परिच्छेद- १४
बिहानको ५ बजे । अझै अँध्यारो थियो । मध्यभाग, जगेडा र बग्रातिओनको दाहिनेपक्षको सेना अझसम्म चलमलाएको थिएन । तर बायाँ पक्षको प्यादा फौज, रिसल्ला र तोपखाना, जसले फ्रान्सेलीहरूको दायाँ पक्षमाथि सबभन्दा पहिले हमला गर्नको लागि उचाइबाट ओर्लेर आउनु पर्ने थियो र सैनिक योजनाअनुसार यस पक्षमा तैनाथ सेनालाई बोहेमियाको पहाडमा लखेट्नु पर्ने थियो, चलफिर गर्दै सुत्ने ठाउँ छोड्न लागेका थिए । सैनिकहरूले काम नलाग्ने सबै चिजहरू आगोको धुनीमा फ्याँकिरहेका थिए । त्यसको धूवाँले आँखा टाठा गराइरहेका थिए । जाडो थियो र अँध्यारो पनि थियो । अफिसरहरू हत्पत्नाउँदै चिया-नास्ता गर्दै थिए भने सिपाहीहरूले बिस्कुट चपाउँदै थिए । उनीहरू धुनीको वरिपरि जम्मा भएर ज्यान तताउन खुट्टा सेकाइरहेका थिए र आफूहरूले लग्न मन नलागेका वा लग्न नसकेका कुर्सी टेबुल, बाल्टा-बाल्टी, टहराका टुक्राटुक्री, पाङग्रापाङ्ग्री र सबैथोक अगेनामा हालीरहेका थिए । आष्ट्रियाली सेनाका अगुवा रसियाली सेनाको बीचमा आउनेजाने थिए र युद्धको अग्रदूतको भूमिका निभाइरहेका थिए । कुनै अष्ट्रियाली कमान्डिङ अफिसरको निवासमा देखिनेबित्तिकै रेजिमेन्ट क्रियाशील हुन्थ्यो । सिपाहीहरू आगो ताप्न छोडेर दगुर्न थाल्थे, पाइपलाई बुटभित्र घुसार्थे, झोलाहरू घोडगाडीमा कोचार्थे अनि बन्दुक हातमा लिएर लस्कर बनाउँदै उभिएर तयार हुन्थे । अफिसरहरू आफ्ना कोटका टाँक लगाउँथे, कम्मरमा तरबार र थैला झुण्ड्याउँथे र ठूल्ठूला स्वरमा सैनिकहरूलाई आदेश दिँदै सैनिक लस्करको वरिपरि घुम्थे । घोडगाडी चालक र अर्दलीहरू घोडागाडीमा घोडा नार्थे र सामान लादेर त्यसलाई बाँधबुध गर्थे । सहायक अफिसरहरू बटालियन र रेजिमेन्ट कमाण्डरहरू आफ्नोआफ्नो घोडा चढेर आफूहरूमा “क्रस’को निसाना बनाउँथे, आफू पछाडिका घोडगाडी चालकहरूलाई अन्तिम आदेश र निर्देशनका साथै सम्बन्धित कामको जिम्मेवारी दिन्थे । त्यसपछि हजारौँ सैनिकहरूका बूट बजेका, पद्यारलाग्दा तथा एकरसका आवाज गुन्जिन्थे । फौजी लस्कर अगाडि बढ्थ्यो तर उसलाई आफ्नो गन्तव्य स्थान थाहा हुँदैनथ्यो र जताततैबाट मान्छे, धूवाँ र कुहिरोको घनत्व बढेका कारण, आफूहरूले गरेको प्रस्थानविन्दु र आफूहरू जान लागेको गन्तव्यविन्दु पनि थाहा नपाई एकोहोरो अगाडि मात्र बढिरहेका थिए ।
