परिच्छेद- ११
अर्को दिन राजकुमार आन्द्रेइ ढिलो उठ्यो । हालैका घटनाहरूलाई सम्झदा सबभन्दा पहिलो कुरा उसको दिमागमा के आयो भने आज उसले सम्राट् फान्सिसका सामु उपस्थित हुनु पर्नेछ । उसले युद्धमन्त्री र उसको शिष्ट सहयोगीलाई सम्झ्यो । र, अन्त्यमा बिलिबिन र ऊसँग भएको गत रातको वार्तालाप सम्झ्यो । दरबारमा उपस्थित हुनुको लागि कवाजको पूरा बर्दी लगाएर, जो उसले धेरै दिनदेखि लगाएको थिएन, बिलिबिनको कोठामा प्रवेश गर्यो । राजकुमार सुन्दर थियो र यसबखत निकै उत्साहित थियो । उसका हातमा ब्यान्डेज गरेकै थियो । बिलिबिनको कोठामा कूटनीतिक नियोगका चार जना भद्र पुरुषहरू थिए । दूताबासको सचिव हिप्पोलाइत कुरागिनसँग राजकुमार आन्द्रेइको पहिलेदेखि नै परिचय थियो । बिलिबिनले अन्य तीन जनासँग उसको परिचय गरायो ।
बिलिबिनको कोठामा जम्मा भएका युवकहरू धनी र उच्च कुलीन वर्गका पुरुष थिए, जो भियनामा जस्तै यहाँ पनि एउटा विशेष समूह बनाएर बसेका थिए, जुन समूहको नेता बिलिबिन थियो र उसले उक्त समूहलाई “हाम्रो” भन्ने गर्थ्यो । नितान्त कूटनीतिज्ञहरूको यो समूहको स्पष्ट रूपमा आफ्नै किसिमको रुचि थियो । युद्ध वा राजनीतिसँग यिनीहरूको कुनै सम्बन्ध थिएन । तर उनीहरूको रुचि माथिल्लो वर्गको समाज, केही सुन्दरी महिलाहरू र सरकारी कामकाजमा भने अवश्य थियो । उनीहरुले राजकुमार आन्द्रेइलाई आफूहरूकै समूहको एउटा सदस्यका रूपमा स्वागत गरे र त्यो सम्मान प्रदान गरे, जुन सम्मान उनीहरूले जो-कोहीलाई गर्दैनथे । उनीहरूले असाध्यै नम्रतापूर्वक राजकुमारसँग कुराकानीको थालनी गरे – उनीहरूले लडाइँ र फौजबारे केही प्रश्न सोधे, त्यसको लगत्तै ख्यालठट्टा गर्न थाले र अन्य किसिमका गफगाफ पनि गर्न लागे ।
“तर खासमा असल कुरो त यो थियो,” आफ्नो कुनै साथी कूटनीतिज्ञको दुर्भाग्यका सम्बन्धमा चर्चा गर्दै एक जनाले भन्यो, “कि चान्सलरले उसलाई सोझै यो भनिदिए कि लन्डनमा उसको नियुक्ति हुनुको अर्थ उसको पदोन्नति हुनु थियो त्यसैले उसले यस कुरालाई यही रूपमा स्वीकार गर्नु पर्छ ।” यो सुनेपछि उसको अनुहारले कस्तो रूप लियो होला, कल्पना गर्न सक्छौ तिमीहरू ?”
