२३ चैत्र २०७६ (अप्रिल ६, २०२०)

राति चाँडै ब्यूझिएँ । ठीक तीनमा । भोलि एक कविता रच्छु भन्दै सुतेको थिएँ । मनमनै कविताको विषय र शब्दहरु पनि सोचेको थिएँ । बिहान उठ्ता सबै हराइसकेको हुन्छ, ससानो सपना जस्तो अस्पष्ट आकार मात्र बाँकी रहन्छ । ठूला दाउरा मूढालाई धमिराले खाइसकेर झिँजामिजाका आकार मात्र भुइँमा देखिएझैँ ।

उठेर चढेँ । दबाइ–चिया पकाएर ठीक पारेँ अनि पलेँटी कसेँ । अर्काे साहित्य डायरीमा । बिस्तारै सोच्तै गर्दा पाँच बजे सकियो । करेक्शन गरेँ र टाइपमा बसेँ । दुई पेज कविता टाइप गरेँ । निकै समय लाग्यो युनिकोडमा । सकेर यसो शेभ गरौँ भन्दा कता के चिप्लियो र फुत्तै त्यो हंश हरायो । निराश भएँ । फेरि एक कप चियाले मन शान्त गरेँ । अनि फेरि टाइममा बसेँ । टाइप गरेपछि कविता यस्तो प्रकृतिको बनियोः

जननी जन्मभूमिश्च

तिमीले दुःखसाथ सत्य खोज्नु पर्दैन
हे सञ्चारकर्मी हो !
केवल समाचार भए पुग्छ
के असत्य पनि समाचार होइन र ?

सत्यले बरु पोल्छ
त्यो सल्केको कोइला हो या अगुल्टो
सत्यको अन्तिम स्वरुप नि
कोरोना जस्तै हुन्छ
छोएपछि सिध्याउँछ
बरु तिमी चुप्प लाग
छुनेलाई नै सिध्याओस्

नदेखे झैँ गर, नसुने झैँ गर
मुख नखोले झै गर
जब त्यो प्रकट हुनखोज्छ
कोरोनाले झैँ
उसैलाई टोक्न थाल्छ, चिथोर्न थाल्छ

हे पत्रकार बहिनी ! हे पत्रकार भाइ !!
उर्लिरहेको त्यो कर्णालीमा
तिमी हामनफाल
समाचार भए पुग्छ, त्यही लेख
यतिखेर सत्यले प्राण लिन थालेको छ
त्यो नखोज, त्यसलाई नब्यूँझाऊ
यतिखेर देशलाई
सन्चले कुर्सीमा बसेर
कोरोना टोक्न देऊ
चीनबाट आयातीत होस्
या भारतबाट
चौध दिन पर्खिनु पर्दैन
तेह्रै दिनमा मृत्यु नाचको
संकेत देखिन थाल्छ

हे डाक्टर भाइ ! हे डाक्टर बैनी !!
हामी देख्तैछौँ, देशले हेर्दैछ
तिमी एक अग्निकुण्डमा
जीवनसँगै हामफाल्दै छौ

असत्य, अफवाह र भ्रान्तिले
हामीलाई मार्दैछन् यसबेला
हाम्रो प्राण–कवच
केवल तिमी हौ
कुर्सीमा बसेर ऊ चिच्याइरहोस्
“गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुहोस्
“गुणस्तरीय स्यानिटाइजरलाई
आफ्नै हातले धुनुहोस्, अनि
घण्टा घण्टामा साबुन पानीले
अरुका हात धुनुहोस्”

खानेले घाँस खाउन्
अथवा गोबर जस्तो केही चपाउन्
तिमी त्यस्को चिन्ता नलेऊ
कि गलाले खास्छ कि कलाले
एकैछिनमा मरेरै जाने हो, सक्तो खान देऊ
कोरोनाभन्दा डरलाग्दो भोक
शहरका गल्लीदेखि गाउँका गोरेटा
ढाकेर हिँड्दैछ— बस्तै उठ्तै
अलिकति दबाइ र मानवता
तिनीहरुको लागि छुट्याइदेऊ
ती घरसम्म ता पुग्दैनन् होला
यद्यपि
तिमीले आफ्नो प्राण दिएका छौ

हे प्रहरी सेना भाइहरु ! बैनीहरु !!
खानेहरुको चिन्ता नगर
ती भाइरसहरुलाई
अरक्षितै बस्न देऊ
छाता ओढाइरहनु पर्दैन

एकैछिनपछि कालले
सबैको हिसाबकिताब मिलान गर्नेछ
एकैछिन पर्खिनु मात्र हो
ग्रहणले कतिन्जेल ढाक्छ र ?

कोरोना टोकेपछि उसको
घाँटी बिझाउन थाल्छ
छाला पनि चिलाउन थाल्छ अनि
कपडा खोलेर फ्याँके हुन्छ
त्यसपछि ता हरियो बाँस काटे हुन्छ

अमर बन्न टोक्तैछन् टोक्न देऊ
सारा तमासा हेर्ने पनि
छेउमै बसिरहेको हुन्छ
तिमी केवल तिनको रक्षा गर
जसलाई भ्रान्ति र भूलले निल्दैछ
जसलाई अभाव र गरीबीले निल्दैछ

बरु किन उसलाई रोक्यौ तिमीले
जसले आमा काखमा पुगेर
अन्तिम प्राण त्याग्न हाम्फाल्दैछ
सिमानाको नीलो जलराशीमा
आखिर त्यो निहत्था
तिम्रो दुश्मन थिएन
ऊ नाङ्गै छ, अनि भोकै छ
जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी ।

