वर्तमान साहित्यलाई मूल्याङ्कन गर्दा—अत्यन्तै चल्तीमा आएको छ—नियात्रा-यात्रा संस्मरण । उही ठाउँमा, एकै भूमिमा अबको मानिस स्थिर छैन । भूमण्डलीकरणले जगत् चलमलाएको छ । प्रविधिले एउटा अभेगको मानिसलाई छिनभरमा कहाँ पुर्‍याउँछ । यसरी ऊ आवागमन हुने गर्छ । त्यो यायावरीय चेतनाको पहिलो प्रभाव उसको जीवनशैली त्यसपछि साहित्य, सङ्गीत, कलामा पर्दै आएको देखिन्छ ।

अबको साहित्यमा यात्रा नपसेको शायद कुनै विधा छैन । निबन्ध, कथा, उपन्यास सबै सबैमा । त्यस्तै कुनै एउटा विधा अब विशुद्ध विधा हुन सक्दैन । कथा-कथा जस्तो मात्रै हुँदैन । त्यो कविता जस्तो पनि हुन सक्छ, निबन्ध जस्तो, संस्मरण जस्तो, नाटक जस्तो । अरू केके थोक जस्तो । यो कुरा समीक्षक समालोचकले बुझ्नु पर्ने समय आएको छ कि— कुनै विधाको एउटा कृतिलाई यही हो भनेर किटान गर्न नमिल्ने भएको छ । प्रमुख विशेषताको आधारमा कुन विधाको नजिक छ भनी खोट्याउनु समालोचकको—साहित्यिक चेतना-धर्मिता हो ।

साहित्यमा कला पक्षको विश्लेषण, घटना विषयवस्तुको विश्लेषण, वैचारिक तथा वाद-सिद्धान्तको विश्लेषण, भाषा प्रस्तुतिको विश्लेषण गर्नु—उत्तम, मध्यम, अधम के हो त्यो निर्क्योलमा पुग्नु नै अहिलेको समालोचकीय दायित्व हो । कुनै विधाको फ्रेममा राखेर, तौलिएर, विधागत परिभाषा भित्र पर्‍यो परेन भनी मूल्याङ्कन गर्ने समालोचकको अब काम छैन । सकिन्छ भने बरु त्यस कृतिको रिक्तता खोज्ने हो । समालोचनालाई शुष्कताबाट जोगाएर साहित्यिक पठन गर्दाको अनुभूति दिन सकियोस् । कम्तीमा त्यो समालोचनात्मक आलेख स्वयं समालोचकको एउटा सिर्जना बनोस् ।

एउटा पाठकलाई पुस्तक परिचय, विधागत महत्त्व जान्नु मात्रै उसको अपेक्षा होइन । समालोचना पढेर त्यस कृतिको संरचनात्मक अवधारणा पहिल्याउन उसलाई आवश्यक छैन—जति आवश्यक उसलाई त्यसबाट आनन्द लिनु हो, विषयवस्तुगत जानकारी हुनु हो । तथापि समालोचनात्मक ज्ञान लिनु होइन । त्यसो हुँदा समीक्षा समालोचना जति सक्दो साहित्यिक हुनुपर्छ भन्ने अहिले नवीन धारणा आएको छ । समीक्षा समालोचनाको पनि यसरी विधा भञ्जन हुन थालेको छ—समालोचना समालोचना जस्तै हुनुपर्छ भन्ने छैन । निर्माण-नव निर्माण-विनिर्माण हुँदै केके थोक समयले माग गरेको छ ।
साहित्यकार विष्णु एस राईकृत ‘नौ डाँडापारि’ यात्रा संस्मरणात्मक नियात्रा त्यस्तै एउटा कृति हो । जसलाई नियात्रा मात्र हो भन्न सकिँदैन । प्रस्तावनामै उनले भनेका छन्, “मैले जापानमा प्रचलित हाइबुन शैली अपनाएको छु—जसमा गद्य र पद्य दुवै मिसिएका हुन्छन् ।”

सर्जक राई आख्यानकार, निबन्धकार, नियात्राकार त यसै पनि हुन् । प्रथमतः म उनलाई कवि भनेर जान्दछु । उनको कवित्व चेत अन्य विधामा पनि म उतिकै पाउँछु । उनको नौ डाँडापारि’मा कविता मात्रै पसेको छैन, आख्यान पनि घुसेको छ । कहिलेकाहीँ उनी काल्पनिक हुँदा लेख आख्यानक बनिदिन्छ । उन्मुक्त, स्वतःस्फूर्त शैलीमा कविता इतर सिर्जनामा पनि कविताकै मिठासको अनुभव हुन्छ ।

