२२ चैत्र २०७६ (अप्रिल ४, २०२०)
घान लाई–लाई सुतेर निद्रा पूरा गरेपछि म सुरैले उठेँ । ब्यूँझदा ५ः२० भएछ । छदेखि कार्यक्रममा बस्न गएँ । मान्छे सुस्ताए जस्तो छ । शुरुमा भएको कोरोना उत्तेजना अलिक घट्तै छ । लकडाउन के के न होला जस्तो एक रोमाञ्चक भावले मानिसहरु उत्तेजित जस्ता थिए लकडाउनमा बस्न र पनि हामीले हारेनौँ खानपिन जुटायौँ भन्नु जस्तो र हामीलाई मुश्किल आज यस्तो कुरा पाइएन भन्नु जस्तो द्वयर्थक भावको भूमिका खेल्दै थियो मानिस ।
अब गलेछ मानिस । लकडाउनको आठौँ दिन भो । बेलाबेला पुलिसले बेस्सरी खेदोस् वा एक लाठी हानोस् भन्ने एडभेन्चरको पनि आशा थियो । त्यो कति पूरा भयो के भन्ने तर अब यसको अन्त्य भए हुन्थ्यो भन्ने पनि छ ।
तर रमाइलोको लागि ता होइन हो । विश्व आक्रान्त छ । मनभित्र धन्य नेपाल जोगिएको छ भन्ने घमण्ड पनि छ तर ब्याधिले भेट्यो भने हामीसँग प्राथमिक उपचारको साधन स्रोत पनि केही छैन भन्ने चिन्ता पनि । असुरक्षाबोध त्यसका साथै निर्लज्जहरुले पहिलो गाँसमै झिँगा हालिदिए भन्ने अपमानबोध र घृणा छ । कसरी भ्रष्टाचार गर्न सकेका भ्रष्टहरु । भानुभक्त ढकाल नामक मन्त्री र उसका मतियार कति नीच रहेछन् । टिन ठोक्तै शहर घुमाउनु पर्ने ।
त्यता नजऔँ । राजनीतिमा लाग्नेहरु नब्बे प्रतिशत चोर, ठग र भ्रष्ट हुन्छन् भन्ने विश्वास छ, तिनीहरुबाट कुनै आशा छैन । गर्नु पनि हुँदैन । जनता बाध्य छ ।
आज कोरोना पोष्टहरु आउन छाडे भन्दा हुन्छ । मेरो सम्झनाको सागरमा केही दिनको एपिसोड दोहो¥याएर सुन्ने फलाहारीले फोन गरे, त्यसका पात्र भाइ ओमनाथले, घरको खबर खगेन्द्रले । जयराजले फोनमा भन्यो— काका तेस्रो कथा लेख्दैछु ।
लेख, छोरा सिर्जनाभन्दा ठूलो प्राप्ति र उपलब्धी कतै केही छैन । साहित्य कलाभन्दा पर्तिरका काम सारा सारा व्यर्थ छन् । सारा तृष्णालाई एकोहो¥याएर कि पठनमा लगाइनू, कि सिर्जनामा प्रत्येक पठित युवती र युवालाई म त्यही भन्ने गर्दछु ।
एकछिनमा हार्माेनियम बजाइरहेका लक्ष्मीले फोन गरे । दमकका मेरा विद्यार्थी लक्ष्मी खनाल । उनले हाम्री आमासँग भेट हुँदाका दिनको कुरा सुनाए । उनी आमाका पनि प्रिय छोरा थिए । तर कहिले अलिक उटपट्याङ पनि । एक वर्ष कीरा मर्ने भनी प्लास्टिकले छोप्न लगाए र आमाका सम्पूर्ण दारिममा फल कुहेर खतम भएका थिए । तर प्रेम र हास्य भाव भरिएका हाम्रा परिवारका प्रिय पात्र हुन् कृष्णबहादुर जस्तै ।
दाजुले भिडियो क्लिपमा पठाइदिएको “मान्छे हनुवा बोका”को तमासा हेरेँ । लक्ष्मीले पठाइदिएको कसैको एउटा छन्द गीत थियो, मलाई त्यो केवल बिलौनाको लेग्रो तनाइ मात्र लाग्यो र पूरा सुनिनँ ।
त्यसपछि गोपी भाइले तेस्रो पोष्ट पठाए । सरदर उनी दिनको तीन पठाउँछन्— एक लघुकथा, एक आफ्नै गजल, एक आफूले गएको हिन्दी गीत÷गजल । मेरा भाइ चितवनको गोपी जस्ता अथक सर्जक र सम्बाहक अन्य कोही छैन होला ।
लाग्थ्यो संकटमा देशले सम्झिने छ । तर हजुर म त महाकाली पारि भोकभोकै रहेँ कम्युनिस्टहरुले सत्ता चलाएको बेला अर्काे एउटा कविता आयोः
मजदुर म त
आफ्नै देश छिर्न अयोग्य भएँ
देश ठूलो कि भोक ठूलो
यही सवाल दोहोर्याइरहेको छु
पारि मेरो भनिएको देश
वारि भोकभोकै कराइरहेछु
पहुँच हुनेहरुले सरकार हल्लाए
सरकारी खर्चमै जहाज चढेर आए
म चाहिँ महाकालीमा
हेलिएर मरौ कि अरु के छ उपाय ?