सैनिक लस्करमा हिँडिरहेको एउटा सिपाही त्यसरी नै आफ्नो रेजिमेन्टेभित्र बाँधिएको हुन्छ, जसरी एउटा नाविक आफ्नो जहाजको सीमाभित्र बाँधिएको हुन्छ । त्यो सिपाही हिँडेर जतिसुकै टाढा पुगोस्, जतिसुकै अनौठा, अज्ञात र खतरनाक ठाउँमा पुगोस्, त्यसरी आफ्नो जहाजका उही डेक (तला), उही मस्तुल र उही सञ्चालन रचनाभित्र नाविक बाँधिएको हुन्छ ।
त्यो सैनिकका निम्ति पनि उही सैनिक लस्कर, उनै साथी, उही सार्जेन्ट मेजर इभान मित्रिच, कम्पनीको उही कुकुर ज्याक र उनै अफिसरहरू हुन्छन् । नाविकले आफ्नो जहाजको अक्षांश जान्ने प्रयास गर्दैन, जुन अक्षांशमा उसको जहाजले जलयात्रा गरिरहेको हुन्छ । भगवानलाई नै थाहा होला- कसरी र कहिलेदेखि लडाइँ हुने दिन सेनाको नैतिक संसारमा एउटा कठोर स्वर गुन्जन थाल्ने छ, जसको चेतना सबैलाई हुनेछ र, जसले कुनै निर्णायक तथा गम्भीर क्षण नजिक आइरहेको घोषणा गर्नेछ । यो स्वरले सैनिकहरूमा त्यो जिज्ञासा उत्पन्न गर्दछ, जसलाई उनीहरूको स्वाभाविक लक्षण भनेर मान्न सकिँदैन । लडाइँ भइरहेका दिनहरूमा सैनिक उत्तेजनात्मक ढङ्गमा आफ्नो रेजिमेन्टको चासोभन्दा बाहिर निस्कने प्रयास गर्छन् । अर्थात् उनीहरू जे कुरा पनि ध्यानपूर्वक सुन्छन्, हेर्छन् र आफूहरू वरिपरिको वातावरण कस्तो छ, त्यहाँ के भइरहेको छ भनेर उत्सुकतापूर्वक सोधपुछ गरेर जान्ने प्रयास गर्दछन् ।
कुहिरो यति बाक्लो लागेको थियो कि घाम लागे पनि अँध्यारोजस्तो थियो ।
दस पाइला मात्र अगाडि पनि केही देखिँदैनथ्यो । सानासाना झाडी पनि ठूल्ठूला रुखझैँ देखिन्थे र समतल भूमि पनि उकालो र ओरालोजस्तो देखिन्थ्यो । कुनै पनि बेला, कहीँ पनि, कुनै पनि ठाउँमा कसैले पनि दुस्मनको सामना गर्नु पर्ने स्थिति थियो । तर कुहिरो भित्रभित्रै लगातार घरि उकालो चढ्दै र घरि आरोलो झर्दै बगैँचा र हाताहरू पन्छाउँदै, नयाँ तथा अपरिचित ठाउँहरू पार गर्दै सेनाको लस्कर अगाडि बढिरह्यो र उसले कहीँ पनि दुस्मनको सामना गर्नु परेन । .यसको विपरीत, सिपाहीहरूले उनीहरूको अगाडि, पछाडि, र वरिपरि, अरू रसियाली फौज पनि त्यही दिशामा अगाडि बढिरहेको छ भन्ने जानकारी पाएका थिए । हाम्रा अनेकौँ मान्छेहरू पनि आफूहरू गइरहेको त्यही अज्ञात स्थानतर्फ बढिरहेछन् भन्ने थाहा पाउँदा हरेक सिपाहीलाई खुसी लागिरहेको थियो ।
“वाह, कुर्स्क रजिमेन्ट पनि त्यतै गइरहेको रहेछ,” सैनिकहरूबीच कुरा चल्दै थियो ।
“हाम्रा कति धेरै फौज जम्मा भएका रहेछन् भाइ हो, यो त गजबै भयो ! हिजो राती मैले आगोको धुनी बलेको हेरेको त त्यसको अन्त्य नै भेट्टाउन सकिनँ । ठ्याक्कै मास्कोझैँ लागिरहेछ ।”
