बैरागी काइँला भनेपछि नेपाली वाङ्मयका एक लिभिङ लिजेन्ड हुनुहुन्छ । उहाँको प्रजातन्त्र र बौद्धिक स्वतन्त्रता अनि जातीय स्वतन्त्रताप्रतिको अविचलित आस्थाले उहाँलाई सर्वोच्च स्थानमा पुर्‍यायो । भर्खरै देशले उहाँको ८७ औं जन्मोत्सव पालना गर्‍यो । यतिखेर ता उहाँ धेरै स्वास्थ्य हुनुभएको छ । हामीले उहाँलाई शुभकामना प्रकट गर्‍यौं ।

पाँचथर जिल्लाका संस्था— नौलो बिहान साहित्यिक प्रतिष्ठान र पाँचथर स्रष्टा मञ्च मिलेर फिदिम बजारमा तीनदिने भव्य साहित्यिक कार्यक्रम गरे । त्यसको मूल लक्ष ता बैरागी काइँलाको अभिनन्दन थियो । साथै राष्ट्रिय स्तरको साहित्य गोष्ठी सम्पन्न भयो । तीनसय भन्दा बढी स्रष्टा कलाकारको भेलाले २०६६ साल चैत्र १,२ र ३ हामीले त्यो अभूतपूर्व फिदिम महोत्सवमा बितायौं अनि ४ गते करीब पच्चीस किमि टाढाको पौवा सारताप भन्ने ठाउँ गयौं । त्यसमा बैरागी काइँला दाजु–भाउजू र हामी सात–दश थियौं । देशमा नवीन वातावरण आउन लागेको समय त्यो दिन बैरागी काँल्दाजुको मूलघरसम्म पुग्ने हेर्ने र बास बस्ने अवसर मिलेको थियो । (अघि २०६७ को गरिमामा प्रकाशित यो लेख आज उनै बैरागीको सम्मानमा साहित्यपोस्टमा पुनः प्रकाशन गर्दैछौं) ।

गुम्बाडाँडामा ओर्लेर उँधो हेर्‍यौं— एकदमै ठाडो ओरालो, डाँडैडाँडा घुम्ती र मोड कट्तै झर्‍यौँ । ट्र्याक्टरको पाङ्ग्राले बाटो कपेर उठाएको धूलो र खाल्डामा पस्ता हाम्रो जीपले सन्तुलन गुमाउने पो हो कि ! कति ठाउँमा यस्तै डाँडाका टुप्पाबाट फालहान्दै गाडीहरू तलतल अनकन्टार खोँचमा खसेका छन् । प्रभु ! यो डाँडैडाँडा ढुङ्गेनी मार्गमा पाङ्ग्रामाथि नाचिरहेको हाम्रो जीपले त्यसरी ठाउँ नछाडोस् । यो डरलाग्दो डाँडामाथि, चुच्चे ढुङ्गामा नचाउँदै, गाडी चढ्नु नपरेको भए हुने तर गाडीदेखि असाध्यै डराउने बैरागी काँल्दाइले पनि यो प्राचीन पहाडमा आउने आँट गरेको देखेर मैले पनि मुटु दर्‍याएँ ।

बारी जोतेर, खनेर बुरबुरे धूलो छ, आलु टुसाउन थालेको । पारिको सिलौती जङ्गल टुप्पाको हरियो, तलतल भीरको खरबारी सुकेर रुगरुग छ । हामीले स्कुलडाँडैमा बिसायौँ । पर्तिर अमर नेम्वाङको तीनधुरे घर; छानाका टिनमा खिया लागेर बिरानो भएको । उत्तीस रोप्न र अलैँची गोड्न वर्षैपिच्छे पहाड चढ्ने अमर त्यो वैभव छोडेर काठमाडौँमा बसिहेरे; यो पनि छोडेर यतिखेर अमेरिका पुगे । यहाँ बसेर केवल सिर्जना गरिरहे कस्तो हुन्थ्यो । कसरी सबैसबै पहाड छोडेर कहाँकहाँ फालहानेका । कति घर अरू पनि एक्ला र उदासीन थिए । अधिकांश गाउँमा यस्तो पहाडमा त्यो सुन्दरतामा लाग्न थालेको विकासको फल अब कसले खाइदेला ? हेर्नु तलतल पौवासारताप हुँदै पारिपारि पाखामा पनि ती धूले सडकमाथि ट्र्याक्टर नाचेका । तलतल खोचमा पल्लो गैरीमा, पारिपट्टि उत्तीसघारी, बीचमा खेतबारीका फोक्टा, भित्र लुकेका च्यादरघर फेरि खोल्सीहरू ; उत्तीसघारी भित्र भित्र अलैँचीको कालो वन । उताको माथि बसेको राँके बजार, वर्तिर चिम्फुला, यतातिर चिलिङदिन, पल्लोपाटो फाक्तेप, पारिको भीर सिलौती, टाढाको इमबुङ, तुवाँलो ओढेका यासोक र रानीगाउँ । यी सबै पहाडी जिल्ला पान्थरका गहनाहरू ।