विदेशिनु कुनै रहर थिएन
सवाल थियो पापी पेटको
महाकाली एउटा नदी हैन
पर्खाल रैछ वर्ग विभेदको
तिम्ले फलाक्ने राष्ट्रवाद त
फगत एउटा लात रहेछ
जसलाई छेक्ने कुनै भेष छैन
आज आएर बल्ल बुझ्दैछु हजूर
मजदुरको कुनै देश छैन
रचनाकार: रमेश अधिकारी
स्वर: करिष्मा केसी
यो कविता आएको एकैछिनमा कीर्तिपुर मैत्री समाजका टंकले लेखे— खै के हो ! कम्युनिष्ट अन्तर्राष्ट्रिय जस्तो छ । मजदुर किसान यसका आफ्नै सगोत्री वर्गबन्धु हुन् भन्नेबारे मलाई यही सत्तामा चाचा हुुँइ गरिरहेका अनुहारले सिकाएका हुन् । कोशी गण्डकी महाकाली हाम्रो रगतको मूल नशा नै हुन् तर म अहिले आफैँ यिनीहरुको अनुहार र देश अनि जनतालाई हेर्दाहेर्दै भन्न थालेको छु धोका भयो धोका भयो यी हामीले सोचेका देशका र जनताका मानिस हुँदै होइनन् होशियार !!!
यो सरकारी संयन्त्रले गरेका भूलको एउटा कविता थियो । भारतबाट आएर महाकाली नदी तरी पौरेर पार गर्ने नेपालीलाई देशभित्र पस्न रोक्ने मूर्खहरु सिमानामा तैनाथ थिए । पुलिस केवल भन्ने हो, संवेदनहीन आदेशपालक त्यसमा मानवको अंश छैन । आदेश दिने कति मूर्ख हो भनी साध्य छैन ।
मध्यान्हमा चिया बनाएँ राकुरा पाउच, दुई पाना विस्कुट लिएँ र एकछिन् बिसाएँ । एकछिन् जगिङ गरेँ अञ्जनाले ल्याएको एक दुनो मेवा खाएँ र फेरि बसेँ ।
गुवाहाटी लीलबहादुर सरको फोन आयो, (भाइबरमा देखेँ र बोलेँ) ः
नमस्कार सर !