यद्यपि लस्करको कुनै पनि अफिसर सैनिकहरूसँग आएनन् र उनीहरूसँग कुरा बढाएनन् (जस्तो कि हामीले युद्ध परिषद्मा देख्यौं अफिसरहरू आक्रमण गर्ने निर्णयमा समर्थन जनाएनन्। केवल आदेश पालन मात्र गरिरहेका थिए तथा सैनिकहरूलाई जोसमा ल्याउने प्रयत्न गरिरहेका थिएनन् । तथापि सिपाहीहरू भने सधैँझैँ युद्ध मैदानमा, खास गरेर हमला गर्ने विषयमा, बडो उल्लासपूर्वक अगाडि बढिरहेका थिए । तर एक घन्टासम्म कुहिरोमा बढ्दै गएपछि सेनाको धेरैजसो भाग रोकिनु पर्यो र सैनिकहरूमा अव्यवस्था तथा केही गडबडी भएको अनुभूति हुन लाग्यो । यस्तो भावना एउटाबाट अर्को सिपाहीमा कसरी सम्प्रेषण हुन्छ, यसको सही रूपमा स्पष्टीकरण दिन सम्भव छैन तर पनि यसमा अलिकति पनि शङ्का छैन कि यो भावना एकदम सटिक ढङ्गमा उतिनिखेरै र स्वतः सानो खाडीमा तेज गतिमा बगिरहेको अदम्य जलधाराका रूपमा सबैतिर पुगिहाल्छ । त्यसलाई न रोक्न सकिन्छ न दबाउन सकिन्छ । यदि रसियाली सेना मित्र राष्ट्रका सेनाविना एक्लै भएको भए, गडबडी भएको यो भावना, सामान्य विश्वासमा बदलिन सायद धेरै समय लाग्थ्यो, तर अहिले त बडो खुसी र स्वाभाविक ढङ्गले यसलाई मूर्ख जर्मनेलीहरूको दिमागमा प्रक्लेपित गरियो र सबैले यो स्वीकार गरे कि सुविधाभोगी जर्मनेलीहरू नै यो सम्पूर्ण अवस्थाको लागि जिम्मेवार छन् ।
“हामी किन रोकिएको ? के बाटोमा कुनै अवरोध,छ ? अथवा हामीहरू दुस्मनको सामुन्ने भिड्की सक्यौँ ?”
“होइन, त्यस्तो त केही सुनिएको छैन । त्यस्तो भए त उनीहरूले गोलाबारी गर्न सुरु गरिहाल्थे ।”
“हामीलाई छिटोछिटो गर्न भनियो । हामीले यस्तो गर्यौ । र अहिले निरर्थक रूपमा भोकै उभिनु परिरहेछ । यी जर्मनेलीहरू नै हुन् सबैथोक गड्बड् गर्ने । यिनीहरू
उल्लू नै हुन् ।” ‘
पैले यिनीहरूलाई नै अगाडि पठाइदिएको भए हुन्थ्यो । अहिले उनीहरू पछाडि बसेर लुकी रहेछन् ।
“के छिट्टै नै अगाडि बढ्न सकिएला त ?” घोडसेनाले बाटो छेकेको छ भन्ने सुनिन्छ,” एउटा अफिसरले भन्यो ।
“कस्ता यी मूर्ख जर्मेनेलीहरू ?, आफ्नै देशको भूमि पनि चिन्दैनन् !” अर्को अफिसरले भन्यो ।
“यो कुन चाहिँ डिविजन हो ?” घोडा चढेर नजिकै आइरहेको एक जना सहायक अफिसरले चिच्याउँदै सोध्यो ।
“अठारौँ डिविजन हो ।”
“त्यस्तो भए अहिलेसम्म किन यहाँ छौ ? तिमीहरू त धेरै अगि त्यहाँ पुग्नु पर्ने हो । यस्तो चालले त तिमीहरू आधा रातमा पनि पुग्न सक्तैनौ । कस्तो मूर्ख चाला हो आफूहरूले के गरिरहेका छौ भन्ने आफैलार्इ थाहा छैन ” उक्त अफिसरले यति भनेर आफ्नो घोडा बढायो ।