०००

त्यति गरिसक्ता हरि भाइको कल आयो । उनले मेरो सम्झनाको सागरमा केही दिनको तेस्रो इपिसोड (वाचनमा) पठाएका रहेछन् । एक घण्टा बितेपछि त्यसका पाठक प्रतिक्रिया आउन थाले । तर बेलुका मात्रै एकैचोटि हेर्न भ्याएँ ।
बाल्यकालीन पढाइको यस्तो संघर्षले सर त्यो स्थानमा पुग्नु भएको छ— डा. विन्दु शर्माले लेखिछन् । अरु धेरै छन्, पछि सारौँला ।
बिहानदेखि उता पठनमा ज्यादा लागिपरेँ । यता डायरीमा ज्यादा उल्लेख भएन । तापनि फेसबुक जागिरहन्छ । घाँस पराल खोसेला हावामा उडाइरहन्छ । मध्याह्न पश्चात् सुरेन्द्र लिम्बू परदेशीले फोन गरे । उनी एक असल अध्येता र नेपाली साहित्यको उन्नतिमा समर्पित व्यक्ति हुन् । मलाई उनको जिज्ञाषु स्वभाव खूब मनपर्छ । उनी विश्व नेपाली साहित्य महासंघका अध्यक्ष पनि ।
सर नमस्कार, के कस्तो हुनुहुन्छ ?
नमस्कार, सेवारो, भाइ, राम्रै छ । लखनौमै ?
ज्यू सर । आफूलाई ?
राम्रो छ भनौँ भाइ यो लकडाउनमा । आज ११ औँ दिन भो । १३ दिनमा किरिया सिद्धिन्छ ।
कोरोनाको सर ?
अँ नि भाइ, बार्दै छौँ । (हा हा हा हाँस्यौँ) ।
उनले एउटा कविता पोष्ट गरे । कसैको रहेछ । हेर्दा देखेँ कविता सुनेँ— भिजुअल पनि उस्तै राम्रो । मैले भने सुरेन्द्रलाई—
भाइ यी कविको रचना मलाई टाइप गरेर पठाइदिन भन्नोस् न छोटो व्यक्ति विवरणसँग ।
हवस सर ।
त्यसको आधा घण्टामा तीन बज्यो । सेवाको चिया नास्ता— पास्ता विथ बीटरुट, मिल्क– टी सेवन गरेर लाइब्रेरी चढ्यौँ । आधाघण्टा कडा व्यायाम थियो, हातखुट्टा ढाडको । एक फूर्ति गोरी युवतीले सिकाइन् तर हामीभन्दा उनलाई ज्यादा स्याँस्याँ हुँदो रहेछ ।
त्यसपछि बिसाउँदै हेरेँ— रविन्द्र समीरको फेसबुकपाठ आइसकेछ । हिजैदेखि नेपाल कोभिड — १९ को दोस्रो चरणमा पसेछ कारण नेपालमा उत्पादित संक्रमित वा अर्काे संक्रमित थपिदैछ नौ जना पुगे । विश्वको रेकर्ड हेरेँ— अमेरिका, स्पेन, इटालीले बिरामी संख्यामा पदक जितेका छन् । चाइना ता जर्मनी फ्रान्सभन्दा तल धेरै तलको स्थानमा झरेको छ । विश्वका संक्रमित कूल १२ लाख, स्वर्गवासी ६५ हजार, फिरेकाहरु अढाइ लाख । जानी–नजानी मानिस लर्दैछन् जिउने आशमा ।
त्यसपछि योङहाङ प्रदीप लिम्बूको मेल आयो । कविता यथार्थपरक छ । कोरोनाको कारणले धनीलाई मात्र छोए हुन्थ्यो, गरीब त कोरोना पर्खिन सक्तैन, भोकले मर्दैछ। प्रदीपको कविता यस्तो छः

म केले मर्छु ?

काँइलो,
उमेरले अधबैँसे जो
बिहानै घरबाट निस्कन्छ
र दिनभरी घामलाई छाता,
राप र तापलाई सितलता मानेर
पसिनाको कर्णाली बगाउँछ।

साँझ पख
गलेको अनुहार,
एक खिली मुस्कान च्यापेको ओठ,
हातको झोलामा
दुई छाक जीवन बोकेर फर्किन्छ

बेलुकी सन्तोषको गुन्द्री ओछ्याएर
आनन्दले निदाउँछ।

काँइलोको
यो दैनिकी जस्तै हो
तर दैनिकी हुँदै होइन,
किनकी
परिवर्तनको लागि टाउकेहरुले गरेको हडतालले,
उसलाई कयौँ दिन
पसिनाको कर्णाली बगाउन दिएको छैन
उसले ओछ्याएको छैन सन्तोषको गुन्द्री,
र निदाएको छैन आनन्दको निद्रा

आज देशमा
सिमानाको बाटो भएर पसेको छ
एकहुल छिमेकी दुश्मनहरु
सरकारद्वारा उच्च सतर्कता नारा लगाउँदै,
देश भर लकडाउन घोषणा गरिएको छ
र फेरि काँइलोको दैनिकी
दैनिकी हुन पाएको छैन

यतिबेला काँइलो
झुपडीको क्वारेन्टाइनमा बसेर
बल्न नसकेको चुला
सल्किन नसकेको दाउरा
भरिन नसकेको भाँडा
हेर्दै
आफैसँग बारबार प्रश्न गरिरहेछ
“म केले मर्छु ?”
भोकले या रोगले ?