नमस्कार— त्यहाँ कस्तो छ, यहाँ त चौपट छ । एकदम सारा बन् छ । केही गर्न सकिएको छैन ।
यहाँ पनि बन्दाबन्दी अरु १० दिन बढाउला जस्तो छ, सर ।
यो बाहिरबाट आउनेले ल्याउँदैछ । साँचि त्यो मेरो नाटकहरुको संकलन सुरक्षित राखिदिनु होला । तपाईंसँग मात्र रहला भनी पठाएको । अरु दुई नाटिका थपेर पुस्तक निकाल्ने रहर छ । अझ त्यो लक्ष भन्ने नाटक बहुत महत्वपूर्ण छ, त्यो पनि तपाईंसँगै होसु, निकाल्नु पर्छ । त्यसो त मेरा निबन्ध लेखहरु पनि छन् तर काम गार्न मुश्किल छ । त्यसमाथि अब त बहुत कुरा भुल्न थालेको छु । के कहाँ छ पत्ता नहुने रहेछ । एकदिन यो कोरोना शान्त होला अनि जोगाजोग गरौँला । फेरि लाग्छ— हामीभन्दा माथि यो सब चलाउने पनि कोही होला । उसैले गर्ला ।
हवस् त सर नमस्कार । यसो हाल खबर सोधेको मात्रै ।
त्यसपछि देखेँ— तेजपुर आसामका ज्ञानबहादुर क्षेत्रीले पठाएको एउटा इमेल आएछ । वहाँले सम्झाएपछि थाहा भयो यो चाहिँ डा. ज्ञानू पाण्डेको बन्दाबन्दीको उन्मुक्ति शीर्षक निबन्धमाथि उहाँको प्रतिक्रिया रहेछ । कस्तो गम्भीर छ, नयाँ चेतना बुझ्दै गरेको व्यक्तिको सोच र लेखन अलिक भिन्न हुन्छ । ज्ञानबहादुरजीको त्यस्तै छ ।
ज्ञानबहादुर क्षत्रीले डा. ज्ञानू पाण्डेको निबन्धमाथिको टिप्पणी जुन यस प्रकार छ:
डा. ज्ञानू मेडमको बन्दाबन्दीको उन्मुक्ति शीर्षकको लेख पढेँ, साह्रै राम्रो लाग्यो । लेखमा मेडमले, जस्तै हुण्डरी आए पनि धैर्यका साथ सामना गर्नुपर्छ भन्ने सकारात्मक विचार प्रकट गर्नुभएको छ ।
महामारीका समयमा हताशा र अत्यासका कुरा गरिरह्यो भने ती कम हुँदैनन, बरु दुगुना तिगुना हुन्छन । त्यस्तोमा मनको ब्याट्री डाउन हुन सक्छ । त्यसैले मनलाई सधैं फुलचार्जमा राख्नु पर्छ––––––– साह्रै घतलाग्ने तरिकाले पस्किनुभाछ — ज्ञानू मेडमले उहाँको शक्तिशाली विचार ।
मेडमको निबन्धमा अद्भुत् शक्ति छ, पढेपछि कसैको पनि मन चाच्र्ड भइहाल्छ । यो लेख त पावरब्याङ्क जस्तै रहेछ, मनको ब्याट्री डाउन हुनलाग्यो भने चार्जमा राख्न सकिने।
लेख पढेर मलाई यही अनुभव भयो। अहिले मेरो मन फुलचार्जमा छ, त्यसैले मेडमको लेखमा अरु केही कुरा थप्ने आँट गरेको छु ।
पहिले पनि प्लेग महामारी, विश्वयुद्ध आदिका हताशाहरु, अत्यासहरु संसारले भोगेकै हो । अहिले कोरोनाले सारा विश्वलाई एकैचोटि गाँज्न आट्यो । यो लेख पढेपछिको मेरो मनले भन्दैछ यो हुण्डरी पनि पार भएर जानेछ। मान्छेले नै जित्ने छ यो युद्ध। मान्छेलाई विध्वस्त पार्न सकिन्छ तर उसलाई पराभूत पार्न सकिँदैन––––हेमिङ्वेले भनेका हुन् ।
कोरोना पार भएर जानेछ। त्यसपछि मान्छेका जीवनमा के कस्ता परिवर्तन आउन सक्छन् त्यसको चर्चा समयमै हुनु आवश्यक छ। विश्वका समाजविज्ञानी, अर्थनीतिविद, राजनैतिक विश्लेषक र दार्शनिकहरुने यसबारेमा के भनेका छन् त्यसको जानकारी पाउने ध्येयले अलिकति सर्च गरेको थिएँ–––त्यसपछि मनमा उब्जेको विचार शेयर गर्न चाह्न्छु । धृष्टता भयो भने क्षमा चाहन्छु।