प्रथमतः ‘नौ डाँडापारि’मलाई कवि राईकै पर्याय लाग्छ । त्यसपछि संस्मरणकार राईको पर्याय लाग्छ । आख्यानकार राईको पर्याय लाग्छ । अनि त्यस उता ठ्याक्कै शब्द दिन नसकिएको अरू केही थोक लाग्छ । त्यो कलात्मक, अभिव्यञ्जित नियात्रा—प्रेमिल आख्यानले जस्तै तानिरहन्छ । आख्यान नभएर, प्रेमको विषय नभएर पनि ।
थोरै बोल्ने मित भाषी राई—कम्ती शब्दले आफ्ना अभिव्यक्तिलाई पूर्णता दिन सिपालु छन् । तौलिएर शब्द चयन गर्ने उनी भाषा—मितव्ययी स्रष्टा हुन् ।

तेह्र वटा आलेख सङ्गृहीत नौ डाँडापारि’मा विविध देशका यात्रा रहेका छन् । युरोपियन मुलुक, दक्षिण एसियाली मुलुक, छिमेकी भारतको नयाँ दिल्ली, सिलगुडी हुँदै गुवाहाटी, तेजपुर पुगेर यात्रा टुङ्गिन्छ । अध्ययन, अनुसन्धान, सभा, सेमिनार तथा कार्यपत्र प्रस्तोताका रूपमा निमन्त्रित हुँदा लेखक ती ठाउँमा पुगेका छन् । यात्राकै लागि गरिएका यात्रा ती होइनन् । दीर्घ आकारका यी रचना सबै फरक-फरक भूमिका छन् ।  केही यात्राभूमि दोहोरिएका छन्—जस्तो जर्मनी लेखक पाँचौँ पटक पुगेका छन् ।

सन् १९९४ बाट सुरु भएको यात्रा २०१६ मा आखिरी हुन्छ । भ्रमण मितिका आधारमा रचनालाई क्रमिकता दिइएको छ । उच्च शिक्षाको लागि मरे हाउस एडिनबरा विश्वविद्यालयमा  एम.ए. टिसोल गर्न लेखक बेलायत गएका छन् । यो नै उनको पहिलो विदेश यात्रा रहेको छ । अविकसित मुलुकको एउटा अङ्ग्रेजी प्रोफेसर प्रविधि सुलभ रिमझिममा—आश्चर्य मिश्रित जटिल अनुभूतिसँगै ‘आफू अहिले बेलायतमा छु’ भन्ने यथार्थलाई विश्वास गर्नै सक्दैनन् । त्यहाँ आफ्नो उपस्थिति उनलाई एकदमै अप्रत्याशित लाग्छ । उनको इमानदारीले यात्रा संस्मरणलाई विश्वसनीय  बनाएको छ, चाखलाग्दो बनाएको छ, विश्वसनीयता र प्रत्यक्षताले पाठक स्वयं यात्रामा छु जस्तो तन्द्रा उत्पन्न गरेको छ ।

हर्ष, विस्मय, अकिञ्चन भाव, सन्देह, सङ्कोच, उत्सुकतामा राईलाई त्यहाँको जीवनशैली अद्भुतको लाग्छ । ढोका आफैँ उघ्रिँदा, बन्द हुँदा आश्चर्यमा पर्छन् । त्यहाँको पठन संस्कृति र हरेक आवासमा लाइबेरी देख्दा गोराहरूको सभ्यताप्रति श्रद्धावान् हुन्छन् । सम्भ्रान्त मुलुकको मेसिनरी दैनिकीमा उनी अभ्यस्त हुँदै जान्छन् । एटिएम कार्ड उनले पहिलो चोटि त्यहीँ देख्छन्—अचम्म पर्छन् । खैरेहरूको शिष्टता, शालीनता, सभ्यताले अवाक् हुन्छन्—अरू बढी उदास हुन्छन्—आफ्नो देशको असङ्गत अवस्था, विसङ्गत र अस्थिर राजनीति, बढ्दो सङ्कट र विषम परिस्थिति सम्झिएर ।
सुरु सुरुमा पाउण्डलाई नेपालीमा अनुवाद गर्दा लेखकलाई एउटा समोसा खाने आँट पनि आउँदैन । बरु भोक पालेर गोजी छाम्छन् । आरम्भका दिनमा प्रायः सबैलाई यस्तै हुन्छ, शायद । अन्य स्रष्टाका रचनामा पनि मैले यस्तै केही अनुभव पाएकी छु ।

दर्शनीय स्थलहरू क्यास्ल, सेन्ट गाइल्स कथिड्रल, एडिनबरा-जु, रोपल म्युजियम, नेशनल ग्यालरी अफ स्कटल्याण्ड जस्ता ठाउँहरू लेखक एक्लै घुम्छन् । अपरिचित ठाउँ एउटा म्यापको सहायतामा यसरी घुम्न उनलाई बडो आनन्द लाग्छ । साँच्ची नै  उनी टुरिस्ट भएका छन् । एउटा जिज्ञासु यात्री—सूक्ष्म सौन्दर्य बोध गर्न सक्ने उनी एक प्रकृतिप्रेमी स्रष्टा हुन् । उनमा एउटा सूक्ष्म कलात्मक दृष्टि छ ।