यसपछि अबेला भयो । दिनमा आएको अभिसरको इमेल खोलेँ । उहाँले अरुन्धती रायको द प्यान्डेमिक इज अ पोर्टल शीर्षक एक लामो लेखमा आधारित तथ्यको विश्लेषण गर्नु भएको रहेछ । अप्रिल ३०–२०२० मा प्रकाशित सो रचना पढेपछि स्रष्टाले मात्रै निर्भिकतापूर्वक आफ्नो विवेक बोल्न सक्छ भन्ने भाव प्रस्ट भयो । तीमध्ये एक हुन् अरुन्धत्ती राय । प्रस्तुत रचनामा समसामयिकता छ । सरकारको मूर्खता, जनताको उपेक्षा, गरीबी र अभावले थपिएको मृत्यु–शृङ्खला बडो विडम्वनापूर्ण छ । संसारका सबै शासक प्राय मूर्ख नै हुन्छन् । झन् अधिनायकवादी मुलुकका कुरा बाहिर निस्कँदैनन्, प्रजातन्त्रवादी राष्ट्रकै गतिविधि हेर्दा त्यो थाहा हुन्छ । अमेरिका, बेलायत, स्पेनमा रोगका घानतिर जनता धकेलिँदै छन्् । भारतमा पनि त्यही हुनसक्छ । नेपालमा कुनै कुरा भिन्न हुने छैन । यहाँ धूर्त र चाटुकारले हाँकेको देश, जनताको दोहोलो छ । बडो राम्रो लाग्यो र यहाँ त्यसको अनुवाद प्रस्तुतगर्ने अनुमति चाहन्छ । त्यो भन्दा पहिले अरुन्धती रायबारे छोटो परिचय आवश्यक पर्छ होला ।
सन् १९६१ मा पूर्वी भारतको शिलोङमा जन्मेकी अरुन्धती राय न्यू दिल्लीको स्कूल अव् प्लानिङ एण्ड आर्किटेक्चरबाट अध्ययन पूरा गरी लेखनमा लागिन् । विशेषगरी आख्यान उनको सिर्जनाक्षेत्र हो । आख्यानका अतिरिक्त उनी निबन्ध लेख्छिन् र उनी एक जना एक्टिभिष्ट पनि हुन् । द गड अव् स्मल थिङ्ज नामक उनको कृति (आख्यान)ले सन १९९७ को म्यान बुकर प्राइज प्राप्त ग¥यो । अंग्रेजी आख्यानले पाउने यो प्रशिद्ध बेलायती पुरस्कार हो । अरु पनि पुरस्कार र अलंकारले उनी विभूषित छन् । जीवनको मध्य उमेर इटालेली भाषा साहित्य सिकेर लेखेको उनको द मिनिष्ट्री अव ह्यापिनेस आख्यान भर्खर प्रकाशित छ । यो हालको विश्वमै टप टेनमा छ ।
प्रस्तुत लेखमा कोरोना भाइरसले कसरी भारतवर्ष सामु खतरा ल्याउँदैछ— यसपछि देशले र विश्वले के गर्नुपर्छ भन्ने विषयमा उनको धारणा र तर्क छ । उनको सन् २०२० को अप्रिल ३० मा प्रकाशित यो महाव्याधि एक पोर्टल हो शीर्षक निबन्धको अनुवाद निम्नानुसार प्रस्तुत गर्दछुः