युवल नोवा हरारीको सेपिएन्स भन्ने ग्रन्थ भर्खरै पढिसिध्याएँ । पुस्तकको पुछारमा सत्तरी हजार वर्षअघि अफ्रिकामा सृष्टि भएको एउटा जीव अहिले भगवान् भएको छ भन्ने उपशीर्षक छ। त्यसको सारांश नेपालीमा प्रस्तुतगर्न थालेको थिएँ। यही समयमा हरारीको इकोनोमिक टाइम्समा प्रकाशित एउटा महत्वपूर्ण लेख छोराले डाउनलोड गरेर मेरो ह्वाट्सएपमा दिएछ । त्यो लेख पढेपछि म झस्किएँ । कति परसम्म सोच्न सकेका हरारीले ! अचम्म लाग्यो । त्यसैले थालेको काम थाँतिमा राखेर पहिले हरारीको कोरोना सन्दर्भको लेखको चर्चा गर्न चाहन्छु ।
हरारीको लेख निकै लामो छ । यहाँ थोरै कुरा मात्र कोट्याइदिन्छु ।
कोरोना सकिएपछि कुनै पनि देशको सरकारले नागरिकमाथि कढा निगरानी राख्नेछ । त्यतिखेर सरकारी सर्बेइलेन्स (सूक्ष्म सर्वेक्षण वा कठोर परीक्षण) का कारण नागरिकहरुको व्यक्ति स्वाधीनता समाप्त हुनेछ ।
अहिलेसम्म तपाईले स्मार्टफोनमा के के हेर्नुभयो अथवा के के पढनु भयो त्यो सरकारले चाल पाउने व्यवस्था गरिसकेको छ । कोरोना महामारी सकिना साथ इन्टरनेट प्रविधिमा ठूलो परिवर्तन आउनेछ अनि त्यसको उपयोग सरकारले गर्नेछ । मानिलिनोस, कुनै एउटा देशको सरकारले देशका सबै नागरिकहरुलाई विशेष किसिमको बायोमेट्रिक ब्रेसलेट (चूरो) लगाउनु बाध्यतामूलक पारिदियो । त्यो ब्रेसलेटले तपाईको शरीरको तापमान र मुटुको धडकन चौबीसै घन्टा मनिटर गर्नेछ । त्यो ब्रेसलेटबाट लिएको डेटा सरकारी एलगोरिथममा तत्कालै पुग्नेछ र विश्लेषण हुनेछ । तपाईंले बिसञ्चो भएको अनुभव गर्नुअघि नै तपाईँको शरीर ठीक छैन भन्ने कुरा सरकारले चाल पाउँछ । यस्तो सूक्ष्म सर्वेक्षण व्यवस्थामा तपाईँ कहाँ जानु भयो, को कोसँग भेट गर्नु भयो, ती सबै कुरा रेकर्ड हुनेछ । कोरोनाको श्रृङ्खला भत्काउनुमा यो उपाय कारगर सिद्ध हुनेछ ।
एकान्त व्यक्तिगत मानिएका यौनिक कुरा पनि शारीरिक बायोकेमिस्ट्रीसँग जडित कुरा हुन् । त्यसैले जुन प्रविधिले तपाईले कति खेप हाच्छ्यूँ गर्नु भयो भन्ने थाहापाउन सक्छ सोही प्रविधिले तपाईंका व्यक्तिगत र गोपनीय सबै कुरा पत्तालाउन सक्छ । तपार्इंका घरका सदस्यहरु (श्रीमती, छोरी, छोरा–बुहारी) को चालामाला तपाईले चालपाउनुअघि नै सरकारले चालपाइसकेको हुन्छ । सरकार तथा ठूला कम्पनीहरुले हाम्रा मनमा के चल्दैछ त्यो पनि पहिले नै चालपाउने छन । तपाईलाई हँसाउने, रुवाउने र रिस उठाउने तत्वहरुको के हुन् त्यो चाल पाएपछि उनीहरुले हाम्रो भावनासँग खेलवाड गर्नेछन्, हाम्रै भावनालाई लिएर व्यापार गर्नेछन।
त्यतिखेर हाम्रो मन पनि हाम्रो रहने छैन । यस्तोमा मनलाई फुलचार्जमा लाउने भन्ने कुरा कति सम्भव होल ?
