विषय प्रवेश

साहित्यका अनेक विधामध्ये उपन्यासलाई नवीन र पाठक प्रिय विधा मानिन्छ । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ । मानव जीवनका अनुभूति तथा परिघटनाहरू अन्य विधा भन्दा यस विधाबाट विस्तृत रूपले प्रवाह गर्न सकिन्छ । तुलनात्मक रूपले अरू विधा भन्दा लामो भए पनि यथार्थ निकट हुन्छ । उपन्यासलाई आख्यानात्मक गद्यकृति मानिन्छ ।  कलात्मक विचार सम्प्रेषणको सशक्त माध्यमको रूपमा उपन्यासलाई लिन सकिन्छ । उपन्यासभित्र मानव जीवनको स्पष्ट तर सत्य निकट घटनाहरू प्रस्तुत हुन जरुरी छ ।

उपन्यासकारको परिचय-

साहित्यकार शोभाराम ओलीको जन्म २०३८/०६/२५ मा रोल्पा जिल्ला परिवर्तन गापा – २ राङ्सीको भलाकामा भएको थियो । उनी बुवा धनबहादुर ओली र आमा नन्दकली ओलीका जेठा सन्तान हुन् । खेतीकिसानी गरेर सामान्य गुजारा गर्ने परिवारमा जन्मेका र घरका जेठा सन्तान भएकाले उनले धेरै पढ्न पाएनन् । बाबु नामले धनबहादुर भए पनि धनको अभावले घरको गारोगर्जो टार्नलाई उनी बिदेसिनु परेको थियो । सानैदेखि जिज्ञासु ओली अध्ययनशील र सिर्जनशील स्वभावका भएकै कारण खाडीको व्यस्तता र उच्च तापक्रमले पनि उनको प्रतिभालाई रोक्न सकेन । यसअघि चार वटा  साहित्यिक कृति पस्किसकेका ओलीको  ‘सुलभ’ पाँचौं साहित्य सन्तान हो ।

यसमा उनै ओलीको सुलभको समीक्षात्मक चर्चा गर्ने प्रयास गरिएको छ ।

कथावस्तु –

सुलभ

सुलभ

उपन्यास सुलभमा एउटै पात्रका धेरै नाम छन् । सुलभको मुख्य हिरो काले भएर जन्मन्छ । पछि रोल्पा पुग्दा हेमलाल नामको हुन्छ,युद्धमा सरिक हुँदा तारा बन्छ । समय र परिवेश अनुसार नाम फरक भए पनि यस उपन्यासको मुख्य हिरो  बाल्यकालमा धार्मिक ,सांस्कृतिक आस्थामा हुन्छ । युद्धकालमा ऊ धर्मलाई अफिमको संज्ञा दिन पुग्छ र सबै धर्म भनेका भ्रम हुन् भन्ने निचोडमा पुग्छ । पछि शान्तिकालमा फेरि पुरानै धार्मिक। सांस्कृतिक परिवेशमा रमाउन पुग्छ । यसो हेर्दा कुनै पनि चिजको सुरुवात जसरी हुन्छ त्यसरी अन्त पनि भन्ने सन्देश दिएको छ । जस्तो आफूले पाइपको खाडल खन्दा भेटिएकी सरु अन्ततः खाडलमै विलीन भइन् ।

काले एक साहसी, कर्तव्यपरायण  जिम्मेवार र स्वच्छ छविको पात्रमा देखा पर्छ । ऊ कथान्तरसम्म कर्तव्य र नैतिकताबाट स्खलित भएको पाइँदैन । बैंस र सुन्दरताले सुसज्जित हुँदाहुँदै पनि नारीप्रति धेरै आकर्षित भएको देखिँदैन तर नारीलाई सम्मान गर्न पुगेको देखिन्छ । त्यसै गरी मुख्य नारीपात्र डोल्मा सितको व्यवहार निकै स्वच्छ र बालसुलभ देखिन्छ । दुवै रामेछापको बाम्तीभण्डारमा धुलोमाटोसित रमाउँदै खेल्छन् । जब परिस्थितिले उनीहरूलाई अलग्याउने दिनमा पुर्याउँछ, त्यो बखत उनीहरू निकै छटपटावट्पूर्ण अवस्थामा पुग्छन् । यहाँनेर आइपुग्दा कथा निकै उत्कर्षमा आइपुगेको देखिन्छ । रोल्पा आएर बस्दा पनि ऊ डोल्मा को सम्झनाले सताइन्छ । बिरक्तिएर डाँडामा पुगी पारीसम्म हेर्न पुग्छ । उसैले दिएको दूरबिनले हेर्छ डोल्मा  देखिन्छ कि भनेर ।