अब अलिकति मनमा कम्पन नछुटाई कसले सत्य भन्ने आँट गर्दछ ‘भाइरल भयो’ भनेर ? कसले अब ढोकाको ह्याण्डल, कागजको कार्टून, एक झोला सागशब्जीमा अदृश्य तर जीवित वस्तुको गोलो हुन्छ जुन हाम्रो फोक्सोमा गएर टाँसिन्छ भनेर कसले हेरिरहन्छ र ?
अब कसले एक पराइलाई चुम्ने कल्पना गर्न सक्छ, एक बसमा उफ्रेर चढ्न अथवा डर नमानी आफ्ना सन्तानलाई विद्यालयमा पठाउन सक्छ ?
यतिखेर कसले पो ती मनका सामान्य कुरा मुखमा ल्याई प्रकट गर्न सक्छ ? त्यसमा संलग्न खतराको आँकलन नगरी (अलिकति नकामी) रहन को सक्ला ? हामीमध्ये महामारीविज्ञ, सरुवारोग विज्ञ, तथ्याङ्कशास्त्री र विषयबेत्ता को नहोला ? कुन वैज्ञानिक, कुन डाक्टर मनमनै गुप्तरुपले चमत्कार भइदिए हुन्थ्यो भन्ने प्रार्थना नगरी बस्ने को होला ? त्यस्तो कुन गुरु पुरेत कोही नहोला यतिबेला जो भित्रभित्रै गोप्य रुपले विज्ञानको अघि हारेको नहोस ।
अनि जब भाइरस बहुगुणित हुन्छ, तब शहरमा चराको गाना सुनेर खुसीले नउचालिने को होला ? ट्राफिक चोकतिर मयुर नाचेको देखेर अथवा आकाशको मौनता सुनेर आनन्दले वशीभूत नहुने को होला ?
यो हप्ताभरिमै संसारभरिमा कोभिड संक्रमितको संख्याले दश लाख नाघ्यो । पचास हजारभन्दा बढी मानिस मरिसके; लक्षण हेर्दा यो संख्या हजारौँ होइन लाखौँ भन्दा बढी नाघेर जान्छ होला जस्तो लाग्छ । यो भाइरस स्वतन्त्ररुपले व्यापार वाणिज्यका अन्तर्राष्ट्रिय राजधानीहरुमा पुगेको छ । यसले बोकेर हिँडेको डरलाग्दो रोगले मानिसलाई आफ्ना देशभित्र अनि शहरभित्र पनि सबैलाई घरैभित्र थुन्दैछ ।
तर पूँजी–प्रवाहको भन्दा भिन्न प्रवृत्तिको यस भाइरसको लक्षण के छ भने यो बहुगुणित हुन मात्र खोज्दछ, यसले त्यसरी नाफा खोज्दैन । त्यसकारणले असावधानीमै केही मात्रामा यसले प्रवाहको दिशालाई नै उल्ट्याइदिएको छ । यसले अप्रकाश्य रुपले (‘इमिग्रेशन’) नियन्त्रण शाखालाई गिज्याएको छ । बायोमेट्रिक प्रणालीलाई, सूक्ष्म निरीक्षणलाई, हर प्रकारका तथ्याङ्क विश्लेषणलाई र आजसम्ममा संसारका सर्वाधिक धनी र शक्तिशाली देशमाथि नै यसले प्रहार गरेको छ । परिणामस्वरुप पूँजीवादको इन्जिनलाई नै डगमगाउँदै यसले गड्याप्प रोक्यो । शायद अस्थायी रुपले हामी यसका पार्टपुर्जाको निरीक्षण गर्न चाहन्छौँ अनि एउटा मूल्याङ्कन गरेर यसलाई रोक्न टुङ्ग्याउन चाहन्छौँ नत्र अर्काे अलिक गतिलो इन्जिन फेर्न चाहन्छौँ ।
ती चीनवासीहरु जसले यसलाई सम्हाल्दै छन्, ती युद्धको बारेमा कुरा गर्न उत्सुक छन् । उनीहरु युद्धलाई आलंकारिक शब्दमा होइन साँच्चै शाब्दिक अर्थमै कुरा गर्न चाहन्छन् । तर यो साँच्चैको युद्ध नै हो भने ता लडन्को लागि अमेरिकाभन्दा राम्ररी तयार भएर बसेको अरु को नै होला ? यसका अग्रगामी सिपाहीहरुले खोजेको कुरा मुखमा मास्क र हातमा पञ्जा मात्र होइन भने र तिनको सट्टा बन्दुक, गतिला बम्, बङ्कर विस्फोटक, पनडुब्बी, फाइटर जेट र न्युक्लियर बम हुन भने तिनको के कमी हुन्थ्यो र ?
प्रत्येक रात, आधाआधि संसारबाट हामीले न्यूयोर्कका गवर्नरको प्रेस विज्ञप्तिलाई बडो आकर्षणसाथ हेर्ने गर्छाैं; त्यसलाई बुझाउन सकिन्न । हामी तिनका तथ्याङ्क हेर्छौं अनि अमेरिकामा व्याप्त अस्पतालमा हेर्छाैं, त्यहाँ कम्ती ज्याला पाउने गरी अति धेरै काममा दलिएका नर्सहरु हेर्छाै जसले फोहरका ढ्वाङमा मिल्काइएका पुराना रेनकोटबाट ती बिरामीको जीवनमा संकट ल्याउन सारा खतरा मोलेर माष्क बनाएको हेरौँ । भेन्टिलेटरको निमित्त एक अर्काबीचमा प्रतिस्पर्धा गर्न बाध्यहरु, कुन बिरामीलाई भेन्टिलेटर दिने र कुनलाई नदिने भन्ने निर्णय गर्नुपर्दाको दोधारको स्थिति हेर्न लायक छ । अनि हामी सोच्छौँ, “हे ईश्र, यही हो अमेरिका !”
यतिबेलाको दुखान्त तात्कालिक हुन्छ, वास्तविक र महाकाव्यिक । जुन आँखा सामू नै खुल्दैछ । तर त्यो नयाँ कुरा ता होइन । यो त भत्केको रेल हो जुन लिखको छेउमा पल्टिरहेको छ । बिरामीलाई गाडेका दृश्यको भिडियो कसले सम्झेको छैन र ? बिरामीहरुलाई अझै अस्पतालकै गाउनमा पूरै नाङ्गो देहलाई सुटुक्क लगेर सडककको कुनातिर गाडेका होइनन् । अमेरिकाका अभागी नागरिकको निमित्त अस्पतालका ढोकाहरु बारम्बार बन्द हुने गर्छन् । ती बिरामीलाई कतिको सारो थियो त्यसको अथवा तिनीहरुको पीडा के कस्तो थियो त्यस कुराको पनि कहिल्यै वास्ता गरिएन ।