त्यसपछि अर्को अफिसर आयो, रसियाली होइन तर अर्कै भाषामा रिसाउँदै केही भन्दै अगाडि गयो ।
तफा-लफा, के-के भन्थ्यो, केही बुझ्न सकिएन, एउटा सिपाहीले उक्त अफिसरको नक्कल गर्दै भन्यो । “यी बदमासहरूलाई मैले गोली ठोक्नु पर्ने रहेछ ।”
“हामीलाई नौ बजेभन्दा पहिले नै त्यस ठाउँमा पुगिसक्नुपर्ने आदेश दिइएको थियो तर हामीले आधा बाटो पनि पार गर्न सकेका छैनौँ, कति राम्रो आदेश,” सबैतिर यस्तै शब्दहरू दोहोरिइरहेका थिए ।
जुन जोस र जाँगरका साथ सेना लडाइँको मैदानतर्फ बढिरहेको थियो, त्यस किसिमको खराब व्यवस्थाले गर्दा त्यो जोस र जाँगर जर्मनेलीहरूका विरुद्ध रिस र सन्तापमा परिणत हुन लाग्यो ।
गडबडीको कारण यो थियो कि अष्ट्रियाली घोडसेनाको बायाँ लस्कर अगाडि बढ्दाखेरी माथिल्ला तहका अफिसरहरूले यो सोचे कि हाम्रो केन्द्रीय लस्कर दायाँ पंक्तिबाट टाढा परेको छ । र त्यसै कारणले सम्पूर्ण घोडसेनालाई दाहिनेतर्फ बढ्ने आदेश दिइयो । घोडासेनाका हजारौँ सङ्ख्या पैदल सेनाभन्दा अगाडि बढे र त्यही कारणले गर्दा पैदल सेना जहाँको तहीँ रोकिनु पर्यो ।
सेनाका अगाडि एक जना आष्ट्रियाली पर्थप्रदर्शक र एक जना रसियाली जर्नेलका बीचमा ठाकठुक भयो । घोडसेनालाई अगाडि बढ्नबाट रोकियोस् भनेर रसियाली जर्नेलले माग गरिरहेको थियो भने अष्ट्रियालीको तर्क थियो कि यसको दोषी ऊ नभएर – ठूला अफिसरहरू नै थिए । यसैबीच पैदल सेना लतरङ्ग र निरुत्साहित भएर जहाँको तहीँ उभिरह्यो । र त्यसको एकघन्टापछि मात्र अगाडि बढ्दै पहाडबाट तल ओर्लन लाग्यो । पहाडको टुप्पोतिर खुल्न लागेको कुहिरो भुइँतिर झन् सघन रूपमा विस्तारित भइरहेको थियो, जहाँ उनीहरू ओलंदै थिए । त्यो गहन कुहिरोभित्रको अग्रभागमा एकपछि अर्को गोली चलेको सुनियो, सुरुमा कुनै नियम क्रमभङ्ग गरेर, विभिन्न बिराममा, ढ्याङढ्याङ …….. र त्यसपछि सिलसिलाबद्ध र नियमित रूपमा । यसरी गोल्डवाख नदीको किनारमा युद्ध सुरु भयो ।