प्रसिद्ध ऐतिहासिक ठाउँ, प्राचीन तथा मिथकीय चरित्र अनि ऐतिहासिक घटना घटेको स्थल— भ्रमणमा कवि काल्पनिक हुन्छन् । सुषुप्त अवस्थामा पुगेर विगतको इतिहास पुनः घटाउँछन् र आफू प्रत्यक्षदर्शी हुन्छन् । स्कटल्यान्ड र इङ्ल्यान्डबीच युद्ध भएको कुलोडेनमा उनी त्यसरी प्रत्यक्ष युद्ध भोगेको अनुभूत गर्छन्—मनोलोकमा । विदेशी संस्कृति र त्यहाँका मानिससँग रत्तिएर उनी केही नयाँ कुरा सिक्न चाहन्छन् ।

साहित्यकार राई बडो उत्सुक स्वभावका छन्—नवीन कुरा केही छुट्छ कि सचेत छन् । त्यही सचेतताले कृतिमा पाठक लाभान्वित हुन्छ—नौलो कुराको जानकारी पाइरहन्छ ।

बहु मुलुकको भ्रमण अनुभूति गरिएको नौ डाँडापारि’मा विषय विविधता छ । त्यस भूमिको परिवेश, जीवन पद्धति, सामाजिक, आर्थिक, ऐतिहासिक धेरै कुरा छन् । स्रष्टा धेरै कुरामा जानकार छन् । यो कृति एकै देशको मात्र—यात्रा संस्मरण हुन्थ्यो भने विषय व्यापकता ठूलो हुने थिएन । दृश्यमा विविधता आउने थिएन ।

प्रखर संवेदना भएका कवि राईका विचार, अनुभूति र भावनाहरू नछुट्टिने गरी एकाकार भएका छन्  । उनी आफ्नै  भोगाइबाट स्वतन्त्र अवधारणाको आविष्कार गर्छन् । दिल्ली दर्शनमा भारत वर्षका मिथकीय चरित्रलाई उनी फेरि ब्युँझाउँछन् । महाभारतको युद्ध रोक्ने हेतुले  श्रीकृष्णले पाण्डवहरूका लागि पानीपत, सोनीपत, इन्द्रपत, बागपत र तिलपत जस्ता पाँच गाउँ मागेका थिए । त्यसै मध्येको तिलपत हेर्न गएका लेखक यमुना नदीको दुर्गतिमा बाग्मतीलाई देख्छन् ।

भारतका महान् कवि प्रातः स्मरणीय गालिवको म्युजियम अवलोकन गरेर फर्किएका राई केही निराश छन्, केही उदासीन पनि  । आफ्ना देशका कवि, कलाकारको अवमूल्यनमा उनी विरक्तिन्छन्, “भारतीय सरकारले यति पनि गरेको छ आफ्ना कविको लागि । हामीले के गरेका छौँ हाम्रा कविहरूका लागि, महाकवि देवकोटालाई गह्रुङ्गो हृदयले सम्झिँदै होटेलतर्फ लाग्छु (पृ-४६)।”

राईको सूक्ष्म दृष्टिले भौतिक दृश्य मात्र होइन अदृश्यमा पनि केही खोजिरहेको छ । प्रकृतिप्रेमी-प्रकृतिको निकटतामा उनको दार्शनिक चेत जागृत हुन्छ ।

गान्धी सङ्ग्रहालय पुगेपछि लेखक गान्धीका हत्यारा नाथुराम गोडसे जस्ता धार्मिक उग्र वादीलाई केही प्रश्न गर्छन्, “मान्छे किन त्यति धर्मानन्ध भएको होला ? सबैभन्दा असल धर्म त मानवता होइन र ? सबै धर्मको मूलमा यही कुरा छैन र (पृ-५२) ?”

बैङ्कक यात्रामा थाइहरूको स्मृत मुस्कान र ती युवतीहरूको सुन्दरताले राई ज्यादै प्रभावित हुन्छन् । थाइ महिलाको रूप सौन्दर्य, त्यो बैँस मखमली फूल जस्तो सधैँ उस्तै सदाबहार ओइलाउँदै ओइलाउँदैन झैँ लाग्छ, “मलाई थाई हरूको सबैभन्दा मन पर्ने चीज हो उनीहरूको मुस्कान । कति सरल, कति सजिलै आउँछ उनीहरूको अनुहारमा । कति लोभलाग्दो ! आफू किन यसरी मुस्काउन सकिएन, सोचेर दिग्दार लागेर आउँछ (पृ-६०)।”