“तर सबभन्दा, खराब कुरो त यो थियो, सञ्जनहरू कि म तिमीहरूका सामु कुरागिनको भण्डाफोर गर्न गइरहेछु, जो यस मानिसको नियतिको अनुचित फाइदा उठाउन गइरहेछ, यो डोत-जुआान, यो दुष्ट, यो अपराधी मानिस ।”
राजकुमार हिप्पोलाइत कुरागिन आरामकुर्सिमा हात राखेर र खुट्टा पसारेर ढसमस्स बसिरहेको थियो । ऊ जोडले हाँस्न लाग्यो ।
“गर मेरो भण्डाफोर, जति सक्छौ गर,” उसले भन्यो ।
“ओहो, तिमी डोन जुआन विषालु नाग,” थुप्रै मान्छेको आवाज आयो ।
“राजकुमार बोल्कोन्स्की ! तिमीलाई थाहा छैन,” राजकुमार आन्द्रेइतर्फ फर्कंदै बिलिबिनले भन्यो , “फ्रन्सेली फौजले गरेको सम्पूर्ण ज्यादती र अत्याचारहरू यस मान्छेले महिला तथा अलवाहरू प्रती गरेका अत्याचारका तुलनामा केही पनि होइनन् । (मैले कसो झण्डै रसियाली फौज भनिनँ) ।
“नारी, पुरुषको सँगिनी हो,” राजकुमार हिप्पोलाइतले भन्यो र उसले आफ्ना माथितिर उठेका खुट्टा हेर्न लाग्यो ।
बिलिबिन र “हाम्रो” समूहका बाँकी सदस्यहरू हिप्पोलाइतको मुखमा हेरेर मरिमरि हाँस्न लागे । राजकुमार आन्द्रेइले देख्यो कि यही हिप्पोलाइत, उसले मान्नै पर्छ, जसको सुन्दरी स्वास्नीका कारण उसले इर्ष्या गर्थ्यो, यो मित्र समूहको (हाम्रो) विदूषक रहेछ ।
“ओहो, मैले हिप्पोलाइतका ठट्यौला कुरा सुनाएर तिमीलाई रमाइलो गराउनै पर्छ,” बिलिबिनले राजकुमार आन्द्रेइलाई विस्तारै भन्यो । “ऊ जब राजनीतिका विषयमा कुरा गर्न थाल्छ नि, एउटा उल्कै हुन्छ । त्यति बेलाको उसको गम्भीरता देखौला ।”
ऊ हिप्पोलाइतसँग गएर बस्यो र निधारमा गाँठा पार्दै ऊसँग राजनीतिका विषयमा कुरा गर्न लाग्यो । राजकुमार आन्द्रेइ र अरू सबैले उनीहरू दुई जनालाई घेरे ।
“बर्लिनको मन्त्रिमण्डलले सैनिक गठबन्धनका बारेमा आफ्नो मत प्रकट गर्नै सक्तैन,” हिप्पोलाइतले सानसँग सबैलाई हेर्दै गफ लाउन सुरु गर्यो, “यो व्यक्त नगरिकन …..जस्तो कि उसको अन्तिम टिपोटमा छ…… तिमीले बुझेका छौ ……….. त्यसबाहेक, हाम्रो सम्राट्ले हाम्रो सैनिक गठबन्धनको सिद्धान्तलाई नलत्याएसम्म……।
“पर्ख, पर्ख, मेरो कुरा सकिएको छैन,” …………. राजकुमार आन्द्रेइलाई पाखुरामा समाउँदै उसले भन्यो, “मलाई विश्वास छ हस्तक्षेप नगर्नुभन्दा हस्तक्षेप गर्न दीर्घकालीन सिद्ध हुन्छ । “अनि ………..– ” ऊ रोकियो । “अन्त्यमा कसैले हाम्रो नोभेम्बर १८ तारिखको चिढी प्राप्त भएन भनेर अत्तो थाप्न सक्तैन । यो यसरी नै समाप्त हुन्छ ।” त्यति भनेपछि बल्ल उसले आफ्ना कुरा सकेको सङ्केतस्वरूप बोल्कोन्स्कीको हात छोडिदियो ।