स्कुलडाँडाको त्यो फराक चौरीमा वरिपरि गाउँ, बीचमा पद्मकन्या प्राथमिक विद्यालय । त्यहाँका ससाना नानीहरू, गाउँले नरनारी, युवायुवती एउटा अल्गो, हरिया धूपी ओढाएर बनाएको स्वागतद्वार, सेउला सिउरेका, गुराँसका थुँगा सिउरेका, अरू दुर्लभ पुष्पहरू उनेर बनाएको त्यो । हातमा गुराँसका थुँगा र झुप्पा, मालैमाला बोकेर उभिएका जनधारणहरू । बीचमा तीनजना कुप्री परेका लिम्बूहरू आदिम वस्त्रमा ठूलाठूला च्याभ्रुङ भिरेर स्वागतद्वार छेउमा फनफनी घुम्दै बिस्तारो गतिमा सरकसरकसरक गोडाको चालमा स्वागत ध्वनि बजाए—

च्याङ् भ्रुङ् च्याङ्

च्याङ् भ्रुङ् च्याङ्

यो आदिम ध्वनि एक दुई तीन, एक दुई तीनजस्ता तालमा बजिरहेको थियो । माथिबाट महान् कवि बैरागी काइँला झरे । ती सारा गाउँलेले उनलाई छोपे, नजिकबाट उनलाई हेरे, छोए, कतिले आँखा टिलपिलाउँदै गुराँस लगाइदिए । धेरै गाउँलेहरू उनैलाई हेर्न पर्खेका थिए ।

“हन तिमी को हौ ?”

“म जेठा बूढाको नाति ।”

“ए बूढै भएछौ ।”

“बैरागी कैँला भन्छ, हाम्रो कैँला भनेर हेर्नु आको ।”

“म ता तिमीलाई चिन्दिनँ पो ।”

“तल बम्जनको छोरी म चिनेनौ ?”

“ए चिनेँ चिनेँ, कुन चाहिँ छोरी ?”

“म कान्छी ।”

नजिकै उनको जन्मघर, सारा गाउँ नै नेम्वाङले भरिएको । तामाङ र अरू जात पनि थिए त्यहाँ ।

२०६६ सालमा बैरागी काइँलासित उहाँकाे पान्थर घरमा

आफ्नो जन्मभूमिमा झन्डै दुई दशकपछि टेकेका वैरागीलाई त्यो माटो, यी खोल्सा ती गोगुनका वृक्ष चिलाउनेहरू र दुधिलो ती नुहेका बाँसघारी, तल नाच्ने निभुवाखोला अनि खोल्सीमा उत्ताउलिएर आकासिएका उत्तिसले, भीरका बज्राँठले, सबैसबैले उनैलाई पुकार्न थाले । अमर नेम्वाङको साथी खोल्मेको बूढो रूख निकै माथि छोडेर हामी झर्‍यौँ । गलाको गुराँसले मलाई च्याङथापु सम्झायो । यी ऐँसेलु कहिले पाक्ने हुन्, चोथ्राका ती पहेँला झुप्पा कहिले ? आज बाल्यकालको विस्मृत आँगनमा टेकियो ।