साँघुरो गल्लीमा भर्खरकी एउटी थाइ षोडशीले राईलाई पछ्याउँछे । दुई चार पैसाको कमाइ गर्न ऊ पछ्याउँछे । उनी बडो अप्ठ्यारोमा पर्छन् । पर्सबाट छोरीको फोटो देखाएपछि—सुन्दरी निराश मुद्रामा फर्किन्छे । आम्दानीको लागि उनीहरू यसरी स्वतन्त्रताको उपयोग गर्छन् तर त्यो व्यक्तित्वमा दाग लाग्दैन । कति प्राकृतिक छ त्यहाँको जीवन ।

ब्रिटिस काउन्सिलको निमन्त्रणा—हर्नबियनहरूको सम्मेलन भियतनाममा भाग लिन गएका साथीहरू—सम्मेलन सकेर स्वदेश फर्किसकेका छन् । कवि राई भने अझै फिर्ती भएका छैनन्, “म चाहिँ अलि लोभी छु । कुनै अनजान ठाउँ, सहर वा देशमा जाने अवसर पाएँ भने दुई चार दिन बढी बसेर त्यस सहर वा देशलाई हेर्ने र बुझ्ने लोभलाई रोक्नै सक्दिनँ (पृ-६६) ।”
नवीन दृश्य, नवीन ज्ञान, नवीन अनुभूतिमा लेखक यसरी रमाउन चाहन्छन् । मङ्गोल अनुहारका उनलाई चाइनिजहरू सगोत्री ठान्छन् । जापानीज, थाइहरू त्यही गर्छन् । त्यस्तै अरूले पनि नेपाली जाति भनेर उनलाई अनुमानसम्म लगाउँदैनन् । भरे ‘म नेपाली हुँ’ भनेर परिचय गर्दा विस्मित हुन्छन् ।

अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई पराजित गरेको—भियतनाम शून्य स्थितिबाट कसरी उचाइमा पुग्यो ? अमेरिकाले भियतनाम माथि सत्तरी लाख टन बम खसालेको थियो । यस्तो इतिहासले आश्चर्यसँगै पीडाबोध गराउँछ । नेपालले त्यस्तो सङ्कट केही भोग्नु परेन तर उन्नत किन हुन सकेन ? लेखकका मनमा केही प्रश्नहरू उब्जिएका छन् ।

भियतनामको समरमा एक अमेरिकी सैनिक तथा पाइलटले शत्रुसँग गरेको अपिल जसले त्यही क्रूर  समय बोलेको छ । आठ वटा भाषामा अनुवाद गरिएको उक्त अभिव्यक्तिलाई त्यहीँको वार म्युजियममा राखिएको छ,  “म एउटा अमेरिकी नागरिक हुँ । मलाई तपाईँहरूको भाषा आउँदैन । दुर्भाग्यले गर्दा खाना, आश्रय र सुरक्षाको लागि मैले तपाईँहरूको मद्दत खोजेको हो । कृपया मलाई कुनै यस्तो व्यक्तिसँग भेटाइदिनुस् जसले मलाई सुरक्षासाथ मेरा आफ्ना मान्छेहरू नजिक लगिदियोस् । मेरो सरकारले तपाईंहरूलाई  पुरस्कार दिने छ (पृ-७२)।”

अनुसन्धानात्मक कार्य—छिन्ताङ पूमा अभिलेखीकरण परियोजनामा राईलाई जर्मनी जाने संयोग मिलेको छ । पाँच वर्षे कार्य योजना अवधिमा हरेक साल उनी जर्मनी जान्छन् । भौतिक विज्ञानमा नोबेल पुरस्कार विजेता प्रो वेर्नर हाइजेनवर्ग, रसायन विज्ञानमा नोबेल पुरस्कार विजेता प्रो. विल्हेम ओस्टवाल्ड, साहित्यमा नोबेल  विजेता प्रो. थियोडोर मोमसेन लगायतले अध्ययन गरेका—युरोपको प्राचीनतम लाइपचिग विश्वविद्यालयमा काम गर्न पाउँदा कवि राई आफैँप्रति धन्य भएका छन्, गौरव अनुभूति गरेका छन् । दार्शनिक नित्से, रिर्चड वागनर जस्ता व्यक्ति त्यहीँबाट दीक्षित भएका थिए ।

अभिव्यक्ति कला शालीन भएका, शिष्ट भएका राईले यात्रालाई प्रत्यक्षीकरण गर्दा कति दृश्यहरू हामीलाई शरम लाग्न सक्छन् । त्यतिखेर उनी निकै सजग वाणीमा प्रसारित हुन्छन्, “सम्पूर्ण ताल किनार नग्न, अर्द्धनग्न स्त्रीपुरुषले खाँदिएको छ । अधोवस्त्र मात्र लगाएका महिला तथा सज्जन वृन्दहरू कोही उत्तानो पल्टेर धूपस्नान गर्दै छन् भने कोही जलस्नान । ती भन्दा आँटिला आँटिलीहरू ता झन् मात्र जन्मवस्त्रमा पल्टेर वा बसेर किताब पढिराखेका पनि छन् (पृ-९०) ।”

यस दृश्यमा पुस्तक प्रेमी, पठन प्रेमी युरोपेलीहरू कति धेरै प्राकृतिक हुन सकेका । भौतिक आवरणमा अभ्यस्त हुँदा युरोपेलीहरूको त्यो दैनिकी हामीलाई अप्ठ्यारो लागेको मात्र हो । आखिरी प्रकृतिलाई आवरण रहित स्वीकार्य त्यस्तो के नै छ र ?