कोरोनाको आक्रमण नागरिकहरुको अधिकार र स्वाधीनताका लागि पनि ठूलो प्रत्याह्वान बन्ने छ । यो सङ्कटको समयमा हामीले धैर्य गुमाएर सही निर्णय लिनमा चुक्यौं भने हाम्रो सबैभन्दा मूल्यवान सम्पद स्वाधीनता गुमाउने छौँ । स्वाधीनताभन्दा स्वास्थ्य ठूलो, अब कुन चाहिँ रोज्ने भन्ने प्रश्नले नागरिकलाई अल्मल्याउने प्रयास हुनेछ । यो कुनै एउटा मात्र रोज्न सकिने कुरा हुँदै होइन। हामी दुइटै रोज्न सक्छौँ । हामीलाई स्वाधीनता र स्वास्थ्य दुवै थोक चाहिन्छ।
सरकारले यसरी बाध्य गराउन थाल्यो भने हामी र रोबोटमा कुनै अन्तर रहने छैन। सरकारले हामीलाई रबटका जसरी नचाइरहने छ।
हरारीले जुन सावधान वाणी सुनाएका छन त्यस अनुसार हाम्रो स्वाधीनता र स्वास्थ्य सुरक्षित गर्न हामीलाई पाण्डे मेडमले भने अनुसारको आँट र दृढ मनोबल चाहिन्छ । हामीले हरेस खानु हुँदैन ।
भट्टराई सर, ज्ञानू मेडमको यति सुन्दर प्रेरक लेख फरवार्ड गरिदिनुभयो, अशेष धन्यवाद छ तपाईँलाईँ। लेखकी सर्जक ज्ञानु मेडमलाई हार्दिक बधाइ र शुभकामना छ।
विनीत
ज्ञानबहादुर छेत्री
०००
दिनको अद्रक–चिया पान गरेपछि आजको कान्तिपुर पल्टाएँ । भाइले आजदेखि प्रिन्ट एडिशन आउँछ भनेका थिए । आएछ पनि । अलि पातलिएर । धन्य कोरोनाबाट बच्तै छ। आजदेखि भाइले पनि अफिस धाउनु पर्ने हो कि बुङ्मति टु थापाथली ?
पल्टाएर हेर्दा अभिसरको एउटा लेख रहेछ । शुरुमा ता के लेखौँ भन्ने भावको, वीपीको सम्झनाले कलम भरिएको, उहाँको कर्मले उत्प्रेरित । त्यसदेखि तल्तिर छ कोरोना भाइरस विषयक, हिजोको राष्ट्रको सम्पदा र आजको यथार्थमा भोकाएका स्यालहरुले घेरिएको अवस्था । यो लेख पनि एक बौद्धिक उचाइ भएकाले मन प¥यो । यसरी यहाँ राखेँ र एकप्रति ज्ञानबहादुरजीलाई फर्वाड गरेँ । बौद्धिक लेखन भएको व्यक्ति उहाँ ।
त्यसपछि बीच तलाको आइसोलेशनबाट सेवा छोरीले एक इमेल पठाइन् जसको सारांश छ— आजससम्ममा नेपालमा १० जना व्यक्ति कोरोना प्रभावित देखिएछन् । यो बढ्दो गतिमा छ । तर यस्तो के हो किन कुनै रोगी/प्रभावितको नाम जनाउँदैनन् । मन्त्रालय सूत्रका अनुसार मुम्बईबाट फर्केको कैलाली निवासी २४ वर्षे पुरुषलाई कोरोना… भन्छ । नाम भन्दा के हुन्छ, थर ठेगाना भन्दा के हुन्छ ? आफैँ कुनै अपराधीबारे कुरा गरेजस्तो गर्छ सरकार/गर्छन् पत्रकार । जनता त्यसै डराउने भए ।