तलतल झर्‍यौँ ठूलाठूला टारी छाडेर, घरबारी छोडेर । मान्छे सिलिङबिलिङ थिए, कताकति गाईबस्तु भेटिन्थे । पर्तिर बाँसघारी सुसाउने यो ऐतिहासिक पौवासारताप गाउँको भूमि त्यसैत्यसै हृदयमा यसको प्रेमले छोएको म बुझ्दथेँ र वैरागी काइँला जो लोकतन्त्रको लागि विचारले लडे, भावनाले लडे, शरीरले लडे, एक उच्चो व्यक्तित्वलाई राष्ट्रले सम्मानित गर्यो उनको ता प्राणै यहीं थियो । यता लोकतन्त्रको अवतरण भएपछि उनी नेपालको इतिहासमा पहिलो कुलपति भए । ती जनताले आफ्नो जातीय नेताको रूपमा उनलाई माने, राष्ट्रिय नेताको रूपमा सम्मान गरे । आफ्नो बाल्यकाल बितेको भूमिमा ओर्लिंदा आफ्नै काका, भतिजा, दाजु, मामा, माइजू, छिमेकीहरू स्वागत गर्न आएको देखेर आज उनको मन हर्षले थामिनसक्नु भयो । हामी यो ऐतिहासिक घडीमा ती इतिहासपुरुष सँगसँगै थियौँ । यो भिन्न लोकमा केवल उनको स्वागतमा चलिरह्यौँ, यद्यपि हाम्रो पनि भव्य स्वागत भयो । तल झरेर खोंचको सङ्लो खोली तरेर पारि लाग्यौँ । पहरामा ठोकिँदै स्याङ्वा खोल्सी उत्तिसघारीभित्र कुलकुलाएको सुनिन्थ्यो । कच्ची बाटामा चल्ने जीपहरू जब्बर थिए, नाच्तै थतकिँदै स्याङ्वा तरेपछि पारिको गिर्खेनी बाटामा धूलो उडाउन थाले । माथि भीर तल अलैँचीको खेती उत्तिसको ओसिलो छाता ओढेर ढल्केका देखिन्छन । भीरको पेटबाट कुध्ने कच्ची सडकैसडक परपर सारताप भन्ने डाँडैमा पुगेर बिसायौँ ।

डाँडाको बीचैमा बाक्लै घरले छोपेका ठाउँमा हामी ओर्लियौँ । त्यो सारताप माध्यमिक विद्यालयको प्राङ्गणमा सबै विद्यार्थी, शिक्षक र अभिभावक चैत्रमा फुल्ने अनेक पुष्प बोकेर पङ्क्तिबद्ध भई उभिएका थिए । ती ससाना नानीहरू अतीत कुनै दिन त्यही विद्यालयसँग जोडिएका वैरागीलाई स्वागत गर्न उभिएका । सिर्सिरे बतासले हल्लिएका वनस्पति, चैतको धूलो अलेली उठेको महीना मानिस टनाटन प्राङ्गणभरि सबै फूलैफूलले हामी भरियौँ कृष्णभूषण बल, उपेन्द्र सुब्बा, आर.एम. डङ्गोल, प्रेम ओझा, रमेश शुभेच्छु, राज माङलाक । विद्यालयमा आयोजित स्वागत र सम्मान अपूर्व थियो । सारा गाउँलेहरू वैरागीलाई भेट्न आएका थिए । भित्तामा लहरै उमेर ढल्केका समितिहरू थिए ; वैरागी औंल्याउँदै भन्थे— “पारि डाँडाको जेठा होइन तिमी ?”

“हो काका !”

“ए तँ त मभन्दा बूढो भइछस् । यी सबै मेरा भाइभतिजाहरू मभन्दा इनहरू बूढा भएछन् ।”

एकदर्जन जति लट्ठी टेक्ने पनि थिए । नरनारी सबै हर्षले थामिनसक्नु थियो ।

दुई घण्टा लामो स्वागत र सम्मान सकेर त्यहाँबाट विदा माग्यौं । नजिकै एउटा ठूलो भित्तो खारेर बनाइएको प्राङ्गणमा वैरागीले टेनप्लसटुको भवनस्थल सिलान्यास गरे ; पुरेत त्रिलोचन अचार्जका छोरा कृष्ण अचार्ज बाजेले मन्त्र गरे । हामीले पनि अछेतापाती छर्किंदै घोषणा गर्‍यौँ— एक दिन यो ठाउँ पौवासारताप कलेज कहलिनेछ ।