मलाई मौनता मन पर्छ तर मौन रहन असमर्थ हुन्छु । कवि राईको त्यो मौनता र धैर्य मलाई जटिल कुरा लाग्छ । उनले मुस्कान मन पर्छ तथापि मुस्काउन सक्दिनँ भने जस्तै हो मेरो मौनता पनि ।

लेखक दम्पती पेरिस पुगेको छ । आइफेल टावरमा आवागमनको सघन उत्साह देखेर, आफूहरू पनि त्यहाँ जान लेखक पत्नी इच्छा राख्छिन् । हो, यहीँनेर म थापा पाउँछु कवि बडो बुद्धिमानी तबरले कठिनाइ सल्टाउँछन्  । गृहिणीको मनोविज्ञानलाई सहायता लिएर उनी आफ्नो दुर्बलता यसरी छिपाउँछन्, “मलाई उचाइमा डर लाग्छ तर त्यो डरलाई लुकाउँदै ‘त्यति धेरै पैसा तिरेर के पस्ने । यहीँबाट हेर्दा हुँदैन भन्छु । गृहिणी न हुन् । पैसा धेरै लाग्ने थाहा पाएपछि मान्छिन् र हामी नजिकको बेन्चमा बस्छौँ (पृ-९३)।”

पुरुषले महिलालाई जुन रूपले कमजोर देखेका छन्—यथार्थमा उनीहरू कमजोर होइनन् । उनीहरूको व्यवहारिकता, सम्झौता गर्न सक्ने क्षमता, परिवारलाई कठिनाइ मुक्त राख्न र खुसी बनाउन गरेको त्यो त्यागलाई दुर्बलताको दृष्टिले किन हेरिन्छ ? गृहिणी त हुन् किन भनिन्छ ? आफ्ना इच्छाहरू त्याग्न सक्ने महिलाहरूमा जुन शक्ति छ—पुरुषमा त्यो किञ्चित हुन सक्दैन । नारीहरूको उदारता र हार्दिकतालाई नबुझेर त्यसलाई अस्त्र बनाएर—लाभ उठाउँदै आएका छन् पुरुष जातिले । लेखकले पनि यहाँ त्यही लाभ उठाएका छन् ।

राईले यात्राको समाजलाई जति सकिन्छ नजिकबाट हेर्ने प्रयास गरेका छन् । केही समयमै केही दिनमै त्यस समाजको भेउ पाउन सकिँदैन नै । यद्यपि केही त बुझ्न सकिन्छ—हो, उनले त्यही बुझेका छन् । त्यहाँको मनोविज्ञानलाई नेपाली समाजको मनोविज्ञानसँग तुलना गरेका छन् । केही थोक उताको ठिक लाग्छ, केही थोक उनलाई यताको ठिक लाग्छ । आखिरी मानिस सम्पूर्ण हुन सक्दो रहेनछ । शायद अपूर्णता भनेकै प्रकारान्तरमा तिनै बेठिक कुराहरू होलान् । त्यसो त सबै कुरा सबैलाई असल लाग्न सक्दैन ।

कहिलेकाहीँ आफ्नो अदूरदर्शी योजनाले कठिनाइ सिर्जना गर्दा लेखक आफैँलाई तथानाम गाली गरेँ भन्छन् । त्यस रात अभर परेका उनलाई जर्मन साथी जेनीले मद्दत गर्छिन्—बास दिएर । विपन्न मुलुकका हामी कति कुरामा सङ्कुचित छौँ । कति ठाउँमा उदार भएर पनि उदारता देखाउन सक्दैनौँ । गरिबीले हामीलाई बाधा गरेको हुन्छ । समृद्धि र सम्पन्नता वेगर मानिस चाहेर पनि स्वतन्त्र हुन सक्दैन । जेनी र नेपाली नारीलाई उनी यसरी मूल्याङ्कन गर्छन् । आत्मनिर्भरताले मात्र हामी जेनी हुन सक्छौँ । जेनी हुर्किएको परिवेश निर्माण हुन सक्छ ।

निमुखा, विकासोन्मुख देशका नागरिक भएकै कारण विदेशीले नेपालीलाई हेर्ने दृष्टिकोण र भोग्नु परेको कठिनाइ यदाकदा पुस्तकमा आउँछ । त्यतिखेर हाम्रो स्वाभिमानी मन अमिलिन्छ, खिन्न हुन्छ ।