अस्तिका दिनदेखि एउटा लामो कर्म थालेको छु— योगेन्द्र तिमल्सिनाकृत विश्वका विख्यात साहित्यरकारहरुको अन्तिम पठन (यो शीर्षक फेर्नु पर्ला कि जस्तो पनि मान्दछु) । त्यसो त मैले धेरै पहिले लक्ष्मण गौतम र हरिहर पौड्यालले लेखेको नोबल पुरस्कार विजेताहरु शीर्षक कृति पढेर भूमिका पनि लेखेको हुँ, रत्न पुस्तकले छापेको हो । नेपालीमा विश्व साहित्यबारे लेखिएका यस्ता अरु पनि पुस्तक छन् । पहिलो महान् क्लासिक कृति ता तानाशर्माको पश्चिमका महान साहित्यकारहरु हो । पछि शारदाप्रसाद घिमिरेले होला लेखेको विश्वका महान् साहित्यकार । धेरै वर्षदेखिको एक रिक्तता थियो यसलाई पूर्ति गर्न आएको छ यो योगन्द्र दाइको कृति ।
यसमा नोबेल पुरस्कार प्राप्तकर्ता मात्र होइन, सातै महादेशका चुनिएका स्रष्टा पनि परेका छन् । जम्मा १६० जनाको विश्वपङ्त्तिमा नेपाली स्रष्टालाई पनि समावेश गरेर उहाँले भाषा प्रेम र जाति प्रेम प्रकट गर्नु भएको छ । त्यसैले आजैदेखि मैले यो पढ्न थालेँ र बेलुकासम्ममा तीस शर्षिक पढेँ । ती हुन्—
जेन अष्टेन, निकोलाई अस्त्रोभ्स्की, भानुभक्त आचार्य, इभो आन्द्रिक, मेथ्यु आर्नोल्ड, हेन्रिक इब्सन, काजुओ इशिगुरो, सिग्रिद उन्दसेत, भर्जिनिया उल्फ, जोजे एचेगारे, जर्ज एलिअट, टि. एस. एलिअट, सीन ओकासी, युगेन ग्लाड्स्टोन ओनिल, क्रिस्टोफर कडवेल, एस. टी. कलरिज, साल्भातोर काजिमोदो, फ्रान्ज काफ्का, अल्बेअर कामु, जिओसुए कार्डुक्की, एरिक अक्जेल कार्लफेल्ट, कालिदास, यासुनारी कावाबाता, सोरेन आबाइ किर्केगार्ड, जोन किट्स, रुद्यार्ड किप्लिङ, पाउलो कोएल्हो, को मो–जा, ओमर खैयाम, जोन गल्सवर्दी ।
पश्चिमाञ्चल धनगढीमा आजै एकैचोटि तीनजना कोरोना केश सरेको खबर आयो । बहिरबाट आएका तीनले बितेको १४ दिनमा कतिलाई सारे होलान्— सबैमा भय फैलेको छ, सन्देह भरिएको छ । अनि त्यसै भयले होला सुदूर पश्चिमाञ्चलकै भाषिकामा तत्काल बनाइएको एक भिडियो क्लिप प्रचारमा आयो । यसले साधारण, अशिक्षित, वा सरल नेपालीको मानसिकतामा जनहिताय चेतना भर्ने प्रयत्न गर्छ यो एक मीठो भाषिकाको सम्मिश्रण जस्तो लागेर एकपल्ट दोहो¥याई सुने, त्यसलाई यहाँ सार्दछु । यो नेपालमा कोरोना भाइरस विस्तारको एक दुःसाध्य चरण हो ।
मोबाइल रिङटोन पछि
पुरुष ः अँ भन् ।
नारी ः तिमी काँ पुग्या ?
पुरुष ः घर नजिकै पुग्न लाया ।
नारी ः धेरै राम्रो भयो । तुमी घरै आउने हौ क्या ?
पुरुष ः यतिका वर्ष काँ टी घर आएका नै छौ घर नआई के जङ्गल जाऊँ ?
नारी ः चौध दिनसम्म करेन्टाइनमा बस्ने भन्याको होइन तुमी ?
