेखाङ्कन र लिप्याङ्कन गरिएको छ । यस किसिमको विषयमा आधार गरिएको सम्भवतः यही उपन्यासिका हो ।
यसलाई सामान्य उपन्यासकै रूपमा पनि सिर्जना गर्न सकिने ठाउँ थियो तर लेखकले यसलाई छोटो रूपमा नै प्रस्तुत गरेका छन् । यसमा बुढेसकालको लाचारी कारुणिक अवस्था लाई यथार्थलाई प्रस्तुत गरिएको छ ।
तल्लो बम बस्ती, कालिम्पोङ, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।