“डेमोस्थेनिज, (इ.पू.३८४-३२२को एथिन्सको राजशास्त्र) म तिमीलाई तिम्रो सुनको मुखमा लुकाएर राखेको कंकडका कारण चिन्दछु,” बिलिबिनले भन्यो, जसको कपालको गुच्छा खुसीका कारण निधार अगाडितिर खसेको थियो ।
सबै खित्का छोडेर हाँस्न लागे- हिप्पोलाइत सबैभन्दा ठूलो स्वरमा हाँस्यो । यसो गर्दा उस्लाई कस्ट तो भएको थियो किनकि उसले निकै गाह्रोसँग सास फेरिरहेको थियो तर पनि उसले यो जङ्गली हाँसो थाम्न सकेन, जसले गर्दा उसको सधैँ शान्त देखिने अनुहार कम्पायमान भयो ।
“अब सुन, भाइहरू हो,” बिलिबिनले भन्यो । बोल्कोन्स्की, यस घरमा र पूरा ब्रुनमा समेत मेरो पाहुना हो । त्यसैले मैले सकेसम्म यस ठाउँमा उपलब्ध हुने जुनसुकै वस्तुले पनि उसको जीवनमा रसास्वादन गराउन चाहन्छु । हामी भियनामा भएको भए धेरै सजिलो हुने थियो तर यो जाबो मोरामियाको सानो सहरमा ज्यादै गाह्रो हुँदो रहेछ । त्यसैले तिमीहरू सबैले मलाई सहयोग गरौला भन्ने अनुरोध गर्दछु । मेरो साथीलाई जे-जसरी भए पनि रमाइलो गराउनै पर्छ । तिमीले नाचगानको जिम्मा लेऊ । म खानपिनको व्यवस्था गर्छु र भन्नै नपर्ला, हिप्पोलाइतले आइमाईको व्यवस्था गर्नेछ ।”
“यिनलाई अमेलीसँग भिडाइदिनु पर्छ, ऊ अति सुन्दरी छ ।” “हाम्रो” समूहको एक जनाले आफ्नै औंलाको टुप्पो चुस्दै भन्यो ।
“सारांशमा भन्दा हामीले यस मौकामा रगतको भोको यस सिपाहीलाई जति सक्यो मानवीय वस्तुहरूप्रति ध्यानाकर्षण गराउनु पर्छ,” बिलिबिनले भन्यो ।
“प्रिय साथीहरू, सायद म तिमीहरूको सेवा-सत्कारको आनन्द अनुभव गर्न पाउन्नँ होला किनभने मेरो अब जाने बेला भइसकेको छ,” राजकुमार आन्द्रेइले आफ्नो घडी हेर्दै जवाफ दियो ।
“कहाँ जाने ?”
सम्राट् को दरबारमा हाजिर हुन जाने ।”
“हत्तेरी, ओहो……..हो………: हो ।”
“त्यसो भए, फेरि भेटौला, राजकुमार बोल्कोन्स्की फेरि भेटौंला । खानाखान छिट्टै फर्केर आउनू है,” सबैले एकैसाथ भने । “हामीले तिमीलाई यति रमाइलो गराउने छौँ कि……?”
सम्राट्सँग कुरा गर्दा रसदपानी उपलब्ध गराएको र सेनाको बाटो एकदम राम्रो र व्यवस्थित छ भनेर सकेसम्म प्रशंसा गर्नू” राजकुमारलाई ढोकासम्म पुर्याउन जाँदै बिलिबिनले भन्यो ।
“मैले प्रशंसा गर्न त जानेको छु तर मलाई लाग्छ – यस्तो गर्न सक्तिनँ होला,” बोल्कोन्स्कीले मुस्कुराउँदै जवाफ दियो ।
“जे होस् ठीकै छ, जे-जति सक्छौ ……… । ऊ अर्काको कुरा सुन्न खूब मजा मान्छ तर आफू भने बोल्न मन पराउँदैन । र, उसलाई वास्तवमा बोल्न पनि आउँदैन । त्यो कुरा तिमी आफैलाई थाहा भइहाल्छ । मैले भनिरहनु पर्दैन ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० जेष्ठ २०८३, शनिबार 