पुरुष ः आ छाड्दे ती कुुडा ।
घर आउने बाटो हत्याको नाप्नेवाला घुप्रै ठाउँ जोड्याका जोड्याई जाँचकीकन पठायाका त हुन् । मकन सप्पै रामडै छ ।
नारी ः नरिसाऊ न । रेडियो बाटी सुन्या हो ऐले क्यै नदेखिया पन दुई हप्तासम्म पन देखिँदो छ अरे करुणा कन टाँसिकन आयाका हुन् जरो नदेखिया पन रो ल्याया छै कि भयो ।
पुरुष ः भयोे यस्तो कुडा सुनाउन पड्दैन । तमी भनिकन यहाँ आयाका हुँ ।
नारी ः कोपिलाका बा तुमीले तेसो भन्याको काँ हो ! बूढा बाआमा छोराछोरी सम्झ्यौँ कि न ! ऐले सचेत नभयापछि सारा गाउँ सल्केला ।
पुरुष ः होइन मलाई तेसै भनिस सावित्री ।
नारी ः मकन था नाईं यतिका वर्ष भया घर फक्र्याका छौ नजिक हुन्या सुखदुःख बाँडन्या मन नहोला । (सावित्री सुकसुकाएको सुनिन्छ ।) वर्षाैं कुर्न सक्यौ चौधदिन त हो नि बाँच्नकन पनि हेडनु प¥यो ।
पुरुष ः नरो विचरी नरो । फोन छदाइछन् कुरा हरिहेरौला । त्यसो भया म करेन्टाइनतिर लागेँ ।
भया करेन्टाइनमा छुट्टै बसौँ नभया घर एकान्तमा बसौँ । विदेशबाट फर्केका दुई सातासम्म कोई पनि जमघटमा नपसौँ । (सबैका हितका लेखा— बार्दली क्रिएशन्स ।)
०००
कति संघ–संस्थाले र सरकारले अनेक प्रकारले बल गर्दैछन् । तर अघि कहिल्यै नभोगिएको महाव्याधि विश्वमाथि खनियो । यस्तै होला सामान्यै जाला भन्ठानियो । तर देश लकडाउनमा बसेको ११ दिन पछि सुन्दा एकैचोटि तीस रोगी भेटियो । बितेका १४ दिनमा प्रत्येकले कति जनालाई सारे होलान् ? आत्तिनु भन्दा पर्तिर अरु कुनै उपाय छैन । सरकार भनेको ठगहरुको संजाल हो त्यसबाट क्यै उद्धार हुने छैन ।
यतिबेला दिन ढल्किसक्यो । दिनभरि कोही नआए नगएको १० दिन भो । आजको सौदापात पनि छोरीले ल्याइन् । आज पनि खोष्टे दाल भिजाएर पिसी त्यसको बाबर खाजा खाइयो, कति नौलो र मीठो छ । भाइलाई फोन गरेँ । घरैबाट काम गरिरहेछु भने । सेवा पनि घरैबाट काम गरिरहेकी छन् । भेटघाट र प्रत्यक्ष संवादविनाको जगत् छ । हलचलविनाको तर आवश्यक संवादको लागि टेलिफोन सुविधा छ । नेपाल टेलिकमले ठूलो काम गर्दैछ । चौबीसै घण्टा जनताको कानमा हुने यन्त्रले हिजोदेखिको रिङटोनको भाषामा दुई शब्द थपेको छ यसरी—
अनिवार्य रुपमा कम्तीमा दुई हप्ताभित्र यदि तपाईं विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनु भएको छ भने र कोरोना भाइरस लागेको व्यक्तिको सम्पर्कमा आउनु भएको छ भने अबको दुई हप्तासम्म घरमा बसिदिनु हुन अनुरोध छ । अरु व्यक्तिबाट कम्तीमा एक मिटरको दूरी कायम गरिदिनु हुन अनुरोध छ । यदि तपाईंलाई ज्वरो खोकी छ र स्वास फेर्न गारो भएको छ भने तुरुन्त मेडिकल स्वास्थ्य चौकीलाई सम्पर्क राखी उपयुक्त सल्लाह लिऔँ ।