आजसम्मको यो भाइरसको युगसम्म पनि एउटा गरीबको स्वास्थ्यले एक धनी समाजको स्वास्थ्यलाई असर गर्न सक्छ । त्यसो हुने भए तापनि सबैको स्वास्थ्य चिन्ताका विषयमा अविश्रान्त रुपले लागि पर्ने बर्नि स्याण्डर्सलाई यतिबेला उनको आफ्नै पार्टीबाट समेत ह्वाइट हाउसको बिडमा समेत नसुहाउने भिन्न व्यक्ति ठानिएको थियो ।
अनि मेरो देशको कुरा त के गर्नु, मेरो गरीब–धनी देश भारत, सामन्तवादी प्रथा र धार्मिक कट्टरपन्थका बीचमा झुण्डिएको देश, जातिवाद र पूँजीवाद, बीचमा फसेको अनि दक्षिणपन्थी हिन्दू राष्ट्रवादीले शासन गरेको देश !
२०१९ को दिसम्बर महीनामा चीनको वुहानमा भाइरसको उत्पत्ति भएपछि चाइना त्यसैसँग लड्दै थियो । त्यसैबेला भारतमा चाहिँ लाखाँै करोडौँको संख्यामा नागरिक उठेर मुस्लिम विरोधी नागरिकता कानूनको विरुद्धमा डटेर लड्दै थिए । जुन कानूनलाई संसदले भर्खर पास गरेको थियो ।
इण्डियामा कोविडको पहिलो प्रमाण फेला परेको दिन जनवरी ३० तारीक थियो । गणतन्त्र दिवसको अवसरमा आएका प्रमुख अतिथि अमाजोन फरेष्ट विनाशक एवम् कोभिड–इन्कारक जैर बोल्सेनारो (ब्राजिलका राष्ट्रपति) ले दिल्ली छोडे पछिका केही दिन व्यतीत भएका थिए ।
तर फरवरी महीनामा सत्तारुढ दलका समयसारिणीसँग कोविड भाइरसलाई मिलान गर्नुपर्ने धेरै कुरा आए । त्यो महीनाको अन्त्यको लागि निश्चित गरिएको डोनाल्ड ट्रम्पको राजकीय भ्रमण एक विषय थियो । गुजरातको राष्ट्रिय रङ्गशालामा दशलाख दर्शक÷नागरिकको उपस्थितिबाट उनी मोहित भएका थिए । त्यसबेलाको निमित्त धेरै सम्पत्ति र समय आवश्यक परेको थियो ।
त्यसपछि दिल्ली एसेम्बलीको चुनाव थियो जसमा आफ्नो खेललाई अचानक परिवर्तन नगरे भारतीय जनता पार्टीले हार्नेवाला थियो । नभन्दै त्यसले आफ्नो खेलको अन्त्य गर्‍यो र सबै अवरोध छेकथुन अन्य गरिएको हिन्दू राष्ट्रवादी अभियान चलायो । सो अभियानमा भौतिक हिंसा हुनसक्छ भन्ने धम्की र त्रासले भरिएको थियो । अनि “देशद्रोहीलाई गोली ठोकिने” सम्म खतरा थियो ।
जे होस यसले हा¥यो । त्यसपछि अपमानको अभियोग लागेका दिल्लीका मुस्लिमलाई सजाय गरिने कुरा आयो । हिन्दू भिजिलान्तेका सशस्त्र भीडले, पुलिसको साथ पाएर उत्तरपूर्वी लिल्लीको छिमेकमा रहेका मजदुर वर्गमाथि आक्रमण गरे । घर, पसल मस्जिद र विद्यालयहरु जलाइदिए । यो आक्रमण हुनसक्छ भन्ने अपेक्षा गरिरहेका मुस्लिमहरु पनि प्रतिकारमा लड्न थाले । परिणामस्वरुप हिन्दू र मुस्लिम गरेर ५० भन्दा धेरै नागरिक हताहत भए ।
त्यसपछि हजारौँको संख्यामा स्थानीय सरकारका शरणार्थी शिविरमा पुगे । घाइते र अङ्गभङ्ग गारिएका शरीरहरु, लाशहरु फोहरका नालीबाट खोतलेर निकालिँदै थिए । जुन बेला सरकारी कर्ममचारीहरुको कोभिड १९ बारेको प्रथम बैठक बस्तै थियो । अनि त्यसैबेला अधिकांश भारतीयहरुले ‘स्यानिटाइजर’ भन्ने तत्वको नाम पहिलोपल्ट सुन्दै थिए ।
मार्च महीना पनि व्यस्त थियो । शुरुका दुई दुई हप्ताको समय मध्यप्रदेशमा काङ्ग्रेस सरकारलाई ढाल्ने र त्यसको स्थानमा बीजेपीलाई स्थापित गर्ने कर्ममा बित्यो । मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोभिड १९ एक महाव्याधि (प्याण्डेमिक) हो भन्ने कुराको घोषणा गर्‍यो । त्यसको दुई दिनपछि मार्च १३ का दिनमा हाम्रो स्वास्थ्य मन्त्रालयले भन्यो— “यो स्वास्थ्य संकटको कुरा होइन ।”
अन्त्यमा आएर मार्च १९ का दिन भारतीय प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरे । तर उनले धेरै “गृहकार्य” गरेका थिएनन् । उनले फ्रान्स र इटालीबाट त्यहाँ बोल्ने बुँदाहरु
(प्लेबुक) उधारो लिएका थिए । उनले हामीलाई “सामाजिक दूरी” को पालनाको आवश्यकता भएको कुरा सुनाए । (जातीय व्यवस्थाको अभ्यासमा यसरी भिजेको समाजमा त्यो कुरा बुझ्न बुझाउन सजिलो पनि थियो ।) अनि एकदिन “जनताको कफ्र्यु” को आह्वान गरे । त्यो दिन थियो मार्च २२ । संकट परेमा यो सरकारले के कसो गर्ने सोच्तैछ भनी केही पनि बताएनन् । तर उनले जनतालाई आफ्ना आँगन, बरण्डा, कौसीमा निस्केर घण्टि बजाउनु, आफ्ना थाल बटुका ठोक्नु र स्वास्थ्यकर्मीप्रतिको सम्मान जनाउनु मात्र भने ।