नदी किनारमा दुस्मनसँग जम्काभेट होला भन्ने नचिताउँदै तर कुहिरोभित्र दुस्मनको वरिपरि लरवराउँदै, आफ्ना कमाण्डरहरूबाट प्रोत्साहनस्वरूप एक शब्द सुन्न नपाउँदा पनि, ढिलो भयो भनेर जताततै हल्ला चल्दा पनि र, त्यो घनघोर कुहिरोभित्रको चारै दिशातिर केही देखिँदैनथ्यो तापनि रसियाली सेना, अल्छी मानीमानी दुस्मनका बिरुद्ध गोली चलाउँदै अगाडि बढ्थ्यो र, फेरि रोकिन्थ्यो, किनभने उनीहरूले आफ्नै रेजिमेन्ट पनि फेला पार्न नसकेर अपरिचित ठाउँहरूमा कुहिरोभित्र अल्मलिएका अफिसर र सहायक अफिसरहरूबाट ठीक समयमा कुनै पनि आदेश पाइरहेका थिएनन् । उपत्यकामा झरेको पहिलो, दोस्रो र तेस्रो सैन्य लस्करका लागि लडाइँ यसरी नै सुरू भयो । कुतुजोभ आफै पनि भएको चौथो लस्कर प्रात्जेन पहाडमा थियो ।
पहाडको फेदीमा, जहाँ लडाइँ सुरु भएको थियो, अझ पनि बाक्लो कुहिरो लागेकै थियो । माथिल्लो सतहमा भने कुहिरो अलिअलि फाट्दै थियो तर अगाडितिर के भइरहेको छ केही पनि देखिँदैनथ्यो । हामीले अड्कल गरेजस्तै सम्पूर्ण शत्रु बल हामीबाट ६ माइल टाढा छ वा कुहिरोको समुद्रभित्र बिल्कुल नजिकै छ, ८ नबज्दासम्म भन्न सक्ने अवस्थामा कोही थिएन ।
बिहानको नौ बज्यो । उपत्यकाको भुइँ अझै पनि कुहिरोको सागरझैँ लम्पसार परिरहेको थियो तर स्लापानिज गाउँको अग्लो भागतिर भने पूरा उज्यालो थियो, जहाँ आफ्ना मार्सलहरूद्वारा वरिपरि घेरिएर नेपोलियन बसेको थियो । उसको शिरमाथि निर्मल नीलो आकाश थियो र सूर्यको विराट गोलो, विशाल, खोक्रो र सिम्रिक रङ्गको डुङ्गाझैँ कुहिरोको दूधे सागरमा पौडी खेलिरहेको थियो । सम्पूर्ण फ्रान्सेली सेना मात्र होइन आफ्ना स्टाफका साथ बसिरहेको स्वयम् नेपोलियन पनि सोकोलनिज र स्लापानिज गाउँका सानासाना नदी र घाटीहरूका टाढाटाढासम्म पनि उपस्थित देखिएन, जुन स्थलमा हामी पूर्ण मोर्चाबन्दी कसेर लडाइँ गर्ने मनस्थितिमा थियौँ । नेपोलियन यतै पट्टि र हाम्रो सेनाको यति नजिक थियो कि उसले नाङ्गो आँखाले हेरेर हाम्रा पैदल र घोडसेनालाई छुट्याउन सक्थ्यो । ऊ त्यही नीलो फौजी ओभरकोट लगाएर, (जुन ओभरकोट लगाएर उसले इटालीको युद्ध लडेको थियो) मार्सलहरूभन्दा केहीअगाडि सानो खालको आफ्नो एउटा अरबी घोडामा चढेको थियो । ऊ कुहिरोको सागरबाट निस्किरहेजस्ता देखिने टाढाका पहाडहरू चुपचाप लागेर हेरिरहेथ्यो, जहाँ रसियाली, सेना हिँडिरहेको थियो र उसले उपत्यकाबाट आइरहेका गोलीका आवाज सुनिरहेको थियो । अझैसम्म उसको दुब्लो-पातलो अनुहारको एक भाग मासु पनि हल्लिएको थिएन । उसका चम्किला आँखा एउटै ठाउँमा स्थिर भएका थिए । उसले गरेका अनुमान सबै सही सिद्ध भइरहेका थिए । रसियाली सेनाको केही भाग उपत्यकाका पोखरी र तालहरूतिर झरिसकेका थिए र केही भाग प्रात्जेन पहाडका गाउँहरू छोड्दै थियो, जहाँ उसले