कार्तिक २५ गते मंगलबार

आज मेरा दुई शोधार्थीको भाइबा एकैचोटि । भाइबा फाइनल होइन । प्रि–भाइबा । अन्तिम मौखिक हुनुभन्दा पहिलेको केरकार र सुधार सङ्केत । दुवै संस्कृत विश्वविद्यालयमा पाँच वर्षअघि दर्ता भएका पात्रहरू, कृष्णप्रसाद भण्डारी (पिण्डेश्वर क्याम्पस धरान) को ऋग्वेदमा पर्यावरणीय चेतनाको कुरा । दोस्रो हरिचन्द्र कमालीको गीतामा भगवान् श्रीकृष्णको विनिर्माणिक शिक्षकको रुपमा ।

दुवै विद्यार्थी क्याम्पसमा अंग्रेजीका अध्यापक हुन् । यिनीहरूले मूल ग्रन्थ फुटाएर भित्र पसेर भिजेर पढ्न नजाने/नसके पनि अनेक भाष्य टीका अनुवाद विश्लेषणका माध्यमबाट भित्र प्रवेश गरेर विषयको सार बुझ्ने प्रयत्न गरे ।

संस्कृत विश्वविद्यालयका कर्महरू वाल्मीकिमा भए । दुई विद्यार्थी मात्र त्यहाँ पुगे, केही गुरुजन र प्रशासनिक कर्मचारी । अरु सबै ता जूममा नै थियौँ । पहिलो उम्मेदवारलाई दुई घण्टा, दोस्रालाई दुई घण्टा । सबै गर्दा पाँचघण्टे पलेँटी कसेर मात्रै उभिएँ । केही फलफूल र एक कप चियाले धानिएछ ।

एकजना शोध निर्देशक, दुई जना सह निर्देशक अनि प्रविधि मूल्याङ्कनकर्ता एक गरी पाँच जना प्रत्यक्ष सम्बन्धित भए । अनुसन्धान परिषदका प्राज्ञ सदस्य सात गर्दा एघार बाह्र जनाको मूल्याङ्कन समिति वरिपरि बसेर शोधार्थी बीचमा राखी खेरिन्थ्यो । आज कोरोनाले छरेर जूमले जोडको भरमा छौँ । एक जना विद्वान दाङबाटै पनि ।

शोधार्थीले पहिले बीस पच्चीस मिनेटमा आफ्नो तर्क प्रस्तति राख्छन् । त्यसपछि अनुसन्धान परिषदका निर्देशक । उहाँ पनि धेरै विद्वान् व्यक्ति हुनुहुँदो रहेछ । संस्कृतका तर अंग्रेजी राम्ररी बोल्न सक्ने । मेरा दुई सह–निर्देशकहरुमा प्रा. डा. कृष्णचन्द्र शर्मा, प्रा. डा. ऋषिराम अधिकारी (कृष्ण भण्डारीलाई) अनि प्राडा केदार पौडेल र प्राडा आमोदवधनि कौडिन्य । हरिचन्द्र कमालीले ।

बडो गहिरो छलफल भयो । सबैले आआफ्ना तर्क विचार प्रश्न राख्छन् । शोधार्थीले दह्रो भएर नकामी तिनको चित्तबुझ्दो जवाफ दिनु पर्दछ । असफल त हत्तपत्त हुँदैन तर यो पूर्व–भाइवामा धेरै नै खिपेर छरितो बनाइन्छ । एक दर्जन विज्ञले खिप्ता थामेर अडिन सक्ने मात्रै पार लाग्छ ।

संस्कृत विश्वविद्यालयका विद्वान् प्राज्ञहरू समिति सदस्यहरू अत्यन्तै प्रखर स्पष्ट र आफ्नो विषयका विष्णत रहेछन् । अघि ती चारपल्ट म गएको हुँ यस्तो थिएन । रामजीको पालामा शालिकराम तिमसिनाको पालामा । अहिलेसम्ममा चार विद्यार्थी पुगे मेरा विद्यावारिधि । यो संस्कृत विश्वविद्यालयलाई धन्यवाद छ ।