उनले त्यस बेलासम्म पनि इण्डियाले स्वदेशकै स्वास्थ्य कर्मीको निमित्त जोगाउनुको सट्टा सुरक्षात्मक साधन र श्वासप्रश्वासका औजारहरु बाहिर निर्यात गर्दैछ भन्ने कुरा बताएनन् ।
आश्चर्य मान्नु छैन, नरेन्द्र मोदीको अनुरोधलाई त्यति उत्साहले स्वीकारिएन । फेरि भाँडा थाल ठोक्ने मार्चहरु भए, समुदायिक नृत्य भए, झाँकीहरु भए । तर समाजिक दूरी त्यति कायम भएन । त्यस पछिका दिनहरुमा मानिसहरु गाईको पवित्र गोबर रााखेका व्यारेलभित्र पसे, बीजेपी पार्टीले गोमुत्र छर्किन थाल्यो । धेरै मुस्लिम संगठनहरुले एउटा घोषणा गरे— यो भाइरसको प्रत्युत्तर नै आल्लाह हुन् । त्यसैले त्यसमा विश्वास राख्नेहरु जति मस्जिदमा भेला हौँ ।
मार्च २४ को बेलुकी आठबजेतिर एउटा टीभी कार्यक्रममा देखा परेर मोदीले घोषणा गरे— आजको मध्यरातपछि सम्पूर्ण भारत लकडाउनमा जानेछ । सम्पूर्ण यातायात निजी तथा सार्वजनिक साधनहरु बन्द गरिने छन् ।
उनले थपे— मैले एउटा प्रधानमन्त्रीको हैसियतले यो घोषणा गरेको होइन एकजना परिवारको पाको ठुल्दाजुको नाताले बोल्दैछु । नत्र अरु कसले पो यो कुरा यसरी घोषणा गर्न सक्थ्यो होला ! सम्पूर्ण राज्य सरकारसँग सल्लाह नगरी, १.३८ अरब जनसंख्या भएको देशमा शून्य तयारीको अवस्थामा चारघण्टाको सूचनाका भरमा लकडाउन गर्ने निर्णय अरु कसले लिन सक्थ्यो होला ?
उनको यो शैलीले कुन कुरा प्रष्ट पार्छ भने भारतका प्रधानमन्त्रीले आफ्ना नागरिकलाई अमैत्री प्रतिपक्षी शक्तिको रुपमा लिएका थिए जसलाई धराप (एम्बुश) मा पार्नु आवश्यक छ, जसलाई अचम्भित पार्नुपर्ने तर विश्वासमा लिन नमिल्ने ठानेका थिए ।
हामी लकडाउनमा पर्‍यौँ । धेरै स्वास्थ्यकर्मी र विश्वविद्यालय विशेषज्ञले यसको प्रशंसा गरेका छन् । उनीहरु शायद सिद्धान्तमा ठीक छन् । तर पक्कै पनि उनीहरुमध्ये पनि यसको योजना र तयारीको विपत्तिपूर्ण अभावबारे कसैले पनि समर्थन गर्ने छैन । जसले विश्वकै सर्वाधिक ठूलो र दण्डात्मक लकडाउनबाट जुन कुरा प्राप्त गर्ने आशा गरिएको थियो, स्थिति त्यसको ठीक विपरीत बनाइदियो ।
तमाशा मनपर्ने त्यो व्यक्तिले सारा तमासाहरुकी जननीको सृष्टि गरिदियो । भयत्रस्त जगत्ले हेर्दै गयो, भारतले आफूलाई सम्पूर्ण रुपले शरममर्दाे स्थितिमा प्रस्तुत गरिन— उनले भोगेको उनको पाशविकतापूर्ण संरचना अनि सामाजिक र आर्थिक असमानता, उनको यातना डरलाग्दो बेवास्ता, सबै देखाइन् ।
त्यो लकडाउनले एउटा केमिकल प्रयोगशाला झैँ काम गर्‍यो र तत्कालै लुप्त कुराहरुलाई प्रकटमा ल्यायो । जब दोकान—पसल, रेष्टुराँ कारखाना र निर्माण उद्योगहरु साराका सारा बन्द भए, जब कि सम्पन्न तथा मध्यम वर्गले आफूलाई ठूला प्रवेशद्वार भएका कोलोनीभित्र बन्द गरे अनि हाम्रा शहर र महानगरहरुबाट आफ्ना मदजुर वर्गलाई निष्काशित गर्न थाले, आएका प्रवासी कामदारहरु— अवाञ्छित, अतिरिक्त भार जस्ता ठानिए ।
धेरै जनालाई आफ्ना मालिकहरुले खेदे, लाखौँ गरीबीको आगोमा परे, भोका तिर्र्खाएका नागरिकहरु वृद्धवृद्धा, महिला ससाना बालबालिका बिरामी, अन्धा अपाङ्ग, जाने ठाउँ कतै नभएकाहरु, कतै वरिपरि कतै कहीँ यातायातको साधन नदेखिएको बेला आफ्ना गाउँ घर जाने लामा मार्च (यात्रा) शुरु गरे । तिनीहरु कैयौँ दिन हिँडे— बदायुँ, आग्रा, अजमेर, अलिगढ, लखनौँ, गोरखपुर हुँदै सयौँ किलोमिटर टाढा । कोही बाटैमा सकिए ।
उनीहरुलाई घरतिर जाँदैछौँ भन्ने थाहा थियो; त्यसरी आफ्नो भोकलाई अलिक फकाउँथे । शायद यो पनि उनीहरुलाई थाहा थियो— उनीहरुले आफूूसँग भाइरस पनि लाँदैछौँ भन्ने पनि थाहा थियो । लगेर आफ्नै परिवारलाई पनि संक्रमित गर्नेछौँ भन्ने पनि थियो । आफ्ना पितामाता हजुरबा हजुरआमालाई सल्काउने छौँ भन्ने थियो । तर उनीहरुलाई जसरी पनि अलिकति परिचय चाहिएको थियो, आवास र मर्यादा अनि खाने कुरा, माया र प्रेम नभए पनि ।
उनीहरु हिँड्दै जाँदा पुलिसद्वारा कोही निर्दयता साथ पिटिए, कोही पुलिसद्वारा अपमानित गरिए, उनीहरुलाई पनि कडाइसाथ जबर्जस्ती कफ्र्यु लगाउनै पर्ने आदेशको पालना गर्नु थियो ।
युवकहरुलाई सडकमा घस्रिन लगाइयो, भ्यागुतो उप्रिन लगाइयो । वरेली शहर बाहिरपट्टि एउटा समूह भेला पारेर त्यसमाथि केमिकल स्पे्र छर्किइयो ।