त्यहाँबाट चिलौनेघारी छेउ हुँदै उकालिएको बाटो डिलैडिल चढ्यौँ र अलिकति ओरालो झर्यौं । त्यहाँसम्म परेका टारबारीका गरामाथि उभिएको फराकिलो आँगनको बीचमा एउटा विशाल भवन, ठूलो दूबोको आँगनमा हाम्रा जीप बिसाए । त्यसलाई बुझाउन ‘भवन’ शब्द नै उपयुक्त होला । धेरै अघि २००९ सालदेखि तीन वर्ष लगाएर बनाइएको दार्जीलिङदेखिको फलाम र सिमेन्टि ओसारेर कति दिनको बाटो, विशाल दुईतले, अनेक कोठा र झ्यालको । ती ढुङ्गा कति कलात्मक आकारमा चिनिएका सुर्की चुनाको टिप्कारीमाथि ढलान गरेको छानो । चारैतिर फराक आँगन र भान्साघर, तबेला, गोठ, खोर, धन्सार, अरू ससाना घर, फूलबारी, धारा, शौचालय, अलिक पर्तिर गोठ, मास्तिर माछा पोखरी । कत्रो खानदानी र आलिसान, भव्यताको सम्पन्नताको द्योतक एक दरबार । गाउँलेले चाहिँ ‘बिल्डिङ घर’ भन्दा रहेछन् । अनि हाम्रा वैरागी दाइलाई चाहिँ ‘बिल्डिङे काहिँला’ भनेर बोलाउने गर्थे रे ।

त्यस दिनको भोजन बयान नगरौँ— पहाडी खेतको चामल र तरकारी, दहीमोही, दाल, खसी र अचार । सारा आँगन भरिएका मान्छे पालभित्र खानेहरू पस्यौँ ; बोल्दै, खाँदै परिचय गर्ने कहाँ कहाँका, टाढाका आफन्त, स्वागतमा च्याब्रुङ बजाउँदै ठूलो आँगनमा नाचेको नाच्यै ।

च्याङ् भ्रुङ् च्याङ् भुङ् च्याङ्

च्याङ् भ्रुङ् च्याङ् भ्रुङ् च्याङ्

बैरागी काइँला

यो ताल एक दुई तीन चारजस्तो थियो । विस्तारै सारा गाउँ नै उल्टियो । खानपिन, चिनापर्ची, फोटा तस्वीर, हलचल गर्दागर्दै घाम अस्ताए । यो अति रमाइलोमा अलिकति समय रमाइलोलाई चढायौँ र बेलुकीको खाना खायौँ । रात पर्नुअघिदेखि लाठेहरूले दाउरा ओसारेर आँगनमा धुनी जगाउने तयारी गरेका थिए । मूढा जोते, दाउरा सल्काए पछिको आगोवरिपरि एउटा अपूर्व क्याम्पफायर दन्केपछि हामी जम्मा भयौँ । अब चड्केर दाउरा बल्न थाले । त्यहाँ फेरि हल्का खानेपिने आउन थाल्यो । वैरागीलाई बीचमा राखेर रात्रीको कार्यक्रम शुरू गर्‍यौँ । कार्यक्रम सारा काव्यकविताको थियो । धेरै युवा कवि बैरागीको दर्शनमा आएका थिए, काव्य गोष्ठीमा आएका थिए, बूढापाका गाउँले सारा खनिएका थिए । भुङ्ग्रो बढेको छ रातको सिरसिरे हावामा कविता थपिँदो छ । देवेन्द्र सक्तेन, विङकल चेम्जोङ, वियोगी काइँला, किरणदीप चिराग, हिमाली नेम्बाङ, सुनु मिङसो, पूर्ण प्रतिबिम्ब, सम्झना चेम्जोङ, आत्मविक्रम नेम्बाङ, नगेन्द्र तामाङ आदिका एकसे एक कविता, विचार र चिन्तन । धर्मेन्द्र नेम्बाङ सञ्चालक थिए । मैले समीक्षकको भूमिका खेलेँ । प्रत्येक रचनापाठपछि त्यसको बारेमा चर्चा, टिप्पणी, समीक्षा भयो ।