हिजो दुवैपल्ट सबैको पालो सकिएपछि गाइडको पालो आयो, सधैँ त्यस्तो हुन्छ । मैले भनेँ— यस विश्वविद्यालयलाई धन्यवाद छ । संस्कृतको ज्ञान नभएका हामीजस्ता अन्य विषयका व्यक्तिलाई पनि यस्ता पूर्वीय ज्ञानका रत्नभण्डारमा चञ्चुप्रवेश गर्ने अवसर दिनु भयो । विश्वास गर्नुभयो । नोपाली अंग्रेजी हिन्दी गर्दै बाहिरबाट कोट्याएर आंशिक बुझ्न खोजेर मैले यी विद्यार्थी निर्देशन गरेँ । यसरी संस्कृत भाषा साहित्यको ज्ञानलाई अरु साथीहरुले पनि सकेको बुझून् भन्ने आशायले हामीजस्ता शिक्षक विद्यार्थीलाई प्रवेश दिनु भएर सहयोग गरेर यस विश्वविद्यालयद्वारा संरक्षित ज्ञानलाई नै विस्तारित गर्नुभयो । म धन्य छु । मेरा यस विश्वविद्यालय अन्तर्गतका चार शोधार्थीमध्ये एक डायास्पोरिक कवितामा दोस्रा मेघदूतका नेपाली अनुवादमा, तीन ऋग्वेदमा पर्यावरणीय चेतनामा अनि चार गीतामा भगवान् श्रीकृष्ण विनिर्माणिक चेतना ।

यसरी हेर्दा के देखिन्छ भने यद्यपि ऋग्वेदकालीन पर्यावरणीय चेतना र बीसौँ शताब्दी युरोपमा जन्मेको यो चेतना भिन्न कुरा हुन् । भिन्न परिस्थितिका उपज । गीताको त्यो चेतना र आज हजारौँ वर्षका डेरिडाको सिद्धान्तमा कुनै तालमेल नहोला । ती आध्यात्मिक धार्मिक दैवी भावले भनिएका कुरा थिए । आजका हुन्, अर्कै परिस्थितिका परणाम । हजारौँ वर्षपछिको चिन्तन पद्धति यहाँ पुगेको रहेछ भन्ने प्रमाण, तथापि यिनै समस्याको वा सम्भावनाका पूर्णहरु हाम्रा आद्य ग्रन्थमा रहेछ । सोचाइको कोण फरक छ तर त्यहाँ आद्यबीज रहेछ ।

विश्वको कुनै साहित्यमा यी चेतना छैनन्, कुनै ग्रन्थमा आज हामीले अतीतको पुनर्भ्रमण गर्दा यस्ता कुरा भेट्टिए जस्तो लागेर यहाँ उत्खनन प्रयत्न गरिएको मात्र हो । सत्य नहुन सक्छ । धेरे प्रयत्न गरेर मात्रै अन्त्यमा पुगिन्छ । धेरै जना लागेर, धेरै समयले खारेर । आकाशका तारामण्डलबीच ग्रह पिण्ड र पृथ्वी मंगल आदिको निरुपण गर्न हजारौँ वर्ष लाग्यो । अझै अन्तिम ता छैन । हामीले ज्ञानको अपार क्षेत्र र अनन्तमा विश्वास राखेर अलिकति एक अंश छुने मात्र हो । हो कि हो कि जस्तो । हो भनेर ठोक्न सकिँदेइन । दोस्रो कुरा, हाम्रा ऋषिमुनि र द्रष्टाहरूमा यस्तो चेतना थियो । आज पश्चिमले जे जसो बोल्दै गर्दैछ, तिनको प्रारुप बीज ता हाम्रै पूर्वजले ल्याएका रहेछन् भनी देखाउन पनि सकिन्छ ।

एउटा पर्वतको निर्माण हुन स्थिर हुन कति लाख वर्ष लाग्छ । ज्ञान ठिक त्यस्तै कुरा रहेछ । विद्यावारिधि गर्नुको तात्पर्य जानने हुनु होइन, झन् नजानिने ठूलो अन्धकारतिर पाइला सार्नु हो ।

यसले खोज्ने अनुसन्धान गर्ने कोट्याउने विधि मात्र सिकाउन तृप्ति र सन्तुष्टिको ता होइन ।

पछि अन्तिम भाइवा भइसकेपछि म यी दुवै विद्यार्थीका अन्तिम मौखिक सकिए पनि शोधसारमाथि आफ्ना दृष्टिकोण लेखौँला, आजलाई उठान मात्र ।