केही दिन पश्चात् यसरी भाग्ने जनताले भाइरसलाई गाउँगाउँमा फैलाउने छन् भन्ने बुझिसकेपछि सरकारले राज्य–राज्यका सीमाना शील ग¥यो, पैदल यात्री पनि पार हुन नपाउने गरेर । कैयौँ दिनदेखि त्यहाँ पुगेका जनतालाई रोकियो अनि शहरमा बनेका शिविरमा फर्किन बाध्य गराइयो, भर्खरै त्यही शहर छोड्न बाध्य गरिएको थियो ।
पाका मानिसहरुका मनमा यस घटनाले सन १९४७को जनसंख्या साट–फेर (पाकिस्तान–इण्डिया) को सम्झना गरायो । त्यसबेला इण्डिया विभाजित गरियो अनि पाकिस्तान जन्माइयो । यसपालिको पनि उसबेलाको धार्मिक कारण बाहेक अन्य कुरा सबै उस्तै थियो— यो धर्मले होइन वर्गले विभाजित जनसंख्या थियो । त्यसो भए पनि तिनीहरु अझै पनि भारतका निर्धन जनता मात्र थिएनन् । ती यस्ता जनता थिए जसको शहरमा काम थियो, फर्किने घर पनि थिए । तर ती बेरोजगार, ती बेघरबार र हतोत्साहीहरु जहाँ थिए त्यहीँ रहे— ती शहरमा, ती गाउँमा जहाँ यो दुखान्त शुरु हुनुभन्दा धेरै पहिल्यैदेखि यो गम्भीर विपत्ति शुरु भएको थियो । यी सारा डरलाग्दा दिनहरुमा गृहमन्त्री असित शाह भने सार्वजनिक स्थल वा समारोहबाट अदृश्य रहिरहे ।
जब दिल्लीमा हिँडाइ शुरु भयो त्यसबेला मैले एउटा पत्रिकाको प्रेस पास प्रयोग गरेकी थिएँ । म बारम्बार गाजिपुरसम्म जानलाई पासको निवेदन लेख्छु, त्यो दिल्ली र उत्तरप्रदेशको बोर्डर हो ।
त्यो दृश्य बाइबलको जस्तो छ । अथवा त्यस्तो नहोस् । बाइबलले यति संख्यामा मानिस देखेन । भौतिक दूरी लागू गर्न जुन लकडाउन गरियो त्यसको परिणाम ठीक विपरीत हुन गयो । यसले अकल्पनीय मात्राको भौतिक खाँदाखाँद (कम्प्रेशन) उत्पन्न गरायो । त्यसो त भारतका शहर र बजारमा पनि यही गति छ । मूल सडक रित्ता हुन सक्छन् तर गरीबहरु चाहिँ फोहोरी बस्तीका झुप्र र छाप्राहरुमा खचाखच छन् ।
म एक जना हिँडुवासित बोलेँ पनि— ऊ पनि भाइरसदेखि अत्यन्त चिन्तित थियो यद्यपि त्यो त्यति साह्रो यथार्थ थिएन, त्यति प्रत्यक्ष थिएन जति बेरोजगारी थियो, भोकमरी थियो र जस्तो पुलिशको हिंसा थियो । सारा मानिसहरु मध्ये, त्यो दिन बोलेका मध्ये मुस्लिम समुदायका टेलर पनि थिए जुन समूह दुई हप्ता अघिको मुस्लिम विरोधी दंगामा परेर मुस्किलले बाँचेका थिए । त्यसबेला एकजनाका शब्दले मलाई छोए— ऊ रामजित नामको कार्पेन्टर (काठमिस्त्री) थियो ऊ हिँडेको हिँडकै नेपाल बोर्डर नजिकको गोखरपुरसम्म पुग्ने आठोटमा थियो ।
“हुन सक्छ मोदिजीले यो गर्ने निर्णय लिँदा उनलाई कसैले हाम्राबारे केही बताएन होला, हुनसक्छ उनलाई हामीबारे केही थाहै छैन होला”, उसले मलाई यत्ति भन्यो ।
“हामी” भन्नाले करीब ४६ करोड गरीब जनतालाई बुझाउँथ्यो ।
बरु भारतका राज्य सरकाहरुले (अमेरिकमा झैँ) संकट परेको बेला धेरै उदारता र समझदारी प्रस्तुत गरेका छन् । ट्रेड युनियन, निजी नागरिकहरु, अरु संस्थाहरु सकेसम्म खाना र संकटकालीन राहत वितरण गर्दैछन् । तर केन्द्रीय सरकार भने उनीहरुको खर्चको लागि गरिएको पुकाराप्रति अत्यन्तै उदासीन रहेको छ । यसले के अर्थ दिन्छ भने प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषमा तत्काल उपलब्ध हुने सम्पत्ति मौज्दात उपलब्ध छैन होला । त्यसको सट्टा सदिच्छुकहरुबाट “पीएम केअर्स फण्ड” नामको नयाँ रहस्य कोशमा पैसा धारो लागेको छ । मोदीको फोटो छापेका तयारी खानाका प्याकेजहरु वितरणका लागि आउन थालेका छन् ।
यो अहंवाद गहिरो गरी चिन्तित गराउने खलको छ । अनेक प्रकारका आसनमध्ये एउटा ‘अनुरोध आप्सन’ होला जसमा बसेर मोदी फ्रान्सेली प्रधान मन्त्रीलाई अनुरोध गर्दैछन् । केही करोड गरीब जनतालाई सहायता गर्न सफल फाइटर माग्दैछन् । पक्कै पनि फ्रान्सेलीले त्यति बुझिदेलान् ।
लकडाउनको दोस्रो हप्तामा पुगेपछि सामग्री वितरण सिक्री चुँडियो । औषधी र आवश्यक सामानको सप्लाई कम्ती हुँदैछ । हजारौँ ट्रक ड्राइवरहरु राजमार्गको किनारामा खर्किरहेका छन् । दानापानी निख्रिन थाल्यो । काट्ने बेलाको बालीनालि खेतमा बिस्तारै कुहिन थाल्यो ।
यहाँ आर्थिक सङ्कट छ । राजनीतिक संकट चलेकै छ । मूूलधारको मिडियाले कोभिड स्टोरीलाई जून २४ को एन्टि–मुस्लिम विषादि (टोक्सिक) मिलाएको छ । ‘तब्लिगी जुम्मत’ नामको एक संगठन चाहिँ अहिले “सुपर स्पे्रडर” सर्वाधिक रोग फैलाउनेमा परिणत गरिएको छ । उक्त संस्थाले दिल्लीमा लकडाउन शुरु हुनुभन्दा पहिले एक महासम्मेलन गरेको थियो । त्यस कुरालाई लिएर मुस्लिमलाई बदनाम गर्न र उनीहरुलाई नरकदूत प्रमाणित गर्न कोशिस गर्ने प्रयास गरिँदैछ । त्यसको समग्र आशय के छ भने— मुस्लिमले नै यो भाइरसको आविष्कार गरे, र साभिप्राय यसलाई एउटा धार्मिक युद्ध (जिहाद) को रुपमा फैलाइएरहेछन् ।