सदरमुकाम भन्दा यति टाढा भित्रको गाउँमा युवा पुस्ताका यस्ता शक्तिशाली कवि सुन्दा आश्चर्य लाग्यो । पौवासारतापको यो उर्वर भूमिले त्यसै वैरागी जन्माएको होइन रहेछ । बैरागीको उदयले आधा शताब्दी टेक्न लाग्यो । आयामिक आन्दोलनका एक अगुवा जन्माउने पौवासारतापले भित्रभित्रै सयौँ कवि जन्माइसकेछ । त्यहीँबाट रङ्कवादको अगुवा धर्मेन्द्रविक्रम नेम्वाङ हुर्किए, पुराना अमर नेम्वाङ, राजेन्द्र परदेशी थपिए । अरू यस्तै शक्तिशाली नयाँ पुस्ता सुनेर म छक्क परेँ । यस देशका धेरै ठाउँमा पुगेँ तर एउटा गाउँ नै काव्यमय भएको, रातभरि काव्य विमर्श गर्न सक्ने, यस्तो चिन्तन र चेतनाले भरिएको ठाउँ मैले कहीँ कतै पनि देखिनँ । उनीहरू फेरि सचेत र सुसूचित छन्‌ ; सिर्जनाको वर्तमान दिशाबोध भएका छन् । मलाई लाग्यो वैरागी काइँला एक श्रीखण्डका बोट थिए, आज त्यो सारा जङ्गलै सुगन्धित भएछ । त्यसको बास्नाले होइन, अरू अनेक श्रीखण्डका बिरुवा उम्रेर जङ्गलै बढेर । मलाई आश्चर्य लागेन— पाँचथरले किन नयाँ पुस्ताका शक्तिशाली कवि स्रष्टालाई निरन्तर जन्माइरहेछ । आज देश कोल्टे पार्ने गरी पाँचथर उठेको छ ।

रात चढ्दै गयो, भुङ्ग्रो झन् ढकढकाउँदै गयो । धेरै बेर काव्य–कविता चलेपछि डा. देवी दुलालले अघिल्लो दिन महानन्द महोत्सवको अवसरमा फिदिममा प्रस्तुत गरेका कार्यपत्रमाथि हाम्रो मन गयो । वैरागी काइँलाले धेरै वर्ष बिताएको त्यो पैतृक घरलाई एक सङ्ग्रहालय बनाई त्यसलाई साहित्यिक धामको रूपमा परिणत गरौँ भन्ने एउटा प्रस्ताव थियो उनको ।

फिदिमको भेलामा केही चर्चा भएको थियो । आज पौवासारतापमा त्यो भवनको आडैमा रहेर, माथि मध्य आकाश टेक्न लागेका जून, तलको ढकढकाइँदो भुङ्ग्रो साक्षी राखेर हामीले धेरै कुरा गर्‍यौँ । मैले शेक्सपियरको आँगमनमा पुग्दाको अनुभव बताएँ, टाल्सटाय र पुस्किनका सङ्ग्रहालयको कुरा गरेँ । नेपालमा आजसम्म कुनै साहित्यकारको नाममा कुनै सङ्ग्रहालय बनेन । यसबाट आरम्भ गर्न सके, वैरागीको जीवनकालमै यस्तो मन्दिरको स्थापना गर्न सके यो पान्थरभूमि धन्य हुने थियो । यसको प्रभाव र प्रेरणा देशभरि पुग्ने थियो ।

हामीले गम्भीर वार्ता गर्‍यौँ अनि कल्पियौँ ; वैरागीको योगदान र यो भूमिको एक अमरपुत्रको कुरा गर्यौं । म उठेर बोलेँ– तपाईंहरू सारा नेम्वाङ कुल अरू इष्टमित्र गाउँले नातागोता आज यो रातमा यहीँ हुनुहुन्छ । वैरागीको नाममा यहाँ एक सङ्ग्रहालयको स्थापना गर्न सके देशविदेशका साहित्यकारले यस भूमिलाई अरू धन्य गराउनेछन् । यो महान् उद्देश्यको लागि बीसतीस रोपनी जमीनको आवश्यकता पर्दछ ; भविष्यमा यहाँसम्म आउने, अझ परपर पुग्ने पिच बाटो बन्छ, यस धाम वरिपरि एउटा पार्क फूलबारी र अतिथिगृह बनाउन सकियोस्, आवश्यक पाले, रक्षक, क्युरेटर, अध्येता, अतिथि सेवक, अनुसन्धाता घुमेर जाने धेरै दिन बस्ने ती साराको प्रबन्ध हुने योजना चाहिन्छ, त्यो यथार्थतामा परिणत भएपछि खर्च आफैँ उठ्छ । देशविदेशका मानिस एक महान् स्रष्टाको पवित्र सम्झनाले भिजेर आउनेछन् । वैरागीको सारा सम्झना यही भवनमा संरक्षित होऊन् । तपाईंहरूले सल्लाह गर्नोस् तत्परता देखाउनेहरू हामी साथ दिनेछौँ । वैरागीले पनि थपे— त्यति भावुकतामा पनि नलिऔँ, मैले नपाउने पगरी पनि नओडाइदिनोस् तर मिलेमा ता के छ र ? म केही भन्दिनँ । उनी विनयशील र भावुक थिए ।

