अन्ना करेनिना रुसी साहित्यको धरोहरमध्ये एक मानिन्छ । लियो टोल्सटोयले यो उपन्यास लेख्नेबारे कहिले र कसरी सोचे होलान्, धेरैलाई यसबारे चासो छ ।

रोसामन्ड बार्टलेटले यसको खुलासा गरेकी छन् । उनले अन्ना करेनिना उपन्यासलाई रुसीबाट अंग्रेजीमा अनुवाद गरेकी छन् । उनको सो अनुवाद सन् २०१४ मा बजारमा आएको थियो । यसैगरी उनले टोल्सटोयको जीवनीसमेत लेखेकी छन् । टोल्सटोयः अ रसियन लाइफ जीवनी टोल्सटोयमाथि लेखिएका अनेकन् जीवनीमध्ये प्रामाणिक मानिन्छ ।

सन् १८७२ ताकाको कुरा हो, ३५ वर्षीया अन्ना पिरोगोभा लासेन्की रेल स्टेसनमा आइपुगिन् । यो पोलियाना गाउँ नजिकैको स्टेसनमा थियो । पोलियाना लियो टोल्सटोयको गाउँ हो । यहाँ आइपुगेको केही क्षणमा उनले केही वस्त्र स्टेसनको एउटा कुनामा राखिन् र आइरहेको कार्गो रेल नम्बर ७७ को पटरीमा हाम्फालिन् ।

रेलले एकै निमेषमा उनको शरीर किचिपिची पारिदियो ।

त्यो रेल रेस्टसनमा कुनै स्त्रीले जानाजान आत्महत्या गरेको पहिलो घटना थियो । अझ यो घटना रुसी रेलजीवनकै पहिलो घटना थियो ।

चारै दिशामा ठूलो होहल्ला भयो । घटनाका बारेमा लियो टोल्सटोयले पनि थाहा पाए । जो स्त्रीले आत्महत्या गरेकी थिइन्, अन्ना पिरोगोभा, टोल्सटोयकी पत्नी सोफियाको माइततिरकी टाढाको नातेदार थिइन् । अन्ना टोल्सटोयका लेखक साथी अलेक्जेन्डर बिबिकोभको प्रेममा थिइन् । बिबिकोभ त्यो बेला ५५ वर्षका थिए, अन्ना भने लगभग आधा कम उमेरकी थिइन् । बिबिकोभकी पत्नीको पहिल्यै देहान्त भइसकेकाले आफ्ना सन्तानकी आमाको खोजी बिबिकोभले गरिरहेका थिए ।

अन्नाले त्यो पात्र आफू नै हुँ भन्ने सोचिरहेकी थिइन् तर बिबिकोभले त्यो छाँट देखाएनन् । बरु उनले कुनै जर्मन युवती हेरिरहेको चाल पाइन् । यसबाट आक्रोशित उनले बिबिकोभलाई एउटा चिठ्ठी लेखिन् । उनले अब आफू उनको लायक नठानिएकाले बाँच्नुको कुनै तुक नरहेको र आफ्नो मृत्युको कारक बिबिकोभ नै रहेको आरोप लगाउँदै उनले चिठ्ठी लेखेकी थिइन् । र, आफू उनको हुन नसकेको झोँकमा झ्याम्मै रेलको पटरीमा हाम्फालिन् ।

तीव्र गतिमा आइरहेको रेलले उन एक निमेषमै हंश मात्र लिएन, उनको शरीरलाई टुक्राटुक्रा पारिदियो ।

घटनाका बारेमा थाहा पाएपछि टोल्सटोय पोलियानाबाट तीव्र गतिमा त्यहाँ आइपुगे । उनले नियालेर सारा सामान हेरे र क्षतविक्षत शरीर पनि अवलोकन गरे ।

अन्नालाई टोल्सटोयले राम्रोसँग चिन्थे । ऊ सुन्दरी थिई । उसका खैरा आँखा जीवन्त थिए । छरितो वदन थियो उसको । त्यो भन्दा सुन्दर उसको अनुहार थियो ।

सन् १८७० को शुरुदेखि नै रुसी जार निकोलस प्रथमले रेलसेवालाई ठूलो महत्त्व दिएका थिए । त्यसैले त १६ हजार किलोमिटर भन्दा बढी रेलका पटरी बनाइरहेका थिए । विशाल देशमा सहज र सुलभ यात्राका लागि र देश विकासका लागि यो नै उत्तम उपाय हुने उनको धारणा थियो तर पटरी बन्न थालेको दुई वर्ष पनि नबित्दै यस्तो दर्दनाक घटना घट्यो, जुन कसैले पनि सोचेका थिएनन् । रेलको पटरी आत्महत्या गर्ने ठाउँ पनि होला भन्ने कल्पना कसैको थिएन ।

यसरी अन्नाको यो दर्दनाक मृत्युले टोल्सटोयलाई ‘अन्ना करेनिना’ उपन्यासको क्लिष्ट संरचनायुक्त उपन्यास लेख्नमा हुटहुटी जगायो ।

चित्र: एंगेला बरेट