विश्व युद्धमा हाम्रा पुर्खाहरूले जर्मनीसँग लडे । शत्रुतापूर्ण संवेगमा एकर्काका ध्वंस गरे । अतीत स्मरण गर्दै अन्तिम बिदा लिने बेला—रिक्तताले लेखक मन भरिन्छ, “आज हामी एउटै प्रोजेक्टमा सँगसँगै काम गर्दै छौँ । स्यानो छँदा हजुरआमाले डरलाग्दो दुस्मन भन्नुहुन्थ्यो । आज ती प्यारा दुस्मनहरूसँग छुट्टिन पर्दा मन उदास हुन्छ । बिदा लाइपचिग ! बिदा जर्मनी ।”

माथिको अभिव्यक्तिले सन्तुष्ट हुन नसेका उनी अझ कवितामा बोल्छन्-

ए मेरा दुस्मन !
तिमीले मलाई कति सतायौ
कतिपल्ट धुरुधुरु रुवायौ
तैपनि मेरो मन 
तिमीलाई अब भेट्न पाइने छैन 
भनेर किन छटपटिएको होला  (पृ-११६) ?”

वल्र्ड कङ्ग्रेसको निमन्त्रणा—अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनको कुन्मिङ्ग सहर गएका लेखक— अहिलेको प्रगति तथा उन्नत चमकधमकलाई सही ढङ्गले विकास हो भन्न सक्दैनन् । प्रकृतिलाई विखण्डित हुनबाट जोगाउन सकियो भने मात्र त्यो वास्तविक विकास हुन सक्छ । पर्यावरणको क्षय राम्रो कुरा होइन । कविज्यूको अभिव्यक्ति कति लाक्षणिक छ—त्यसमा व्यङ्ग्य छ भन्ने नै थाहा हुँदैन, “मान्छे एउटा यस्तो प्राणी हो जसले रुख काटेर कागत बनाउँछ अनि त्यही कागतमा रुख जोगाऊँ भनेर प्रचारवाजी गर्छ (पृ-१२१) ।”

कवि राईको जीवन दर्शन प्राकृतिक लाग्छ । प्राकृतिक चेतका उनी दार्शनिक झैँ लाग्छ । अरूले नदेखेको कुरा उनको अन्तश्चेतनाले देख्दै रहेको हुन्छ । चाइनाको स्टोन फरेस्टमा त्यो दृष्टि कति प्रखर छ, “अजन्ता एलोराका गुफालाई सम्झिन्छु जहाँ कलाकारहरूले ढुङ्गामा जीवन सिर्जना गरेका छन् । फरक के छ भने त्यहाँका कलाकार मान्छे हुन् भने यहाँको कलाकार प्रकृति हो र त्यहाँ मात्र प्रेम सम्बन्धी कलाकृतिहरू छन् भने यहाँ जीवनका हरेक पक्ष दर्साउने अमूर्त कलाहरू छन्, मात्र हेर्ने आँखा चाहिन्छ (पृ-१२२)।”

आफ्नो वैयक्तिकता अरूलाई देखाउन नरुचाउने, आत्मश्लाघादेखि टाढा हुने, आफैँभित्र रमाउने, स्वतन्त्रताका हिमायती स्रष्टा हुन् कवि राई । चाइनाको एक आदिवासी गाउँ—कम्मरमा पातको माला बेरेका र अरू सम्पूर्ण निर्वस्त्र भई भाला चलाएका, ढोल बजाएका पुरुषहरू र अनौठा पहिरनले सज्जित अतिथिको स्वागतार्थ उपस्थित महिलाहरूको अव्यक्त मनस्थितिबारे केही बोल्दा लेखक एक मनोविज्ञ लाग्छ ।

जीवनवादी—जीवनमा कला भर्नुपर्छ भन्ने कलावादी लेखक हुन राई । तालै ताल र जङ्गलको देश भनेर चिनिने, छ महिना रात र छ महिना दिन भएको फिनल्यान्ड यात्रामा उनको कलावादी स्वर कति स्पष्ट छ, “जीवनलाई सम्पूर्ण रूपले जिउन हामी जान्दैनौँ । यो जीवन फेरि फेरि पाइँदैन त्यसैले यसलाई जिउने कला सिक्नुपर्छ … जीवन जिउनलाई हो, बिताउनलाई होइन (पृ-१३४)।”

‘नौ डाँडापारि’मा कवि आफूले मात्र कविता लेखेका छैनन् । महान् स्रष्टाका कवितालाई पनि उनले दृष्टान्तमा लिएका छन् । यसले के पनि थाहा हुन्छ भने उनी कविताप्रेमी स्रष्टा हुन् । त्यस्तै बहुभाषी ज्ञान भएका, विषय व्यापकता भएका गहन अध्येता पनि हुन् ।