देशको कुनै भाग साहित्यले यसरी सिञ्चित छैन, त्यहाँ यस्तो काव्यमय रातको आयोजना हुन सक्तैन । मध्यरात हुइन्जेल सारा थकाइ बिर्सेर हामी वैरागी भवनको प्राङ्गणमा बस्यौँ । अब फेरि बैरागी त्यहाँ त्यसरी पुग्छन् कि पुग्दैनन म भन्न सक्तिनँ । एउटा युवकले बोलेको सम्झिन्छु— म सत्ताइस वर्षको भएँ । धेरै अघिदेखि कविता लेख्न मन पर्‍यो किनभने सबै वैरागी काइँलाका कविता भन्थे । म काठमाडौँसम्म पुगेँ तर वैरागी काइँलालाई भेट गर्न, बोल्न पाइनँ । तस्वीर किनेर ल्याई कोठामा टाँगेको छु, उनका कविता नबुझे पनि धेरै कण्ठ गरेको छु, अरू कविता लेख्न सिकिरहेको छु, सम्झिरहेको छु । आज आफ्नो धूलोमाटोमा वैरागी काइँलालाई देख्न र छुन पाउँदा मेरा आँखामा आँसु भरिएका छन् ।

अर्का स्थानीयले भने आज सत्र वर्षपछि वैरागीलाई देख्न पाउँदा मेरो जीवन धन्य भएको छ ।

मध्यरात ढल्केपछि हामी भुङ्ग्रो छोडेर उठ्यौँ । कति गाउँले घर फर्किए । पचासौँ पाहुना अट्ने त्यो महलमा, दाजुभाउजू माथि चढे । पुराना सम्झना, चुइँकिने भर्‍याङ र ढिप्कनीको आवाज आयो । तल कोठाकोठा सबै विचित्रका रहेछन् ; हामी त्यता पस्यौँ । मेरो एक सिङ्गै कोठा थियो । साँच्चै त्यो एक सङ्ग्रहालयजस्तै थियो ।

बिहान ब्यूझिँदा लिम्बुवान बन्द थियो । एक हूल साथी हिँडेर राँके बजार जान बिदा भए । हामी बसेर त्यो परिवेश पढ्न थाल्यौँ । ठूलाठूला टारबारी, माथिमाथि चढ्दै गएका जङ्गलको भित्तैमा मिलेर रसिएका छन् । यो नेम्वाङ भवनको तला चढेर दाजु ढाङढाङढुङढुङ गर्न थाले । त्यहाँ बाल्यकाल थियो ; पछिका अतीत थिए । धेरैपछि बाकसका पत्रबाट, धूलोले खाएका कागज र फाइल लिएर झरे । आँगनमा फुकाएर हेर्‍यौँ— त्यहाँ दार्जीलिङमा बस्ताका साहित्यिक चिठीपत्र, अनेक दुर्लभ पत्राचार, हस्ताक्षर, महानन्दका, ईश्वरवल्लभका, अगमसिंहका अरूअरू चिठीपत्र र सम्झना थिए । उनले खोजेको थियो आफ्नो पिता (खड्गबहादुर नेम्बाङ–डबल सुब्बा) लाई स्प्रिगले लेखेको पत्र । स्प्रिग भनेको लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्रोफेसर हुन् । उनी तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बी.एच. हड्जसनले नेपालका विभिन्न भाषाभाषीका अभिलेख बटुल्दा लिम्बू लिपिमा लेखिएका कागजपत्रको अध्ययन गर्न आएका रहेछन् सन् १९५५–५६ मा । त्यो भेटिएन । केवल सम्झना थिए । बैरागी दाइले सुनाए— स्प्रिग यही घरको त्यो कोठामा लगभग दुई महिना बसे र लिम्बू भाषाको अध्ययन गरे । त्यहाँ उभिएर खिचेको तस्बिर पनि थियो; खोजेँ छैन । अर्को कुरा पनि छ यो तल यतापट्टि एउटा ऐतिहासिक खाट थियो । यहाँ आएर फाल्गुनन्द स्वामीका नाती धर्मगुरु आत्मानन्द लिङ्देन केही रात त्यही खाटमा सुत्नुभएको थियो ।