आक्रमण गर्ने मनसाय राखेको थियो र जसलाई उ सामरिक दृष्टिले केन्द्र विन्दु मान्दथ्यो । उसले बन्दुकका धूवाँको कुहिरोमा प्रात्जेन गाउँको दुइटा पहाडबीचको खाली ठाउँ नजिक, रसियाली सेना र उनीहरूका बन्दुकका चम्चमाउँदा बेनट, एउटा निश्चित दिशामा उपत्यकातर्फ बढिरहेको र एकपछि अर्को गर्दै कुहिरोमा बिलाएको देखिरहेको थियो । अगिल्लो रात प्राप्त भएको सूचना, अग्रिम चौकीहरूबाट राती सुनिएको गाडीका पाङ्ग्रा र पदचापका आवाजहरू र रसियाली सेनाको व्यवस्थापनमा भएको गड्बडीका सबै अन्य सङ्केतहरूका आधारमा उसले यो सम्झिरहेको थियो कि भित्र राष्ट्रहरूले उसलाई आफूहरूभन्दा धेरै टाढा भएको मानिरहेका छन् र प्रात्जेन गाउँनजिक तैनाथ सेना नै रसियाली सेनाको केन्द्रीय बल हो र उसले यो पनि सम्झ्यो कि त्यो केन्द्र, एकदम कमगोर भइसकेको हुँदा त्यसलाई सजिलैसँग आक्रमण गर्न सकिन्छ । तर उसले अझै पनि लडाइँ सुरु गरेन ।
आजको दिन उसको लागि महान् दिन थियो- उसको राज्यारोहण दिवस । उज्यालो हुनुभन्दा अगि ऊ केही घन्टा मस्तसँग सुतेकै थियो र स्वस्थ, प्रसन्नचित्त, ताजा र सुखद मनस्थितिमा ऊ घोडा चढेर मैदानमा आएको थियो- जहाँ उसलाई जे चिज पनि सम्भव र जे चिज पनि सफल लाग्दथ्यो । कुहिरोबाट देख्न सकिने पहाडतिर हेर्दै ऊ चुपचाप लागेर बस्यो । उसको कठोर अनुहारमा आत्मविश्वास र आत्मसन्तुष्टिको विशेष प्रकारको यस्तो झलक थियो- जस्तो झलक प्रेर्म बन्धनमा परेर सन्तुष्ट भएको कुनै तन्नेरी केटाको अनुहारमा झल्किन्छ । उसका पछाडि उभिइरहेका मार्सलहरूले उसको ध्यान भङ्गः गर्ने साहस गर्दैनथे । ऊ घरी प्रात्जेन’ गाउँका पहाडहरूतर्फ दृष्टि दिन्थ्यो भने घरी कुहिरोबाट बाहिर निस्किरहेको सूर्यतर्फ हेर्थ्यो ।
जब सूर्य कुहिरोबाट सम्पूर्ण रूपमा बाहिर निस्क्यो र मैदान चम्चमाउन थाल्यो, सैनिक कार्वाही सुरु गर्न यसैलाई पर्खेजस्तै नेपोलियनले आफ्नो सुन्दर सेता हातबाट पन्जा खोल्यो र पन्जाकै इशाराले मार्सलहरूलाई लडाइँ सुरु गर्ने आदेश दियो । मार्सलहरूले आफ्ना सहायक अफिसरहरूसँग विभिन्न दिशातर्फ घोडा दौडाएर लगे र त्यसको केही मिनेटपछि फ्रान्सेली सेनाको केन्द्रीय प्रभाग रसियालीहरूले छोडेको प्रात्जेन गाउँका पहाडतर्फ तेज गतिमा बढेर गयो, जहाँबाटै रसियाली सेना बायाँतर्फको उपत्यकामा ओर्लिरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-२, शृङ्खला १०
३१ जेष्ठ २०८३, आईतवार 