त्यसपछि हामी व्यायाममा लाग्यौँ । ऋचाले पठाएर सेवाले फिट गरेको ३० मिनेटको तर आज अलिक बढ्ता स्क्वाटिङ ‘आधि बस्ने’ अनि सुतेर, तेर्छिएर, बटारिएर खेल्ने खालको रहेछ । त्यस्तो उल्कापात गर्न कहाँ सकिन्छ र ! तर कसोकसो पसिना काढेर सक्यौँ । यसअघि डा. कमल देवकोटाले एक लेख पठाएका थिए विश्वभूमण्डलिकरण, कोरोना र नवीन मानवतावादी सोचको अपरिहार्यता शीर्षकमा । एकपल्ट पढेर प्रकाशनार्थ भाइलाई पठाएँ । अंग्रेजी विषयका मानिसले जब सिर्जनात्मकता तिर लाग्ने रहर र प्रयत्न गर्दछन् यो मलाई असाध्यै ठूलो खुसीको कुरा लाग्छ । अंग्रेजी मात्र पढेका त्यसैमा मात्रै गर्न सक्ने विद्वान्हरु नेपाली भाषालाई हानिकर हुन्छन्; त्यसैगरी संस्कृत मात्र पढेका विद्वान्हरुले विश्व चेतनाको विश्वचेतना थाहा नपाई अतीतको सुन्दर वनमा जीवन गुजार्छन् । त्यसैले दुवै कुराको ख्याल राख्न सक्नेलाई नेपालीमा नेतृत्व लिने अवसर दिँदैनन् । अरु खाले यथास्थितिवादीको उपस्थितिले यहाँको स्थिति कब्जा गरेको छ सधैँ ।
यति गरिसक्ता एक कविता भाइरल भएर आयो । कविता हो जीवनहरि शर्माको, वाचन, सरु गुरागाईंको अनि संयोजन मुरारी गुरागाईंको विज्ञानको दुर्दिन शीर्षक ः
आयो संकट विश्वमा दिनदिनै झुक्दै छ मान्छे किन
खायो विश्व सखाप पार्छ कि कतै हाम्रो घुस्यो आँगन
सारै होस गरे बचिन्छ कि कतै मान्दैन यो मानिस
भन्थे मै हुँ म राख्छु विश्व वशमा रोए अहो ती किन ।१।
यौटा मात्र रहेन देश अछूतो दिन्नन कुनै उम्कन
ठूलो शक्ति छ अश्त्र शस्त्र महिमा क्षेप्यास्त्रको भेदन
जंगी यान रकेट जेट बनिए त्यो चन्द्रमा उक्लिन
ईश्र्या दम्भ घमण्ड शक्ति सबको खोज्दैछ सिध्याउन ।२।।
खै के काम भयो र शक्ति गतिलो आफँै भयो छेदन
केही गर्न नपाउँदै जगतमा लाखौँ बिरामी किन
द्रष्टा दृष्टि भविष्य देख्छ जसले त्यो देवता मागन
हाँसी मर्दछ ज्ञान यो जगत्मा विज्ञान रोइकन ।३।
साँच्चै सावित हुन्छ उक्ति कि कतै देखेर भन्ने मन
धेरै बुद्धि र योजनाहरु भए सक्दैन होला छुन
अर्काे सूर्य र यान मंगल पुगे बन्दैछ तारा जुन
भन्छन् दिग्वििजयै ग¥यौ प्रकृतिमा सामथ्र्य काम्यो किन ।४।
सुरो भै घुमिदिन्छ नित्य पथमा श्रद्धाञ्जली पाउन
मेरै हो सुख भोग हैन अरुको आफैँ पुग्यो मासिन ।
अर्बाैं अर्ब गरेर खर्च बममा सद्बुद्धिको दोहन
राख्या छौँ दिनरात भन्छ वशमा हुंकार थाक्यो किन ।५।
छेवैमा अनि बन्दछन् प्रकृतिका खाना पुरानै लिन
जो जो बस्दछ गुक्तवास घरमा त्यो भाग्यशाली जन
शंका गर्दछु आज विश्व बिचमा विज्ञानको दुर्दिन
कोरोना भनिने छ भाइरस यो मान्छे डरायो किन ।६।
यस कविताको सारतत्व बालकृष्ण समले रचेको ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछबाट प्रभावित छ । यसले मानव कृत्यमा आध्यात्मिक एवम् नैतिक पक्षको अभावतर्फ सङ्केत गर्दछ । यसले विज्ञानको प्रशंसा गर्न सक्तैन। वर्तमान उन्नतिसँग जोडिएका विनाशको गणना गर्दछ । अत्यन्तै सुमधुर स्वरको वाचन भएकाले पनि होला यो भाइरल नै हुन गयो ।
“कोरोना” विम्बले कवि लेखक, गीतकार सारालाई उक्साएर यसैगरी सर्वत्र बोल्न लगाउँदै छ । त्यहाँ विज्ञान ता कम्ती हुन्छ तर नेपाली कला अवश्य पाइन्छ । हिन्दी र अंग्रेजीबाट पनि प्यारोडी जोक, हाइकू आदि बनेर आइरहन्छन्; प्रतिदिन पस्तै छ ।
हिजो महाकालीमा हाम्फालेर बाँच्ने एक नागरिक प्रचार आए । आज ‘एकैदिन तीन जनालाई कोरोना’ भन्ने छ खबर । उता भ्रष्टाचारको खबर छ सँगसँगै । बेलुकातिर मन अशान्त भयो र भोलि एउटा कविता लेख्नेछु भन्ने आठोट गर्दै सुतेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।