काले  बाल्यकालमा डोल्मा सित, युद्धकालमा सरुसित फेरि शान्तिकालमा निमा (नाम लुकाएकी डोल्मा) सित प्रेममा पर्न गएको पाइन्छ । युद्धकालमै तारा र सरुको जनवादी विवाह भएर प्रेममा रमाउँदै गर्दा  सरु गर्भवती हुन्छिन् । उनले पेटभित्रको बच्चाको नाम राख्न पुग्छिन्, सुलभ । युद्ध मैदानमा जाँदा सरुको दुखद् निधन हुन्छ र सुलभले धर्ती देख्न र टेक्न पाउँदैन ।

भाषाशैली-

शोभाराम ओलीको भाषा र शैली निकै मीठो पाइन्छ । वाक्यहरू सरल  छन् र कथा भावमा सरसता पाइन्छ । धेरै जसो वर्णनात्मक  शैलीमा लेखिएको छ । संवादात्मक शैलीको पनि भरपुर प्रयोग भएको छ । आञ्चलिक शब्दहरूको प्रयोगले वाक्यहरू मिठासपूर्ण छन् । कतिपय ठाउँमा काव्यिक भाव र लय पनि बुन्न पछि परेका छैनन् । प्रमुखपात्र कालेलाई सम्झेर बालसखा डोल्माले रचना गरेको  गजलले पनि सुन्दरता थप्ने काम गरेको छ ।

हुँदैन कि हाम्रो मिलन मनमा रहर पाले पनि ।

फर्की आउँछु भन्दै गयो आएन खोइ काले पनि ।।

यस उपन्यासलाई बिम्ब तथा प्रतीकहरूको संयोजित रूप हो भन्न सकिन्छ । पुस्तकको नाम नै रहस्यमय बिम्ब बनेर देखा परेको छ । बाल्यकालमा साथी डोल्माले उपहार स्वरूप लुकाएर दिएको दूरबिन नै प्रेम तथा जीवनको बिम्ब बनेर अन्त्यसम्म देखा परेको छ । उपन्यास भित्र गर्भभित्रको  विकासक्रम (विज्ञान) देखा पर्छ । त्यसै गरी समाज विज्ञान अन्तरगत पहाडी ग्रामीण समाजको चित्रण पाइन्छ । त्यसै गरी युद्धविज्ञानका राम्रा–नराम्रा कुराहरू पाइन्छन् जनयुद्धकालमा । एउटै मान्छे पनि विभिन्न समयमा विभिन्न रूपमा देखा पर्ने गरेको पाइन्छ । कहिले विद्यार्थी,मजदुर, योद्धा अनि फेरि सामाजिक, सांस्कृतिक अगुवा । सबैको उद्देश्य समाजको अग्रगामी विकास नै हो । युद्धमा होमिँदा सुरक्षाको लागि भाषा पनि कोडमा प्रयोग गरेको पाइन्छ । त्यसै गरी आँधी, हुरी, चट्याङ, तुफान जस्ता नामहरू राखेको पाइन्छ । उपन्यासको पात्रले आफ्नो नाम तारा राखेर तारा झैँ चम्कन र अमर हुने उद्देश्य राखेको पाइन्छ । युद्धको मोर्चामा भएका लडाइँका गतिविधिहरू पढ्दा नै आङ सिरिङ गर्ने खालका छन् ।

दृष्टिविन्दु-

उपन्यासको लक्ष्य पाठकलाई मनोरञ्जन दिलाउने मात्र नभएर उसलाई सचेत बनाउने पनि हो । वर्तमान युगका आवश्यकता र मागहरूप्रति जिम्मेवार नागरिक बनाउनु पनि हो । त्यसै गरी व्यक्ति र समाजले भोग्नुपरेका पीडा र अभावका कुराहरूलाई पाठकसामु राखेर सभ्य र न्यायपूर्ण समाज निर्माण हेतु अघि बढ्नु पनि हो । साहित्य सिर्जनको ध्येय समाजलाई अग्रगमनको मार्गमा डोर्याउँदै मुक्तिको चुचुरो स्पर्श  गर्न पुर्याउनु हो । शोभाराम ओलीको सुलभ पनि त्यही लक्ष्यमा हिंडेको देखिन्छ ।

