कलम प्रकाशन द्वारा २०७७ मा प्रकाशित उपन्यास हो– सञ्जु अधिकारीको “इन्द्रेणी स्पर्श” । लेखिका पेशाले चार्टर्ड एकाउण्टेण्ट (सिए) हुन्  । “इन्द्रेणी स्पर्श” उनको पहिलो पुस्तक हो र पहिलो उपन्यास पनि । व्यक्तिगत भलाकुसारीमा लेखिकाले भनेकी छन्, “पुस्तक धेरै अघि लेखिसकेको तर सम्पादन हुन नसकेर छाप्ने साइत नै जुरेको थिएन ।”

साइत यस्तो बेला जुर्यो जतिबेला पुरा विश्व नै कोरोनासँग जुधिरहेको थियो ।  किताब प्रकाशित भएर लोकार्पण हुँदा ता लेखिका आफै दोस्रो सन्तानको आमा बनेर सानी नानीको हेरचाहमा यति व्यस्त थिइन् की आफ्नै किताबको लोकार्पणमा उपस्थित हुन उनी सकिनन् रे ! तर पुस्तकको जन्म भयो र न्वारान भयो “इन्द्रेणी स्पर्श” !

इन्द्रेणी स्पर्श

इन्द्रेणी स्पर्श

यो उनको पहिलो प्रयासमा हामीले सम र देवकोटा खोज्ने कोशिस गर्नु हुँदैन ।  हुन त समय पनि ता सम र देवकोटाको हैन अहिले । साहित्यमा सुविन भट्टराई र बुद्धिसागरहरूको दबदबा रहेको समय मान्छु म अहिलेको समयलाई, तर समय कसैको एक्लो पनि त हुँदैन । साहित्यको वर्तमान “स्पेस” मा अटाउन सक्ने कोशिस र मिहिनेत देखिन्छ सञ्जु अधिकारीको “इन्द्रेणी स्पर्श”मा । सिए पेशामा आफूलाई अब्बल साबित गरिसकेकी लेखिकाले यो किताबमा नारी मनोविज्ञानलाई खेलाएकी छन्, भित्र पसेर केलाएकी छन् ।  आफ्नो किताबलाई पाठकसँग परिचित गराउने क्रममा लेखिका आफै भन्छिन्, ‘यो पुस्तक नारीहरूको कथा हो’ ।

नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रङ्ग समेटेर लेखिएको छ । बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने नारीहरू नै उपन्यासका प्रधान पात्र रहेका छन् ।  “मोडर्न” नारीको मनोविज्ञान छचल्किएर प्रस्तुत छ किताबमा, कुनै धक र डर देखिन्न उनीहरूमा, त्यही भएर कुनै समयमा वर्जित (ट्याबु) जस्तो लोग्ने यौनका विषयमा पनि खुलेर कुरा गर्छन् पात्रहरू  ।  कुरा मात्रै कहाँ हो र, पात्रहरू हरेक त्यस्ता ‘मोमेन्ट्स’हरू ‘इन्जोय’ गर्छन्, र ‘इन्जोय’ गरेका कुरा खुलेर बेलिबिस्तार लगाउँछन् ।

नारी पात्रहरू “निर्लज्ज” र “बेसरम” आफ्नो मनको कुरा भन्छन्, आफ्नो अनुभूति, आवश्यकता र भविष्यको चिन्ता स्वाभाविक रूपमा प्रकट गर्छन् ।  कतै न कतै ती पात्रहरूले पुरुषप्रधान समाजका पिल्लरहरूमा थोरै भए पनि धक्का दिएका छन् ।  कहीँ कतै ती पात्रहरूमा बिपीको सुम्निमाकी ‘सुम्निमा’ र तिन घुम्ती कि ‘इन्द्रमाया’ हरूको थोरै भए पनि मनोविज्ञान देख्न पाइन्छ ।  हरेक नारीका पछि दगुर्ने पुरुष स्वाभाविक रूपमा यता र उता देखा पर्छन् । तर ती सबै गौण पात्रका रूपमा उपस्थिति देखाउन बाध्य छन् ।

उपन्यासमा पात्रहरू धेरै छन्, यति मिसिएका र गाँजिएका छन् कि एउटाको कहानी नसकिंदै अर्को पात्रको सुरु हुन्छ । उनीहरूको तछाड मछाड देखिन्छ आफ्ना कुराहरू सुनाउन । साँच्चै भन्ने हो भने यो किताब मूलतः सान्वी र दिपकको हो, उनीहरूको विवाह अघिको प्रेम, बिहे पछिको घरबार, संघर्ष, र चुनौतीको लामो लेखाजोखा छ । धेरै हदसम्म “काठ” कृषक परिवारमा हुने भेदभाव, र उनीहरूका कृत्रिम र फोस्रो आडम्बर उदाङ्ग हुन्छ ।