त्यस्ता अरू पनि सम्झना थिए, पुराना कागजपत्रहरू, चिठीहरू अरू सम्झना गराउने कुरा । यो वैरागी सङ्ग्रहालयमा टेकेर उनले आफ्ना अतीत सम्झिए, तिनले छोपिए, हामीले हेर्दाहेर्दै उनी फेरि भावुक भए । भाउजू भित्र–बाहिर, तल–माथि गरिरहिन्, भान्सामा अरू थिए । आँगनमा जोरधारा थिए । चैत्रमा अझै सयपत्री फूल ओइलिन बाँकी थियो ।

यो भूमि बैरागीको अतीत थियो । अतीत यस्तो सागर हो जो मानवस्मृतिमा कहिल्यै सुक्तैन । बिहान खानापछि फेरि गाउँले भेला भए । यो अपूर्व घटना, बूढा हुँदै गएका बैरागी यहाँ आउँछन् कि आउँदैनन् फेरि सबैको मनमा त्यही थियो । दाजु–भाउजू पनि यसलाई अन्तिमजस्तो ठानेर भावुक भए र भारी मन लिँदै बिदा माग्यौँ । तलको मूल बाटासम्म बिदा गर्न आउनेहरू थिए हामी सँगसँगै तेर्सैतेर्सो लाग्यौँ । कोही खेत जोत्दै, कोही उत्तिसका गोलिया ओसार्दै, कोही चिरानी गरेर सेता फलेक घामतिर पल्टाउँदै थिए । त्यहाँ छेउमा पुग्दा काँचो उत्तिसको हरहरि बास्ना आयो । कोही बाख्रा चराउन निस्केका, कोही स्कुले, कोही बैरागी दाजुभाउजूसँग दुई वचन बोल्न बाटासम्म झरेका । धेरै परको खोल्सेनीमा पुगेपछि काँल्दाइले सोधे— “इहीँनेर मैले चिप्लेँटी खेल्ने ठूलो चेप्टे ढुङ्गा थियो सम्झन्छु, त्यो कहाँ गएछ है गङ्गा ?”

“उः त्यही त हो नि काका ।”

“होइन बाटामाथि यो थियो त, त्यो चाहिँ होइन होला गङ्गा ।”

“हो काका ! मोटरबाटो सोझेरी खन्दा ढुङ्ग तल पर्यो ।”

“ए हो रैछ ।“

हेर्‍यौँ– कम्ती राम्रो चिप्लेँटी थिएन त्यो, बिसाएर एकछिन चिप्लिनुजस्तो । वैरागी त्यस बेला छसात वर्षका थिए हुनन् । ती सम्झनाले ती पारिका वृक्षले नुहेका बाँसघारी माथि उठेर बसेका प्राचीन युगका काला ढुङ्गाले, खेतबारीले उनको हृदयमा एक अबोध बालक उत्पन्न गर्यो, त्यसले उनै दिनको पर्यावरण खोज्यो । त्यो बालमनको, सम्फनाले, सरलताले, कोमलताको अतीतमा छोडिएको एक निर्दोष जगत् खोज्यो । यसैले होला एड्ना सेन्ट भिन्सेन्ट मिलेले भनेकी छन्‌— बाल्यकाल त्यस्तो राज्य हो, जहाँ कसैको मृत्यु आउँदैन ।

त्यो अमर सम्झनाको अप्रदूषित अतीत हृदयमा भिरेर बैरागी उकालो लागे, भाउजू पछिपछि लागिन्, ती पाइला गह्रौँ थिए । मैले पछ्याएँ । हामीले पछ्यायौँ । झिटिगुन्टा बोक्नेहरू थिए, पातली शकुन्तला जोशी, सानी छोरी, खोल्सेनी पारि थपिएका आत्माविक्रम, वियोगी, बिङ्कुल साथै उकालियौँ ।