बेलुकी एउटा सानो काम गरेर सुतेँ । किरण गजुरेल भाइले आफ्नो अनलाइनको लागि केही रचना संयोजन गरिदिन आग्रह गरेका थिए । यदाकदा आएका रचना पठाउने गर्थें, छापिदिन्थे । गत वर्ष कोरोनाकाण्डको पूर्वसन्ध्यामा भूमिका लेखेर ठीक पारेको एक उपन्यास सम्झेँ— अनिता पन्थीको । यतिखेर उनी सुरक्षार्थ लमजुङ घर पुगेकी छन् । त्यही पाण्डुलिपि किरणलाई पठाएँ । हप्ताको दुई अङ्क गरेर क्रमशः निकाल्छु भने भोलि बुधबार अनि शनिबार । त्यसैले अनितालाई सोधखोज गरी यो संक्षिप्त परिचय मेल गरेको थिएँ— अनिता पन्थीले पद्मकन्या क्याम्पसमा नेपाली विषयमा अध्ययन गरेर २०७५ सालमा त्रिभुवन विश्वविद्यालयको एमए परीक्षा उत्तीर्ण गरिन्, सो परीक्षामा उनले प्रथम श्रेणी हासिल गरिन् । रैनास नगरपालिका— ३ ढलौटा, लम्जुङ, निवासी अनिताले काठमाडौँमा रहँदा आंशिक जागिरसँगै अध्ययन, सिर्जना र लेखनमा धेरै परिश्रम गरिन् । नगेन्द्र शर्माको व्यक्तित्व र कृतित्व (२०७४) नामक कृतिले उनको समालोचनात्मक कलाको परिचय दिनेछ । उनका फुट्करमा प्रकाशित एक संग्रह समालोचना, कथा र निबन्धले सङ्कलित आकारको प्रतीक्षा गरिरहेका छन् भने अनायोजत उनको प्रथम उपन्यास हो । उपन्यासको केन्द्रीयतामा नयाँ पुस्ताले गरेको भाषा प्रयोग अनि विश्व समस्याको रुपमा उठेको पर्यावरणीय विनाशको कुरालाई नेपालको ग्राम्य परिवेशमा प्रस्तुत गरिएको छ । प्रविधिले हाम्रो विनाशको राजमार्ग खन्दै त्रिका अप्रदूषित गाउँसम्म पु-याएको छः अरु पनि कुरा छन् प्रेम र वियोग जस्ता जुन नवीन पुस्तालाई रुचिकर होला भन्ने लाग्छ ।

आज २६ गते बिहिबार । ठिकै समयमा उठेँ र स्वकर्तव्यमा जुटेँ । आज चाहिँ मेरो विचार गाम्नागेको उपन्यास पढिसक्ने थियो तर अञ्जना अस्पतालमा सुतेको चौथो रात बित्यो । मन एकदम अशान्त भएर आउँछ । केकस्तो हुँदैछ भान्ने लाग्छ । त्यसो त भाइ दौडधूप गरिरहेका छन् । डाक्टर, सोधपुछ, जाउलो, सम्पर्क, जागिर धाउँदै । निकै टाढा छ । गिरिश बाबुको ढुक्कै बसाइ छ, सेवाको चिन्तापूर्ण सेवा सुश्रुषा, निरन्जन दम्पति । हिजो लुना छोरी पनि आएको सुनेँ । हिजो मलाई जान दिएनन् । अहिले डिस्चार्ज गर्छन्, भरे नै डिश्चार्ज गर्छन् भने । राति ता जाने आँट पनि भएन । मोटरबाइकमा चिसोले भेट्छ, अरु उपाय छैन । मेरो सुरक्षार्थ उनीहरूले त्यसो गरेका हुन् तर त्यहीँ वरिपरि घुम्नु, हेर्दै, बुझ्दै गर्नु हुन्छ मन । उनीहरूले राम्रो छ भने पनि ढाँटे कि मलाई भन्ने हुन्छ मनमा । अझ एकपल्ट तीन बजेतिर अञ्जनासँग फोन गराएँ । त्यसबेला उनले भनिन्— हजुर नआउनू । मलाइ राम्रो छ । आज डिस्चार्ज गर्छौं भनेका छन् बेलुकासम्ममा ।

बेलुका मिलेनछ होला । सात बजे गिरिश बाबुले खबर ल्याउनु भो — अझै एकजना डाक्टरले कान हेर्न बाँकी रहेछ । आमालाई आज पनि उतै राख्ने भए । मलाई त्यसैबेला जाउँ कि जस्तो भयो तर मनलाई अकिकति फकाएँ ।

त्यसैले हिजो मन न्यास्रिँदै रात परेको थियो । यो घरको सारा सन्तुलनै घोप्टिएजस्तो हुन्छ । सुतेपछि सम्झँदै बिर्संदे गरेर उज्यालो पारेँ अर्थात् उज्यालो हुनुभन्दा दुई घण्टाअघि उठेँ । सफाइका भाँडावर्तन सबैभन्दा कम्ती थिए । बिहान छोरीहरू आएपछि तल झरेँ, ढोका खोलिदिएँ । कक्षा १० र १२ मा पढ्ने अस्मिता र मञ्जु कति स्वावलम्बी छन् । कुमार र विमलाका पुत्रीहरू ।