कोभिड सङ्कट अझै आउनेछ अथवा अब रोकिन्छ कि ? हामीलाई थाहा छैन । यदि कथंकदाचित यो आएछ भने सँगै भिडौँला, यो कुरा पक्का छ— सारा धार्मिक पूर्वआग्रह हुँदाहुँदै जाति र वर्गका विभेद हुँदाहुँदै पनि हामी लडौँला ।
आज (अप्रिल २ का दिन) भारतमा २००० बिरामी केशहरु पक्का भएर ५८ जनाको मृत्यु भयो । त्यसो त पक्कै यी अविश्वसनीय संख्या हुन्— अति थोरै परीक्षणमा आधारित कुरा हुन् । विज्ञहरुको धारणा व्यापक रुपले फरक पर्छ । कसैले ता लाखौँ केश थपिन्छन् भन्दैछन् । अरु भन्छन् मृत्युहरु त्यति धेरै नहोलान् । हामी यो संकटको वास्तविक स्वरुप कदापि जान्दैनौँ, यसले आफैँलाई नै हा¥यो भन्ने पनि अर्थ देला । तर एउटा थाहा पाएको कुरा चाहिँ के छ भने अस्पतालहरुमा उकुसमुकुस शुरु भएको छैन ।
भारतका सार्वजनिक अस्पताल र क्लिनिकहरु— यी चाहिँ ती झाडापखालाले ग्रस्त, कुपोषणले सुकेका अरु स्वास्थ्य सम्बन्धी रोगले प्रतिवर्ष मर्ने लाखौँ बालबालिका, संसारका क्षयरोगीहरुमध्ये एक चौथाइ बिरामी बोकेको भारतवर्ष त्यसमाथि कुपोषित र रक्ताल्पताले ग्रसित जनसंख्या जुनसुकै होस् ससानो विमारमा पनि समाप्त हुने जनसंख्या… हामीमाथि साँच्चैको संकट आइलाग्यो भने युरोप र अमेरिकाले जसरी भार थाम्न सक्ने छेनौँ ।
सम्पूर्ण स्वास्थ्य सेवा एक प्रकारले थाति राखिएको बेला छ किनकि सारा अस्पतालहरु भाइरसको सेवास्थलमा परिणत गरिएका छन् । दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अव् मेडिकल साइन्सेज (एम्स) को “ट्रौमा सेन्टर” हेर्नु, हजारौँ क्यान्सरका विभारीहरु क्यान्सरका शरणार्थीमा परिणत गरिएका छन् । जो सडकमै बस्छन् त्यो विशाल अस्पताल बाहिरसम्म उनीहरु गाईबस्तुजसरी धपाइन्छन् ।
मान्छे बिरामी परेभने घरैमा मर्नेछन् । हामीले कदापि तिनीहरुका कथा थाहा पाउने छैनौँ । हामी केवल यति आशा गर्न सक्छौँ— भाइरसले चिसो मौसम रुचाउँछ भन्ने अनुमान जुन हो त्यो सत्य भइदिए हुने । यद्यपि अरु अध्ययनले त्यसमाथि सन्देह व्यक्त गरेका छन् । जनताले कदापि तर्कहीन पाराले यस्तो तातो, पोल्ने अथवा दण्डकारी भारतीय गर्मी यामलाई रुचाएको थाहा छैन ।
यो हामीलाई खनिएको कुरा के हो ? यो भाइरस नै हो, होइन र ? यो आफैँ नै भौतिक स्वरुपमा छैन । तर पक्कै पनि यो भाइरस भन्दा अर्थाेक पनि हो । कोही चाहिँ यो ईश्वरले हामीलाई होसमा ल्याएको क्षण हो पनि भन्छन् । अरु यो संसार आफ्नो वशमा पार्र्न गरिएको एक चिनियाँ षडयन्त्र हो पनि भन्छन् ।
जे सुकै होस्, कोरोना भाइरसले महाशक्तिहरुका घुँडा टेकायो अनि संसारलाई गतिरुद्ध गरायो, अरु कुनै कुराले यस्तो गर्न सक्ने थिएन, कोरोनाले मात्रै हाम्रा मस्तिष्कहरु अझै पनि यता र उता गर्दैछन्, “सामान्य स्थिति” मा फर्किने कामनाले हाम्रो अतीतलाई हाम्रो भविष्यसँग जोडेर मिलाउने प्रयत्न गर्दैछ अनि यो सम्बन्ध–भंग हो भन्ने कुरामाथि विश्वास गर्न तत्पर छैनन् । तर सम्बन्ध–भंग ता छ नै । यो भयावह निराशाको बिचमा यसले हामीलाई आफैँले आफूलाई निर्माण गरेको आफ्नै सर्वनाश कारक मशिनको बारेमा पुनर्विचार गर्न एक मौका दिन्छ । सामान्य स्थितिमा फर्किनुभन्दा रड्डी केही हुने छैन ।
ऐतिहासिक रुपले, यस्ता महाव्याधिहरुले मानव जातिलाई अतीतसँग विच्छेद गराउने प्रयत्न गर्दछन् र आफ्नो नवीन संसारको परिकल्पना गर्न बाध्य पार्छन् । यो महाव्याधि पनि भिन्न छैन । यो एक पोर्टल हो, एउटा प्रवेशद्वार हो— यो जगत् र अर्का बीचको ।
हामीले यसभित्रै यात्रा गर्नेबाटो रोज्न सक्छौँ, हाम्रा पूर्वाग्रह र घृणाका लासहरुलाई घिस्याउँदै अथवा हाम्रो धनलोलुपतालाई हाम्रा डाटा बैंक र मरेका विचारलाई, हाम्रा मृतनदी र ध्वाँसे आकाशलाई हाम्रा पछिल्तिर घिसार्दै । अथवा हामी बिस्तारै नाघेर जान सक्छौँ, बिस्तारै पाइला चाल्दै थोरै भारी बोकेर अर्काे संसारको कल्पना गर्न तत्पर भएर । अनि त्यसको लागि लडन तयार भएर । (अनु. गोविन्दराज)