नेपाल खाल्डो बाहिरका हामीलाई त “काठ” हरू बिछट्टै प्रगतिशील र अग्रगामी होलान् भन्ने भाष्यले गाजेको हुन्छ तर किताबमा गर्भवती महिला समेतलाई गाली गर्ने र दुख दिन बाकी नराख्ने सासू, नन्द, आमाजूको चरित्र हेर्दा नेपाल आखिर सबै तिर उस्तै नै रहेछ भन्ने बोध हुन्छ । “रातभरी हुरी चल्यो” कथामा इन्द्रबहादुर राईले जसरी दूध बेच्ने गाउँले महिला मार्फत आखिर दुःख ता शहरमा पनि उत्तिकै रहेछ भनेर “डिमिस्टिफाइ” गरेका छन्, झन्डै त्यसैको झलक सान्वीले भोगेको दुखले पनि देखाउँछ ।

रमाइलो कुरा ता के छ भने, तर यसमा रमाइलो मान्नुपर्ने कुरा नै के छ र, यो ता विडम्बनाको कुरा हो कि “इन्द्रेणी स्पर्श” का बुहारीहरूले पनि सासूको त्यही खटन-पटन र खप्की झेल्नुपरेको छ जुन बि.स १९९१ मा सरदार रुद्रराज पाण्डे कि “रूपमती” ले भोग्नु परेको थियो । यो मामलामा लगभग ९० वर्ष अघिको नेपाल र अहिलेको नेपालमा खासै अन्तर देखिंदैन । भलै बागमतीमा जति सुकै पानी बगेर गएको नहोस् । लेखिका स्वयम् काठमाडौंमै जन्मेहुर्केको हुँदा उनको काल्पनिक उपन्यासका काल्पनिक पात्रहरूमा पनि समाजको वास्तविक चरित्रको कडा गन्ध पाइन्छ ।

परिवार भित्रको बेमेल र कलहको परिणाम “लव म्यारिज” गरेका दिपक र सान्वी अन्तमा पारपाचुके गर्न बाध्य हुन्छन्, तर कथा यसरी सरलै र सहजै अघि बढेको छैन, र त्यो बुझ्नलाई किताबलाई पूरै पढ्नु पर्छ ।  गज्याङगुजुङ, र यता र उता भएर छरिएका अन्य पात्रहरू पनि छन् उपन्यासमा यत्र-तत्र । त्यहाँ सपना छिन, अनिश छन्, धेरै मिहिनेत गर्दा पनि सिए पास हुन नसकेकी आशा छिन् र आशाको केही क्षणका भरोसा छन् सौरभ । भरोसा दिने सौरभ पनि कस्तो – जो कुनै कडा रोग लागेर आज हो कि भोली भनेर दिन गन्दै छन् । अन्य झल्याक्कझुलुक उदाउने र अस्ताउने पात्रहरू पनि छन् जस्तै रुहाना, सुरज आदि इत्यादि ।  यी “अन्य“ पात्रहरूको हुनु र नहुनुले खासै धेरै फरक पार्दैन । उपन्यासको आत्मा जुन नारी सोच, संघर्ष र समर्पण हो, त्यसको पुरै जिम्मेवारी सान्वीले एक्लै पूरा गरेकी छन् ।

उपन्यासमा भएका सबै पात्रहरूलाई न्याय दिन नसक्नु चाहिँ लेखिकाको कमजोरी देखिन्छ । पाठकको मनमा आशा र सौरभको भविष्य कस्तो भो होला भनेर उठेका जिज्ञासा शान्त नपारी उपन्यासले बिट मार्छ ।  उपन्यासको अन्ततिर रुहाना र प्रेरणाको शरीरको आवश्यकता र चाहनाको बारेमा भएको खुल्लमखुल्ला छलफलले आङ्ग सिरिङ्ग त पार्छ तर पाठकको उत्सुकता नमेटाई त्यो अध्याय बन्द हुँदा रसाउन आटेको मन खिन्न हुन्छ ।

परिवारमा बुहारी र आमाको भूमिका र विगत १० वर्ष भन्दा बढी “सिए” भएर पुरुष प्रधान “वर्क प्लेस” का  चुनौती र संघर्षका बीच “इन्द्रेणी स्पर्श” संग्रह योग्य पुस्तक भएर जन्मेको छ । महिलालाई प्रमुख पात्र बनाएर उनीहरूका चाहना, खुशी मात्र हैन उनीहरूका सम्झौता र बाध्यताको दस्ताबेज हो यो किताब ।  पात्र काल्पनिक भए पनि हरेक नेपाली घरधुरीका कथाहरू सजीव भएर प्रस्फुटित भएका छन् ।

उपन्यासकार अधिकारीका आउँदा कृतिहरूका लागि शुभकामना र तिनीहरू अझै उम्दा भएर आउन्, यही कामना छ ।