बारम्बार सोध्न पनि नानीहरुलाई झर्को लाग्ला भन्नु प-यो । म घर बसेर चिन्ता गरेर, उनीहरू अस्पतालमा । त्यसमा पनि सेवा आउँछिन्, रातभरि आमा कुरेर बिहान । अनि मलाई खाना बनाउँछिन् । बनाइदिन्छिन् । मलाई अलिकति शरम र अप्ठ्यारो पनि लाग्छ । चालीस वर्षको उमेरसम्मका अनेक परिस्थितिमा भात पकाउने, भाँडा माझ्ने, पानी ओसार्ने यही जीवन थियो । बिस्तारै केले छोप्तै ल्यायो । अझ पनि आनन्दले ती कर्म रुचिसाथ गर्न सक्छु, जान्दछु तर यो अनाडी हो जस्तो व्यवहार गरिदिएपछि कसलाई सुनाउनु र ?

भाइलाई सोधेँ, कतिबेला छोड्छ ? भाइ भन्छ, अहिले बिहानको जाउलो लिएर जाँदैछु, भरे १२ – १ सम्ममा छोड्ला ।

सेवा आइन्, त्यसै भनिन् । खानाहरू बनाएर लिएर गइन् । दिनभरि बसेँ । त्यसै बसेर ता समय जाँदैन पढिरहेँ । लक्ष्मण गाम्नागेको उपन्यास पसिनाका पाइला पैताला पढ्दै गएँ, पढ्दै गएँ, साँच्चै रुचिकर छ त्यो ।

आज पनि आमा आइनन् भने राति भए पनि एकपल्ट आउँछु, मलाई सुहाएन भन्ने खबर पठाएँ सेवालाई । उनले आज काम सकिन्छ होला भनिन् ।

ढोका लगाएर बसेको छु तर कता तलै पु-याएर कतिबेला यो गेट बज्ला भन्दै । अझ माथि बाटैदेखि फोन गर्लान् । नानीहरूलाई, आमालाई लिन आउनू भन्ने थियो । बिस्तारै एकातिर हातमा समाएर झारौँला । अझ अस्तिझैँ स्ट्रेचर बनाएर ल्याउनु पर्ला कि भन्दै थिएँ । पाँच बजेतिर फलामे गेट बज्यो । पाठहरू थन्क्याएर दुई तला ओर्लिएँ ।

पुग्दा ठूलो सोफामा अञ्जना बसेकी, ऋचाले विदेशमा किनिदिएका सेता सफा मोजा लाएकी, राम्रो कुर्ता सुरुवाल, रातो पातलो स्वेटर बुट्टे ओढ्ने, अस्ति भन्दा उज्याली ! म आनन्दले भरिँदै पसेँ । पारिको सोफामा गिरिश बाबु, सानो खाटमा सेवा बसेका । मलाई बोली नै रोकिएलाजस्तो आनन्दले छोप्यो ।

धेरै हतारिएर आत्तिनु पनि सुहाएन । सबै दुःख भोग्ने झटारिने उनीहरु । आमालाई निको पारेर ल्याए । एउटा परिवारको सुन्दरता यही रहेछ । प्रत्येकले प्रत्येकलाई मेरो अभिन्न जस्तो ठान्दोरहेछ । म धेरैबेर त्यहीँ बसेँ । अञ्जना राम्ररी बोल्न सक्ने, नसमाई हिँड्न सक्ने, उज्यालो अनुहारमा आइछन् । कानको जटिलताले उत्पन्न भएर बिमार रहेछन् । अरु रक्तसम्बन्धी अनि प्रेसर आदि सन्तुलनमा यस्तो गर्नु यस्तो दबाइ यति दिन फिजिओथेरापी सिकाएको छ, बिल यति पुग्यो, सेवाले आफैँ सुनाइन् ।

भुइँतलामै भाइको कोठामा ओछिन् लगाई ठिक्क पारिछन् छोरीले । केही दिनका लागि अग्लो सिरानेमा । सेवा छोरी बाहिर बैठकको खाटमा सुत्ने भइन् । खुसी लिएर म माथि चढेँ ।

ज्ञानबहादुरजीको… शीर्षक कृतिको फाइनल करेक्सन थियो । आधाघण्टा त्यो ग-यौँ । त्यसपछि अबेलासम्मै पसिनाका पाइला सिध्याउन बल गरेँ तर सकिएन ।