समयले ती अप्रदूषित दिनमाथि बलात्कार गर्दो रहेछ । बाबुआमा कतै बसाइँ सर्छन्, कुनै ठाउँमा पुग्छन् तर त्यो छोडिएको सम्झना आफ्ना सन्तानको कलिलो मनमा अमीट भइबसेको हुन्छ । यसरी आमाबाबुबाट बालमनमाथि अपराध हुन्छ, त्यो थाहा हुँदैन । बालभूमि छोड्नुपर्दा आमाबुबालाई छोड्न मन नलागेजस्तै हुन्छ । बालकको सानो परिचित विश्व त्यो छोडेर छोडाएर अन्त लाग्नुको अर्थ कहिल्यै नमेटिने सम्झनालाई मेट्न खोज्नु हो । आज मानवअधिकारको पक्षमा बोल्नेले बालकमाथि पर्ने यो आघातको पक्षमा बोलिदिने भए मेरो मनमा रातदिन सुसाउने च्याङथापूका इवाँनिङ्वा; खोला आँखैअघि बगिरहन्थे । त्यो गढी बजार, त्यो फलैंचा र नामेक, ती ढाँड, खोक र पहरा, कालीदह र अग्लो भीर– उताको तितेपाती र डिलडिलको तारामण्डल घारी— मेरो बालमन पनि तिनीहरूकै काखमा थियो । म खोसिएँ, चुँडिएँ; त्यो न्यानोपनबाट विमुख गराइएँ । आज वैरागीको चिप्लेँटी ढुङ्गा र उनका गह्रौँ पाइलाले मलाई त्यही सम्झायो । उनी बिस्तारै पौवासारतापको उकालो चढे, मैले त्यस्तै भारी मनसँग पछ्याएँ । मेरो चिप्लेँटी ढुङ्गा, उत्तेसेनी घारी र कालीदहहरू च्याङथापुमै छुटेको आज चालीस वर्ष नाघिसकेछ ।

कोलम्बसको पाइला टेक्ने बैरागी आज आफ्नै बाल्यकालको आँगनमा थिए । मनमा पुनर्मिलनको उत्तेजनालाई ढाक्ने गरी क्षोभ, पश्चात्ताप र वियोगको दुःखले छोपेर ल्यायो । धेरै छुटिसकेछन्, आफूले पनि छोड्नुपर्ने छ नियति । उनी गह्रौँ पाइलासँग चिप्लेँटी ढुङ्गा कटेर उकालो लागे । गाउँ जिल्ला छोड्नेलाई यस्तो हुन्छ, देश छोड्नेलाई कस्तो हुँदो हो ।

हामीले पछ्याइरह्यौँ । गर्मीको बेला, फुस्रो बारी, चरक्क घाम लागेको बेला ठाडो उकालो नाघ्दै माथिको गाउँमा पुग्यौं । दायाँबायाँ पातला घर थिए । २०१८ सालमा पञ्चायती सत्ताबाट मारिएका हर्कबहादुर तामाङको घर नाघेर उकालो लाग्यौँ । अलि माथि उकालोको एउटा चौतारामा टाँसेको भित्ते पत्रिका टाँगिएको थियो । यसले गाउँका युवा साहित्यकारको उत्साह देखाउँथ्यो । हामी चढ्दै गयौँ, पानी पिउँदै, पसिना चुहाउँदै धेरै उकालो मानेडाँडा पुग्ने बेलामा एउटा चौतारी आयो; त्यसको डिलमा टेक्नेवित्तिकै मलाई भनन रिँगटा चल्यो । थर्थराउँदै गएर थ्याच्च चौतारीमा बसेँ । पानी पिएपछि मलाई उल्टी आयो । त्यसपछि सबै आकाश घुम्न थाल्यो । बिस्तारै मैले सबै बिर्सें । धेरै समयपछि उनीहरूले पानी छर्केर, हम्केर मलाई ब्यूँझाए । मलाई आत्मा विक्रम, वियोग, बिङ्कल भाइहरूले समातेर ट्याक्टरमा पुर्‍याए । त्यसपछि हामी ट्र्याक्टरमा चढेर बास बस्न राँके बजार पुग्यौँ । यो सारा सम्झना ’गुराँसेको च्यानघारीमा सिहे सिकारीले लठ्याउँदा’ शीर्षकमा लिखित अर्को संस्मरण निबन्धले त्यो समयचित्र प्रस्तुत गर्नेछ ।