वास्तवमा हामी नेपालीले कहिल्यै बाँच्न जानेनौँ । नबाँचेरै हामी बाँचिरहेका छौँ । नबाँचेरै हामी उमेर खाइरहेका छौँ, सिद्धिइरहेका छौँ—एक चोटि कविज्यूलाई पढौँ र बाँच्ने प्रयास गरौँ-

अर्काको लागि बाँच्यौ तिमी धेरै

तालमा अर्काको नाच्यौ तिमी धेरै

कहिलेकाहीँ आफू निम्ति बाँच तिमी

जि लेऊ तिमी 

अलिकति जि लेऊ तिमी  (पृ-१३४) ।

कविले भने जस्तै अलिकति आफ्ना लागि बाँच्न सक्यौँ भने पनि यो जीवन धन्य हुने छ । यस्तो जीवनदायिनी कविता लेख्ने कविका धारणाबाट म प्रभावित छु । माथिको कविता मात्र होइन ‘नौ डाँडापारि’ नै दृष्टान्त हो जीवन दर्शनको । कुरा के छ भने त्यसलाई मनन गर्न समर्थ हुनुपर्छ । कति समर्थ भइन्छ त्यति नै पाइन्छ ।

‘नौ डाँडापारि’ स्वदेशमै बस्ने स्रष्टाको भ्रमण साहित्य भए तापनि यसमा केही डायास्पोरिक जीवन पनि छ । लक्ष्य भूमिमा सङ्घर्ष गरेका युवा युवतीको केही मनस्थिति छ—तिनीहरूका मर्म छन् । केही असहाय स्थितिमा छन्, केही सन्तुष्ट जीवन पनि छन् । परदेशमा जीवन टेकाउनलाई एउटा युवक आफैँलाई बेचिदिन्छ—उमेर ढल्किएकी एक अधेड जर्मन महिलालाई । त्यो दाम्पत्य जीवनमा प्रेम छैन, केवल सम्बन्ध छ ।

साहित्यकार राई एक उच्च संवेदनशील सर्जक हुन् । उनी मानव मनको, प्रकृतिको अबोध्य भावनामा कल्पनाशील हुन्छन् । अनुमान लगाउँछन् त्यो भावनाको ।अनि त एउटा स्वतन्त्र विचार अजमाउँछन् । उनका धारणा पूर्वाग्रहरहित छन् । वैचारिकता र हार्दिकतामा उनको नियात्रा पाठकमैत्री छ, प्रिय छ।

प्राकृतिक सौन्दर्यमा कवि जस्तो जीवन देख्छन्, त्यसको थोरै पनि जीवन र आकर्षण कृत्रिम सौन्दर्यमा उनी पाउँदैनन्, “वास्तवमा पश्चिमाहरूले आविष्कार गरेको क्याटवाकमा म त कुनै सौन्दर्य पाउँदिनँ—अप्राकृतिक रूपले शरीरका विभिन्न अवयवलाई हल्लाउँदै हिँड्नुमा के सौन्दर्य ? बिरालोको हिँडाइ त क्याटवाक भन्दा कहाँ हो कहाँ बढी आकर्षक ताल र लयमा हुन्छ (पृ-१५५)।”

विदेश भ्रमणमा कविको एउटा मन किञ्चित रमाउन सक्दैन । त्यहाँको सम्भ्रान्त दैनिकीले  उनलाई परिहास गरेको अनुभूति हुन्छ । त्यस देशको व्यवस्थित शासन प्रणालीले नेपालीलाई उच्छृङ्खल, सभ्यताको ज्ञान नभएको मानिस ठान्दो हो । अध्ययन अनुसन्धानकै सिलसिलामा सन् २०१४ मा लेखक पोस्ट पी.एच.डी. गर्न भिएना विश्वविद्यालय गएका छन्  । त्यहाँ पनि उनीमा त्यही भाव उब्जिन्छ ।

युरोप तथा पश्चिमको सन्दर्भमा धेरै सकारात्मक र केही थोकको कवि विपक्षमा छन् । प्रगति उन्नति जुन गतिमा भएको छ त्यही गतिमा त्यहाँका मानिसको संवेदना गुम्दै गएको छ । यदि संवेदना सुरक्षित गर्न सक्ने हो भने, मानवीय सम्बन्धमा हार्दिकता र भावनात्मकता प्रबल हुने हो भने त्यहाँको जीवन कति सुन्दर हुने थियो । पुँजीवादी अर्थतन्त्रले ती सम्बन्धहरू शुष्क छन्, निरस छन्, यान्त्रिक हुँदै गएका  छन् ।