शीर्षक-

कृतिको शीर्षकले सिङ्गो कृतिकै प्रतिनिधित्व गरेको हुन्छ । यस उपन्यासको नाम सुलभ पनि कृतिकै मियाे बनेर उभिएको छ । गर्भवती आमाले पक्कै छोरो नै जन्मन्छ भनेर ‘सुलभ’ राख्न पुगेकी छिन् । छोरी पनि त  जन्मन सक्थी । युद्धमा लाल किल्ला बनेर उभिएकी आमा सरु सुलभलाई जन्म नदिंदै बिलाउन पुग्छिन्, युद्धको मैदानमा  । त्रिअक्षरी नाम सुलभ निकै सुन्दर छ सिङ्गो उपन्यास झैँ ।

उपसंहार –

उपन्यास भित्रका मुख्य तीन पात्रहरू (काले, डोल्मा  र सरु) समाजको अगुवाका रूपमा देखा परेका छन् । सबैमा युगको महत्त्व बोध झल्कन्छ । युवामा हुनुपर्ने अदम्य  साहस देखिन्छ । महिलाहरूलाई ‘नामर्द’ का रूपमा बुझ्ने समाजकालागि  उदाहरणीय पात्र बनेर खडा भएकी छे, सरु । ऊ हरघडी आत्मविश्वासका साथ युद्धको मोर्चामा  अग्रपङ्क्तिमा उभिन चाहन्छे । गर्भवती अवस्थामा लडाइँमा जानु अनिवार्य थिएन  तापनि आफुखुसी सरिक भएर वीरगति प्राप्त गर्न पुग्छे ।

यसैगरी एउटा नारी पात्र हुन् फुपू । समाजले समेत सम्हाल्न न सकेको दाजुलाई सम्हाल्दै आफ्नै भदैनीको बिहे गराएर मात्र आफ्नो जीवन खोज्ने त्याग निकै सशक्त छ। पढ्न छोडेको हेमलाललाई पुनः पढ्नुपर्छ भन्ने भावना जागृत गराइदिने अर्की नारी पात्र तुम्मा नभए हेमलालको भविष्य के हुन्थ्यो ?  यसर्थ यस उपन्यासलाई वीररसयुक्त कृतिको रूपमा हेर्न सकिन्छ ।

काले पनि निकै साहसी, निडर र कर्तव्यपरायण पात्रको रूपमा देखा परेके छ । आफ्ना बाउ, आमा, भाइ र बहिनीहरूप्रति उत्तिकै जिम्मेवार देखिन्छ । युद्धमा ज्यान गुमाउन पुगेकी गर्भवती श्रीमतीको होसियारीपूर्वक  र सम्मानसाथ सद्गत गर्न पुग्छ । लडाइँमा सहयोद्धाहरूको लासको थुप्रो लाग्दा र आफू घाइते हुँदा समेत ऊ कहिले निराश भएको छैन ।

विभिन्न घटनाक्रमहरू पार गर्दै ऊ आफ्नी बालसखा डोल्मालाई खाेज्दै जाँदा भेटाउन पुग्छ, काठमाडौंमा । डोल्माले सिमलामा दिएको दूरबिन देखेपछि ऊ काले नै हो भन्ने कुरामा विश्वस्त हुन पुग्छे । अनि दुवै प्रेम आलिङ्गनमा बेरिन पुग्छन्, यहीं कथाको अन्त्य हुन्छ ।

कथा अलि बढी लामो र केही प्रसङ्गहरू दोहोरिन गएकोले पाठक आत्तिने खालको छ । अध्याय तीन धेरै लामो भएकोले रुचिपूर्ण घटनाहरू हुँदाहुँदै पनि पट्यार लाग्ने खालको छ । अध्याय तीनले मात्र झण्डै आधा भाग ओगटेको छ । कथाभित्रका सबै पात्रहरू सबै इमानदार मात्र भएकाले अरू खल पात्र पनि राखिदिएको भए पाठकले तुलना गर्न पाउने थिए । कथा झन् सशक्त हुने थियो  । असलपात्रप्रति पाठकको थप सहानुभूति बढ्ने थियो  ।

माडीको पानी झैँ कथा सलल बगेको छ । विषयवस्तु स्पष्ट छ । ठिक्क आकारको ,आकर्षक कभरसहितको ‘सुलभ’ शोभारामको व्यक्तित्व जस्तै सुन्दर  र शोभायमान छ । विदेशको अप्ठेरो परिस्थितिमा पनि केही समय निकालेर एउटा मूल्यवान् उपहार साहित्यको भण्डारमा चढाउन सक्नु भएकामा युवा साहित्यकार शोभाराम ओलीलाई हार्दिक बधाई दिन चाहन्छु । साथै थप साहित्यिक कृतिहरू देख्न र लेख्न पाउने आसा पनि गरेको छु ।  जय साहित्य ।