मानिसलाई आफ्नो भाषा संस्कृति कति प्रिय लाग्छ । ज्वालामुखीको देश भनेर चिनिने इन्डोनेसियाको सहरमा संस्कृत शब्दका बोर्ड र हिन्दु मन्दिरहरू देख्दा लेखकलाई त्यहाँ केही आत्मीयताको आभास हुन्छ । सिर्जनात्मक कार्यशाला गोष्ठीको लागि उनी त्यहाँ—सालाटिगामा गएका छन् । प्राज्ञिक कर्मसँग जोडिएका यात्रामा—त्यहाँको शैक्षिक संस्था, शैक्षिक चेतना स्तर, विषय विज्ञ कर्मचारी, तिनीहरूको कुशल उत्तरदायित्त्वमा  लेखक खुसी अनुभव गर्न असमर्थ हुन्छन् । आफ्नो देशको बेथितिले उद्वेलित हुन्छन् । अवसरवादी, अमर्यादित भई शक्तिको, पदको दुरुपयोगमा एउटा सचेत-सक्षम नागरिक कसरी खुसी हुन सक्छ ? फिनल्यान्डको योभ्यास्कुलामा अवस्थित यमक युनिभर्सिटी अव साइन्सेजमा—सम्पन्न भएको गोष्ठीमा पनि उनलाई त्यही अनुभूति हुन्छ । सन् २०१२-२०१३ को अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार— विश्वकै सबै भन्दा  राम्रो शिक्षा परिणाम निस्किएको फिनल्यान्डमा—शिक्षण पेसालाई एक प्रतिष्ठित पेसा मानिएको देख्दा—उनी फेरि देशको शैक्षिक स्थितिमा खिन्न हुन्छन् ।

मानव जाति स्वतन्त्रताको उच्चतम उपयोग गर्न चाहन्छ, दुःखको कुरा मर्यादा भुलिदिन्छ । तर लेखक मर्यादापूर्ण उन्मुक्ति चाहन्छन् । स्वतन्त्रतालाई हामी पूर्वीयहरू प्रायः यौनसँग जोड्ने गर्छौँ । पश्चिमाहरू यौनिक विषयमा जति खुल्न सक्छन्, त्यसको एकांश पनि हामी खुल्न सक्दैनौँ । त्यसको अर्थ हामी मर्यादित, उनीहरू अमर्यादित भन्ने होइन । मर्यादाको पालना हर क्षेत्रमा हुन्छ । साँच्ची नै भन्ने हो भने नेपाली किञ्चित मर्यादाको कुरा जान्दैन “… मर्यादाका कुरा यौनमा मात्र होइन सबै प्रकारका आचरणमा लागू हुन्छ: शिष्टाचारको मर्यादा, सम्बन्धको मर्यादा, सम्भाषणको मर्यादा र सबभन्दा महत्त्वपूर्ण शक्तिको मर्यादा (पृ-१९३) ।”

लेखक राईको भाषा जति विनयशील छ त्यति नै स्पष्ट लाग्छ, निर्भीक र वैचारिक लाग्छ । उनको सिङ्गापुर यात्रा, यात्राकै लागि हुनुपर्छ । त्यहाँ जानुको कुनै जिम्मेवार प्रयोजन बताइएको छैन । विज्ञान र यन्त्रको चुलीमा पुगेका राष्ट्रहरूको चहकलाई नजिकबाट भोगेका उनी—त्यसबाट चमत्कृत छु, अभिभूत छुइनँ भन्छन् ।

फिलिपिन्स र सिङ्गापुरमा एक महिनाको लागि नेपालीलाई भिसा नचाहिने कुराले म हर्षित हुन्छु । नेपालप्रति उनीहरूले गरेको त्यो एउटा सम्मान हो ।

आखिरीको यात्रा सिलगढी, गुवाहाटी हुँदै तेजपुर पुगेको छ । समूहमा गरिएको यो यात्रामा लेखक कार्यपत्र पस्तोताका रूपमा गएका छन् । यस साहित्यिक यात्रामा नेपालबाट चौध जनाको टोली गएको छ—आधुनिक भारतीय भाषा एवं साहित्यिक अध्ययन विभाग, गुवाहाटी विश्वविद्यालय तथा उत्तरपूर्वी भारतीय विद्वत् संवाद सञ्जालद्वारा प्रायोजित असम विद्या अन्तर्राष्ट्रिय सम्मेलनमा ।

यस्तो सुन्दर लेखन भएका साहित्यकार राई जीवनको उत्तरार्द्धमा आएर साहित्यिक तृष्णाले गतिशील भएका छन् । अघिका दिनमा त्यो लेखन शक्ति कहाँ लुकेको थियो होला ? फेरि कसरी उत्रियो ? कसरी त्यो लेखन क्षमतालाई उनले बोध गरे ?

समालोचकको, समीक्षकको मर्यादामा रहेर ‘नौ डाँडापारि’मा—खोट लगाउने ठाउँ म कहीँ देख्दिनँ । घरी-घरी वर्ण विन्यासका त्रुटिहरू आउँछन् । तर त्यो क्षम्य छ  । त्यस्तो धेरै त्रुटि होइन । आगामी दिनमा यस्तै अझ सम्मोहित गर्ने कृति अध्ययन गर्न पाइयोस् । यही शुभेच्छा छ ।